पर्यटनबाट उचित लाभ लिन सभापति देउवा सुझाव, ‘मुलुकको आर्थिक समृद्धिको दरिलो आधार’
काठमाडौं ५ भदौ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको आर्थिक समृद्धिको दरिलो आधारका रुपमा रहेको पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार विकासमा जोड दिएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्राकृतिक, भौगोलिक र धार्मिक तथा सांस्कृतिक रुपमा नेपालको पर्यटनको प्रचुर सम्भावना रहे पनि अपेक्षित लाभ लिन नसक्नु विडम्बना भएको बताए। उनले प्राकृतिक सुन्दरता र जैविक विविधतायुक्त पर्यटकीय स्थलको वातावरण र जैविक विविधता संरक्षणलाई ध्यान दिई भौतिक पूर्वाधार विकास गरेर मात्र नयाँ पर्यटकीय गन्तव्यको विस्तार गरिनुपर्नेमा जोड दिए। नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्रप्रसाद सापकोटा, पर्यटन व्यवसायी मोहन लम्साल, ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलिया र गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारीले पर्यटकीय पूर्वाधार विकासका लागि राज्यको ध्यान जानुपर्ने धारणा राखेका थिए। यसैबीच गन्तव्य नेपालले ‘टुरिजम म्यान अफ दी इयर’बाट वरिष्ठ पर्यटन व्यवसायी मोहन लम्साललाई सम्मानित गरेको छ । त्यस्तै नगद रु १० हजार राशिको गन्तव्य नेपाल पत्रकारिता पुरस्कारबाट राजधानी दैनिकका मधुजङ पाण्डे र इमेज टेलिभिजनका प्रतीक लामिछानेलाई सम्मान गरिएको छ ।
नेपालका दूरसञ्चार पूर्वाधारमा हुवावेको दवदवा, विटिएस टावरदेखि अन्तराष्ट्रिय गेटवेसम्म
काठमाडौं, ५ भदौ। मुलुकको दूरसञ्चार क्षेत्रमा प्रयोग हुने पूर्वाधारमा चीनको हुवावे टेक्नोलोजिज कम्पनीको वर्चश्व देखिएको छ । सेवाप्रदायक कम्पनी नेपाल टेलिकम, एनसेल, युनाइटेड टेलिकम (यूटीएल), स्मार्ट टेलिकमलगायत कम्पनीमा अधिकांश पूर्वाधार हुवावेका छन् । पछिल्लोपटक बोलपत्रमार्फत वा सिधै हुने सम्झौता दुवैमा हुवावेको छनोट बढ्दो छ । हुवावे चीनको निजी क्षेत्रको सबैभन्दा ठूलो सूचना, सञ्चार र प्रविधि पूर्वाधार वितरक कम्पनी हो । टेलिकमका १ करोड लाइन क्षमताको जीएसएम मोबाइलका दुवै परियोजनामा हुवावे छनोट भएपछि कम्पनीमा एकाधिकारजस्तै देखिएको छ । टेलिकमका २० लाख आईपी सीडीएमए, साधारण टेलिफोनलाई आईपी प्रविधिमा लैजाने प्रविधि (टीडीएम माइग्रेसन, अन्तरराष्ट्रिय गेटवेलगायत मुख्य परियोजनामा हुवावेकै पूर्वाधार प्रयोग भएका छन् । चालू आर्थिक वर्षको अन्त्यसम्म सबै पुराना पूर्वाधारलाई प्रतिस्थापन गर्दै हुवावेमा रूपान्तरण हुने र तिनिहरु प्रविधिमैत्री रहेको उनले बताए। त्यस्तै एनसेलका कर्पोरेट कम्युनिकेसन एक्सपर्ट मिलनमणि शर्माका अनुसार काठमाडौं उपत्यकाभित्र कम्पनीको सेवा आधुनिकीकरणमा सबै जिम्मा हुवावेले नै पाएको छ भने काठमाडौंबाहिर पनि जेडटीईसँगै हुवावेले राम्रो सर्भिस दिइरहकेको बताए। प्रतिस्पर्धामा कम लागत भएकै कारण हुवावेको ‘डिपेन्डेन्सी’ टेलिकममा बढ्दो छ । हुवावेका बेस्ड स्टेसन टावर (बीटीएस) टुजीबाट थ्रीजी र एलटीईमा जाँदा थोरै मात्रै प्राविधिक परिवर्तनपछि सपोर्ट गर्ने भएकाले पनि कम्पनीहरूको रोजाइमा पर्ने गरेका छन् । ३५ लाखको जीएसएम परियोजनामा जेडटीईले निर्धारित समयभन्दा ढिला र गुणस्तरमा अपेक्षाकृत प्रभाव देखाउन नसकेपछि टेलिकममा हुवावेको पूर्वाधार प्रयोग बढेको हो । निजी क्षेत्रको एनसेलले पूर्वाधार खरिद गर्दा सार्वजनिक खरिद पालन गर्नु नपर्ने भए पनि उसको छनोटमा पनि हुवावेकै पूर्वाधार पर्ने गरेका छन् । एनसेलले पुरानो नेटवर्कको मर्मतमा जेडटीईलाई संलग्न बनाए पनि नयाँ परियोजनाका लागि भने हुवावेकै पूर्वाधार छान्ने गरेको छ । नयाँ आउने प्रविधिमा ‘अपग्रेड’ गर्न सजिलो हुँदा दीर्घकालमा लागत कम पर्ने हुँदा कम्पनीहरू हुवावेलाई छनोट गर्छन् । पछिल्लोपटक जीएसम मोबाइल सेवाको लाइसेन्स लिएको स्मार्ट टेलिकमले पनि नेटवर्क विस्तार गर्दा अधिकांश पूर्वाधार हुवावे कम्पनीकै प्रयोग गरेको जनाएको छ । स्मार्ट टेलिकम छिट्टै राजधानीमा मोबाइल सेवा विस्तार गर्ने तयारीमा रहेको कम्पनीका कर्पाेरेट कम्युनिकेसन प्रमुख पवन शाक्यले बताए । नेपाल दूरसञ्चार प्राधिकरणले ‘पूर्वाधारको सहप्रयोगसम्बन्धी निर्देशिका २०७२’ कार्यान्वयनमा ल्याई नयाँ आउने कम्पनी तथा हाल सञ्चालित कम्पनीले ठूला पूर्वाधार निर्माण गर्दा पूर्वाधारको सहप्रयोग अनिवार्य गरेको छ ।
चीनले तीन हजार छ सय वेबसाइट बन्द गर्यो, अस्लिलता फैलाएको अारोप
बेइजिङ ५ भदौ । चीन सरकारले गलत आचरण फैलाएको आरोपमा सन् २०१६ मा करिब तीन हजार ६ सय १२ वेबसाइटलाई बन्द गराएको छ । यीमध्ये ८ सय ११ वेबसाइटले अश्लिल गतिविधिलाई फैलाउने काम गरेको चीनले बताएको छ । बितेका छ महिनामा यौन उत्तेजना गराउने करिब पाँच लाख २९ हजार र अहितकर सूचना फैलाउन आठ लाख ६९ हजार फोटो भिडियोलगायतका दृश्यलाई हटाइएको पनि चीनको अश्लिल तथा गैरकानुनी प्रकाशनको विरुद्धमा काम गर्ने राष्ट्रिय कार्यालयले बिहीबार एक वक्तव्य जारी गर्दै बताएको छ । उक्त कार्यालयले चलाएको अभियानअन्तर्गत प्रत्यक्ष प्रसारण एवम् गलत आचरण अभ्यासमा संलग्न व्यक्तिहरुले वेब सेवा प्रदान गरेबापत पैसा लिने गरी र कतिपय सन्दर्भमा खुलारुपमा नै यस्ता गतिविधि सञ्चालन गरेको पाइएको चिनियाँ प्रशासनले जनाएको छ । ‘विच्याट’ लगायतका सामाजिक सञ्जालमार्फत पनि अश्लिल सन्दर्भहरु राखी पठाउने गरेका करिब ३० वटा विषयलाई अधिकारीले खुला वर्णन गर्दै यस्ता गतिविधि सञ्चालन गर्ने प्रायः नाबाल रहेको जनाइएको छ । एजेन्सी