होटेल फरेष्ट इनको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । होटेल फरेष्ट इन लिमिटेडको आईपीओमा आवेदन दिने आज माघ २६ गते अन्तिम दिन रहेको छ । माघ २२ गतेदेखि  बिक्री खुला गरेको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् ४० करोड रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका ४० लाख कित्ता सेयर जारी गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् ४ लाख सेयर विदेशमा रोजगार गरिरहेका नेपाली, २ लाख कित्ता सामूहिक लगानी कोष र ८० हजार कित्ता कर्मचारीलाई बिक्री गरिसकेको छ ।  दोस्रो चरणमा बाँकी रहेको ३३ लाख ३० हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ ।  कम्पनीको आईपीओमा सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् । 

२५ वर्षमा २६ लाख पर्यटकले घुमे अन्नपूर्ण क्षेत्र, सन् २०२५ मा हालसम्मकै बढी

काठमाडौं । पदयात्रा पर्यटनका लागि विश्व प्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा पछिल्ला २५ वर्षमा २६ लाख ३२ हजार ४ विदेशी पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार सन् २००१ मा ६५ हजार ३१३ पर्यटक आएकामा सन् २०२५ मा हालसम्मकै बढी २ लाख ९९ हजार ८३१ पर्यटक भित्रिएका छन् । उक्त अवधिमा सबैभन्दा कम सन् २०२१ मा जम्मा १६ हजार १०५ पर्यटकले यस क्षेत्रको भ्रमण गरेको ‘एक्याप’को आँकडाले देखाएको छ । कोभिड-१९ महामारी कारण त्यस वर्ष पर्यटक आगमनमा भारी गिरावट आएको थियो । सन् २००१ देखि सन् २०१० सम्म वार्षिक १ लाखभन्दा कम सङ्ख्यामा पर्यटक आएकामा सन् २०११ को नेपाल भ्रमण वर्षमा भने पर्यटक एक लाख नाघेका थिए । उक्त वर्ष १ लाख १ हजार ९०८ पर्यटक यस क्षेत्रमा भित्रिएका थिए ।  त्यसपछि सन् २०१५ मा गएको गोरखा भूकम्पका कारण पनि पर्यटक आगमन घटेर ७८ हजार ९३० पुगेको थियो । त्यसयता वर्सेनि बढ्दै आएको पर्यटक सङ्ख्या सन् २०२० र सन् २०२१ को कोरोना महामारीका बेला घट्न पुगेको थियो । सन् २०२२ पछि भने पुनः पर्यटक सङ्ख्या बढेको देखिन्छ ।  सन् २०२२ मा १ लाख २९ हजार ७२३, सन् २०२३ मा १ लाख ९१ हजार ५५८, सन् २०२४ मा २ लाख ४४ हजार ३९ र गत वर्ष अर्थात् सन् २०२५ मा २ लाख ९९ हजार ८३१ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका हुन् ।  गत वर्ष आएका पर्यटकमध्ये दक्षिण एसियाली मुलुकका १ लाख ७७ हजार ६२८ र अन्य मुलुकका १ लाख २२ हजार २०३ रहेका ‘एक्याप’का प्रमुख डा. रबिन कडरियाले जानकारी दिए । सन् २०२५ मा पर्यटक आगमनमा नयाँ रेकर्ड कायम भएको उनले बताए ।  ‘पर्यटक आगमन बर्सेनि बढ्दो छ, पदयात्रामा रमाउनेदेखि धार्मिक पर्यटकसम्म यस क्षेत्रमा आउने गरेका छन्,’ उनले भने ।  अन्नपूर्ण चक्रिय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी लगायतका गन्तव्यस्थलमा वर्षेनी लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले ती गन्तव्यस्थलमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । ७ हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य मानिन्छ । प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले अन्नपूर्ण क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जुनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा तय गर्न सकिन्छ । आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, स्थानीयबासीको आतिथ्यता र सेवा सुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि उत्कृष्ट मानिन्छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएका छन् ।

साइबर सुरक्षा र मिथ्या सूचना स्वतन्त्र तथा निष्पक्ष निर्वाचनका लागि गम्भीर चुनौती

काठमाडौं । आगामी फागुन २१ गते देशभर हुन गइरहेको निर्वाचनको सन्दर्भमा साइबर सुरक्षा र मिथ्या तथा भ्रामक सूचनाको बढ्दो जोखिमप्रति डिजिटल राइट्स नेपाललगायत विभिन्न सरोकारवालाहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् । सरोकारवाला संस्थाहरूले संयुक्त रूपमा जारी गरेको प्रेस विज्ञप्तिमा निर्वाचनअघिको समग्र अवस्था क्रमशः संवेदनशील बन्दै गएको उल्लेख गर्दै विशेषगरी मतदान अघिका तीन दिन अत्यन्तै जोखिमपूर्ण हुन सक्ने बताएको छ । विज्ञप्तिमा स्वतन्त्र तथा निष्पक्ष निर्वाचन भन्नाले केवल भौतिक मतदान प्रक्रियाको सुरक्षा मात्र नभई सूचना वातावरण मिथ्या सूचना, दुष्प्रचार र सूचना हेरफेरबाट मुक्त हुनु पनि उत्तिकै आवश्यक रहेको उल्लेख छ ।  योजनाबद्ध रूपमा फैलाइने गलत सूचनाले निर्वाचनको विश्वसनीयता, सामाजिक सद्भाव र सार्वजनिक विश्वासमा गम्भीर असर पार्न सक्ने सरोकारवालाहरूको धारणा छ । विज्ञप्तिअनुसार निर्वाचन आयोग र केही नागरिक समाज मिथ्या सूचना पहिचान तथा विश्लेषणमा सक्रिय देखिए पनि समग्र निर्वाचन पर्यवेक्षण संयन्त्र पर्याप्त रूपमा सक्रिय हुन नसकेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।  मतदानको मिति नजिकिँदै गर्दा मिथ्या सूचनाविरुद्ध सार्वजनिक सचेतना अभियान तीव्र बनाउन, सरकार, निर्वाचन आयोग, मिडिया र नागरिक समाजबीच प्रभावकारी समन्वय गर्न तथा पत्रकारहरूका लागि ‘मिथ्या सूचना ड्यासबोर्ड’ जस्ता साझा संयन्त्र विकास गर्न सुझाव दिइएको छ । त्यस्तै, डिजिटल युगमा निर्वाचनका बेला साइबर सुरक्षाले सार्वजनिक विश्वास र लोकतान्त्रिक स्थायित्वमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले नेपाल प्रहरीको साइबर ब्युरोलाई पर्याप्त स्रोत, जनशक्ति र प्राविधिक क्षमता उपलब्ध गराउन सरकारसँग माग गरिएको छ । सामाजिक सञ्जालमा सक्रिय कन्टेन्ट क्रिएटरहरूलाई जिम्मेवार सूचना प्रवाहका लागि सचेत गराउन तथा मेटा र टिकटकजस्ता अन्तर्राष्ट्रिय प्लेटफर्मसँग निर्वाचन आयोगले समन्वय गरी मिथ्या सामग्री नियन्त्रणमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा नेपालको लोकतान्त्रिक प्रक्रियाको विश्वसनीयता सुरक्षित मतपेटिकाले मात्र नभई तथ्यपरक र सचेत सूचनामा आधारित जनमतले निर्धारण गर्ने उल्लेख गर्दै यस पहलको नेतृत्व निर्वाचन आयोगले गर्नुपर्ने धारणा राखिएको छ ।