नबिल निःशुल्क जलन उपचार शिविर सम्पन्न, ६५ जना जलनका बिरामीहरुको उपचार

धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा तीनदिने ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सम्पन्न भएको छ । यही फागुन १२ देखि १४ गतेसम्म सञ्चालन भएको उक्त शिविरमार्फत ६५ जना जलनका बिरामीहरुले निःशुल्क उपचार पाएको बैंकले जनाएको छ ।  शिविरमा आएका २० जना बिरामीको सेती प्रादेशिक अस्पतालमै वरिष्ठ चिकित्सकहरुले शल्यक्रिया गरेका थिए भने जटिल किसिमका १८ जना बिरामीलाई काठमाडौंको सांखुस्थित सुषमा कोइराला मेमोरियल अस्पतालमा रिफर गरिएको छ । नबिल बैंक, सुषमा कोइराला मेमोरियल अस्पताल र सेती प्रादेशिक अस्पतालको संयुक्त आयोजनामा आयोजित उक्त शिविरमा सुदुरपश्चिम प्रदेशका विभिन्न ठाउँबाट बिरामीहरु उपचारका लागि आएका थिए । लामो समयदेखि उचित उपचार तथा शल्यक्रियाको पर्खाइमा रहेका तथा विपन्न र आर्थिक अवस्था कमजोर भएका बिरामीहरुले शिविरमा निःशुल्क उपचार पाएका थिए ।  शिविरमा आएकी दुर्गा पाण्डेले शिविरमार्फत आफूले राम्रो सेवा पाएको बताइन् । उनले शिविरमा पाँच वर्षकी छोरीको घाँटीको शल्यक्रिया गराइन् । दुई वर्षअघि तेलले पोलेर घाँटीमा समस्या भएको थियो । ‘विशेषज्ञ डाक्टरद्वारा तेलले जलेको घाउको सफलतापूर्वक शल्यक्रिया भयो । यस्तो सुविधा पाउँदा म आयोजकलाई धन्यवाद दिन चाहन्छु,’ उनले भनिन् । सुषमा कोइराला मेमोरियल अस्पतालका प्रा. डा. ईश्वर लोहनीको नेतृत्वमा विशेषज्ञ चिकित्सकको टोलीले शिविरमा सेवा प्रदान गरेका थिए । ‘जटिल किसिमका बिरामीहरु जसलाई सघन उपचारको जरुरी थियो हामीले उहाँहरुलाई काठमाडौंस्थित हाम्रो अस्पतालमा रिफर गरेका छौं,’ प्रा. डा. लोहनीले जानकारी दिए ।  नेपालमा जलनका घटनासम्बन्धी समस्या ठूलो भएको उल्लेख गर्दै प्रा.डा. लोहनीले पीडितले समयमा उपचार नपाउने, धामी झांक्री कहाँ देखाउने आदिले गर्दा घाउहरु अझै बढ्ने र थप समस्या आउने बताए । शिविरले मानिसहरुलाई उचित उपचारबारेमा सचेत गरेको र भविष्यमा यस्ता कार्यक्रमले विपन्न वर्गका मानिसहरुलाई अझ लाभान्वित गर्ने उनको भनाइ थियो । आगो ताप्ने क्रममा दुवै हात जलेका ४२ वर्षिया भरत लुहारलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ । जलन घाउको समयमै उचित उपचार नपाएर घाउमा किरा लागेपछि चिन्तित भएका उनले मद्दत माग्दै शिविरमा आइपुगेका थिए । ‘शिविरमा वरिष्ठ चिकित्सकबाट मेरो घाउको उपचार भयो र अब म थप उपचारका लागि काठमाडौं जाँदैछु,’ उनले भनिन् ।  नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरेको शिविरमा ३५  पुरुष तथा ३०  महिला गरी ६५ जना सहभागी थिए । ‘नेपालमा जलनसम्बन्धी घटनाका पीडितले अझै पनि उचित उपचार नपाएर बस्नु पर्ने अवस्था रहेकामा नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पहिलो चरणमा सुदुरपश्चिम प्रदेशका दुर्गम क्षेत्रमा रहेका जलनपीडितलाई लक्षित गरी शिविर आयोजना गरेको हो । शिविरमार्फत पीडितहरुले उपचार पाएका छन्,’ नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवालीले भने । काठमाडौंदेखि गएको विशेषज्ञ चिकित्सकहरुको टोलीले  उपचार गराएकाले शिविर सफल तथा एकदम प्रभावकारी भएको ज्ञवालीले बताए । उनले आगामी दिनमा अन्य प्रदेशमा पनि यस प्रकारका शिविर आयोजना गर्ने जानकारी दिए । धेरै मानिसहरु अझै पनि उचित उपचार नपाएर बसिरहेको र यस्ता जलन शिविरले जनताहरुलाई जलनको अत्यावश्यक उपचार उपलब्ध भइ राहत पाइने सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले बताए । जलनको उपचार सम्वेदनशील र जरुरी रहेको बताउँदै डा. पाण्डेले शिविर सञ्चालनका लागि सहयोग गरेकोमा नबिल बैंकलाई धन्यवाद दिए । उनले आगामी दिनमा पनि अझ सहयोगको अपेक्षा गरेको बताए ।  जलन शिविरका साथसाथै सेती प्रादेशिक अस्पतालमा आधारभुत जलन उपचार तालिम पनि सञ्चालन गरिएको थियो । सुषमा कोइराला मेमोरियल अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा. राजु भण्डारीद्वारा अस्पतालका डाक्टर, नर्स, प्रशासनिक प्रमुख, सर्जनलगायत करिब ५० जनालाई तालिम प्रदान गरिएको थियो । डा. भण्डारीका अनुसार जलनको शल्यक्रिया गरिसकेपछि फलोअपमा आउने बिरामीहरुको उपचार गर्नका लागि अस्पतालका डाक्टर तथा नर्सको सिप विकासका लागि सो तालिम सञ्चालन गरिएको हो । 'यस तालिमले जलनसम्बन्धी कुनै बिरामी आएमा, डाक्टरले जाँच गरी उचित उपचार तथा सल्लाह दिन सक्नेमा हामी विश्वस्त छौं,’ उनले बताए । 

प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्नसक्ने प्राथमिक स्वास्थ्य उपचार सेवाका लागि मतदान केन्द्रमा प्राथमिक उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएको छ । यसका लागि अस्पताल तथा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न आयोगले सरोकार भएकाको ध्यानाकर्षण गराएको हो । फागुन २१ गते १० हजार ९ सय ६७ मतदानस्थल र २३ हजार २ सय ५५ मतदान केन्द्र (अस्थायी समेत)मा मतदान हुँदैछ । त्यस दिन निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदान गर्न आउने अपाङ्ग, अशक्त, ज्येष्ठ नागरिकलगायतका मतदातालाई आवश्यक पर्न सक्ने प्राथमिक स्वास्थ्य उपचार सेवाका लागि व्यवस्था मिलाउन आयोगले आह्वान गरेको हो । निर्वाचनको व्यवस्थापकीय कार्य आयोगबाट स्वीकृत कार्यतालिका बमोजिम निरन्तर जारी रहेको उल्लेख गर्दै आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबै मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदान गर्न आउने मतदातालाई आवश्यक पर्न सक्ने आकस्मिक स्वास्थ्य सेवा सम्बन्धित मतदान स्थलमा उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएको आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आयोगले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् सबै स्थानीय तहमा आवश्यक सहयोगका लागि लेखी पठाइएको जानकारी उनले दिए । साथै अत्यावश्यक तथा आपतकालीन उपचार सेवा उपलब्ध गराउन सक्नेगरी देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा चिकित्सक, स्वास्थ्यकर्मी र औषधि तयारी अवस्थामा राख्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लेखी पठाइएको समेत आयोगले जनाएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र तथा भयरहित वातावरणमा सम्पन्न गर्न–गराउन आयोगले नेपाल सरकारलगायतका सरोकारवाला नियकासँग निरन्तर सहकार्य गर्दै निर्वाचनमा मतदाताको सार्थक सहभागिताका लागि मतदानको दिनभन्दा अघि र पछि गरी तीन दिन सार्वजनिक बिदाका लागि आयोगबाट सिफारिस भए बमोजिम नेपाल सरकारबाट निर्णयसमेत भइसकेको छ । मतदानको प्रक्रियालाई व्यवस्थित रूपमा सञ्चालन गर्न÷गराउनका लागि तहगत सरकार र सरोकारवालासँगको सहकार्यको अवधारण अनुरुप आयोगले मतदान केन्द्र कायम रहेका शिक्षण संस्था, स्वास्थ्य चौकी, बडा कार्यालयलगायतका सरकारी संरचना र ती सरकारी संरचनामा रहेका भौतिक सम्पत्ति फागुन १९ गते मङगलबारदेखि फागुन २१ गते बिहीबारसम्म तीन दिनका लागि उपयोग गर्न सक्नेगरी व्यवस्था मिलाइदिन सम्बन्धित मन्त्रालय र स्थानीय तहमा पत्राचार एवम् समन्वयका लागि सरकारलाई अनुरोध गरी गृह मन्त्रालयबाट सम्बन्धित निकायमा पत्राचारसमेत भइसकेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आयोगबाट भएको निर्णय र पत्राचार बमोजिमका आवश्यक सहयोगको व्यवस्था मिलाउन नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा सबै सरोकारवाला निकायलाई आयोगले आग्रह गरेको उनले बताए ।

पोखरा एनसेल सेन्टर पुनःसञ्चालनमा

काठमाडौं । एनसेलले पोखरामा आफ्नो एनसेल सेन्टर पुनः सञ्चालनमा ल्याएको छ । बिहीबार एक कार्यक्रममाझ मर्मतसम्भार पश्चात पुनःसञ्चालनमा ल्याइएको सेन्टरको उद्घाटन गरिएको हो ।  एनसेलकी ग्राहक सेवा प्रबन्धक ज्योति दाहाल र पोखरा नुडल्सका एचआर अफिसर यम प्रसाद गौतमले एनसेल सेन्टरको उद्घाटन गरेका हुन् ।  सिर्जना चोक, पोखरामा रहेको सेन्टर जेनजी आन्दोलनका बेलामा तोडफोडपश्चात क्षतिपुगेपछि बन्द रहेको थियो । सेन्टरमा क्षति पुगेर बन्द भएपछि कम्पनीले अस्थायी रूपमा ग्राहक सेवाहरू एक तल्लामाथि रहेको कार्यालयबाट प्रदान गर्दै आएको थियो। कम्पनीले आफ्ना ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्यका साथ सेन्टर पुनःसञ्चालनमा ल्याएको हो। यो सेन्टरबाट ग्राहकहरूले सबै ग्राहक सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।  ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरू समेत लिन सक्नेछन् । यसैगरी, ग्राहकहरूले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिम इसिममा अपग्रेड गर्न, सीयुजी नम्बरहरूको आवश्यक फेरबदल गर्ने, अन्तर्राष्ट्रिय रोमिङ सुचारु गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका ग्राहक सेवाहरू प्राप्त गर्न सक्नेछन् । ग्राहक सेवालाई अझ सहज र गुणस्तरीय बनाउन एनसेलले देशका विभिन्न भागमा ३१ वटा एनसेल सेन्टरहरू सञ्चालन गर्दै आएको छ।