शिक्षकलाई स्थानीय भत्ता वितरण

भोजपुर । रामप्रसाद राई गाउँपालिकाले शिक्षकलाई प्रोत्साहन भत्ता प्रदान गर्न थालेको छ । दुर्गम तथा भौगोलिक रूपमा कठिन मानिने ‘ग’ वर्गमा पर्ने यस गाउँपालिकाले यहाँ कार्यरत शिक्षकलाई सेवा सुविधामा थप सहजीकरण गर्दै स्थानीय भत्ता वितरण सुरु गरेको हो । गाउँपालिकाका अनुसार सङ्घीय सरकारद्वारा जारी गरिएको ‘कार्यक्रम कार्यान्वयन कार्यविधि’ अनुरूप स्थानीय भत्ता वितरण गरिएको हो । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत आङगलाक्पा तामाङले दुर्गम क्षेत्रमा कार्यरत स्थायी शिक्षकहरुलाई प्रोत्साहन प्रदान गर्न यो व्यवस्था गरिएको बताए । हाल गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षकले आफ्नो तह र श्रेणीअनुसार नियमित रूपमा स्थानीय भत्ता पाउँदै आएका छन् । प्राथमिक तह प्रथम श्रेणीका शिक्षकले मासिक पाँच हजार ५१०, द्वितीय श्रेणीका शिक्षकले चार हजार ६०० तथा तृतीय श्रेणीका शिक्षकले चार हजार २५० स्थानीय भत्ता प्राप्त गर्दै आएका छन् । त्यसैगरी निम्न माध्यमिक तह तृतीय श्रेणीका शिक्षकलाई मासिक पाँच हजार ५१० र माध्यमिक तहका शिक्षकलाई मासिक आठ हजार ८०० स्थानीय भत्ता प्रदान गरिएको छ । गाउँपालिका अध्यक्ष थामबहादुर राईले शिक्षकको मनोबल उच्च राख्दै शैक्षिक उपलब्धि सुधार र विद्यार्थीको सिकाइ उपलब्धिमा सकारात्मक प्रभाव पुग्ने विश्वासका साथ भत्ता प्रदान गरिएको बताए । रासस

बेनी अस्पतालमा शल्यक्रिया सेवा सुचारु भएपछि जिल्लावासीलाई सहज

म्याग्दी । प्रदेश अस्पताल बेनीमा शल्यक्रियामार्फत गरिने प्रसूति र सर्जरी सेवा सूचारु भएपछि जिल्लावासीलाई सहज भएको छ । शल्यक्रियामार्फत गरिने प्रसूति, ‘हाइड्रोशिल’, ‘एपेण्डिस’ र ‘हर्निया’को शल्यक्रिया सेवाका लागि पोखरा, काठमाडौँ, चिनवन पुग्नुपर्ने जिल्लावासीको समस्या कम भएको हो । अन्नपूर्ण गाउँपालिका–६ घारकी कृष्टि परियारले ‘एपेन्डिस’को उपचार बेनीमै भएपछि पोखरा जाँदा हुने खर्च र समयको बचत भएको बताइन्  । 'पोखरा जानुपरेको भए एक लाखभन्दा बढी खर्च हुने रहेछ', उनले भनिन्, 'बेनीमै एपेन्डिसको शल्यक्रिया भएपछि रु १० हजारलेनै पुग्यो ।' सहरका सरकारी अस्पतालमा बेड नपाउने र निजी अस्पतालमा पुगेर उपचार गर्न नसक्ने आर्थिक रूपमा विपन्न, भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रका सर्वसाधारणहरूलाई प्रदेश अस्पतालको शल्यक्रिया सेवा प्रभावकारी बनेको छ । रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटकी जमुना किसानले २१ वर्षदेखिको स्त्रीरोगसम्बन्धी समस्याको यसै हप्ता बेनी अस्पतालमा शल्यक्रिया गरिन् । 'भर्ना भएको भोलिपल्टै शल्यक्रिया भयो', उनले भनिन्, 'शल्यक्रिया सफल भएपछि २१ वर्षदेखिको समस्या निको भएर घर फर्कदैछु ।' विशेषज्ञ चिकित्सक अभावमा अस्पतालमा कात्तिक र मङ्सिर महिनामा शल्यक्रिया सेवा बन्द भएका थिए । प्रदेश सरकारले स्त्री तथा प्रसूतिरोग र सर्जन चिकित्सकको व्यवस्था मिलाएपछि पुस महिनायता सेवा नियमित छ । प्रदेश अस्पताल बेनीका प्रमुख डा हेमन्त बास्तोलाले पुष महिनामा मात्रै २१ वटा शल्यक्रिया गरिएको जानकारी दिए । 'जुम्ल्याह बच्चा भएका गर्भवतीलाई पनि यहीनै शल्यक्रियामार्फत प्रसूति गराएका छौँ', उनले भने, 'सिमित स्रोत, साधन र जनशक्तिका बाबजुत यहाँ आएका बिरामीलाई सम्भव भएसम्म बाहिर जानु नपरोस भन्ने प्रयास गरेका छौँ ।' बेनी अस्पतालबाट म्याग्दी, मुस्ताङ, पर्वतको जलजला, बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले सेवा लिने गरेका छन् । बेनी नगरपालिका–६ की सुष्मा पौडेलले बेनी अस्पतालमा रोग पहिचानका लागि आवश्यक थप उपकरण र दक्ष जनशक्तिको नियमित व्यवस्था मिलाउनुपर्ने बताए । बेनी अस्पतालले अन्तरङ्ग र बहिरङ्गसहित हाडजोर्नी, दन्त, आँखा, बच्चा उपचार कक्ष, हिंसा प्रभावितका लागि अल्पकालीन सेवा केन्द्र, डायलासिस सेवा सञ्चालन गर्दै आएको छ । मेडिसिन, दन्तरोग, मनोसामाजिक विशेषज्ञ र ११ जना मेडिकल अधिकृत कार्यरत छन् । वार्षिक ६० हजारभन्दा बढीले सेवा लिने बेनी अस्पतालको विसं २०७४ देखि सुरु भएको भवन निर्माण कार्यले पूर्णता नपाउनु र दरबन्दीअनुसारका चिकित्सक तथा स्वास्थ्यकर्मी नहुनु मुख्य चुनौति बनेको छ । बेनी अस्पताललाई विसं २०७२ मा १५ बाट ५० श्यया क्षमतामा स्तरोन्नति गरिएको थियो । रासस

हानको हीरक जयन्त्रीमा नेपाली हस्पिटालिटीको विगत, वर्तमान र भविष्यको लेखाजोखा

काठमाडौं । होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाहले हान स्थापना भएको ६० वर्ष पूरा भएको अवसरमा आयोजित हीरक जयन्ती तथा नेपाल सत्कार दिवसको समारोह केवल औपचारिक उत्सवमा सीमित नरहेको बताएका छन् । उनका अनुसार यो अवसर नेपाली हस्पिटालिटी उद्योगको विगत यात्राको गम्भीर समीक्षा गर्ने, वर्तमान अवस्थाको वस्तुगत मूल्याङ्कन गर्ने र आगामी दिनमा देखिने चुनौती तथा सम्भावित अवसरहरूको लेखाजोखा गर्ने महत्त्वपूर्ण मञ्चका रूपमा विकसित भएको छ । सन् १९६३ मा नेपालमा पर्यटन क्षेत्र प्रारम्भिक चरणमै रहँदा अग्रज व्यवसायीहरूको पहलमा संस्थागत सहकार्य र गुणस्तरीय सेवाको आधारशिला राख्दै होटल संघ नेपालको स्थापना गरिएको थियो ।  त्यसयता छ दशकको यात्रामा नेपालले राजनीतिक परिवर्तन, प्राकृतिक विपद् र कोभिड–१९ जस्ता गम्भीर महामारीको सामना गरे पनि संघले निरन्तर रूपमा होटल तथा पर्यटन उद्योगको साझा आवाज बनेर नीतिगत सुधारका लागि प्रभावकारी पैरवी गर्दै आएको अध्यक्ष शाहले बताए । शाहका अनुसार संघले विशेषगरी खुला आकाश नीतिको पक्षमा सन् १९९० को मध्य दशकदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । यसले नेपाललाई अन्तर्राष्ट्रिय गन्तव्यहरूसँग जोड्न सहयोग पुर्‍याउनुका साथै ग्रामीण तथा पर्वतीय पर्यटन विस्तारमा पुलको काम गरेको छ ।  पर्यटन वर्ष घोषणा, दीर्घकालीन पर्यटन रणनीति निर्माण र संकट व्यवस्थापनका कार्यक्रमहरूमा समेत होटल संघ नेपाल सरकारको भरपर्दो साझेदारका रूपमा स्थापित भएको शाहको भनाइ छ । पर्यावरणीय दायित्वप्रति संकेत गर्दै अध्यक्ष शाहले हरित पर्यटनको अवधारणालाई व्यवहारमा उतार्ने उद्देश्यसहित ‘से नो टु सिंगल युज प्लास्टिक’ अभियानको नेतृत्व संघले गरेको जानकारी दिए । उक्त पहललाई पछि नेपाल सरकारले आफ्ना नीतिगत मार्गदर्शनहरूमा समेत समेटेको उनले बताए । यसका साथै विश्वकै प्रतिष्ठित अन्तर्राष्ट्रिय होटल तथा रेस्टुरेन्टसम्बन्धी सम्मेलन नेपालमा आयोजना गर्ने पहलमार्फत होटल संघले नेपाली पर्यटन उद्योगलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रवर्द्धन गर्न सक्रिय भूमिका खेलेको शाहले उल्लेख गरे ।