स्वास्थ्य बीमाको भुक्तानीमा समस्या देखिए महानगरले व्यहोर्ने मेयर महर्जनको घोषणा
काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पाटन अस्पतालसँगको सहकार्यमा सञ्चालित स्वास्थ्य कार्यक्रमका लागि नेपाल सरकारले बीमाको भुक्तानी नगरे महानगरपालिकाले आफैं सो रकम तिर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । बीमाबापतको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको भन्दै मेयर महर्जनले सरकारको ध्यानाकर्षण गराए । कुनै कारणवश भुक्तानी नभएर सेवा बन्द गर्नुपर्ने अवस्था आएमा त्यसको प्रत्यक्ष जिम्मेवारी र आलोचना आफूले व्यहोर्नुपर्ने उल्लेख गरे । महानगर प्रमुख महर्जनले नेपाल सरकारले औपचारिक पत्रमार्फत अनुमति दिए वा महानगरलाई भुक्तानीको जिम्मेवारी सुम्पेमा महानगरपालिकाले नै उक्त दायित्व पूरा गर्ने स्पष्ट पारे । मेयर महर्जनले पाटन अस्पतालकै प्राविधिक सल्लाह र सुझावअनुसार नयाँ स्वास्थ्य केन्द्र स्थापना गर्न लागिएको र सो केन्द्र निकट भविष्यमै सञ्चालनमा आउने जानकारी दिए । उनका अनुसार यो केन्द्र सञ्चालनमा आएपछि राष्ट्रिय स्वास्थ्य बीमा प्रतिष्ठानमार्फत नगरवासीले गुणस्तरीय सेवा प्राप्त गर्नेछन् र ललितपुर महानगर तथा पाटन अस्पतालबीचको यो सहकार्य मुलुकका अन्य ७५३ स्थानीय तहका लागि उदाहरणीय अभ्यास हुनेछ । उनले भने, 'पाटन अस्पतालकै सुझाव र सल्लाहबमोजिम आवश्यक सुविधाहरू जडान गरिएको अर्को स्वास्थ्य केन्द्र निर्माण गरिरहेका छौं । निकट भविष्यमै सञ्चालनमा ल्याउने तयारी छ । त्यो केन्द्र खुलेपछि राष्ट्रिय स्वास्थ्य बीमा प्रतिष्ठानअन्तर्गत हामीले अझ राम्रो सेवा प्रवाह गर्न सक्छौं । मुलुकका ७५३ स्थानीय पालिकामध्ये ललितपुर महानगरपालिकाले पाटन अस्पतालसँग सहकार्य गरेर अघि बढाएको यो काम सम्पूर्ण पालिकाका लागि असल अभ्यास बनेको छ ।' मेयर महर्जनले ७५३ पालिकामध्ये ललितपुर महानगर उदाहरणीय पालिका बन्न सफल भएको पनि बताए ।
कामना सेवा विकास बैंकद्वारा दरबार हाई स्कूलका विद्यार्थीलाई छात्रवृत्ति प्रदान
काठमाडौं । कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रानीपोखरीस्थित भानु माध्यमिक विद्यालय (दरबार हाई स्कूल) का गरिब तथा विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । विद्यालयको १७२औँ स्थापना दिवस तथा अभिभावक दिवसका अवसरमा बैंकले उक्त सहयोग प्रदान गरेको हो । विद्यालयमा अध्ययनरत करिब १ हजार १०० भन्दा बढी विद्यार्थीमध्ये आर्थिक अभावका कारण पठनपाठन प्रभावित हुने अवस्थालाई मध्यनजर गर्दै बैंकले छात्रवृत्ति उपलब्ध गराएको जनाएको छ । उक्त छात्रवृत्ति बैंकका मार्केटिङ विभाग प्रमुख पर्मा ढुङ्गेलले विद्यालयका प्रधानाध्यापक शारदा कुमारी पौडेललाई हस्तान्तरण गरेकी थिइन् । कार्यक्रममा बोल्दै प्रधानाध्यापक पौडेलले जेहेन्दार तथा अनुशासित विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरी उनीहरूको हौसला बढाउन र उज्ज्वल शैक्षिक भविष्य निर्माणमा सहयोग पुर्याएकोमा बैंक परिवारप्रति धन्यवाद व्यक्त गरिन् । त्यस्तै, बैंकका मार्केटिङ विभाग प्रमुख ढुङ्गेलले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाइन् । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, शिक्षक–शिक्षिका, अभिभावक तथा बैंकका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । बैंकले आगामी दिनमा पनि सरोकारवालासँगको सहकार्यमा यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
टेलिकमको वार्षिकोत्सवमा विभिन्न विधामा उत्कृष्ट संस्था र कार्यालय सम्मानित
काठमाडौं । नेपाल टेलिकमले २२औँ वार्षिकोत्सवको अवसरमा आयोजित वार्षिक कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था, कार्यालय तथा सेवाग्राहीलाई सम्मान गरेको छ । कार्यक्रममा प्रादेशिक निर्देशनालय, ठूला कारोबार गर्ने संस्था, रिचार्ज तथा लिज लाइन सेवाका प्रमुख प्रयोगकर्ता तथा उत्कृष्ट कार्यसम्पादन गर्ने कार्यालयहरूलाई चारवटा मुख्य विधामा सम्मान प्रदान गरिएको हो । बढी रकमको रिचार्ज कारोबार गर्ने डिलरअन्तर्गत विराटनगरबाट युवा ट्रेड इन्टरनेसनल, वीरगञ्जबाट ग्यालेक्सी इन्टरनेसनल ट्रेड सेन्टर, काठमाडौं र पोखराबाट क्यास पे ट्राली, भैरहवाबाट आरसी मार्केटिङ (रूपन्देही), सुर्खेत र नेपालगञ्जबाट ग्यालेक्सी इन्टरनेसनल ट्रेड सेन्टर तथा अत्तरिया (धनगढी) बाट केदार मोबाइल हाउस सम्मानित भएका छन् । त्यसैगरी, लिज लाइन सेवा प्रयोग गर्ने उत्कृष्ट ग्राहकतर्फ सरकारी संस्थामध्ये सर्वोच्च अदालत, रामशाहपथ, काठमाडौं तथा निजी संस्थातर्फ नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड, दरबारमार्गलाई सम्मान प्रदान गरिएको छ । एफटीटीएच मर्मत सेवाअन्तर्गत पहिलो दिनमै उजुरी समाधान गर्ने उत्कृष्ट कार्यालयतर्फ विराटनगर कार्यालयले ९८.०८५ प्रतिशतसहित उत्कृष्ट प्रदर्शन गरेको छ । त्यसपछि नक्साल, काठमाडौंले ९७.४६ प्रतिशत, घनाकोट, पोखराले ९४.४२ प्रतिशत, मंगलापुर, भैरहवाले ९२.५४ प्रतिशत, महेन्द्रनगरले ८६.३३ प्रतिशत, दैलेखले ७९.६६ प्रतिशत तथा सिमराले ७३.८३ प्रतिशत सफलता दर हासिल गरेका छन् । नेपाल टेलिकमले उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी, साझेदार संस्था तथा सेवाग्राहीलाई प्रोत्साहन गर्दै सेवा गुणस्तर अभिवृद्धि र ग्राहक सन्तुष्टि बढाउने लक्ष्यका साथ यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।