६ महिनापछि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु हुँदै, एयर एसियाले २६ अक्टोबरदेखि उडान भर्ने
काठमाडौं । ६ महिनासम्म अन्तर्राष्ट्रिय उडान ठप्प रहेको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि अन्तर्राष्ट्रिय उडान सुरु हुने भएको छ । थाईल्यान्डको थाई एयर एसियाले आगामी अक्टोबर २६ बाट उडान सञ्चालन गर्ने पक्का भएको छ । नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार थाई एयर एसियाले हप्तामा दुईपटक उडान भर्ने अनुमति माग गरेको छ । उनले भने, ‘थाई एयर एसियाले २६ अक्टोबरदेखि नियमित रूपमा हप्तामा दुई उडान गर्ने गरी अनुमति माग गरेको छ । त्यस्तै, जजिरा पनि उडानको तयारीमा छ ।’ भुलका अनुसार विमानस्थलमा स्लटको तयारी भइरहेको छ । तयारी पुरा हुनासाथ उडान अनुमति दिएर भैरहवामा उडान हुने छ । कुवेती विमान कम्पनी जजिरा एयरवेजले पनि तिहारपछि उडान सुरु गर्ने तयारी गरिरहेको उनले जानकारी दिए। ‘जजिरा एयरवेजका र विमानस्थल व्यवस्थापनबीच समन्वय भइरहेको छ,’उनले भने। यसअघि गत अप्रिलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतकै कारण वैकल्पिक रूपमा भैरहवाबाट चारवटा अन्तराष्ट्रिय विमान कम्पनीले उडान गरेका थिए । त्यो अवधिमा सातामा २० वटासम्म उडान भैरहवाबाट भएका थिए । भैरहवा विमानस्थलवाट नियमित उडानको तयारी भइरहेको खबरसँगै भैरहवाका व्यापारीहरूमा पनि उत्साह छाएको छ । लामो समयदेखि विमानस्थल सञ्चालनको माग गर्दै विभिन्न अभियान सन्चालन गर्दै आएका स्थानीय व्यापारी नारायणप्रसाद भण्डारी भन्छन्,‘भैरहवाको विमानस्थल रुपन्देहीको विकासको मेरुदण्ड हो । यसको सञ्चालनले यो क्षेत्रमा छुट्टै उत्साह सिर्जना गर्नेछ ।’ गत अप्रिलदेखि बन्द रहेको नियमित अन्तर्राष्ट्रिय उडानको पाँच महिनाको अवधिमा २ सयभन्दा बढी उडानमार्फत करिब ७ हजार यात्रुले सेवा लिएका थिए । त्यसयता केवल केही चार्टर उडान मात्र भएको थियो । २०७९ साल जेठ २ गते, २५६६औं बुद्ध जयन्तीको अवसर पारेर उद्घाटन गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो चरणमा नेपाल एयरलाइन्स, फ्लाई दुबई, जजिरा एयरवेज, थाई एयर एसिया र हिमालय एयरलाइन्सले नियमित उडान गरेका थिए ।
जेनजी आन्दोलनका सहिद सन्तानका लागि काठमाडौं युरो स्कुलको पूर्ण छात्रवृत्ति घोषणा
काठमाडौं । गोंगबु–बनियाटारस्थित काठमाडौं युरो आईबी वर्ल्ड स्कूलले परिवर्तनका लागि ज्यान आहुति दिएका जेनजी आन्दोलनका सहिद परिवारका बालबालिकालाई पूर्ण छात्रवृत्तिमा अध्ययनको अवसर प्रदान गर्ने घोषणा गरेको छ । विद्यालयले जेनजी आन्दोलनमा सहादत प्राप्त वीर सहिदहरूको सम्मानमा उनीहरूका सन्तानमध्ये एक जनालाई पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने अवसर दिने निर्णय गरेको हो । विद्यालयका अध्यक्ष प्रमोद पाण्डेका अनुसार विद्यालयको सामाजिक उत्तरदायित्व र सहिदहरूको बलिदानप्रतिको सम्मानस्वरूप यस्तो घोषणा गरिएको हो । ‘शिक्षा नै सशक्तिकरणको माध्यम हो । लोकतन्त्रका लागि ज्यान आहुति दिने सहिदहरूको सपना साकार पार्ने हाम्रो सानो प्रयास हो,’ अध्यक्ष पाण्डेले भने । विद्यालयले सहिद परिवारका अभिभावक वा नातेदारहरूलाई आवश्यक प्रमाणसहित विद्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ। काठमाडौं युरो आईबी वर्ल्ड स्कूलले यसअघि पनि सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सहयोगमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । विद्यालयले सहिद सन्तानका लागि सुरु गरिएको यो छात्रवृत्ति कार्यक्रम अन्य शैक्षिक संस्थाका लागि पनि प्रेरणादायी उदाहरण बन्ने विश्वास व्यक्त गरेको छ ।
यसरी पुनहिलमा परिणत भयो ‘लुङटुङ’ डाँडा
राम थापा र सन्तोष गौतम काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा अवस्थित पुनहिल चार दशकअघिसम्म ‘लुङटुङ’ डाँडामा सीमित थियो । कुनैबेला खिवाङगाउँका किसानको चरन क्षेत्र उक्त लुङटुङ डाँडा अहिले पुनहिलको नामले विश्व पर्यटन बजारमा चिनिएको छ । समुद्री सतहबाट ३ हजार २१० मिटरको उचाइमा रहेको पुनहिल प्रकृतिप्रेमी पर्यटकको आकर्षणको केन्द्रमात्र बनेको छैन । आर्थिक रूपमा पछाडि परेको बस्तीलाई सबल बनाउनेदेखि स्थानीय तहको आन्तरिक आयस्रोतको दरिलो आधारसमेत बन्न पुगेको छ । पुनहिलको फेदीमा रहेको घोडेपानीका होटल व्यवसायी एवं अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष डमबहादुर पुनका अनुसार पुनहिलको पर्यटन विकास र प्रवर्द्धनमा खिवाङका दिवङ्गत टेकबहादुर पुनको महत्त्वपूर्ण योगदान रहेको छ । ‘विसं २०३० को दशकमा भारतीय सेनाबाट सेवानिवृत्त मेजर टेकबहादुरले अगुवाइ गरेर लुङटुङको डाँडामा पर्यटक भित्र्याउन पहल नगरेको भए जति नै सुन्दर भए पनि यो क्षेत्र ओझेलमै रहन्थ्यो,’ उनले भने, ‘मेजर टेकबहादुरले लुङटुङको डाँडालाई पुनहिलको नामले चिनाएकै कारण यसको पहिचान देशविदेशमा फैलियो, पर्यटकीय गतिविधि सुरु भएपछि गाउँलेको आर्थिक हैसियत पनि बदलियो ।’ पहिले घोडेपानी पोखरा हुँदै मुस्ताङ नुन बोक्ने, मुक्तिनाथ तीर्थयात्राका क्रममा थकान मेटाउने र बटुवाहरूले घोडालाई पानी खुवाउने थलो थियो । पोखरादेखि उल्लेरी हुँदै मुक्तिनाथको दर्शन र थाकखोलाको नुन ल्याउन जाने मानिसहरूले खिवाङका बासिन्दाले गाईभैँसी चराउनका लागि बनाएको गोठमा चिया, खाजा बनाएर खान्थे । उल्लेरीदेखि घोडेपानी हुँदै शिख र घारमा बास बस्न पुग्थे । दर्जनौँ हिमाललाई एकै ठाउँबाट अवलोकन गर्न सकिने लुङटुङ डाँडामा गोठाला जाने क्रममा दिवङ्गत मेजर टेकबहादुरले देखेको पर्यटकीयस्थल बनाउने सपना साकार भएसँगै घोडेपानी र पुनहिलको परिचय फेरिएको गाउँपालिकाका पूर्वअध्यक्ष पुनले बताए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा समेटिएपछि यस क्षेत्रका बारेमा अन्तरराष्ट्रियस्तरमा प्रचारप्रसारमा थप सहयोग पुगेको उनले बताए । स्थानीय अगुवा हरिबहादुर पुनको डिजाइनमा स्थानीयवासीको श्रमदानमार्फत पुनहिलबाट दृश्यावलोकनका लागि २०३५ सालमा काठको टावर बनाइएको थियो । काठको टावर दिगो नभएपछि मेजर पुनकै ज्वाइँ लेप्टेन राजु पुनको पहलमा चन्दा सङ्कलन गरी २०५७ सालमा अहिले रहेको आकर्षक र पक्की भ्यूटावर निर्माण गरिएको थियो । सूर्योदय, सूर्यास्त, गुर्जा हिमालदेखि धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरिलगायतका दर्जनौँ हिमशृङ्खलाको अवलोकन गर्न सकिने यहाँको प्रमुख विशेषता भएको पथप्रर्दशक रूपक रिमालले बताए । ‘चैतवैशाखमा पाखाभरि ढकमक्क फुल्ने थरिथरिका लालीगुराँससँग रमाउन र पुसमाघमा यहाँ हिउँ खेल्न पाइन्छ,’ उनले भने, ‘प्रकृतिप्रेमी पर्यटकका लागि घोडेपानी-पुनहिल क्षेत्र उत्कृष्ट गन्तव्य हो, शान्त र एकान्त वातावरणमा रमाउन पाउँदा यहाँ आउने पर्यटकले यात्राको थकान पनि भुल्छन् ।’ घोडेपानी-पुनहिल क्षेत्रको भ्रमणका लागि असोज, कात्तिक, फागुन, चैत र वैशाख महिना उपयुक्त समय हो । यस क्षेत्रमा वार्षिक ३० हजारको हाराहारीमा पर्यटक भित्रिने गरेका पर्यटक प्रहरी चौकी घोडेपानीको तथ्याङ्क छ । पुनहिल भ्रमण गर्ने पर्यटकबाट प्रवेश शुल्क उठाउन र चिया पसल सञ्चालन गर्न अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा ५४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । विदेशीले प्रतिव्यक्ति १५० रुपैयाँ र नेपालीले ५० रुपैयाँका दरले प्रवेश शुल्क तिर्नुपर्छ । प्रवेश शुल्क सङ्कलन र चिया पसल सञ्चालनको ठेक्का लिएका व्यवसायी सुदीप पुर्जा पुनले पछिल्लो एक हप्तायता दैनिक १५० देखि २ सय जनासम्म विदेशी पर्यटक आएका बताए । ‘गत वर्ष यही याममा दैनिक ४ सय जनाको अनुपातमा पर्यटक आएका थिए । जेनजी प्रदर्शन र प्रतिकूल मौसमका कारण यसपालि पर्यटक आगमन केही घटेको छ,’ उनले भने । घोडेपानीमा बास बसेका पर्यटकहरू एकाबिहानै करिब ४० मिनेट उकालो पैदलयात्रा गरेर सूर्योदय र हिमशृङ्खलाको अवलोकनका लागि पुनहिल पुग्ने गर्छन् । घोडेपानीमा हाल दैनिक एक हजार जनाभन्दा बढी बास बस्न सक्ने क्षमताको २३ वटा सुविधासम्पन्न होटल छन् । पर्यटकलाई अग्र्यानिक खानाका परिकार, सुविधासम्पन्न कोठा, इन्टरनेटलगायत सुविधा उपलब्ध गराइएको छ । समुद्री सतहदेखि २ हजार ८०० मिटर उचाइमा पहाडको टाकुरामा अवस्थित घोडेपानीका अधिकांश होटलका कोठाबाटै हिमाल देख्न पाउनु अर्को विशेषता हो । पर्यटकीय नगरी पोखरादेखि नयाँपुल हुँदै एकै दिनमा घोडेपानी पुग्न सकिन्छ । यस्तै कास्कीको घान्द्रुक, म्याग्दीको भुरुङ तातोपानी र मोहरेडाँडा भएर पनि घोडेपानी पुग्न सकिन्छ । कास्कीको वीरेठाँटी-उलेरी-घोडेपानी, नयाँपुल-घान्द्रुक-घोडेपानी, म्याग्दीको नागी-महरे-फूलबारी-घोडेपानी र तातोपानी-घार-शिख हुँदै घोडेपानी पुग्न सकिने गरी पदमार्गहरू सञ्चालनमा छन् । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर हुँदै घार, शिख हुँदै सडकको प्रयोग गरेर पनि घोडेपानी पुग्न सकिन्छ । सङ्घीय र प्रदेश सरकारसँग सहकार्य गरेर पोखरेबगरदेखि घोडेपानी जोड्ने सडक स्तरोन्नति कार्य भइरहेको छ । कास्कीको नयाँपुल हुँदै घोडेपानी जोड्ने सडकको मार्ग खोलिएको अन्नपूर्ण गाउँपालिका-६ का वडाध्यक्ष रामबहादुर खड्काले बताए । ‘पुनहिलको ठेक्काबाट हुने आम्दानीको केही हिस्सा सोही क्षेत्रको पर्यटन पूर्वाधार विकासमा लगानी गरिरहेका छौँ,’ उनले भने, ‘पदयात्रा गर्न रुचाउने विदेशी पर्यटकसहित सवारीसाधनको सुविधा खोज्ने आन्तरिक पर्यटकलाई पनि पुनहिलमा भित्र्याउन प्रयास गरिरहेका छौँ ।’ हालै मार्ग खुलेको कास्कीको नयाँपुलदेखि घोडेपानी हुँदै पोखरेबगर जोड्ने सडकलाई पोखरा-जोमसोम आवतजावतका लागि छोटो र विकल्पका रूपमा विकास गर्न लागिएको वडाध्यक्ष खड्काले बताए । रासस