राजस्व बढाउन क्यासिनो नीति पुनरावलोकन आवश्यक : पर्यटन विभाग

काठमाडौं । पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले क्यासिनो सञ्चालनसम्बन्धी विद्यमान व्यवस्थाले राज्यको राजस्व वृद्धि र व्यवसाय प्रवर्द्धनमा अपेक्षित योगदान दिन नसकेको बताएका छन् । आइतबार (आज) बसेको राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा पर्यटन विधेयकमाथिको छलफलमा बोल्दै महानिर्देशक लामिछानेले यस्तो बताएका हुन् ।  उनले कानुनले रोक लगाएको बाबजुद चार तारे होटलमा समेत क्यासिनो खेलाउने गरेको उजुरीहरू धेरै पर्ने गरेको बताए । उनले पाँच तारेमाथिका होटललाई मात्र क्यासिनो खेलाउन अनुमति दिइएकोमा लुकिछिपि साना होटलहरूले समेत खेलाउँदा राजश्व संकलन घट्नुका साथै पर्यटन प्रवद्र्धन हुन नसकेको गुनासो गरे । महानिर्देशक लामिछानेले राज्यको वर्तमान आर्थिक अवस्थालाई ध्यानमा राखी क्यासिनोसम्बन्धी नीतिगत व्यवस्था सुधार गर्न आवश्यक रहेको औंल्याए । क्यासिनोको वर्गीकरण गर्दै ठूला क्यासिनोले क्षेत्रफल विस्तार गर्न पाउने गरी विधेयक निर्माण गर्न उनको माग छ ।  बैठकमा बोल्ने अधिकांश सांसदहरूले रोयल्टीको आधारमा क्यासिनोहरूको वर्गीकरण गर्नुपर्ने धारणा राखेका थिए ।  

आफ्ना माग सुनुवाई नभएको भन्दै विभिन्न पाँच स्वास्थ्य संगठन ४ दिनदेखि अनसनमा

काठमाडौं । आफ्ना माग सुनुवाई नभएको भन्दै विभिन्न पाँच स्वास्थ्य संगठनले चार दिनदेखि आमरण अनसन सुरु गरेका छन् । नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐनको दफा ४ (२) बमोजिम मन्त्रालयसँग भएको विगतको सहमति कार्यान्वयन हुनुपर्ने भन्दै नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन, नेपाल जनस्वास्थ्य संघ, मेडिकल ल्याबोटरी एसोसिएसन, नेपाल सिएमए संघ र हेल्थ असिस्टेन्ट संघले आमरण अनसन सुरु गरेका हुन् । परिषद् ऐन २०५३ जारी भएको झण्डै तीन दशक बितिसक्दा पनि ऐनको दफा ४ (२) अनुसार परिषद् पूर्ण रूपमा गठन हुन नसकेको, समयमै पदाधिकारी नियुक्ति नगरिएको र सबै पेशागत समूहको समावेशी प्रतिनिधित्व सुनिश्चित हुन नसकेको नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनका अध्यक्ष मिकेल देवकोटाले बताए । परिषद्मा आवश्यक सदस्य संख्या नपुग्दा दर्ता, नवीकरण, निरन्तर पेशागत विकास, अनुशासनात्मक कारबाही तथा नियमनजस्ता नियमित कामहरू प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको उनको भनाइ छ । उनी भन्छन्, ‘२०५३ सालमा बनेको ऐन २८ वर्ष हुँदा पनि अहिलेसम्म परिवर्तन हुन सकेन, मेडिकल काउन्सिलको ऐन १५–१६ पटकसम्म परिवर्तन भइसकेको छ । हामीले पटक–पटक यो विषयमा आवाज उठायौं तर अहिलेसम्म सुनुवाइ भएन । आन्दोलनको मुख्य कारण यही हो । अर्को कुरा स्वास्थ्यकर्मीको तलबको हकमा सहमति अनुसार नपाउँदा हामी अनसन बस्नु परेको हो ।’ देवकोटाले आज पनि स्वास्थ्य मन्त्रालयमा दबाब कार्यक्रम गरेको बताए । चार दिनसम्म अनसन बसे पनि मन्त्रालयमा दबाब दिँदा आफूहरूका कुरा सुन्न सम्बन्धित निकायले कुनै चासो नदेखाएको भन्दै स्वास्थ्यकर्मीहरूले आपत्ति जनाएका छन् ।

एफ सि बायर्न लेजेन्ड कप–२०२६ ‘डिशहोम गो’मा प्रत्यक्ष प्रशारण गरिने

काठमाडौं । बायर्न एफ सिले आयोजना गर्ने लेजेन्ड फुटबल खेलाडीहरूको प्रतियोगिता ‘एफ सि बायर्न लेजेण्ड कप २०२६’ लाई नेपालमा डिशहोम गो एप र एक्सन स्पोर्टस एचडि २ च्यानलमार्फत प्रत्यक्ष प्रसारण गरिने भएको छ । पुरानो शैलीको इन्डोर फुटबल प्रतियोगितामा सहभागी एफ सि बायर्नका लेजेण्ड खेलाडीहरू आर्जेन रोविन, फ्र्याङ्क रिबेरी, लोथर म्याथ्युज र जोर्गन क्लिन्सम्यानले म्युनिखको साप गार्डेन स्टेडियममा फुटबलप्रेमीहरूलाई पुराना दिनहरू ताजा गराउने अपेक्षा गरिएको छ । यस प्रतियोगितामा ६ वटा क्लब एफसी बायर्न म्युनिख, युभेन्टस, बोरुसिया डर्टमुन्ड, सेल्टिक एफसी, आईट्राक्ट फ्रान्कफर्ट र रियल म्याड्रिडले भाग लिनेछन् । सहभागी क्लबका अन्य पूर्व स्टार खेलाडीहरू (लेजेण्ड फुटबलरहरू) को पनि जादु एकपटक पुनः मैदानमा देखिनेछ । नेपालमा यो प्रतियोगिता नेपाली समय अनुसार बेलुकी ८ बजेर ५ मिनेट देखि डिशहोम गो एप तथा एक्सन स्पोर्टस एचडि २ च्यानलमा प्रत्यक्ष हेर्न पाइनेछ ।