नेपालमा दोस्रो अन्तराष्ट्रिय चर्मरोग सम्मेलन कात्तिक ३ गतेदेखि शुरु
काठमाडौं, २ कात्तिक । चर्म, यौन तथा कुष्ठरोग समाज नेपालले दोस्रो अन्तराष्ट्रिय चर्मरोग सम्मेलनको आयोजना काठमाडौंमा गर्ने भएको छ । उक्त सम्मेलन यही कार्तिक ३ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने छ । यस सम्मेलनको मूल मर्म “एथिक्स एण्ड कम्युनिकेशन स्किल इन डर्माटोलोजी” रहेको छ । यो सम्मेलनमा यूरोप, अमेरिका ,अष्ट्रेलिया, मध्य पूर्वीय देश र एसियाली क्षेत्रका करीव २० राष्ट्रबाट ५०० जना चर्मरोग विशेषज्ञहरूले भाग लिने यस सम्मेलनको आयोजक समितिका अध्यक्ष तथा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका प्राध्यापक डा.दिनेशविनोद पोखरेलले जानकारी गराए । उक्त ४ दिने सम्मेलनमा १०० वटा भन्दा बढी चर्म तथा यौन रोग सम्वन्धी वैज्ञानिक शोधपत्रहरू प्रस्तुत हुने जानकारीमा आएको छ । यसबाट नेपाल लगायत यस क्षेत्रको चर्मरोग विशेषज्ञको वृत्ति विकासका साथै यस क्षेत्रका चर्मरोगीहरूले समेत यस सम्मेलनको निष्कर्षबाट लाभान्वित हुने विश्वास प्रा.डा.पोखरेलले गरेका छन् । साथै नेपालको अहिले भूकम्पग्रस्त अवस्थाबाट पुनस्थापना हुने क्रममा यस सम्मेलनले नेपालको पर्यटकीय व्यवसायलाई समेत बृद्धि गर्ने छ । साथै, नेपालको अर्थतन्त्रमा सकारात्मक योगदान गराउने र नेपालको विश्व सामू पहिचान बृद्धि गराउन मद्दत गर्ने आयोजकको विश्वास छ ।
एभरेष्ट बैंकद्वारा निशुल्क स्वास्थ्य शिविरको आयोजना
काठमाडौं, १ कात्तिक । बाइसौं वार्षिकोत्सवको अवसर पारेर एभरेष्ट बैंकले कार्तिक १ गते आफ्नो मुख्य कार्यालय परिसरमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । उक्त कार्यक्रममा लगभग २५० व्यक्तिले ग्रयाण्ड अस्पतालका चिकित्सक टोलिबाट परामर्शरउपचार पाएका छन् । शिविरमा ई.एन.टि., दन्त चिकित्सा, ग्यास्त्रोएन्टेरोलोजी, ओप्थाल्मोलोजी र अर्थोपेडिक लगायतका सेवाहरू उपलव्ध थिए । शिविरको उद्देश्य विभिन्न स्वास्थ्य समस्याहरुको प्रारम्भिक निदान कसरि गर्ने भन्ने बारे थियो, जसमा चिकित्सक टोलिले ती समस्यासंग सम्बन्धित सतर्कता र समाधानका उपाय बताएका थिए ।
दसैंमा मात्रै यान्त्रिक पुलले कमायो साढे १० लाख रुपैयाँ
पर्वत, १ कात्तिक । मुलुककै पहिलो व्यावसायिक यान्त्रिक पुल कुश्मा–बलेवा यान्त्रिक पुल लिमिटेडले यसबर्षको दसैँमा १० लाख ४१ हजार रुपैयाँ आम्दानी गरेको छ । केबुलकार मोडेलमा निर्माण गरिएको यान्त्रिक पुलले दसैँको प्रतिपदादेखि पूर्णिमासम्म आठ लाख ४१ हजार रुपैयाँको कारोबार गरेको हो । कुश्मा–बलेवा यान्त्रिक पुल लिमिटेडले दिएको जानकारीअनुसार दसैँको प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म कारोबार उत्साहजनक रुपमा भएको हो । यसपटक दसैँमा यान्त्रिक पुलबाट १३ हजार २७६ जनाले वारपार गरेका छन् । गत वर्ष यान्त्रिक पुलबाट प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म यात्रा गर्ने यात्रुबाट १० लाख ८३ हजार रुपैयाँ आम्दानी भएको थियो । यस वर्ष पनि उत्साहजनक रुपमा आम्दानी गर्न सफल भएको यान्त्रिक पुल लिमिटेडका कार्यालय प्रमुख चिरञ्जीवी रेग्मीले जानकारी दिए। पर्वत सदरमुकाम कुश्मा बजारबाट बागलुङ जिल्लाको बलेवा पुग्नका लागि पैदल मार्गबाट झन्डै एक घन्टा लाग्ने गर्छ । यान्त्रिक पुलको सञ्चालनसँगै एक घन्टाको यात्रा करिब सात मिनेटमा छोटिृएको छ । केबलकार मोडेलमा निर्माण गरिएको उक्त पुलबाट यात्रा गर्नका लागि एकतर्फी भाडा रु एक सय तोकिएको छ भने बागलुङ जिल्लाको बलेवा क्षेत्रका बासिन्दाका लागि रु ७५ तोकिएको छ । सो पुल गाउँघर र पहाडी क्षेत्रमा यात्रु ओसारप्रसार गर्न तथा कृषि उपज र अन्य सामग्री ढुवानीका लागि सबैभन्दा उपयुक्त माध्यम बन्न सक्ने देखिएको पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिओम शर्मा लामिछानेले बताए। “गाउँमा कच्ची सडक खन्नुभन्दा यस्तै यान्त्रिक पुल र केवलकार निर्माण गर्ने हो भने धेरै सहज हुन सक्छ”, उनले भने – “हाम्रोजस्तो पहाडी भूभागका लागि यो नै अति उत्तम विकल्प हो, सरकारले यसलाई प्रवद्र्धन गर्नुपर्छ ।” पर्वत उद्योग वाणिज्य सङ्घको पहलमा यान्त्रिक पुल निर्माण भएको हो । रासस