४० करोड भुक्तानी नपाउँदा शिक्षण अस्पतालले स्वास्थ्य बीमा उपचार सेवा बन्द गर्दै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले स्वास्थ्य बीमा उपचारका सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरेको छ । अस्पतालले पाउनुपर्ने दाबी रकम बीमा बोर्डले उपलब्ध नगराएपछि बीमा उपचारका सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरेको हो । अस्पतालले एक सूचना जारी गर्दै आगामी माघ १ गतेदेखि बीमा सेवा बन्द गर्ने जनाएको छ । अस्पतालका अनुसार स्वास्थ्य बीमामार्फत उपचार गराउने बिरामीको संख्या दिनहुँ बढ्दै जाँदा मासिक झन्डै ५ करोड रुपैयाँ हाराहारी खर्च हुने गरेको छ । तर बीमा बोर्डबाट ५० प्रतिशत मात्र दाबी स्वीकृत हुने र बाँकी अस्वीकृत हुँदै आएकाले अस्पतालको बीमा दाबी रकम करिब ४० करोड रुपैयाँ भुक्तानी बाँकी रहेको जनाएको छ । अस्पतालले निकालेको विज्ञप्तिमा भनिएको छ, 'अस्पतालमा आउने बिरामीहरूको उपचारका क्रममा बीमा बोर्ड र अस्पतालको दररेट शुल्क फरक रहेको छ। अस्पतालले बारम्बार अस्पतालको दररेटलाई अन्तिम दर मानिदिन विगत दुई वर्षदेखि आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको, साथै आफ्नै आन्तरिक स्रोतबाट दैनिक सम्पूर्ण खर्च व्यहोर्नुपर्दा मासिक दुई करोड रुपैयाँ घाटा खाएर स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न असमर्थ भएकाले यही २०८२ साल माघ १ गतेदेखि नेपाल सरकारको स्वास्थ्य बीमाअन्तर्गतका सम्पूर्ण उपचार सेवाहरू बन्द गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको हो ।' स्वास्थ्य बीमा बोर्ड र त्रिवि शिक्षण अस्पतालबीच २०७७ सालदेखि स्वास्थ्य बीमा उपचार कार्यक्रम सञ्चालन हुने सम्झौता भएको थियो । यसबीच पनि अस्पतालले पटक–पटक दाबी भुक्तानी नपाएको भन्दै कार्यक्रम रोक्दै आएको थियो ।  

काठमाडौं विश्वविद्यालयमा आजदेखि एआई सम्मेलन

 काभ्रेपलाञ्चोक । धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू)मा आजदेखि ‘एआई कन्क्लेभ-२०२६’ (कृत्रिम बुद्धिमत्ता सम्मेलन)को आयोजना गरिएको छ । केयूको डिपार्टमेन्ट अफ आर्टिफिसियल इन्टेलिजेन्स अन्तर्गतको आर्टिफिसियल इन्टेलिजेन्स क्लब (केयुएआइसी)को आयोजनामा हुन लागेको सो सम्मेलन क्लबमार्फत सञ्चालन गरिएको ‘एआई कन्भर्जेन्स-२०२६’ अन्तर्गत दोस्रो चरणको यस कार्यक्रम आयोजना गरिएको जनाइएको छ । आयोजकका अनुसार पछिल्लो दुई वर्षमा गरिएको ‘एआई–मिट’ कार्यक्रमलाई परिस्कृत गर्दै ‘एआई कन्क्लेभ’ आयोजना गरिएको हो । एआई क्षेत्रमा सिकाइदेखि नवप्रवर्तनलाई एउटै प्लेटफर्ममा समेट्ने कार्यक्रमको उद्देश्य रहेको क्लबका अध्यक्ष अशिम श्रेष्ठले बताए । उनका अनुसार सम्मेलनको एआईलाई ‘रिसर्च’ वा ‘जेनरेटिभ टुल’मा सीमित नराखी शिक्षा, स्वास्थ्य, वित्त, शासन, उद्योग र समाजमा यसको व्यावहारिक प्रयोगबारे जनचेतना फैलाउनेसमेत लक्ष्य रहेको छ । ‘ब्रिजिङ इन्टेलिजेन्स एन्ड इनोभेसन’ नारासहित आयोजना गरिएको सम्मेलनमा विद्यार्थी, अनुसन्धानकर्ता, उद्योग, स्टार्टअप, नीति–निर्माता तथा सर्वसाधारणलाई एउटै प्लेटफर्ममा जोड्ने उद्देश्य जनाइएको छ । तीन चरणमा ‘एआई कन्भर्जेन्स २०२६’ सञ्चालन गरिने छ । पहिलो चरण ‘एआई क्यानभास’ अन्तर्गत एआई फाउन्डेसन, बुटक्याम्प, वेबिनारलगायतका आधारभूत सिकाइ कार्यक्रम समावेश गरिएका छन् । दोस्रो चरणमा ‘एआई कन्क्लेभ’ जनवरी १२, १३ र १४ मा केयू केन्द्रीय कार्यालयमा सञ्चालन हुनेछ । सम्मेलनअन्तर्गत सोमबार ‘नेसनल लेभल एआई समिट’, मङ्गलबार प्रोजेक्ट प्रदर्शनी, रोबोटिक्स प्रतियोगिता, ई-गेम्स, टेक-टक्स तथा एक्सपो सञ्चालन हुनेछ भने बुधबार ‘एआई फर सोसाइटी’ शीर्षकमा प्यानल डिस्कसन, ई-गेम्सको फिनाले, एआईसम्बन्धी जनचेतनामूलक कार्यक्रम, एआई नीतिमा छलफल लगायतका कार्यक्रम हुने आयोजकले जनाएका छन् । तीनदिने ‘एआई कन्क्लेभ’ मा करिब पाँच हजार अवलोकनकर्ताको सहभागिता रहने आयोजकको अनुमान छ ।

कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण, हरिले बनाए नयाँ कीर्तिमान

काठमाडौं । ‘शरीरको कुनै अङ्गमा खोट हुँदैमा जीवन निरर्थक हुँदैन,’ कृत्रिम खुट्टाको सहायतामा यही पुस २२ गते करिब माइनस २५ डिग्री चिसोमा अन्टार्टिकाको माउन्ट भिन्सन आरोहण गरेर फर्किनुभएका हरि बुढामगरले भने, ‘म फरक क्षमता भएका मानिसलाई आफ्नो क्षमता चिनेर हरेक दिन सपनाको सगरमाथा चढ्न प्रेरित गर्छु । मेहनत गरे सफलता पाइन्छ भन्ने उदाहरण म आफैँ छु ।’ समुद्री सतहदेखि ४ हजार ८९२ मिटर अग्लो माउन्ट भिन्सनको सफल आरोहण गरेसँगै पूर्व गोर्खासमेत रहनुभएका हरि बुढामगरले विश्वको सातै महादेशका अग्ला चुचुराको आरोहण पुरा गरेका छन् । ४६ वर्षअघि रोल्पाको दुर्गम गाउँ मिरुलमा जन्मिएका हरि विश्व समुदायकै लागि एक साहसको पर्याय बनेका छन् । आफ्नो आरोहण अनुभव सुनाउँदै उनले भने, ‘यो उपलब्धि प्राप्त गर्नु धेरै कठिन थियो । तीव्र हावा र कठ्याङ्ग्रिँदो चिसोले मेरा औँला जमिरहेका थिए । मेरो अनुहारमा एक प्रकारको चिसोको जलन भइरहेको थियो । घरीघरी म आफैँ माथि शंका गर्थेँ । भगवानमा विश्वास नगर्ने म हामी सफल होऊँ भनेर मनमनै प्रार्थना गरिरहेको हुन्थेँ ।’ बुढामगरले तिव्र गतिको हावा र त्यो चिसोले आफूलाई उचाइमा पुग्नबाट रोक्न सक्दैन भन्ने आत्मविश्वासले कठिन चुनौती पुरा गर्न सफल भएको बताए । युद्धमै मृत्यु जितेर पुनर्जीवन पाएको स्मरण गर्दै उनले हरेक काममा चुनौती हुने तर त्यसलाई पार गर्न आत्मविश्वास आवश्यक हुने बताए । निरन्तर र अथक प्रयासले मात्र यो सम्भव भएको उनको बुझाइ छ । ‘यो एक अद्भुत अनुभूति हो । म बयान गर्नै सक्दिन कि हामीले यो कसरी सम्भव तुल्यायौँ । तर, सातै महादेशका उच्च सात शिखर सफलतापूर्वक आरोहण गरेका छौँ । म धेरै भावुक छु । अपाङ्गता भएको व्यक्तिको रूपमा मैले यो असम्भव काम सम्पन्न गरेको छु,’ उनले भने, ‘हिमालको पानी पिएको नेपालीले गरेको यो कामले नेपालको शिर उँचो बनाउने काममा केही योगदान पक्कै गर्छ भन्ने लागेको छ । मलाई यो कामका लागि हौसला र निरन्तर सहयोग गर्ने सबैलाई मनैदेखि धन्यवाद दिन चाहन्छु ।’ मगरले यसअघि १९ मे २०२३ मा सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर), ८ जनवरी २०२० मा अफ्रिकाको तान्जानियास्थित माउन्ट किलिमन्जारो (५,८९५), २८ जुन २०२४ मा उत्तर अमेरिकाको अलास्कास्थित डेनाली (६,१९०), २२ फेब्रुअरी २०२५ मा दक्षिण अमेरिकाको अर्जेन्टिनास्थित एकोनकागुआ (६,९६१) को सफल आरोहण गरेका थिए ।  त्यसैगरी उनले न्यु गिनीको पुन्चाकजयु (४,८८४), १३ अगस्ट २०१९ मा फ्रान्सको मोन्ट ब्ल्याङ्क (४,८०९ मिटर) को सफल आरोहण गरेका छन् र  गत बुधबार अन्टार्टिकाको माउन्ट भिन्सनको सफल आरोहण गरे । योसँगै उनले दुवै खुट्टाको घुँडामुनिका भाग गुमाएर पनि सातै महादेशका अग्लो चुचुरो आरोहण गर्ने नयाँ कीर्तिमान बनाएका छन् ।  सेभेन समिटको रूपमा रुसको माउन्ट एल्ब्रस (५६४२ मिटर) आरोहणसमेत समावेश गरिएको भएपनि यो अहिले पहुँच योग्य नभएका कारण उनले फ्रान्सको मोन्ट ब्ल्याङ्क आरोहण गरेका थिए । यसलाई गिनिज वर्ल्ड रेकर्डले समेत मान्यता दिएको बताइएको छ । कृत्रिम खुट्टाको भरमा अन्टार्टिकाको माउन्ट भिन्सन चढेर नेपाली झण्डा फहराएका हरिले हरेक खतरा पार गरेपछि एक सुन्दर समय आउने उदाहरण विश्व सामु प्रस्तुत गरेका छन् । माउन्ट भिन्सनमा पाइला टेक्दाको अनुभूति साट्दै उनले भने, ‘आँखाले देखेजति क्षितिज सम्मै सबैतिर हिउँ नै हिउँ, यो चमत्कारिक र स्वर्गजस्तै लाग्थ्यो ।’ आफूलाई धेरै पटक यस्ता चुनौतीपूर्ण काम तपाईँ जस्ता व्यक्तिले गर्ने होइन भन्ने गरेको स्मरण गर्दै उनले भने, ‘तपाईंको शारीरिक अवस्थाकै कारण तपाईंलाई कसैले केही गर्न सक्दैन भन्छन् भने मलाई देखाउनुहोस्/हेर्नुहोस् ।’  उनले आफ्नो यो सफलताले विश्वभर अपाङ्गता भएका व्यक्तिको जीवन  परिवर्तनका लागि सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे । सबै नेपाली आरोहण दलका सदस्य अविरल राई, मिङ्मा शेर्पा र जाङ्बु शेर्पासहितलाई साथमा लिएर उनले २४ घण्टानै उज्यालो रहने अन्टार्टिकाको युनियन ग्लेशियरबाट आधारशिविरतर्फ लागेका थिए । उनको आरोहण दलले ६ जनवरी २०२६ राति १० बजे माउन्ट भिन्सनको शिखरमा पाइला टेकेको हो । रोल्पाको थवाङ गाउँपालिकास्थित मिरुल गाउँमा जन्मिएका पूर्व गोर्खा सैनिक हरि बुढामगरले सन् २०१० मा अफगानिस्तानमा तालिवानसँगको युद्धमा पैदल गस्ती जाने क्रममा एक भूमिगत बम विस्फोटबाट दुबै खुट्टा गुमाएका थिए । १५ वर्षसम्म उनले ब्रुनाइ, कोसोभो, फकल्याण्ड र अन्य ठाउँमा काम गर्दै पाँच महादेशमा गोर्खा सैनिकको रूपमा काम गरेका थिए । तीन सन्तानका पिता हरि, हाल परिवारसहित बेलायत क्यान्टबरी केन्टमा बस्दै आएका छन् ।  गत वर्ष बेलायतको प्रतिष्ठित ‘एमबीई’ अवार्ड प्राप्त गरेका उनी ‘प्राइड अफ ब्रिटेन बेलायत’ गौरव अवार्डका विजेता समेत हुन् । दुबै खुट्टा गुमाएपछि चरम निराशा र मदिरा सेवनले आत्महत्याको प्रयास सम्म गरेका उनले ती दिन स्मरण गर्दै आफूलाई स्काइ डाइभिङको मौकाले जीवनमा नयाँ परिवर्तन ल्याएको बताए । उनले विश्वको सर्वोच्च शिखर सगरमाथाको देशका मानिस उच्च साहस र दृढ विश्वासी छन् भन्ने सन्देश दिन सफल भएको सुनाए । उनले आफ्नो सफलता अपाङ्गता भएका समुदायलाई समर्पित गरेको बताए । आफ्नो सफलताको खुसी बाँड्न उनी माघ १ गते काठमाडौं आउँदैछन् । त्यसपछि बेलायत फर्केर बेलायतका प्रधानमन्त्रीलाई भेट्ने योजना रहेको उनले सुनाए ।