काठमाडौं उपत्यकाका विद्यालयहरूमा पठनपाठन शुरु

काठमाडौं । जेनजी आन्दोलनका कारण बन्द रहेका काठमाडौं उपत्यकाका विद्यालयहरू क्रमशः सञ्चालन हुन थालेका छन् । सोमबारबाट काठमाडौं उपत्यकाका विद्यालयहरू सुचारु हुन थालेका हुन् । जेनजी आन्दोलनले त्रस्त विद्यालयहरू केही दिनका लागि बन्द गरिएको थियो ।  जेनजी आन्दोलनमा सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन लगायत सरकारी निकायहरू जलेर ध्वस्त भएसँगै विद्यालयहरुले केही दिनका लागि पठनपाठन बन्द गरेका थिए । अहिले अवस्था सामान्य बनेसँगै विद्यालयहरु पुनः सञ्चालन भइ पठनपाठन शुरु गरेका छन् । तर जेनजीका मागहरु पूरा नभएको भन्दै आइतबार साँझ जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ समूहले आन्दोलन गर्दै नाराबाजीसहित प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेसँगै स्थिति पुनः जटिल बन्नेतर्फ अग्रसर भएको कतिपयको आँकलन छ ।  प्रधानमन्त्री कार्कीले जेनजीसँग छलफल नै नगरी मन्त्रीपरिषद् विस्तार गरेको भन्दै गुरुङ समूहले नाराबाजी गरेको थियो । उनीहरुले आफूहरुका माग पूरा नभए आन्दोलन नरोकिने पुनः सडकमा आउने चेतावनी दिएका छन् । 

पर्सामा क्षतिको आँकलन गरिँदै, नेपाल टेलिकमको तीन करोड बराबरको नोक्सानी

काठमाडौं । गतहप्ताको आन्दोलनबाट वीरगन्जको घण्टाघरस्थित नेपाल टेलिकम वीरगन्जको कार्यालयमा तोडफोड र आगजनीबाट तीन करोड बराबरको क्षति भएको छ ।  यही भदौ २४ गतेको आन्दोलनको भीडको सबैभन्दा पहिलो निशानामा टेलिकम परेको थियो। नेपाल टेलिकम वीरगन्जका प्रमुख पङ्कज साहले अराजक समूहको भीडले टेलिकमको कम्प्युटर, प्रिन्टर्सलगायतका अन्य महत्त्वपूर्ण उपकरणमा  करिब तीन करोड मूल्य बराबरको सामानको क्षति भएको  जानकारी दिए ।  ‘प्रदर्शनकारीले घण्टाघरस्थित दुवै टेलिकमका कार्यालयमा आगजनी गरेका छन्,’ उनले भने,  ‘आगजनीबाट महसुल काउन्टरमा धेरै क्षति भएको छ।’ पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले  सरकारी कार्यालयमा भएको तोडफोड र क्षतिको पारदर्शी ढङ्गले मुचुल्का तयार पार्नका लागि निर्देशन दिएको छ ।  ‘जेनजी समूहको आन्दोलनको क्रममा यहाँका विभिन्न सरकारी कार्यालयका भवन तथा सवारीसाधनमा अपूरणीय क्षति भएका छन्,’उनले भने, ‘कार्यालयमा भएका क्षतिको मुचुल्का वा  विवरण तयार पर्दा पारदर्शीता र यथार्थपरक बनाउनको लागि निर्देश गरेको छु । मुचुल्का तयार पर्दा श्रव्य दृश्य र अन्य व्यवस्थित खालको तयार पार्न आग्रह गरेको छु ।’ यहाँको वीरगन्ज महानगर, आन्तरिक राजस्व कार्यालय लगायतमा धेरै क्षति भएको छ । रासस

हामी फेरि उठ्ने छौं, तपाईंहरूसँगै : एनसेल

काठमाडौं । गत हप्ताको तोडफोडका घटनामा एनसेलको काठमाडौंस्थित मुख्य कार्यालय ‘एनसेल आइकम’ सहित महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयहरूमा ठूलो क्षति पुगेको एनसेलले जनाएको छ । कम्पनीले जारी गरेको विज्ञप्तिमा यी घटनाले भौतिक सम्पत्तिसँगै कर्मचारीहरूको सुरक्षा र सेवामा निरन्तरतामा समेत गम्भीर असर पारेको उल्लेख गरिएको छ । एनसेलका अनुसार चुनौतीपूर्ण परिस्थितिमा पनि सेवाको सहज पहुँच सुनिश्चित गर्न तीन दिनसम्म निःशुल्क लोकल भ्वाइस कल, एसएमएस र इन्टरनेट सुविधा उपलब्ध गराइएको थियो । कम्पनीले विगत २० वर्षदेखि नेपाली जनसमुदायलाई दूरसञ्चार सेवा निरन्तर उपलब्ध गराउँदै आएको र ग्राहकप्रतिको प्रतिबद्धता अझै अटल रहेको स्पष्ट पारेको छ । नेपाल अन्तरिम सरकारको नेतृत्वमा नयाँ अध्याय प्रारम्भ भएको सन्दर्भमा एनसेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई ज्ञापन गरेको छ । कम्पनीले युवाको अगुवाइमा भएको आन्दोलनले ल्याएको परिवर्तनलाई स्वागत गर्दै यसले मुलुकमा एकता, शान्ति र समृद्धि ल्याओस् भन्ने आशा व्यक्त गरेको छ । विज्ञप्तिमा भनिएको छ, 'एनसेलले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा रुपान्तरण, रोजगारी सिर्जना, आर्थिक वृद्धिलाई गति प्रदान गर्दै डिजिटल नेपाल निर्माणमा योगदान गर्दै आएको छ । आगामी दिनमा पनि देश र जनताको सेवामा अडिग रहन्छौं ।' एनसेलले आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।