आइसिटी अवार्ड २०२५ को छनौट प्रक्रिया जारी : ४ विधामा छानिए उत्कृष्ट १२ र १३ सेमिफाइनलिस्ट

काठमाडौं । आइसिटी अवार्ड २०२५ का लागि केही विधामा नोमिनेशन खुला रहेको र केही विधामा बहुपर्यायी छनोट प्रक्रिया जारी छ । क्याटेगोरी ‘ए’ अन्तर्गत दोस्रो चरणको मूल्यांकन पश्चात् चार विभिन्न विधामा उत्कृष्ट १२ र १३ सेमिफाइनलिस्टहरू सार्वजनिक गरिएको छ । स्टार्टअप र प्रडक्ट आइसिटी अवार्डमा उत्कृष्ट १२-१२ सेमिफाइनलिस्ट चयन गरिएका छन् भने राइजिङ स्टार इन्नोभेसन र सोसियल इन्नोभेसन विधामा उत्कृष्ट १३-१३ सेमिफाइनलिस्ट चयन भएका छन् । १४ जना विज्ञ जूरी सदस्यहरूले आवेदनकर्ताहरूका कागजात, वेबसाइट, प्रणाली र एप्लिकेसनहरूको अध्ययन गरी व्यवस्थित डिजिटल भोटिङ प्रणालीमार्फत मूल्यांकन गर्दै सेमिफाइनलिस्टहरूको छनोट गरेका हुन् । अब सेमिफाइनलिस्टहरूले उत्कृष्ट ५ फाइनलिस्ट छनोटका लागि विभिन्न प्री–इभेन्ट, ग्राण्ड जूरी प्रस्तुती र स्पीड डेटिङ चरणहरू पार गर्नुपर्नेछ । पहिलो चरणमा प्राप्त आवेदनहरू सर्टलिस्ट गरी १५ दिनभित्र विज्ञ जूरीले ग्राण्ड जूरीको लागि सेमिफाइनलिस्टहरू सार्वजनिक गरेका हुन् । यी चार विधामा ३०० बढीको अनलाइन नोमिनेसन प्राप्त भएको थियो । यी विधाहरू बाहेक क्याटेगोरी ‘सी’ अन्तर्गतका संस्थागत अवार्डहरूको छनोट प्रक्रिया जारी छ भने क्याटेगोरी ‘बी’ अन्तर्गतका व्यक्तिगत अवार्डहरूको नोमिनेशन अझै खुला रहेको छ । यसैगरी दक्षिण एसियाली देशहरूलाई लक्षित साउथ एसिया स्टार्टअप र प्रोभिन्स स्टार्टअप रिकग्निसनको नोमिनेशन पनि अन्तिम चरणमा पुगेको छ ।  

महालक्ष्मी विकास बैंकका ग्राहकहरूलाई र्‍याडिसन एयरपोर्ट लाउन्जमा छुट

काठमाडौं । महालक्ष्मी विकास बैंकले स्वास्थ्य क्षेत्र, रेष्टुरेन्टलगायतका संस्थाहरूसँग सहकार्य विस्तार गर्ने उद्देश्यसहित चाडपर्व तथा विदेश यात्रा गर्ने यात्रुहरूलाई लक्षित गर्दै र्‍याडिसन होटल लाजिम्पाटसँग सम्झौता गरेको छ । उक्त सम्झौताअनुसार बैंकका ग्राहकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको र्‍याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । सम्झौताअनुसार महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले विमानस्थल लाउन्ज सेवासहित र्‍याडिसन होटलका विभिन्न सेवामा छुट पाउनेछन् । ग्राहकले विमानस्थल लाउन्ज सेवामा १५ प्रतिशत, खाद्य तथा पेय पदार्थमा २० प्रतिशत, पेस्ट्री खरिदमा १५ प्रतिशत, ट्यानक्वीलीटी स्पा सेवामा १५ प्रतिशत र र्‍याडिसन फिटनेस सेन्टर (जिम) मा २० प्रतिशत छुट प्राप्त गर्ने व्यवस्था गरिएको छ । बैंकले यस सहकार्यबाट आफ्ना कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्ताहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास लिएको छ । साथै, बैंकले हालै सुरु गरेको अर्को योजनाअनुसार ग्राहकले विभिन्न ट्राभल एजेन्सीमार्फत टुर प्याकेज खरिद गर्दा महालक्ष्मी बैंकको क्रेडिट कार्ड प्रयोग गरी खरिद रकम ६ देखि १२ महिनासम्म किस्ताबन्दीमा भुक्तान गर्न सक्ने सुविधा पनि पाउनेछन् ।

क्षमता भन्दा तीन गुणा बढी पर्यटक अन्नपूर्णमा, बसोबास र खानेपानीमा समस्या

म्याग्दी । मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा रहेका होटल तथा रेष्टुरेष्टको क्षमता भन्दा बढी सङ्ख्यामा पर्यटक आएपछि व्यवस्थापन गर्न समस्या भएको छ ।      आठ हजार ९१ मिटरको अन्नपूर्ण हिमालको फेदीमा पुग्ने आरोहण गर्ने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ । पदमार्ग तथा आधार शिविरका टेन्ट र आश्रय स्थलको भवनमा एक दिनमा ५० जना सम्म बास बस्ने क्षमता रहेको छ । दैनिक एक सय ५० जना भन्दा बढी पर्यटकहरु आउन थालेपछि आवास ब्यवस्थापनमा कठिनाई भएको अन्नपूर्ण –४ का वडा सदस्य श्याम पुर्जाले बताए । 'अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा पर्ने भएकाले पक्की संरचना बनाउने अनुमति नपाइने भएकाले गाउँपालिकासँग समन्वय गरेर गत बसन्त यामदेखि टेन्ट टाँगेर पर्यटकलाई खाने, बस्ने व्यवस्था मिलाइएको छ,' उनले भने 'क्षमता भन्दा तीन गुणा बढी पाहुनाहरु आउन थालेपछि समस्या भएको हो ।'  फुतफुते झरनामा चिया पसल, साधीखर्क, गुफाँफाँट, भुसकेट र अन्नपूर्ण आधार शिविरको पञ्चकुण्ड ताल परिसरमा स्थानीयबासीले गत बैशाख महिनादेखि स्थायी संरचना बनाएर पाहुनालाई खाना, खाजा खुवाउने र सुत्के व्यवस्था मिलाएका छन् । अपेक्षा गरेको भन्दा धेरै संख्यामा पर्यटक आएकाले व्यवस्थापनका लागि टेन्टको संख्या थप गर्न लागिएको पुर्जाले बताए ।  होटल तथा लजको सुविधा नभएकाले यसअघि खाना, खाजाका परिकार, भाँडाकुँडा, ग्यास, लत्ताकपडालगायत समान आफैँले व्यवस्था गर्नुपर्ने समस्या थियो । आधार शिविरको भ्रमण गरेर आउनुभएका बेनीका सन्दिप खत्रीले तीन जनाको क्षमता भएको टेन्टमा सात जना सुत्नुपरेको बताए ।  मानव बस्तीदेखि टाढा रहेको उक्त क्षेत्रमा सञ्चार, विद्युत अभाव र आवास व्यवस्थापनमा समस्या भएको उनले बताए । अर्का पदयात्री बिशाल खत्रीले भुसकेतदेखि आधार शिविर सम्मको तीन घण्टाको पदमार्गमा संकेत चिन्हहरुको आवश्यकता महशुस गरेको अनुभव सुनाए ।  मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै अन्नपूर्ण आधार शिविरमा पुग्न सकिन्छ । नारच्याङ देखि दुई घण्टा गाडीमा यात्रा गरेपछि पुगिने हुमखोला देखि दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ ।  छोटो यात्रामा पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर पर्यटकको रोजाईमा परेको छ । शान्त र एकान्त वातावरण, वन्यजन्तु, पंक्षी, जंगल, अग्ला पहाडको खोच, फुतफुते झरना, अन्नपूर्ण हिमालको फेदीमा रहेको निलो रङगको पञ्चकुण्ड ताल आधार शिविरको आकर्षण हो ।  पचहत्तर वर्षअघि फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण हिमाल आरोहणका लागि प्रयोग गरेको बाटो पछ्याउदै वि.स. २०६७ मा नारच्याङका तेज गुरुङको अगुवाईमा पहिचान भएको यो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले वि.स. २०७७ मा मौरिस हर्गोज नामारण गरि खुलाएको थियो ।  अन्नपूर्ण गाउँपालिकाले आश्रयस्थल, सार्वजनिक शौचालय, खानेपानी निर्माण, पदमार्ग मर्मत र समुन्द्रि सतहदेखि चार हजार एक सय मिटर उचाईमा रहेको आधार शिविरमा खुल्ला संग्रहालय स्थापना गरेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को पाँच लाख रुपैयाँ सहयोगमा ‘रेड वाटरफल’ र सुनखोलामा काठको पुल निर्माण भएको र थप पुर्वाधार निर्माणका लागि पहल गरेको वडा अध्यक्ष लोकबहादुर फगामीले बताए । रासस