जेनजी आन्दोलनले पर्यटन सिजनमा ठूलो संकट, पुनरुत्थानमा चुनौती

काठमाडौं । भदौ २२ र २३ गते दुई दिन जेनजी प्रदर्शनीले गर्दा अहिले देश संकटको अवस्थाबाट गुज्रिरहेको छ । प्रदर्शनीको क्रममा सार्वजनिक र निजी सम्पत्तिमा ठूलो क्षति पुगेको छ । यो आन्दोलनको कारण नेपालको पर्यटन क्षेत्रमा समेत गहिरो असर पारेको छ । आन्दोलनले ल्याएको उथलपुथलका कारण नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने पर्यटन उद्योगमा ठूलो धक्का पुगेको छ ।  पर्यटन सिजनको सुरुवातमै देशमा संकटको अवस्था सिर्जना हुँदा पर्यटन व्यवसायी चिन्तित छन् । नेपालमा सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिना पर्यटन क्षेत्रको लागि अत्यन्तै महत्त्वपूर्ण मानिन्छ । यो समयमा अरू समयमा भन्दा बढी पर्यटन नेपाल आउने गर्छन् । विशेषगरी पर्वतारोहण, पदयात्रालगायतका लागि हजारौं विदेशी पर्यटक आउने गर्छन् । पर्यटन सिजनको सुरुवातमै निम्तिएको यो संकटले नेपालको पर्यटन क्षेत्र अत्यन्तै कठिन परिस्थितिमा रहेको व्यवसायीहरू बताउँछन् । होटल संघ नेपाल (हान), नेपाल पर्वतारोहण संघ (हान), ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) लगायत पर्यटनसँग सम्बद्ध संस्थाहरूले हालको अवस्थाले निम्तिएको संटक र समाधानको लागि चाल्नुपर्ने प्रयासबारे विज्ञप्ति नै जारी गरेका छन् । हानका अनुसार आन्दोलको क्रममा हिल्टनसहित दुई दर्जन होटलमा ठूलो क्षति पुगेको छ । हिल्टन होटलमा मात्रै ८ अर्ब रुपैयाँको क्षतिको अनुमान गरेको छ । यसरी देशभर करिब २५ अर्बभन्दा बढी क्षतिको प्रारम्भिक आंकलन हानले गरेको छ । धेरैजसो होटलहरू मर्मतसम्भार, पुनः निर्माण नगरी सञ्चालनमा आउन सक्ने अवस्था छैन । हानका अध्यक्ष विनायक शाह २ हजारभन्दा बढी होटलमा कार्यरत कर्मचारीको रोजीरोटीमा प्रत्यक्ष असर पर्ने देखिएको बताउँछन् । पर्यटन क्षेत्र अत्यन्तै संवेदनशील क्षेत्र भएको र आन्दोलनले धेरै ठूलो असर पारेको पर्वतारोहण संघका अध्यक्ष फुर ग्याल्जे शेर्पा सुनाउँछन् । ‘पर्यटन क्षेत्र एकदमै संवेदनशील विषय हो,’ अध्यक्ष शेर्पाले भने, ‘अलिकति मात्रै घटना हुँदा पनि यसको असर पर्यटन क्षेत्रमा परिहाल्छ ।’  नेपालमा जेनजी आन्दोलनको कारण सिर्जित संकटले पर्यटकहरु आत्तिएको र टिकट बुकिङ क्यान्सिल हुने क्रम बढेको अध्यक्ष शेर्पाले बताए । ‘पर्यटन सिजनमा आउनुपर्ने विदेशीहरू आउन सकेका छैनन्, यहाँ आउनेहरू पनि जानको लागि हतार छन् । पहिले बुकिङ गरिसकेकोहरूले पनि रद्द गर्न थालेका छन् । यो गम्भीर विषय हो,’ उनले भने । अहिले सिर्जित समस्याले विश्वमा नकारात्मक सन्देश गएको छ । यसले नेपालमा भित्रिने पर्यटकको संख्यामा पनि कमी आउन अध्यक्ष शेर्पाको भनाइ छ । उनले यो सिजन मात्रै गुमाउँदा त्यसको असर नेपालकै अर्थतन्त्रमा पुग्ने बताउँछन् । होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेशकुमार चुके नेपालको पर्यटनलाई सधै केही न केही घटनाक्रमले असर गरिरहेको विचार राख्छन् । ‘कहिले राजनैतिक अस्थिरता, बाढीपहिरो, भूकम्पजस्ता घटनाले पर्यटनलाई असर गरिरहेको छ, अहिले झन् यो आन्दोलनले पर्यटनलाई थप असर पुगेको हामीले महसुस गरेका छौं,’ उनले भने । आन्दोलनकारीले निजी होटलहरूलाई पनि टार्गेट गरेर क्षति पुर्‍याएको जसको कारण विश्वका पर्यटकमा नेपालको बारेमा नकारात्मक सन्देश पुगेको अध्यक्ष चुके सुनाउँछन् ।  ‘विदेशबाट आएको चेन होटलले राम्रो गरिरहेको थियो, यसरी आज नष्ट हुँदा विश्वमा नेपालको बारेमा राम्रो सन्देश गएको छैन,’ उनी भन्छन् । अहिलेको अवस्थामा नेपालमै भएका पर्यटकलाई घुमाउन नसक्ने स्थिति भएको र आउन चाहने पर्यटकले पनि बुकिङ क्यान्सिल गर्ने संख्या बढेको छ । पुनरुत्थानमा चुनौती कोरोना महामारीपछि बल्लतल्ल उठ्न थालेको पर्यटन उद्योगमा यो आन्दोलनले अर्को ठूलो चुनौती थपेको छ । व्यवसायीहरूका अनुसार पर्यटन क्षेत्र उठ्न अब फेरि केही वर्ष समय लाग्ने भएको छ । अध्यक्ष चुके अहिले सिर्जित परिस्थितिको कारण नेपालको पर्यटन क्षेत्रलाई पुनः ५/७ वर्ष पछि धकेलेको बताउँछन् ।  उनी अहिलेको सिर्जित परिस्थितिले होटलको अकुपेन्सी झन् घट्न पुग्ने उनले बताए । ‘अहिले होटलको औसत अकुपेन्सी ३० प्रतिशत छ, आन्दोनलको कारण सिर्जित परिस्थितले अबको दिनमा अकुपेन्सी १०/१५ प्रतिशतमा आउने अवस्था हुन्छ,’ उनी भन्छन् ।  होटलको व्यवसायमा संकुचन आउँदा कर्मचारीलाई तलब खुवाएर राख्न नसक्ने र हटाउन पनि नमिल्ने हुँदा व्यवसायीलाई सस्टेन हुन गाह्रोउनले सुनाए । अध्यक्ष चुके जेनजीले उठाएको माग नयाँ सरकारले छिटो सम्बोधन गर्नुपर्ने र नेपालको पर्यटन प्रवद्र्धनको लागि निकासा दिनुपर्ने सुझाव दिन्छन् । अध्यक्ष चुकेले भने, ‘हामीले यो परिस्थितिलाई केही समय थेग्न सक्छौं, तर लामो समय जान सकिँदैन । यो परिस्थितिमा हाम्रो त्यस्तो माग छैन । आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनको लागि निकास निकाल्नुपर्यो ।’ नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) का वरिष्ठ उपाध्यक्ष जिश्वान तुलाधर श्रेष्ठले संसारकै सबैभन्दा ठुलो चेन होटल हिल्टनमा क्षति पुग्नु भनेको पर्यटन क्षेत्रको लागि निकै दुःखदायी रहेको औंल्याएकी छन्। कुनै पनि घटनाले सुरुमा पर्यटन क्षेत्र प्रभावित हुने उल्लेख गर्दै श्रेष्ठ भन्छिन्, ‘नेपालमा होस् या कुनै पनि ठाउँमा संकट आउँदा सबैभन्दा पहिला असर पुग्ने क्षेत्र भनेको पर्यटन हो र सबैभन्दा पछि उठ्ने भनेको पनि यही पर्यटन नै हो ।’  पर्यटन सरकारको दृष्टिमा पहिलो प्राथमिकता नपर्ने हुँदा यसको असर अझ बढी व्यवसायीहरूले भोग्नुपर्ने उनको गुनासो छ । ‘यो बेलामा पर्यटकहरू नेपाल आउन डराइरहेका छन्, फ्लाइट क्यान्सिलको कुरा धेरै आइरहेको छ, उनले भनिन्, ‘दुई दिन फ्लाइट रोक्दा धेरै पर्यटक रोकिएका छन्, उहाँहरूलाई एकैचोटि मोबिलाइज गर्न सक्दैन ।’  उनका अनुसार कोभिडपछि बल्लबल्ल उठ्न लागेको पर्यटन क्षेत्र फेरि यो आन्दोलनको कारण केही वर्ष पछि धकेलिएको छ । आन्दोलनले सिर्जित अन्योलताको वाबजुत पनि व्यवसायीहरूले पर्यटकको सुरक्षा सुनिश्चित गर्न हरसम्भव प्रयास गरेको श्रेष्ठले सुनाइन् । पर्यटकहरूको सुरक्षाका लागि समूह नै बनाएर काम गरेको उनले बताइन् । साथै कहाँ कुन होटलमा केकस्तो छ त्यसको अवस्था र तथ्यांक बुझ्ने काम भइरहेको उनको भनाइ छ । ‘हामीले हिल्टन, बर्नबास जस्ता होटेलहरूमा के कस्तो अवस्था छ भन्ने तथ्यांक संकलन गरिरहेका छौं,’ उनले भनिन्, ‘यसका साथै हामीले पर्यटकहरू र हाम्रो सदस्यहरूलाई आवश्यक सहयोग प्रदान गरिरहेका छौं ।’  अहिले नियमित उडान भएको हुँदा यात्रुहरूलाई सुरक्षित गन्तव्यसम्म पुर्‍याउनको निम्ति वायुसेवा कम्पनीसँग समन्वय भइरहेको उनले जानकारी दिइन् ।  क्यान्सिलभन्दा पोस्टपोन्डमा जोड आन्दोलनको क्रममा केही बुकिङहरू रद्द भए पनि पर्यटन सम्बद्ध निकाय र व्यवसायीहरूले क्यान्सिल गर्नुको सट्टा पोस्टपोन्ड (मिति सार्न) अनुरोध गरिरहेका छन् । विदेशी पर्यटकहरूलाई नेपालमा सिर्जित परिस्थिति सामान्य हुँदै गएको र पर्यटकहरू पूर्ण रूपमा सुरक्षित रहेको विश्वास दिलाउने प्रयास गरिरहेका नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका निर्देशक मणि लामिछानेले बताए ।  निर्देशक लामिछानेका अनुसार पोखरालगायत पर्यटकीय क्षेत्रमा कुनै समस्या छैन र पर्यटकहरू सुरक्षित रहेका छन् । होटेल र रेस्टुरेन्टहरूले विशेष सतर्कता अपनाएर पर्यटकलाई सेवा दिन समन्वय गरेको उनको भनाइ छ । निर्देशक लामिछानेले भने, ‘सिजनको समयमा देशमा सिर्जित समस्याले पर्यटनमा ठुलो असर परेको छ नै । धेरैले बुकिङ क्यान्सिल गर्न खोजिरहनुभएको छ, कतिले आफ्नो यात्रा छोट्याउन खोजिरहनुभएको छ । तर हामीले क्यान्सिलभन्दा पोष्टपोन्ड गर्न सुझाव दिइरहेका छौं ।’  लामिछानेले आन्दोलनको सुरुको २/३ दिन पर्यटकलाई असहज भएपनि अहिले धेरै सामान्य हुँदै गएको जानकारी दिए ।  सुरक्षा र समन्वयमा जोड नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक (सीईओ) दीपक जोशीले अहिलेको अवस्थामा पर्यटकको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउँछन् ।  उनले सबैभन्दा धेरै पर्यटक काठमाडौं र पोखरामा रहेको र उनीहरुलाई सुरक्षित बसोबास र निश्चित गन्तव्यसम्म पुर्‍याएको जानकारी दिए । ‘व्यक्तिगत रूपमा पर्यटकलाई क्षति पुगेको छैन । केही होटलहरूमा क्षति पुग्दा त्यहाँ भएका पर्यटकहरूमा त्रासपूर्ण वातावरण चाहिँ सिर्जना भएको छ,’ सीईओ जोशीले भने, ‘ हामीले पर्यटकलाई सुरक्षित साथ राखेका छाैं, आफ्नो देश फर्कन चाहनेलाई सुरक्षितसाथ एयरपोर्टसम्म पुर्‍याएका छाैं ।’  बोर्डले अहिलेको संकट परिस्थितिमा कसरी अगाडि बढ्ने भनेर पर्यटन व्यवसायीसँग भर्चुअल छलफल गरेको जोशीले बताए । साथै तत्काल रिकभरीको लागि के कसरी अघि बढ्ने भनेर रणनीति बनाउने तयारीमा बोर्ड जुटेको जोशीले जानकारी दिए । देशमा सिर्जित अहिलेको परिस्थितिले नेपाल भित्रिने पर्यटकको संख्या घट्ने सहजै अनुमान गर्न सकिन्छ । साथै होटलमा लगानी गर्ने लगानीकर्ता पनि निराश बनेका छन् । सीईओ जोशीका अनुसार यो संकटको अवस्थामा के गर्ने भनेर अन्तर्राष्ट्रिय पर्यटन सम्बद्ध निकाय, डायस्पोरालगातसँग समन्वयसमेत भइरहेको छ । 

आन्दोलनको मनोवैज्ञानिक मूल्य : डर, चिन्ता र डिप्रेशनको बढ्दो खतरा

काठमाडौं । राजनीतिक दलका नेताहरूले जनताको अपेक्षा र भावनाको सम्बोधन गर्न नसक्दा बढ्दै गरेको जनअसन्तुष्टि अहिले ‘जेनजी’ पुस्ताको आन्दोलनका रूपमा विस्फोट भएको छ । यस आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिले राजनीतिक अनिश्चिततासँगै सामाजिक तथा मानसिक जटिलतासमेत थपेको छ । यस्ता घटनाक्रमले समाजमा निराशा, अनिश्चितता र असहायताजस्ता भावनात्मक समस्या गहिरिँदै जानसक्ने देखिन्छ । राजनीतिक अस्थिरता र सामाजिक तनावबीच नागरिकको मानसिक स्वास्थ्यमासमेत नकारात्मक असर पर्न सक्ने चिन्ता विज्ञहरूले व्यक्त गर्न थालेका छन् । प्रस्तुत छ, पछिल्लो राजनीतिक परिवर्तनहरूले नेपाली समाजमा मानसिक स्वास्थ्यमा पर्ने प्रभावबारे नवीन पौडेलले मनोरोग विशेषज्ञ डा. अज्वनी रिमालसँग गरेको कुराकानीको सम्पादित अंश : नेपालमा अहिले जेनजीले गरेको प्रदर्शनलाई स्वास्थ्यकर्मीको दृष्टिकोणले तपाईंले कसरी हेर्नु भएको छ ? एक मानसिक स्वास्थ्यकर्मीका दृष्टिले हेर्दा अहिलेको आन्दोलनले जनमानसको मानसिक स्वास्थ्यमा गहिरो असर पार्ने देखिन्छ। अहिलेको वातावरणले जनमानसमा ठूलो मानसिक अन्योलता ल्याएको छ । ‘अब के होला ?’ भन्ने डर र असुरक्षाको भावनाले स्वस्थ मानसिक अवस्था भएका व्यक्तिहरूसमेत त्रसित, चिन्तित र बेचैन भइरहेका छन् । पहिले नै मानसिक स्वास्थ्य समस्या भोगिरहेकामा त झन बढी प्रभावित हुने सम्भावना हुन्छ । उनीहरुमा निद्रामा समस्या, नकारात्मक सोच, आत्मविश्वास घट्नु, समाजसँग टाढिनु तथा दैनिक क्रियाकलापमासमेत कठिनाई आउने जस्ता लक्षण देखिन सक्छ । यस्तो अवस्थामा सामूहिक ट्रमा उत्पन्न गर्ने खतरा पनि रहन्छ । आन्दोलनमा प्रत्यक्ष संलग्न भएका युवा, त्यसलाई नजिकबाट नियाल्ने वा परिवारका सदस्य गुमाउनेहरूले दीर्घकालीन मनो–सामाजिक समस्या भोग्नसक्ने सम्भावना हुन्छ । सकारात्मक पक्षमा हेर्दा युवा पुस्ताले आफ्नो आवाज उठाउन पाएको अनुभवले सशक्तीकरण, सामूहिक एकता र उद्देश्य बोधमा परिवर्तन ल्याएको महसुस गर्न सक्छन् । यसले केही युवामा आत्मबल र आत्मविश्वास बढाउन पनि मद्दत गरेको देखिन्छ । राजनीतिक आन्दोलन र अस्थिरताले सामान्य नागरिकको मानसिक स्वास्थ्यमा के–कस्ता समस्या ल्याउँछ ? यस्तो आन्दोलन र अस्थिरताले नागरिकको मानसिक स्वास्थ्यमा तत्कालिकदेखि दीर्घकालीन असर पारेको हुन्छ । आन्दोलन, प्रदर्शन र हिंसात्मक घटनाको प्रत्यक्ष वा परोक्ष अनुभवले मानिसमा डर लाग्ने, असुरक्षा महसुस हुने, मन स्थिर नहुने, छटपटी र हतारहतार हुनेजस्ता प्रतिक्रियाहरू देखिन सक्छन् । व्यक्तिहरू के गरूँ, के नगरुँ भन्ने मानसिक द्वन्द्वमा फस्ने, अनावश्यक चिन्ता लिने, मनमा निरन्तर कुराहरू खेलिरहने, निद्रा नलाग्ने तथा बेचैनी र आत्तिनेजस्ता लक्षणहरू देखिने हुन्छ । दीर्घकालमा यसले व्यक्तिको स्वास्थ्यमा गम्भीर असर पुर्याउछ । छोटो अवधिका लक्षणहरू लामो समयसम्म रहिरहेमा डिप्रेशनजस्ता मानसिक समस्या विकसित हुनसक्ने जोखिम उच्च हुन्छ । अझ आन्दोलनमा प्रत्यक्ष संलग्न हुने र हिंसात्मक दृश्यहरूको आँखै अगाडि देख्नेमा पोस्ट–ट्राउमाटिक स्ट्रेस डिसअर्डरजस्ता समस्या देखापर्न सक्छन् । विशेषगरी युवा र किशोरकिशोरीजस्ता संवेदनशील उमेर समूहमा दीर्घकालीन तनावले शैक्षिक प्रगति, दैनिक व्यवहार, सामाजिक सम्बन्ध र शारीरिक स्वास्थ्यमा समेत नकारात्मक असर पार्ने हुन्छ । मनोरोग विशेषज्ञ डा. अज्वनी रिमाल यस्तो अवस्थाले आममानिस र युवापुस्तामा देखिने सामान्य मानसिक लक्षणहरू के–के हुन सक्छन् ? राजनीतिक प्रदर्शनीका समयमा मानिसहरूमा डर, बेचैनी, चिन्ता, आत्तिने भावना, निद्रामा समस्या देखिन सक्छ । छोटो समयभन्दा पनि यदि यस्तो समस्या लामो समय रहिरह्यो भने दीर्घकालीन चिन्ता, डिप्रेशनजस्ता गम्भीर मानसिक रोग विकसित हुने जोखिम हुन्छ । युवा पुस्तामा राजनीतिक अस्थिरता वा आन्दोलनजस्ता परिस्थितिले तनाव, निराशा र आक्रोश बढाउने सम्भावना उच्च हुन्छ । यस उमेर समूहमा सामान्यतया बिना धेरै सोचविचार र परिणामको मूल्याङ्कन नगरी हठात् निर्णय लिने व्यवहार देखिन्छ । त्यस्तै अस्थिरता र संवेदनशीलता बढी हुन्छ, जसले युवामा तनावको प्रभाव अझ तीव्र बनाउँछ । सामाजिक सञ्जालको प्रभाव के कस्तो हुन्छ यो समयमा ? सामाजिक सञ्जाल र अपुष्ट खबरको प्रभावले मानिसको मानसिक स्वास्थ्यमा गहिरो र दीर्घकालीन असर पार्न सक्छ । आधिकारिक समाचारमा अपडेट नहुनु र सामाजिक सञ्जालको सूचना–प्रवाहमा पूर्ण ध्यान केन्द्रित गर्नाले कार्यमा एकाग्रता घटाउने र सोच्ने क्षमतामासमेत प्रभाव पार्ने देखिन्छ । अनलाइन प्लेटफर्ममा लामो समय बिताउँदा वास्तविक जीवनका सामाजिक अन्तरक्रिया र सम्बन्धमा कमी आउने, परिवार तथा साथीभाइसँगको प्रत्यक्ष संवाद घट्ने र एकाङ्कीपन अनुभव बढ्ने गरेको पाइन्छ। यससँगै अपुष्ट समाचार र सामाजिक सञ्जालमा देखाइने नकारात्मक तथा तनावपूर्ण र भय पैदा गर्ने सामग्रीहरूले मानिसमा चिन्ता, डर, असुरक्षा र निराशा बढाउने गरेका छन् । विभिन्न अध्ययनलेसमेत छोटो समय सञ्जालमा बिताउँदा पनि चिन्ता र तनावका लक्षण उल्लेख्य रूपमा बढेको देखाएको छ । यसले डिप्रेशन, चिन्ता, एकाङ्कीपन र आत्महत्या गर्ने विचारजस्ता मानसिक स्वास्थ्यमा गम्भिर समस्या उत्पन्न गर्न सक्छ । अझ यसस्तो सङ्क्रमणकालको समयमा सामाजिक सञ्जाल प्लेटफर्ममा आउने गलत सूचनाले मानसिक स्वास्थ्यमा दीर्घकालीन नकारात्मक प्रभाव पार्ने देखिन्छ । यस्तो राजनितिक अनिश्चितताले डिप्रेसन र एनजाइटीजस्ता मानसिक रोगको समस्या पढ्ने खतरा हुन्छ । राजनीतिक अनिश्चितताले युवा पिँढीमा कस्तो समस्या निम्त्याउँछ र यसका लक्षण कस्ता हुन्छन् ? राजनीतिक अस्थिरता, सामाजिक तनाव र भविष्यप्रति अनिश्चितले युवाको मानसिक स्वास्थ्यमा गहिरो असर पार्छ । यसले उनीहरूलाई गलत बाटोतर्फ धकेल्ने जोखिमसमेत बढाउँछ । राजनीतिक अनिश्चियमा युवा पिँढीमा तत्कालका लागि एन्जाइटी, डर र चिन्ताको स्तर बढ्छ । अनिश्चिय र भविष्यप्रतिको निराशाले नकारात्मक भावना बढ्ने हुँदा दीर्घकालमा डिप्रेसन र क्रोनिक एन्जाइटिसमेतको जोखिम बढाउँछ । राजनीतिक हिंसा र अस्थिरतासँग जडित वातावरणमा तनाव, चिन्ता र डिप्रेशनको समस्या उल्लेखनीय रूपमा बढ्ने अध्ययनहरूले पनि देखाएका छन् । लामो समयसम्म तनाव, चिन्ता र निराशाको अवस्थासँग जुधिरहेका युवाहरू त्यसको समाधानको खोजीमा गलत मार्ग रोज्ने सम्भावना बढी हुन्छ । जसमा लागुऔषध दुव्र्यसन एक प्रमुख जोखिम हो । मानसिक पीडाबाट राहत पाउन वा साथीहरूको दबाबमा उनीहरू लागुपदार्थ प्रयोगतर्फ आकर्षित हुन सक्छन् । यस्तो प्रवृत्तिले उनीहरूको मानसिक र शारीरिक स्वास्थ्यमा थप जटिलता थप्छ । यसले पढाइ, सामाजिक सम्बन्ध र भविष्यको सम्भावनालाई पनि गम्भीर रूपमा प्रभावित पार्छ । त्यसैले यस्ता अवस्थामा युवालाई मनोसामाजिक परामर्श, भावनात्मक सहयोग र सकारात्मक गतिविधिमा संलग्न गराउन अत्यन्त जरुरी हुन्छ । आमनागरिकले आफ्नो मानसिक स्वास्थ्य स्वस्थ्य राख्न दैनिक जीवनमा के–के गर्न सक्छन् ? मानसिक स्वास्थ्य जोगाउन सबैभन्दा पहिला आफ्नो दैनिकीमा सुधार ल्याउनुपर्छ । मुख्य कुरा आफ्नो परिवारसँग समय बिताउनु हो । परिवारमा आफ्ना कुरा राख्ने र सामाजिक सम्बन्ध मजबुत राख्नु अत्यन्त जरुरी हुन्छ । आफूभित्रको पीडा, डर वा चिन्ताबारे आफ्नो विश्वासिला व्यक्तिसँग खुलेर राख्दा मानसिक बोझ धेरै हदसम्म कम हुन्छ। त्यस्तै समाचार र सामाजिक सञ्जालप्रति पनि सचेत रहनुपर्छ । आजकल हामी निरन्तर नकारात्मक समाचार र अनावश्यक सूचनामा डुबिरहेका हुन्छौँ। त्यसले मानसिक शान्तिमा असर पार्छ । त्यसैले विश्वासिलो स्रोतबाट समाचार र सूचना थाहा पाउनेमा ढुक्क हुनुपर्छ । बारम्बार नभई आवश्यकतानुसार मात्र हेर्ने र सामाजिक सञ्जालको अनावश्यक प्रयोगबाट जोगिने बानी बसाल्नुपर्छ । नियमित व्यायाम, योग, गहिरो श्वास फेर्ने अभ्यास, पर्याप्त निद्रा र सन्तुलित आहारमा ध्यान दिनु मानसिक सन्तुलनका लागि आधारभूत कुरा हुन् । सबैभन्दा महत्वपूर्ण भनेको आफ्नो मानसिक अवस्थाप्रति सजग रहनु र आवश्यकता पर्दा मानसिक स्वास्थ्य विज्ञसँग परामर्श लिन नहिच्किचाउनु नै हो । यस्तो अवस्थामा अभिभावकको भूमिका कस्तो रहन्छ ? स्वस्थ जीवनशैलीको निर्माणमा परिवारको भुमिका संवेदनशील हुन्छ । अभिभावकहरू यस्तो परिस्थितिमा संवेदनशील र सहयोगी बन्नुपर्छ । बुबाआमाले आफ्ना नानीबाबुसँग साथीसरह व्यवहार गर्दै उनीहरूको कुरा ध्यानपूर्वक सुन्नु र बुझ्ने प्रयास गर्नुपर्छ । बच्चाहरूले राख्ने जिज्ञासालाई सहज ढङ्गले सम्बोधन गर्नु, उनीहरूलाई सही–गलत छुट्याउन सहयोग गर्नु र कुनै शङ्का वा समस्याबारे खुलेर कुरा गर्न प्रोत्साहित गर्नु अभिभावकको दायित्व हुन्छ । घरभित्र सकारात्मक र सुरक्षित वातावरण सिर्जना गर्नु, बच्चाको भावनालाई पर्याप्त स्थान दिनु, सामाजिक सम्बन्ध र सकारात्मक गतिविधिमा संलग्न गराउन सहयोग गर्नुपर्छ । सहयोगी, खुला र विश्वासिलो वातावरण निर्माण गर्नसकेमा बालबालिकाले तनावमासमेत सहज रूपमा पार गर्न सक्छन् र उनीहरूको आत्मबल तथा मानसिक सशक्तता मजबुत बन्छ । अहिलेको परिस्थितिमा देखिन सक्ने मानसिक स्वास्थ्य समस्या समाधान गर्न के–कस्ता प्रयासहरू आवश्यक देख्नुहुन्छ ? समाजमा देखिने मानसिक स्वास्थ्यसम्बन्धी चुनौतीहरू केबल व्यक्तिगतमा मात्रै सीमित हुँदैनन् । यसलाई सामाजिक र नीतिगत तहमै सम्बोधन गर्नुपर्ने हुन्छ । घर र छरछिमेकका साथै, विद्यालयदेखि कार्यस्थलसम्म मानसिक स्वास्थ्य शिक्षा र परामर्श सेवाको व्यवस्था गरिनुपर्छ। समुदायस्तरमा मनोसामाजिक सहयोग प्रणाली विस्तार गर्नु र युवाका लागि सुरक्षित अभिव्यक्ति र सहभागिताको वातावरण बनाउन सहयोग गर्नुपर्छ । त्यस्तै सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा जिम्मेवार र तथ्यपरक सामग्री प्रवाहको सुनिश्चित हुनुपर्छ । मानसिक स्वास्थ्यलाई प्राथमिक स्वास्थ्य सेवा जतिकै महत्व दिँदै दीर्घकालीन रणनीति बनाइएन भने यस्ता राजनीतिक सङ्कटपछिका मानसिक असरहरू अझ गहिरिँदै जान सक्छन् । रासस

सुमना श्रेष्ठले रास्वपा त्याग्दै लेखिन् -'मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला, मैले पार्टी छोडें'

काठमाडौं । केही महिना पहिले व्यापक असन्तुष्टि जनाउँदै सहमहामन्त्री पदबाट राजीनामा दिएकी सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अर्को झट्का दिएकी छन् ।  उनले पार्टीका केन्द्रीय सदस्यहरूको म्यासेन्जर ग्रुपमा केन्द्रीय सदस्यबाट राजीनामाको घोषणा गर्दै पार्टीलाइ सरप्राइज दिएकी हुन् । उक्त सरप्रराइजपछि आफ्नो फेसबुकमा समेत स्टाटस लेख्दै सुमनाले पार्टीबाट राजीनामा दिएको उनले उल्लेख गरेकी छन् । श्रेष्ठले भनिन्, ‘कहिलै गल्ती नस्वीकार्ने । गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरुद्धमा मिडिया ट्रायल गर्ने ।’ ‘जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यतिबेला देखि नै आलोचना गर्दै आएको हुँ । तर त्यसले कत्ति पनि फरक पारेन । अझ उल्टै मिडिया ट्र्याल हुन थाल्यो । यो स्विकार्य छैन । अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला । मैले पार्टी छोडें,’ उनले थपिन् ।​​​​​​