मेरियट होटलको आम्दानी १.६२ अर्ब, बैंकमा ऋण १.४३ अर्ब रुपैयाँ
काठमाडौं । काठमाडौंको नक्सालस्थित ‘मेरियट’ ब्रान्डअन्तर्गत सञ्चालनमा रहेको एभरेष्ट हस्पिटालिटी एण्ड होटल्स लिमिटेडले सन् २०२५ मा १ अर्ब ६२ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा ९.६४ प्रतिशत अर्थात् करिब १७ करोड ३० लाख रुपैयाँले कम हो र सन् २०२४ मा कम्पनीले १ अर्ब ७९ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीका अनुसार बढ्दो प्रतिस्पर्धाका कारण औसत कोठा दर (एआरआर) र कोठा उपयोग दरमा आएको गिरावटले आम्दानी प्रभावित भएको हो । कोठा दर सन् २०२४ को १९ हजार ६९९ रुपैयाँबाट घटेर सन् २०२५ मा १८ हजार १५३ रुपैयाँमा सीमित भएको छ । त्यस्तै, कोठा उपयोग दर करिब ६७ प्रतिशतबाट घटेर करिब ६१ प्रतिशतमा झरेको कम्पनीले जनाएको छ । यसअघि कम्पनीले कम्पनीले सन् २०२३ मा १ अर्ब ७० करोड १० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब २ करोड ४० लाख रुपैयाँ, सन् २०२१ मा २९ करोड ८० लाख रुपैयाँ र सन् २०२० मा ८३ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कोभिड–१९ महामारीपछिको पर्यटन पुनरुत्थानसँगै पछिल्ला वर्षहरूमा आम्दानी र नाफामा सुधार देखिए पनि सन् २०२५ मा प्रतिस्पर्धात्मक दबाबले केही असर पारेको कम्पनीले जनाएको छ । कम्पनी वि.सं २०७० फागुन १६ गते प्राइभेट लिमिटेडका रूपमा स्थापना भएको थियो भने वि.सं २०७९ असार १५ गते पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो । १.३५ एकड क्षेत्रफलमा फैलिएको यस होटलमा कुल २१४ कोठा रहेका छन् । होटल २०७६ वैशाखदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको हो र अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्ड मेरियट इन्टरनेशनलअन्तर्गत ‘मेरियट’ नामबाट सञ्चालन भइरहेको छ । एभरेष्ट हस्पिटालिटी एण्ड होटल्स एमएस ग्रुप अफ कम्पनीजअन्तर्गत सञ्चालित हो । एमएस ग्रुप इस्पात, चिनी, रसायन, कागज, कपडा, घरजग्गा, आतिथ्य, बैंकिङ तथा बीमा लगायत विविध क्षेत्रमा सक्रिय छ । कम्पनीका अध्यक्ष सुमित कुमार अग्रवाल हुन् । उनी भगवती स्टिल इन्डस्ट्रिजका अध्यक्षसमेत रहेका छन् र ‘फेयरफिल्ड बाइ मेरियट’ ब्रान्डअन्तर्गत सञ्चालित नेपाल हस्पिटालिटी एण्ड होटल प्रालिका सञ्चालक पनि हुन् । कम्पनीका प्रबन्ध निर्देशक गौरव अग्रवालले समूहअन्तर्गतका होटलहरूको प्रत्यक्ष व्यवस्थापन सम्हाल्दै आएका छन्। कम्पनीले ‘मेरियट’ ब्रान्ड सञ्चालनका लागि मेरियट इन्टरनेशनलसँग होटल व्यवस्थापन सम्झौता गरेको छ । अमेरिकामा आधारित यस कम्पनीका ३० ब्रान्डअन्तर्गत १४४ देशमा ९ हजार ३०० भन्दा ठाउँमा होटलहरु सञ्चालनमा छन् । सम्झौताअनुसार मेरियटले प्राविधिक सहयोग, तालिम, आरक्षण प्रणाली र अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन सेवा उपलब्ध गराउँदै आएको छ, जसबाट विश्वव्यापी ग्राहक सञ्जाल र ब्रान्ड पहिचानको लाभ मिलेको कम्पनीको भनाइ छ । सन् २०२५ को अन्त्यसम्म कम्पनीसँग २८ करोड ७० लाख रुपैयाँ नगद सञ्चिति रहेको छ, जुन अघिल्लो वर्ष ३९ करोड ९० लाख रुपैयाँ थियो । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट दीर्घकालीन १ अर्ब ३३ करोड ४४ लाख रुपैयाँ र अल्पकालीन १० करोड रुपैयाँ गरी कुल १ अर्ब ४३ करोड ४४ लाख रुपैयाँ ऋण लिएको छ । यसअघि कम्पनीले १ अर्ब ७४ करोड ३३ लाख रुपैयाँ बैंकबाट ऋण लिएको थियो ।
नेपाल वायुसेवाद्वारा दुबई र दोहाका हवाई उडान पूर्ण रुपमा रद्द
काठमाडौं । नेपाल वायुसेवा निगमले दुबई र दोहा विमानस्थलमा तय गरिएका आइतबार र आज सोमबारका आफ्ना उडानहरू पूर्ण रुपमा रद्द गरेको छ । मध्यपूर्व क्षेत्रमा भएको असहज परिस्थितिपछि निगमका दुबई र दोहा विमानस्थलमा फागुन १७ र १८ गतेका लागि तय गरिएका सबै उडान पूर्ण रुपमा रद्द गरिएको नेपाल वायुसेवा निगमका कनिष्ठ सहायक अङ्कित ढुङ्गानाले जानकारी दिए । उनले भने, ‘मध्यपूर्व क्षेत्रमा भएको असहज परिस्थिति तथा हवाई क्षेत्र बन्दका कारण नेपाल वायुसेवा निगम (आरए २२९÷२३०) का दुबई र दोहाका सबै उडान अर्को सूचना जारी नहुन्जेलसम्मका लागि पूर्ण रुपमा रद्द गरिएको हो ।’ यसैगरी, नेपाल वायुसेवा निगमका मध्यपूर्व दुबई, दोहा र दमाममा हुने आगामी दिनका उडान सम्बन्धमा नेपाल वायुसेवा निगमको सूचनाअनुसार वा तोकिएको नम्बरमा सम्पर्क गरेर मात्र विमानस्थल प्रस्थान गर्न निगमले अनुरोध गरेको छ । थप जानकारीको लागि नेपाल वायुसेवा निगमको आधिकारिक ‘वेबसाइट तथा निगमको आधिकारिक सामाजिक सञ्जाल नियमित रुपमा अवलोकन गर्न तथा अत्यावश्यक सोधपुछका लागि ९८५१२७३४५९÷९८५१४२२१५६ मा सम्पर्क गर्न निगमका जुनियर सहायक ढुङ्गानाले बताए ।
हजुर एआई एप मार्च १ देखि सेवा सुरु, ‘ठीकठाक’ मा उत्कृष्टलाई मासिक २५ हजार नगद पुरस्कार
काठमाडौं । नेपाली भाषामै केन्द्रित नयाँ डिजिटल एप ‘हजुर एआई’ सार्वजनिक हुने भएको छ । नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै विकास गरिएको यो एप आगामी मार्च १, २०२६ (फागुन १७) गतेदेखि सञ्चालनमा आउने घोषणा गरिएको हो । 'नेपालीका लागि, नेपालीद्वारा निर्मित' भन्ने नारासहित ल्याइएको एपले एउटै प्लेटफर्मबाट बहुआयामिक सेवा उपलब्ध गराउने दाबी गरिएको छ । एपको प्रमुख आकर्षणका रूपमा ‘ठीकठाक’ नामक सामाजिक सञ्जाल फिड प्रस्तुत गरिएको छ । कम्पनीका अनुसार ‘ठीकठाक’ मा प्रयोगकर्ताले राख्ने प्रत्येक पोस्टले ‘ठीकठाक स्कोर’ प्राप्त गर्नेछ । सोही स्कोरका आधारमा हरेक महिना उत्कृष्ट १०० जना प्रयोगकर्तालाई नगद पुरस्कार प्रदान गरिनेछ । महिनाकै उत्कृष्ट क्रिएटरले २५ हजार रुपैयाँ नगद पुरस्कार पाउने व्यवस्था गरिएको जनाइएको छ । यस व्यवस्थाले डिजिटल सामग्री निर्माणमा युवाहरूलाई प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ । हजुर एआईले सामाजिक सञ्जालसँगै अन्य विभिन्न सुविधा पनि समेटेको छ । ‘हजुर एआई च्याट’ नामक फिचरमार्फत नेपाली भाषा बुझ्ने र प्रतिक्रिया दिने एआई च्याटबोट उपलब्ध हुनेछ, जसले अध्ययन, जानकारी तथा सामान्य परामर्शमा सहयोग गर्ने बताइएको छ । त्यस्तै, भाषा सिकाइ सम्बन्धी फिचरमा कथामार्फत विभिन्न भाषा सिक्न सकिनेछ । उत्कृष्ट प्रदर्शन गर्ने प्रयोगकर्ताले मासिक १५ हजार रुपैयाँसम्म पुरस्कार पाउने व्यवस्था गरिएको छ । स्वास्थ्यतर्फ ‘प्राणायाम’ फिचर समावेश गरिएको छ, जसले नेपाली भाषामै ध्यान तथा श्वासप्रश्वास सम्बन्धी अभ्यास सिकाउनेछ । मनोरञ्जनका लागि समाचार, संगीत, लाइभ रेडियो, नेपाली चलचित्र तथा टेलिभिजन च्यानलहरू एउटै फिडमार्फत उपलब्ध हुने कम्पनीको भनाइ छ । यसरी सामाजिक सञ्जाल, अध्ययन, स्वास्थ्य र मनोरञ्जनलाई एउटै एपमा समेटेर प्रयोगकर्तालाई सहज डिजिटल अनुभव दिने लक्ष्य राखिएको छ । लन्च अफरअन्तर्गत जुलाई १, २०२६ सम्म सबै प्रयोगकर्तालाई निःशुल्क प्रिमियम सदस्यता उपलब्ध गराइने जानकारी दिइएको छ ।