चिसो बढ्दा मौसमी फ्लुका बिरामी बढ्यो

विराटनगर । तराई क्षेत्रमा चिसो बढेसँगै टाउँको दुख्ने समस्या लिएर अस्पताल पुग्ने बिरामीको सङ्ख्या बृद्धि भएको छ । चिसो हावा, तापक्रममा आएको परिवर्तन, शरीरमा पानीको कमी, साइनसको समस्या तथा घाँटी र काँध क्षेत्रका मांसपेशी कडा हुनुजस्ता कारणले जाडो मौसममा टाउको दुखाइ बढ्ने चिकित्सकको भनाइ छ ।  कोशी अस्पताल विराटनगरका वरिष्ठ फिजिसियन डा. रोशन खड्का जाडो मौसमले शरीरको ताप सन्तुलन र रक्तसञ्चार प्रणालीमै प्रत्यक्ष असर पार्ने भएकाले यो समयमा टाउको दुखाइको समस्या लिएर आउने बिरामीको सङ्ख्या बढ्दै गएको बताउँछन् । उनी भन्छन्, 'जाडोमा शरीरको तापक्रम घट्दा रक्तनलीहरू सङ्कुचित हुन्छन् । यसले टाउकोतर्फ जाने रक्तप्रवाहमा कमी ल्याउछ । त्यसैले धेरै मानिसले टाउको भारी भएको, च्यापिएको जस्तो भएको वा निरन्तर दुखेको अनुभव गर्छन् ।' उनका अनुसार जाडो मौसममा देखिने टाउको दुखाइको अर्को प्रमुख कारण शरीरमा पानीको कमी (डिहाइड्रेसन) हो । 'जाडोमा तिर्खा कम लाग्छ, त्यसैले मानिसले पानी कम पिउछन् । तर शरीरलाई पानीको आवश्यकता जाडोमा पनि उत्तिकै हुन्छ । पानीको कमी हुँदा टाउको दुखाइ पहिलो सङ्केतका रूपमा देखिन सक्छ,' उनी भन्छन् । चिसो हावाले घाँटी र काँध क्षेत्रका मांसपेशीमा प्रत्यक्ष असर पार्ने हुँदा टाउको पछाडिबाट सुरु भएर अगाडितर्फ फैलिने दुखाइ देखिने गरेको चिकित्सकहरूको अनुभव छ । विशेषगरी मोटरसाइकल चलाउँदा घाँटी नछोप्ने, राति चिसोमा सुत्ने तथा लामो समय एउटै आसनमा बस्ने व्यक्तिमा यस्तो समस्या बढी देखिने गरेको डा खड्का बताउँछन् । 'यो दुखाइ समयमै ध्यान नदिए विस्तारै दीर्घरूप लिन सक्छ,' उनी भन्छन् । त्यसैगरी जाडो मौसममा नाक बन्द हुने, अनुहार भारी महसुस हुने, आँखाको वरिपरि च्यापिएको जस्तो दुख्ने तथा टाउकोको अगाडिको भाग दुख्ने समस्या जाडोमा बढ्ने गर्छ ।साइनसमा सङ्क्रमण वा एलर्जी भएका व्यक्तिमा समयमै उपचार नगरे टाउको दुखाइ लामो समयसम्म रहने र कहिलेकाहीँ जटिल अवस्थासमेत आउन सक्ने चिकित्सकको भनाइ छ । यसैगरी माइग्रेनका बिरामी पनि जाडो मौसममा बढी प्रभावित हुने गरेका छन् । तापक्रमको अचानक परिवर्तन, चिसो हावा, निन्द्राको गडबडी तथा मानसिक तनावले माइग्रेन ट्रिगर गर्ने चिकित्सकहरू बताउँछन् । डा. खड्का भन्छन्, 'माइग्रेन हुँदा एकातर्फ मात्र टाउको दुख्ने, बान्ता आउने, उज्यालो र आवाज सहन नसक्ने लक्षण देखिन्छ । जाडो मौसम माइग्रेनका बिरामीका लागि निकै संवेदनशील समय हो ।' चिकित्सकका अनुसार जाडोमा घाम कम ताप्दा भिटामिन ‘डी’को कमी हुने र यसले मांसपेशी दुखाइ, थकान तथा टाउको दुखाइलाई थप बढाउने गर्दछ । उच्च रक्तचाप भएका व्यक्ति, दीर्घरोगी, वृद्धवृद्धा तथा लामो समय मोबाइल र कम्प्युटर प्रयोग गर्नेहरू जाडो मौसममा टाउको दुखाइको उच्च जोखिममा पर्ने समूहमा पर्छन् । डा. खड्काले सामान्य टाउको दुखाइलाई बेवास्ता नगर्न आग्रह गर्दै भन्छन्, 'बारम्बार टाउको दुख्ने, औषधि खाँदा पनि निको नहुने, दृष्टि धमिलो हुने, बान्ता आउने वा ज्वरोसँगै टाउको दुख्ने लक्षण देखिएमा ढिलाइ नगरी चिकित्सकको परामर्श लिनुपर्छ ।' उनी भन्छन्, 'सही कारण पहिचान गरी समयमै उपचार गरेमा जाडो मौसममा देखिने अधिकांश टाउको दुखाइ नियन्त्रण गर्न सकिन्छ ।' टाउको दुखाइबाट बच्न चिकित्सकहरूले पर्याप्त पानी पिउने, न्यानो कपडा लगाएर घाँटी र कान छोप्ने, बिहानको घाम ताप्ने, लामो समय एउटै आसनमा नबस्ने तथा घाँटी र काँधको हल्का व्यायाम गर्ने सुझाव दिएका छन् । जाडो मौसममा सानो लापरबाहीले स्वास्थ्य समस्या निम्त्याउन सक्ने भएकाले दैनिक जीवनशैलीमा सचेतता अपनाउन चिकित्सकहरूले आग्रह गरेका छन् । रासस

बेलहियाबाट भित्रिए १ लाख ३ हजार पर्यटक, कोरोनाछि क्रमशः सङ्ख्या बढ्दै

काठमाडौं । स्थल मार्ग हुँदै बेलहिया नाकाबाट आउने तेस्रो मुलुकका पर्यटकको सङ्ख्या बढेको छ । एक वर्षको अवधिमा एक लाखभन्दा बढी तेस्रो मुलुकका पर्यटक यो नाका हुँदै नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय बेलहिया, रुपन्देहीका अनुसार सन् २०२५ मा १ लाख ३ हजार ९५५ जना पर्यटक यो नाका हुँदै नेपाल आएका हुन् । सोही अवधिमा १ लाख २ हजार ४५५ जना बेलहिया नाका हुँदै गन्तव्यतर्फ प्रस्थान गरेका छन् । सन् २०२४ मा यो नाका हुँदै ९२ हजार ६४४ पर्यटक भित्रिएका थिए भने ९३ हजार २९० जना पर्यटक यहाँबाट गन्तव्यतर्फ प्रस्थान गरेका थिए ।  कार्यालय प्रमुख वासुराम पौडेलले २०२५ मा पर्यटकको आगमन सोचेअनरुप हुन नसके पनि विगतका वर्षभन्दा सङ्ख्या भने बढेको बताए । ‘सन् २०२५ मा करिब एक लाख २० हजार पर्यटकको आगमन हुने आकलन गरेका थियौँ । जेनजी आन्दोलनका कारणले त्यति आगमन हुन सकेन, तर कोरोनाकालपछि क्रमशः पर्यटकको सङ्ख्या बढ्दै गएको छ,’ पौडेलले भने ।  गत वर्षभन्दा १० हजार बढीले पर्यटकको आगमनको सङ्ख्या बढेको उनले बताए । सन् २०२५ मा यस नाकाबाट सबैभन्दा बढी श्रीलङ्काका ३४ हजार ३६६ पर्यटक नेपाल आएका छन् । त्यसपछि म्यानमारका १९ हजार ९६२, थाइल्याण्डका १९ हजार १९५, भियतनामका ७ हजार ६४५, दक्षिण कोरियाका ३ हजार ८२ र संयुक्त राज्य अमेरिकाका २ हजार १४९ जना छन् । उक्त अवधिमा सबैभन्दा बढी मार्च महिनामा २० हजार ७२० पर्यटक नेपाल आएका छन् । यस्तै, फ्रेअुबरीमा १७ हजार ८७१, नोभेम्बरमा १६ हजार ३०५, अक्टोबरमा ११ हजार ६९७ र डिसेम्बरमा १० हजार ७२० पर्यटक नेपाल भित्रिएको तथ्याङ्क छ । यो नाका हुँदै सन् २०१८ मा १ लाख ६६ हजार २३५, सन् २०१९ मा १ लाख ६१ हजार ६९१, सन् २०२० मा ४३ हजार ३६७, सन् २०२१ मा ८१२, सन् २०२२ मा २० हजार २२० र सन् २०२३ मा ८१ हजार ८०५ पर्यटक नेपाल आएका छन् । यो नेपालमा स्थल मार्गबाट देशमै धेरै पर्यटक भित्रिने नाकाका रूपमा रहेको छ । 

जाडोमा हिटर तथा गिजरको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह

काठमाडौं । जाडोयाम सुरु भइसकेको छ । तराईमा शीतलहरका कारण जीवनयापन कठिन बनिरहेको छ । जाडोयाममा शरीर र कोठालाई न्यानो राख्न आगो ताप्ने, कोइला बाल्ने, हिटर बाल्ने र गिजरको प्रयोग गरिने हुँदा यस्ता उपकरणहरूको प्रयोगमा आवश्यक सावधानी अपनाउन चिकित्सकले अनुरोध गरेका छन् ।  यी उपकरणहरुको प्रयोगमा सावधानी नअपनाउँदा बर्सेनि मृत्यु र अस्पतालमा भर्ना हुने घटनाहरू घटिरहेका छन् । केही दिन अघि मात्र सुर्खेतमा कोइला बालेर सुतेको अवस्थामा एक ३८ दिनको शिशुको मृत्यु भएको छ भने परिवारका तीन जना बेहोससमेत भए । न्यानो बनाउने विभिन्न उपकरणहरूको प्रयोग गर्दा घरमा हावा सञ्चालन प्रणाली राम्रो नभएमा कोठामा ‘कार्बन मोनोअक्साइड’ जस्तो विषाक्त ग्यास जम्मा हुन सक्छ । यो ग्यास गन्ध, रङ्ग र स्वादरहित हुन्छ जसको सम्पर्कमा लामो समयसम्म रहँदा गम्भीर स्वास्थ्य समस्या हुने वा ज्यान जान सक्दछ । कन्सलटेन्ट जेनेरेल फिजिसियन डा. विवेकराज पौडेल भन्छन्, 'आगो, कोइला बल्न, ग्यास गिजर चलान अक्सिजन चाहिन्छ । त्यसले बलेर निक्लिने बाइप्रोडक्ट चाहिँ ‘कार्बोन डाइअक्साइड’ र कार्बोन मोनोअक्साइड’ हो । यी दुवै ग्यास बाहिर वातावरणमा मिसिन्थ्यो भने खासै फरक पर्थेन । बन्द कोठामा अक्सिजन सकिएर यी दुई ग्यास मात्र हुँदा हाम्रो शरीरले त्यो लिन बाध्य हुन्छ ।' उनका अनुसार यसका कारण मुटुको चालमा गडबड आउने, होसमा नहुने, सास फेर्न नसक्ने, रगतमा समस्या, एसिडको मात्रा बढ्ने जस्ता खालका अवस्थाहरु सिर्जना गर्न सक्छ । डा. पौडेल ती अवस्थामा फसेकालाई जति सक्दो छिटो उद्धार गरेर बाहिरी वातावरणमा राख्ने र अस्पतालमा ‘हाइ फ्लो’ अक्सिजनमा राख्नुपर्ने बताउँछन् । उनी भन्छन्, 'घटना थाहा पाइसकेपछि  सकेसम्म छिटो उद्धार गर्नुपर्छ जसले गर्दा तत्कालीनका साथै दीर्घकालीन असरबाट बचाउन सकिन्छ । दीर्घकालीनमा कसैकोमा पहिलाको जस्तो चनाखोपन, मानसिक अवस्था छिटो छरितो नहुने र भुल्ने समस्या देखिन सक्ने हुन्छ ।' बर्सेनि यस्ता खालका दुर्घटना बढे पनि सर्वसाधारणहरु अझै यसबारे सचेत हुन नसकेको विज्ञ बताउँछन् । 'विभिन्न विद्युतीय उपकरणका साथै कोइला बाल्ने, आगो ताप्ने काम गर्नु छ भने बन्द कोठा राम्रो होइन । कोठा तथा बाथरुममा भेन्टिलेशन हुुनुपर्छ । सकेसम्म शरीर न्यानो राख्न न्यानो कपडा लगाउने, ओढ्ने चिजहरु प्रयोग गर्नुपर्छ । सुत्नुअघि कोइला निभाएर मात्र सुत्ने । यो मात्र नभइ हरेक सामानको प्रयोग गर्दा बन्द गरेर सुत्नु सबैभन्दा उत्तम उपाय हो', डा. पौडेल सुझाउँछन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक सूचना जारी गर्दै जाडोमा आगो ताप्दा, हिटर चलाउँदा वा गिजरको प्रयोग गर्दा निम्न सावधानीहरु अपनाउन आग्रह गरेको छ : – हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्ने । – कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नताप्ने । – आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामाग्री नजिकै नराख्ने । – आगो तापिसकेपछि त्यसलाई पूर्ण रूपमा निभाउने । – हिटरको प्रयोग गर्दा समय–समयमा चलिरहेको हिटरलाई बन्द गर्ने । – सुत्नुअघि अनिवार्य रूपमा हिटर बन्द गर्ने । – गिजरको मुख्य मेसिनलाई बाथरूम बाहिर खुला ठाउँमा जडान गर्ने ।  – गिजर खोलेर लामो समयसम्म बाथरूममा नबस्ने । – गिजर प्रयोग गरेर नुहाउँदा सम्भव भएसम्म बाथरूमको झ्याल बन्द नगर्ने । रासस