शुक्लाफाँटामा क्षयरोगीको खोजपडताल गर्न ‘एआई ’को प्रयोग
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा ‘एआई’प्रविधिमा आधारित पोर्टेबल एक्स–रे मेसिनमार्फत निःशुल्क क्षयरोगी खोजपडताल गरिएको छ । आधुनिक प्रविधिको प्रयोगबाट समुदायमा लुकेर बसेका क्षयरोगीको पहिचान गर्दै समयमै उपचारमा ल्याउने उद्देश्यले उच्च जोखिममा रहेका वडा नं १, ५ र ८ मा शिविर सञ्चालन गरिएको हो । नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टका अनुसार वडा नं ८ को पिताम्बर स्वास्थ्यचौकी, वडा नं ५ को आधारभूत स्वास्थ्य केन्द्र वन समिति र वडा नं १ को सहरी स्वास्थ्य केन्द्र बन्साहमा शिविर सञ्चालन गरिएको छ । चिकित्सकसहितको टोलीले एआई प्रविधियुक्त पोर्टेबल एक्सरे मेसिन प्रयोग गरेर क्षयरोगीको खोजपडताल गरेको उनले बताए । शिविरमार्फत कूल ६८८ जनाको क्षयरोग परीक्षण गरिएको छ । परीक्षणका क्रममा शङ्कास्पद देखिएका ४२ जनालाई थप परीक्षणका लागि ‘जिन एक्सपर्ट’ परीक्षण गर्न महाकाली प्रादेशिक अस्पतालमा प्रेषण गरिएको छ । शाखा प्रमुख भट्टका अनुसार एआई प्रविधिमार्फत एक्स–रे विश्लेषण गर्दा सामान्य एक्स–रेमा सहजै नदेखिने सूक्ष्म जीवाणुसमेत तत्काल पहिचान गर्न सकिन्छ । 'डिजिटल कम्प्युटर प्रणालीले एक्स–रे विश्लेषण गरेर सम्भावित क्षयरोगी छुट्याउँछ', उनले भने, 'यसले खकार परीक्षण गर्नुअघि नै जोखिममा रहेका बिरामी पहिचान गर्न सहयोग पुर्याउँछ ।' उनका अनुसार प्रविधिमैत्री शिविरले दुर्गम क्षेत्रमा रहेका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेलेको छ । शिविर सञ्चालनका लागि चिकित्सकसहित एआई पोर्टेबल एक्स–रे मेसिन महाकाली प्रादेशिक अस्पतालबाट उपलब्ध गराइएको हो । नेपाल सरकारले सन् २०३५ सम्म क्षयरोग समस्या अन्त्य गर्ने तथा सन् २०५० सम्म नेपाललाई क्षयरोगमुक्त बनाउने लक्ष्य राखेको छ । सो लक्ष्य हासिल गर्न एआई प्रविधिको प्रयोग प्रभावकारी बन्दै गएको स्वास्थ्य अधिकृत पदम महराले बताए । 'विशेषगरी छातीको एक्स–रे विश्लेषणमार्फत कम समयमै क्षयरोगी पहिचान गर्न एआई प्रविधि उपयोगी देखिएको छ', उनले भने, 'पोर्टेबल एक्स–रे मेसिन र एआई सफ्टवेयर प्रयोग गरेर दुर्गम गाउँमा समेत शिविर सञ्चालन गर्न सकिन्छ, त्यसैले यो सेवालाई नगरपालिकाका १२ वटै वडामा विस्तार गर्ने लक्ष्य राखेका छौँ ।' उनका अनुसार एआईले केही मिनेटमै एक्स–रे विश्लेषण गरेर शङ्कास्पद बिरामी पहिचान गर्न सक्छ । यसले स्वास्थ्यकर्मीको कार्यबोझ कम गर्नुका साथै समयमै परीक्षण र उपचार प्रक्रिया अघि बढाउन मद्दत पुर्याइरहेको छ । उनका अनुसार एआई प्रविधिको प्रयोगले क्षयरोगको शीघ्र पहिचान, उपचार तथा रोगको फैलावट नियन्त्रणमा महत्वपूर्ण सहयोग पुगेको छ । विशेषगरी विशेषज्ञ चिकित्सकको पहुँच कम रहेका दुर्गम क्षेत्रमा यस्तो प्रविधि प्रभावकारी रहेको छ ।
यसरी हेर्नुहोस् एसईईको नतिजा
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत बोर्डले नतिजाको औपचारिक घोषणा गरेको हो । सार्वजनिक नतिजा अनुसार सहभागी परीक्षार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यस वर्षको एसईई परीक्षामा सबैभन्दा बढी जीपीए ९३.६० देखि ४.००० ल्याउने विद्यार्थीको संख्या ४८ हजार ३ सय ९२ रहेको छ । ४ लाख ३० हजार ६६७ विद्यार्थीमध्ये सबैभन्दा बढी जीपीए ४८ हजार बढीले ल्याएको शिक्षासचिव चुडामणि पौडेलले जानकारी दिए । उनका अनुसार त्यसपछिको जीपीए ९३.२० देखि ३.६० सम्म ल्याउने विद्यार्थीको संख्या ८० हजार ३७२ रहेको छ । २.८० देखि ३.२० सम्मको जीपीए ल्याउने विद्यार्थीको संख्या ९४ हजार २२२ रहेको छ । ५५ हजार ९७७ विद्यार्थीले यस वर्ष २.४० देखि २.८० जीपीए ल्याएका छन् । जीपीए २.०० देखि २.४० सम्म ल्याउने विद्यार्थीको संख्या ५ हजार १९० रहेका छन् । १.६० देखि २.०० जीपीए ल्याउने विद्यार्थीको संख्या ७ जना रहेको बोर्डले जनाएको छ । कार्यालयका अनुसार परीक्षार्थीहरूले एसएमएस, आईभीआर र विभिन्न आधिकारिक वेबसाइटहरू मार्फत आफ्नो नतिजा सहजै हेर्न सक्नेछन् । एसएमएस र आईभीआर सेवाका लागि नेपाल टेलिकमको १६००, जानकी टेक्नोलोजीको ३५००१ र एम्बिसन गुरुको ३१०६९ नम्बरमा सन्देश पठाएर वा फोन गरेर नतिजा प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ । त्यसैगरी, इन्टरनेटको माध्यमबाट विस्तृत नतिजा र मार्कसिट हेर्न चाहनेहरूका लागि कार्यालयले सरकारी तथा निजी क्षेत्रका १४ वटा वेबसाइटहरूलाई अनुमति दिएको छ । परीक्षार्थीहरूले आधिकारिक सरकारी साइटहरू www.see.gov.np र www.neb.gov.np का साथै नेपाल टेलिकम, कान्तिपुर पब्लिकेसन्स, इडियु सञ्जाल र खल्ती जस्ता विभिन्न पोर्टलहरू प्रयोग गर्न सक्नेछन् ।
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सोमबार साँझ सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा आयोजित पत्रकार सम्मेलनमार्फत बोर्डले नतिजाको औपचारिक घोषणा गरेको हो । सार्वजनिक नतिजा अनुसार सहभागी परीक्षार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको यस पटकको परीक्षामा उत्तरपुस्तिकाको परीक्षण परीक्षा केन्द्रमै गरिएका कारण विगतको तुलनामा नतिजा छिटो सार्वजनिक गर्न सम्भव भएको बोर्डले जनाएको छ । यस वर्षको परीक्षाका लागि कूल ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले आवेदन दिएका थिए। जसमा नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना परीक्षार्थी सहभागी थिए । कुल परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना रहेका छन् । बोर्डले नतिजा सार्वजनिक गरे पनि प्राविधिक प्रक्रियाका कारण वेबसाइटहरूमा नतिजा हेर्न भने केही समय कुर्नुपर्ने जानकारी दिएको छ ।