एनसेलको नयाँ ब्राण्ड लोगो सार्वजनिक, दुई बर्षमा ७० अर्ब लगानीको घोषणा

काठमाडौं, ३२ साउन । एनसेल प्रा. लि. र आजीयाटा ग्रुपबर्हादले साउन ३२ मंगलबार एनसेलको रिब्राण्डिङ्गको घोषणा गर्दै एनसेल–आजीयाटा सम्बद्ध कम्पनीको नयाँ ब्राण्ड लोगो अनावरण गरेका छन् । एनसेलको ८० प्रतिशत शेयर होल्ड गर्ने विदेशी कम्पनी रेन्होल्डस् होल्डिङ्गस्मा आजीयाटाको एकल लगानी रहेको छ । एनसेलको नयाँ ब्राण्डमा रुपान्तरणसँगै आजीयाटाको अन्तर्राष्ट्रिय दक्षता तथा एनसेलको उत्कृष्ट गुणस्तर, सुपथ सेवा तथा सशक्त स्थानिय धरोहरको बेजोड मेल भएको, आधुनिक प्रविधि, नविनता र डिजिटलाईजेसनलाई अपनाउदै नेटवर्क विस्तार गर्ने र सम्पूर्ण ग्राहकका संचारलाई अझ सुदृढ गर्ने कार्यमा थप ध्यान केन्द्रित भएको र नयाँ प्रतिभाको विकास तथा दुरसंचार क्षेत्रमा नेपाली नेतृत्वको विकास गर्ने कार्यलाई गतिशिल बनाएको कम्पनीले जनाएको छ । आजीयाटा सम्बद्ध कम्पनीको रुपमा एनसेल उत्कृष्ट नेटवर्कको विकासमा दीर्घकालिन रुपमा लगानी गर्दै देशका अतिविकट क्षेत्रमा रहेका नागरिकलाई समेत संचार मार्फत जोड्दै नेपालको विकासमा योगदान पु¥याउने जनाएको छ । एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले भने, “एनसेल एक मोवाईल नेटवर्क प्रदायक मात्र होईन, हामी नेपालको व्यावसायिक नागरीक हौं र हामी राष्ट्रको आकांक्षा बमोजिम सामाजिक आर्थिक समृद्धिका लागि सरकारसँग सहकार्य गर्न प्रतिवद्ध छौं ।” “एशियाकै प्रमुख दुरसंचार समूह आजीयाटाको सहयोग प्राप्त भएकोमा हामी हर्षित छौं । आजीयाटा दुरसंचार क्षेत्रमा डिजिटल तथा प्राविधिक विकासमा अग्रणी स्थानमा छ र आफ्नो स्वच्छ प्यान–एशिया ट्रयाक रेकर्डसहित नेपालमा प्रवेश गरेको छ ।” एनसेलले नेपाली उपभोक्तालाई आपसमा जोड्ने आफ्नो प्रतिबद्धता बमोजिम टुजी/थ्रीजी जीएसएम नेटवर्क विकासका लागि हालसम्म ७४ अर्ब रुपैयाँलगानी गरेको छ । फोरजी/एलटिई जस्ता आधुनिक प्रविधिले नेपाली उपभोक्तालाई आफनो मोवाईल सेटमै भिडियो स्ट्रिमिङ्ग, संगित, गेम्स तथा कारोवार गर्ने जस्ता थप विकसित फिचर तथा एप्लिकेसनको प्रयोग गर्न सम्भव बनाउने छ । नेपाली तथा नेपालको प्रगतिका लागि महत्वपूर्ण हुने यस फोरजी/एलटिई सेवा संचालनका लागि आवश्यक स्पेक्ट्रम प्राप्त हुनेमा एनसेल विश्वस्त रहेको जनाएको छ । सन् २०१६ का लागि एनसेलले घोषणा गरेको रु १२ अर्बको पुँजीगत लगानीबाहेक एनसेलले आफ्ना निष्ठावान ग्राहकका लागि उत्कृष्ट सेवा संचालन सुनिश्चित गर्ने प्रतिवद्धता अन्तर्गत आगामी २ वर्षमा थप ७० अर्ब रुपैयाँ पुजीगत तथा संचालन लगानी गर्ने घोषणा गरेको छ । नयाँ ब्राण्डको अनावरणसँगै एनसेलले साउन ३२ गतेबाट लागु हुने गरी आफ्ना ग्राहकका लागि नयाँ योजना ल्याएको छ, जस अन्तर्गत एनसेलका सम्पूर्ण ग्राहकले अन नेट ५० मिनेटको टक टाईम तथा ५०० एसएमएस निःशुल्क प्राप्त गर्न सक्छन् । यो योजनाभदौ १४ गतेसम्मजारी रहने छ र योजनाअवधिमा एक पटक मात्र निःशुल्क टक टाईम तथा एसएमएस प्राप्त हुने कम्पनीले जनाएको छ । एनसेलले नेपालमा सन् २००४ देखि देशको पहिलो निजीमोबाइल सेवा प्रदायकका रूपमा सेवा प्रदान गरिरहेको छ । चैत २९, २०७२ मा एनसेल आजीयाटा ग्रुपबर्हादसँग आबद्ध भएको हो । एसियाको एक अग्रणी दूरसञ्चार समूहको रुपमा रहेको आजीयाटा हाल १० वटा देशमा उपस्थित छ र करिब २९ करोड ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । आजीयाटा ग्रुपको पुर्वाधार कंम्पनी ‘इडटको’ ६ वटा देशमा सञ्चालमा छ र यसले १६,००० भन्दा बढी मोबाईल टावर तथा १२,००० किमीफाइबरद्वारा दुरसंचार पुर्वाधार सेवाप्रदानगरिरहेको छ ।

ल्यापटपको ब्याट्री धेरै टिकाउनु छ ? ओपेरा ब्राउजर प्रयोग गर्नुस्

काडमाडौं ३१ साउन। तपाईको ल्यापटपमा इन्टरनेट चलाउँदा चाँडो ब्याट्री सकिने गरेको छ भने तपाइले एकपटक सोच्नुपर्नेहुन्छ। किन चाँडै व्याट्री सकिइरहेको छ। ल्यापटपको व्याट्री चाँडो सकाउनका लागि तपाईको ब्राउजर एक प्रमुख कारक रहेको पत्ता लागेको छ। विश्वकै सबैभन्दा चर्चित इन्टरनेट ब्राउजर बन्न गुगल क्रोमलाई धेरै समय लागेन। इन्टरनेट एक्स्प्लोरर र फाइरफक्स जस्ता टप ब्राउजरमा देखा परेका केहि असुविधाहरूलाई समाधान गरेर क्रोमले तिनीहरूको प्रयोगकर्ताहरूलाई समेत आफूतर्फ तान्न सफल भयो। गुगलको यहि नीतिलाई अहिले ओपेरा ब्राउजरले समेत पछ्याउन सुरु गरेको छ। कम्पनीले हालै गरेको एक घोषणाका अनुसार, यसको डेस्कटप ब्राउजरको पछिल्लो भर्जनमा नयाँ ‘पावर सेभिङ्ग मोड’ समावेश गरिएको छ, जसले ल्यापटपको चार्जलाई ५०% भन्दा बढिले बचत गर्ने कम्पनीले दाबी गरेको छ। गुगलको क्रोम ब्राउजरलाई छोडेर कुनै अर्को ब्राउजर चलाउन सुरु गर्नु भनेको जुनकुनै प्रयोगकर्ताहरूको लागि मुश्किल हुन जान्छ। नहोस् पनि कसरी? अन्य ब्राउजरहरू भन्दा क्रोम सुपरफास्ट छ।  हेर्दा पनि सुन्दर छ, त्यसलगायत यसले हाम्रो सबै डाटाहरूलाई एकैठाउँमा सिन्क गरेर राख्दछ। तर यदि कथमकदाचित क्रोमलाई छोडेर ओपेरा तिर लाग्ने एउटा कारण खोज्ने हो भने, ल्यापटपको ब्याट्री ५०% ले भन्दा बढि बचाउने फिचर सायद राम्रो कारण बन्न सक्छ। किनभने क्रोमले प्रयोगकर्ताहरूको ल्यापटपको ब्याट्रीलाई अझसम्म ध्यानमा राखेर नयाँ फिचर थपेको छैन।

भाद्र २३ गतेदेखि २६ गतेसम्म क्यान कमटेक २०१६ आयोजना हुने

काठमाडौं, ३१ साउन । म्यान महासंघले आगामी भाद्र २३ गतेदेखि २६ गतेसम्म भृकुटीमण्डप स्थित प्रदर्शनीहलमा क्यान कमटेक २०१६ आयोजना गर्ने भएको छ । क्यान कमटेक इन्फरमेसन, कम्युनिकेशन र टेक्नोलोजीको प्रदर्शनी हुने आयोजकले बताएको छ । नेपालमा सूचना तथा संचार प्रविधिको विकास, विस्तार तथा प्रवद्र्धन गर्नका लागि यस्ता कार्यक्रमहरुको आवश्यकता भएको महसुुुस गरी क्यान महासंघले वर्षै पिच्छे यस्ता कार्यक्रमहरु संचालन गर्दै आएको छ । प्रदर्शनीमा ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, इलेक्ट्रोनिक सेकुरिटी, सेफ्टी र सोलुशन, हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, आईसीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, पेमेन्ट सोलुसन्स् र अन्य स्टलहरु रहने क्यान महासंघको अध्यक्ष विनोद ढकालले जानकारी दिए । विश्व विख्यात स्वदेशी तथा विदेशी सर्भिसेस एण्ड सोलुशनस् र ब्रोडब्याण्ड ईन्टरनेट र कम्प्युनिकेशन टेक्नोलोजी सम्बन्धि कम्पनीहरुले भागलिने क्यान कमटेक २०१६ को टाइटल स्पोन्सर सुबिसु केवलनेट प्रा.लि. र एशोसिएट स्पोन्सरको रुपमा सामसुङ रहेको हुँदा क्यान कमटेकको अफिसियल नाम नै “सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङ” राखिएको छ । मेलामा प्लाटिनम स्पोन्सरमा वेबसर्फर, सिल्भर स्पोन्सरमा स्टार अफिस ईन्टरनेशनल र नेटिस छ भने प्रिन्ट स्पोन्सरमा स्प्यारो एस.एम.एस. रहेको छ । साथै अफिसियल बैंकको रुपमा सन्राइज बैंक रहेको छ । सुबिसु, सामसुङ र सन्राइज बैंक २०७३ सालमा हुने क्यान कमटेक २०१६, क्यान ईन्फोटेक २०१७ र क्यान आईसिटि कन्फरेन्स २०१७ तीनवटा कार्यक्रमहरुको नै क्रमशः टाईटल स्पोन्सर, एशोसिएट स्पोन्सर र अफिसियल बैंकको रुपमा रहेको समेत आयोजनकले जनाएका छन् । अफिसियलहरुमा बैंकमा सन्राइज बैंक, ईन्स्योरेन्समा प्रुडेन्सियल ईन्स्योरेन्स, आईएसपीमा सुबिसु, एफएममा नेपाल एफ. एम., अनलाईन टिकेटिङ्गमा एफ वान सफ्ट ईन्टरनेशनल, अनलाईन पेमेन्टमा ई–सेवा, नेपाली आईटी म्यागेजिनमा लिभिङ्ग वीथ आईसीटी., अंग्रेजी आईटी म्यागेजिन– पिसीईन्फो, वेव न्युजमा हाम्राकुरा डटकम, र एसएमएसमा रहेका छन् । सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङमा जम्मा ८१ वटा स्टलहरु रहनेछन् । हाल सम्म ९० प्रतिशत स्टल निश्चित भईसकेका छन् । नेपाल सरकारका विभिन्न निकायहरुले गरिरहेका सूचना तथा सञ्चार प्रविधिको अभ्याससँग सम्बन्धित गतिविधिहरुको प्रदर्शन पनि सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङको आकर्षणका रुपमा रहनेछ । सुविसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङ अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क ५० रुपैयाँ र विद्यार्थीहरुलाई २५ रुपैयाँ तोकिएको क्यानले जनाएको छ । साथै कलेज तथा स्कुलका विद्यार्थीहरु सम्बन्धित कलेज तथा स्कुलको पत्र सहित आएमा टिकट दरमा विशेष छुट प्रदान गरिने क्यान महासंघको महासचिव विश्वराम बलामी जनकारी दिए ।