पर्यटन बोर्डमा निजी क्षेत्र भित्र्याइँदै

काठमाडौं । सरकारले पर्यटन प्रवर्द्धनलाई प्रभावकारी बनाउन नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रको सहभागिता विस्तार गर्ने नीति अघि सारेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि सार्वजनिक–निजी साझेदारीलाई प्राथमिकता दिइने बताएका हुन् । सरकारले पर्यटन बोर्डको संरचना तथा सञ्चालनमा निजी क्षेत्रलाई थप सहभागी गराएर पर्यटन प्रवर्द्धन, अन्तर्राष्ट्रिय बजार विस्तार तथा सेवा व्यवस्थापनलाई प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ ।

धरानको वीपी प्रतिष्ठानमा जेठ ८ बाट साताको दुई दिन विदा हुने

काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सातामा दुई दिन विदा लागू गर्ने भएको छ । सोमबार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सूचना जारी गरेर शनिबार र आइतबार दिने व्यवस्था लागू गरेको हो ।  प्रतिष्ठानले शुक्रबार भने पूरा दिन बिरामीलाई सेवा दिने जनाइएको छ ।  यसअघि शुक्रबार आधा दिन मात्र अस्पतालले सेवा सुचारु हुने गरेको थियो । नेपाल सरकारले चैत्र २२ गते राजपत्रमा प्रकाशित बमोजिम प्रत्येक साताको शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने व्यवस्था लागु गरेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी परिपत्रको आधारमा प्रतिष्ठानले जेठ ८ गते देखि लागु हुने गरी हरेक साताको शनिबार र आइतबार (साताको दुई दिन) अस्पताल तर्फको अन्तरङ्ग सेवा र आकस्मिक सेवा बाहेक बहिरङ्ग सेवा, प्रशासनिक र शैक्षिक कार्यालयहरु बन्द रहने वीपी प्रतिष्ठानले देखाएको छ ।     

एसईईको नतिजा आज साँझ सार्वजनिक गरिँदै

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज साँझ ७ बजेपछि सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आजै नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ । यसका लागि अहिले साँझ ५ बजे बोर्ड सदस्यहरूलाई डेमो देखाउने तयारी भइरहेको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताए । ‘हामीले बोर्ड बैठक साँझ ५ बजे  बोलाएका छौं, जहाँ डेमो दोखाउने कार्यक्रम छ, डेमो देखाउने कार्यक्रम सफल भएको एक दुइ घण्टापछि नतिजा सार्वजनिक गर्छौ,’ परीक्षा नियन्त्रक अधिकारीले विकासन्युजसँग भने ।   उनले साँझ ७ बजे नतिजा सार्वजनिकका लागि पत्रकारलाई बोलाउने तयारी भइरहेको बताए । यस वर्ष पहिलोपटक परीक्षा सकिएको एक महिनाभित्रै एसईईको नतिजा सार्वजनिक हुन लागेको हो ।  गत चैत १९ देखि २९ सम्म सञ्चालन भएको यस वर्षको एसईई परीक्षामा ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए ।   नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । जसमध्ये दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना छन् ।  परीक्षा नियन्त्रण कार्यालयका अनुसार एसईईको नतिजा एसएमएस गरेर, आईभीआर वा सिधै वेबसाइटमा गएर हेर्न सकिनेछ ।