सोमबारदेखि निजी विद्यालयको शुल्क अनुगमन हुने

काठमाडौं, २४ वैशाख । शिक्षा मन्त्रालय, अभिभावक र १३ विद्यार्थी सङ्गठनले निजी विद्यालयले लिने शुल्कको अनुगमन गर्ने भएका छन् । मन्त्रालय र विद्यार्थी सङ्गठनबीच शुक्रबार बिहान भएको वार्तामा तीनबुँदे सहमति भएको र यसअन्तर्गत सोमबारदेखि संयुक्त रुपमा निजी विद्यालयले लिने शुल्कका बारेमा अनुगमन गरिने भएको हो । शिक्षा मन्त्रालयका प्रवक्ता डा हरिप्रसाद लम्सालले विद्यार्थी सङ्गठनलाई पनि अनुगमन समितिमा राखेर शुल्कबारे अनुगमन गर्ने सहमति भएको बताए । उनले केन्द्रीय अनुगमन समितिले सोमबारदेखि निजी विद्यालयहरुले लिएको शुल्कबारे अनुगमन गर्ने जानकारी गराए। केन्द्रीय अनुगमन समिति शिक्षा विभागका महानिर्देशक खगराज बरालको संयोजकत्वमा गठन गरिएको छ । नेपाल विद्यार्थी सङ्घका प्रवक्ता युपि लामिछानेले मन्त्रालयसँगै मिलेर अभिभावकसहित आफूहरुले पनि अनुगमन गर्ने सहमति भएको बताए । यसअघि मन्त्रालयले निजी विद्यालयको अनुगमन नगरेको भन्दै दुई दिन विद्यार्थी सङ्गठनहरुले आफैँअनुगमन गरेका थिए । लामिछानेका अनुसार केन्द्रीय तहमा शिक्षा मन्त्रालयका प्रवक्ता तथा सहसचिव लम्सालको संयोजनमा केन्द्रीय अनुगमन समिति बनाउने सहमति भएको छ । जिल्ला तहमा उपसचिवको संयोजनमा जिल्लामा अनुगमनमा समिति बनाइने भएको छ । अनुगमन विशिष्ट श्रेणी भनिएका विद्यालयबाट थालिने भएको छ । लामिछानेका अनुसार अनुगमनका क्रममा बढी शुल्क लिने विद्यालयबाट रकम फिर्ता गराउने पनि सहमति भएको छ । आजको वार्तामा शिक्षा मन्त्रालयका प्रवक्ता लम्सालसहित शिक्षा विभागका महानिर्देशक खगराज बराल र उपत्यकाका तीनै जिल्लाका जिल्ला शिक्षा अधिकारीसहितको सहभागिता रहेको थियो । रासस

म्याग्दीका गाउँले ट्वीटर र स्काइपमा रमाउँदै

म्याग्दी, १९ जेठ । एक दशक अघिसम्म सूचना आदानप्रदानका लागि कटुवाल, मुखिया र हुलाकीको भर पर्ने गरेको म्याग्दी जिल्ला सूचना प्रविधिको क्षेत्रमा फड्को मार्न सफल भएको छ । सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र स्काइप अब म्याग्दीका सर्वसाधारणका लागि नयाँ विषय रहेनन् । महावीरले सुरु गरेको इन्टरनेट सञ्जालको पहुँच जिल्लाका गाउँ(गाउँ र विद्यालयसम्म पुगेको छ । म्याग्दीका नागी, टिकोट, शिख, घार, पाउद्वार, नारच्याङ, भुरुङतातोपानी, कुहुँ, विम, निस्कोट, दरबाङ, बाबियाचौर, पात्लेखेत, पाखापानी, ताकम र चिमखोला गाउँ र त्यहाँ रहेका विद्यालयमा इन्टरनेट विस्तार गरिएको छ । पछिल्लो समय इन्टरनेट विस्तारका लागि सम्बन्धित गाविसले पनि बजेट विनियोजन गर्दै गएपछि ग्रामीण भेगमा यसको पहुँच बढ्न सकेको बताइएको छ राम्चे–१ नागीका ५८ वर्षीय दिलबहादुर तिलिजा विदेशमा रहेका छोरा र छोरी ज्वाइँसँग स्काइपमा कुराकानी गर्छन् । उनका छोरीज्वाँइ ९ वर्षदेखि सिङ्गापुरमा छन् । एउटा छोरा जापानमा अध्ययन गर्दैछन् । जापान र सिङ्गापुर भूगोल र दूरीले मात्र टाढा रहे, उनका लागि । सञ्चो–विसञ्चोको हालखबर मात्र होइन परदेशको काम र खानपिनले मोटाएको अथवा दुब्लाएको शरीर समेत एकै बसाइमा हेर्न सकिन्छ । ‘मान्छे नै छर्लङग देख्ने भएपछि विदेशमा रहेको अनुभूति पनि हुँदैन, यता र उताको फुर्सद मिलाएर कुराकानी गर्छौं,’ तिलिजा भन्छन् – ‘गाउँमै बसेर यस्तो सुविधा पाइएला भनेर सोचेकै थिएन ।’ उमेर ढल्किँदै गएपनि उनले स्काइपसँगै फेसबुक र ट्वीटर अकाउण्ट खोलेका छन् । ‘अधिकांश कुरा मोबाइलबाट पनि हुन्छ, तर यसबाट झन् धेरै फाइदा हुँदोरहेछ, गाउँका अरु बूढाबूढीलाई अकाउण्ट खोल्न आग्रह गरेको छु’ उनले भने । जिल्ला सदरमुकाम बेनीदेखि एकदिनको पैदलदूरीमा पुग्न सकिने नागीका सर्वसाधारणको इन्टरनेटमा पहुँच बढ्दो छ । खासगरी सामाजिक कार्यकर्ता महावीर पुनले गाउँमा बेतारे इन्टरनेटको सञ्जाल विस्तार गर्न सफल भएपछि यस्तो सम्भव भएको म्याग्दीका क्रियाशील पत्रकार गोपाल छन्त्यालले बताए । ग्रामीण भेगमा इन्टरनेट विस्तारका लागि महावीरले कास्कीको पोखराबाट समुद्री सतहदेखि तीन हजार ३०० मिटरमा अवस्थित राम्चेकै मोहरे डाँडामा रिले स्टेसन निर्माण गरेका छन् । त्यसलाई मुख्य स्टेसन बनाई शिखको खोप्रालेक र म्याग्दीको कुहुँस्थित टोड्केमा अर्को रिले स्टेसनमार्फत इन्टरनेटको सञ्जाल विस्तार गरिएको छ । खोप्रालेकबाट उत्तरभेग र टोड्केबाट जिल्लाका लगभग पूरै क्षेत्रमा यो सेवा विस्तार गर्न थालिएको छ । नागीको हिमाञ्चल उच्च मावि, पाउद्वार मावि पाउद्वार, प्रभा मावि नारच्याङ, शिख उच्च मावि शिख, मुक्तिमार्ग उच्च मावि घार, सूर्योदय उच्च मावि भुरुङतातोपानी, किसानी उच्च मावि विम, निस्कोट मावि निस्कोट, जनप्रिय उच्च मावि दरबाङ, राष्ट्रिय जनजागृति मावि कुहुँलगायतका विद्यालयका विद्यार्थीले यहि इन्टरनेटमार्फत नयाँ र ताजा सूचना र ज्ञान उपभोग गरिरहेका छन् । इन्टरनेटको विकासले गाउँमा सूचना, ज्ञानको विकास र खबर आदानप्रदानमा धेरै सहज भएको हिमाञ्चल उच्च माविका कम्प्युटर शिक्षक किसान पुन बताउँछन् । विद्यालयमा अहिले कक्षा ६ देखि १२ सम्म अनिवार्य कम्प्युटर शिक्षा लागू गरिएको छ । जिल्लाका ७० सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा सुरु भएको र अधिकांश विद्यालयमा वायरलेस इन्टरनेटको पहुँच पुगेको जिल्ला शिक्षा कार्यालयको तथ्याङ्क छ । रासस

एनसेलले ल्यायो दैनिक अनलिमिटेड डेटा रोमिङ् प्याक

काठमाडौं, १२ जेठ । देशको अग्रणी मोबाइल सेवा प्रदायक एनसेलले दैनिक अनलिमिटेड डेटा रोमिङ् प्याक ल्याएको छ । कम्पनीले एक्जियटा गुप्र नेटवर्क भित्रका देशहरुमा भ्रमण गर्ने ग्राकहहरुलाई ध्यानमा राखि उक्त योजना ल्याएको हो । कम्पनीका अनुसार बिहीबारबाट लागु हुने यो योजना अन्तर्गत ग्राहकले बाङ्लादेश, क्याम्बोडिया, मलेसिया र श्रीलंका भ्रमणको समयमा कर सहित १ हजार ५ सय रुपैँयामा प्याक खरिद गरी दैनिक अनलिमिटेक डेटा सेवाको फाइदा दिन सक्छन् । कम्पनीले जनाए अनुसार ग्राकहले प्रत्येक दिन स्वत सुचारु हुने दैनिक अनलिमिटेड डेटा रोमिङ् प्याक वा प्रत्येक दिन आफैले किन्न पर्ने प्याक प्रयोग गर्न सक्छन् । स्वत सुचारु हुने प्याक खरिद गर्दा ग्राहकले एक पटक प्याक खरिद गरेपछि भ्रमण अवधिभरी सहजै डेटा सेवा प्रयोग गर्न सक्नेछन् । अर्को प्याक भने आफ्नो आवश्यकता अनुसार दैनिक रुपमा खरिद गर्न पर्ने हुन्छ । प्याक खरिद गर्नका लागि ग्राहकले पहिला स्टार १७१२७ ह्यास डायल गरी प्राप्त जानकारी अनुसार रोमिङ् सेवा सुचारु गर्नु पर्दछ । त्यस पश्चात स्टार १७१२९ ह्यास डायल गरी दैनिक रुपमा आफै सुचारु हुने वा प्रत्येक दिन किन्न पर्ने दैनिक प्याक छान्न सक्छन् । यी प्याकका माध्यमबाट दुवै प्रिपेड र पोष्टपेड सेवाका ग्राहकले भ्रमणको बेलामा रोबि एक्जियटा (बाङ्लादेश), स्मार्ट एक्जियटा (क्याम्बोडिया), सेलकम एक्जियटा (मलेसिया) र डायलग एक्जियटा (श्रीलंका) को नेटवर्कमा कनेक्ट भई डेटा सेवा मार्फत आफ्ना आफन्तजनहरुसंग सहजै सम्पर्कमा रहन सक्नेछन् । कम्पनीका अनुसार दैनिक प्याक सुचारु गरेपछि २४ घण्टा सम्म प्रयोगका लागि समय सिमा हुनेछ । समयावधि सकेपछि, ग्राहकले पुन प्याक खरिद गर्न सक्छन् वा हाल लाग्दै आएको रु १५ प्रति एमबि शुल्कमा डेटा सेवा प्रयोग गर्न सक्छन् । प्रत्येकदिन आफै सुचारु हुने दैनिक प्याकको हकमा जुन सुकै समयामा प्याक खरिद गरेता पनि प्रयोग गर्ने समयसिमा मध्य रातमा सकिने छ र स्वत नयाँ प्याक सुचारु हुने कम्पनीले जनाएको छ ।