टेलिकमद्वारा ५८ देशमा अन्तर्राष्ट्रिय कलको पल्स अवधि ६० सेकेन्ड कायम
काठमाडौं । नेपाल टेलिकमले अन्तर्राष्ट्रिय बहिर्गमन कल सेवामा लाग्ने रिटेल पल्स डिउरेसन परिमार्जन गरेको छ । कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार अब विभिन्न देशका दूरसञ्चार सेवा प्रदायकहरूमा इन्टरनेसनल एक्सेस कोड ००, १४२४, १४२५ तथा १४४५ प्रयोग गरी कल गर्दा ६० सेकेन्डको पल्स दर कायम हुने भएको हो । नेपाल दूरसञ्चार प्राधिकरणको २०८२ फागुन १ गतेको निर्णयअनुसार प्राप्त स्वीकृतिबमोजिम ५८ देशमा उक्त व्यवस्था लागू गरिएको कम्पनीले जनाएको छ । नयाँ पल्स दर २०८३ जेठ १ गतेदेखि लागू हुनेछ । नेपाल टेलिकमका अनुसार अङ्गुइला, अल्जेरिया, अमेरिकन समोआ, अजरबैजान, बहामास, बेनिन, ब्राजिल, ब्रुनाई, चीन, कोमोरस, कुक आइल्यान्ड, डिएगो गार्सिया, इस्ट टिमोर, इथियोपिया, फिजी, फ्रेन्च पोलिनेसिया, गुआम, गिनी, गिनी–बिसाउ, हैटी, भारत, इन्डोनेसिया, आइभोरी कोस्ट, किरिबाटी, लेसोथो, लाइबेरिया, मकाउ, माल्दिभ्स, माली, मेक्सिको, माइक्रोनेसिया, मोजाम्बिक र म्यानमारमा कल गर्दा ६० सेकेन्डको पल्स दर लागू हुनेछ । त्यसैगरी नाउरु, न्यु क्यालेडोनिया, न्युजिल्यान्ड, नाइजेरिया, निउ, पलाउ, पनामा, पपुआ न्युगिनी, समोआ, साउदी अरेबिया, सिंगापुर, सोलोमन आइल्यान्ड, दक्षिण अफ्रिका, दक्षिण कोरिया, श्रीलंका, सुडान, सुरिनाम, थाइल्यान्ड, टोगो, टोकेलाउ, टोङ्गा, टर्की, टुभालु, भानुआतु र भियतनाममा समेत उक्त व्यवस्था लागू हुने जनाइएको छ । नेपाल टेलिकमले हाल विभिन्न देशका दूरसञ्चार सेवा प्रदायकहरूमा कल गर्न विभिन्न एक्सेस कोडको व्यवस्था गरेको जनाएको छ । कम्पनीका अनुसार कल गर्नुअघि एक्सेस कोड, त्यसपछि कन्ट्री कोड र सेवा प्रदायकको नम्बर डायल गर्नुपर्नेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अब स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय हुँदै
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाम परिवर्तन गरिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयमा परिवर्तन गर्ने तयारी गरेको छ । नेपाल सरकार (कार्यविभाजन) नियमावली-२०८३ स्वीकृत गरेसँगै मन्त्रालयको नाम स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय हुनेछ । त्यसो त नियमावली स्वीकृत हुँदा संघीय मन्त्रालयहरूको संख्या २२ बाट घटेर १८ मा सिमित भएको छ ।
नेपाल एसबिआई बैंकद्वारा वीरगञ्जको विद्यालयमा शैक्षिक सामग्री वितरण
काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पर्सा जिल्लाको वीरगञ्जस्थित श्री महानगरपालिका आधारभूत विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई स्कुल ब्याग तथा शैक्षिक सामग्री वितरण गरेको छ । बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारी ले एक कार्यक्रमबीच विद्यालयका प्रधानाध्यापकलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा, प्रमुख अनुपालन अधिकृत विष्णुदेव यादव, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत प्रविण मुनि बज्राचार्य, प्रमुख कर्जा अधिकृत रोशन कोइराला, मधेश प्रदेश प्रमुख रितेश अर्याल लगायत बैंक तथा विद्यालयका अन्य पदाधिकारी र शिक्षकहरूको उपस्थिति रहेको थियो । बैंकले शिक्षा क्षेत्रमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रम समय–समयमा सञ्चालन गर्दै आएको जनाएको छ ।