एक वर्षमै त्रिभुवन विमानस्थलको आम्दानी करिब १३ अर्ब, लामिडाँडा विमानस्थलको कमाइ ७२८ रुपैयाँ मात्र

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा नेपालका विमानस्थलमध्ये सबैभन्दा धेरै आम्दानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को वार्षिक प्रतिवेदनअनुसार उक्त विमानस्थलले एक वर्षमा १२ अर्ब ९० करोड ६८ लाख रुपैयाँ आम्दानी गरेको हो । यात्रु सेवाको हिसाबले पनि त्रिभुवन विमानस्थल पहिलो नम्बरमा रहेको छ । यो विमानस्थलले एक वर्षको अवधिमा ३७ लाख १८ हजार आन्तरिक र ४० लाख ९८ हजार यात्रुलाई अन्तर्राष्ट्रिय उडानबाट सेवा दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि धेरै आम्दानी गर्ने दोस्रो विमानस्थल पोखरा अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले एक वर्षमा ३६ करोड २ लाख रुपैयाँ आम्दानी गरेको छ । यो विमानस्थलले एक वर्षमा ७ लाख ९८ हजार यात्रुलाई सेवा दिएको छ ।  एक वर्षको अवधिमा तेस्रो धेरै आम्दानी गर्ने विमानस्थलमा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । उक्त विमानस्थलले एक वर्षमा २८ करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको छ । गौतमबुद्ध विमानस्थलले ६ लाख ७५ हजार यात्रुलाई आन्तरिक र १३ हजार यात्रुलाई अन्तर्राष्ट्रिय उडानबाट सेवा दिएको छ । क्यानको प्रतिवेदनअनुसार आव २०८१/८२ मा १४ विमानस्थलले करोड रुपैयाँ बराबरको आम्दानी गरेका छन् । विराटनगर विमानस्थलले एक वर्षको अवधिमा १९ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ ।  त्यस्तै, नेपालगञ्ज विमानस्थलले १४ करोड ६० लाख रुपैयाँ, चन्द्रगढीले ८ करोड ९० लाख रुपैयाँ, धनगढीले ७ करोड ३४ लाख रुपैयाँ, धनगढीले ७ करोड ३४ लाख रुपैयाँ, जनकपुरले ७ करोड १५ लाख रुपैयाँ भरतपुरले ६ करोड २३ लाख रुपैयाँ आम्दानी गरेका छन् ।  करोड आम्दानी गर्ने अन्य विमानस्थलहरुमा लुक्लाले ६ करोड २१ लाख रुपैयाँ, सिमराले ५ करोड ३६ लाख रुपैयाँ, रामेछापले १ करोड ३६ लाख रुपैयाँ, राजविराजले १ करोड ५९ लाख रुपैयाँ र सुर्खेतले ३ करोड ५५ लाख रुपैयाँ आम्दानी गरेका छन् ।  लाख आम्दानी गर्ने विमानस्थल  एक वर्षको अवधिमा १८ विमानस्थल कार्यालयले लाख रुपैयाँ बराबरको आम्दानी गरेका छन् । क्यानको प्रतिवेदनअनुसार जोमसोमले ८८ लाख २० हजार रुपैयाँ, सिमकोटले ५१ लाख ७३ हजार रुपैयाँ, तुम्लिङटारले ५० लाख रुपैयाँ, फाप्लुले ४९ लाख ८ हजार रुपैयाँ, जुम्लाले २४ लाख ४३ हजार रुपैयाँ आम्दानी गरेका छन् । लाख कमाउने अन्य विमानस्थलहरूमा रारा, बाजुरा, डोल्पा, दाङ, सल्ले, भोजपुर, ताप्लेजुङ, साँफेबगार, टिकापुर, खानीडाँडा, रुम्जाटार थामखर्क र रेसुंगा हुन् ।  हजारभन्दा कम आम्दानी गर्ने विमानस्थल  सबैभन्दा कम आम्दानी गर्नेमा भने खोटाङको लामिडाँडा विमानस्थल रहेको छ । लामिडाँडाले पछिल्लो एक वर्षमा ७२८ रुपैयाँ मात्रै आम्दानी गरेको क्यानको तथ्यांक छ । एक वर्षको अवधिमा बझाङ विमानस्थलले ९० हजार २६३ रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै, फाल्गुनन्द सुकिलुम्बाले ७६ हजार ७३१ र डोटीले ४६ हजार रुपैयाँ आम्दानी गरेका छन् ।

देउराली जनता फर्मास्युटिकल्सको आम्दानी साढे २ अर्ब, बैंकको ऋण घटाउँदै

काठमाडौं । साढे तीन दशकदेखि सञ्चालनमा रहेको देउराली जनता फर्मास्युटिकल्सले साढे २ अर्ब रुपैयाँ आम्दानी गरेको छ । देउराली जनताले सन् २०२५ मा २ अर्ब ३५ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको जनाएको छ । यो आम्दानी गत वर्षको तुलनामा १६.१६ प्रतिशत अर्थात् ३२ करोड ७० लाख रुपैयाँ बढी हो । सन् २०२४ मा कम्पनीले २ अर्ब २ करोड ३० लाख रुपैयाँ बढी आम्दानी गरेको थियो ।  नेपाली औषधि उद्योगको अग्रणी कम्पनीको रुपमा चिनिएको देउराली जनता सन् १९९१ मा स्थापना भएको हो । देउराली जनता फार्मास्युटिकल्सले मुटु रोग, मधुमेह, स्त्रीरोग तथा बाल स्वास्थ्य, ग्यास्ट्रोलोजी र हेपाटोलोजी, छाला रोगलगायतका क्षेत्रमा प्रयोग हुने सामान्य तथा विशेष खालका औषधिहरू उत्पादन गर्दै आएको छ ।  हाल कम्पनीले विभिन्न वर्गमा २५० भन्दा बढी प्रकारका औषधी उत्पादन बजारमा उपलब्ध गराइरहेको छ ।  कम्पनीले सन् २०१८ मा १ अर्ब ४० करोड ५९ लाख रुपैयाँ, सन् २०१९ मा १ अर्ब ५३ करोड ४५ लाख रुपैयाँ, सन् २०२० मा १ अर्ब १९ करोड ६४ लाख रुपैयाँ, सन् २०२१ मा १ अर्ब ४६ करोड ९० लाख रुपैयाँ,सन् २०२२ मा १ अर्ब ७० करोड ५० लाख रुपैयाँ, सन् २०२३ मा १ अर्ब ८६ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । सन् २०२५ को जुलाईको मध्यसम्मको तथ्याङ्क अनुसार देउराली जनता फर्मास्युटिकल्सको करिब ७१ प्रतिशत इक्विटी सेयर कम्पनीका कार्यकारी निर्देशक तथा अध्यक्ष हरिभक्त शर्माको स्वामित्वमा रहेको छ । बाँकी सेयर उनको परिवारका सदस्य तथा अन्य व्यक्तिको नाममा रहेको छ ।  दीर्घ अनुभव, फराकिलो उत्पादन दायरा र स्थिर स्वामित्व संरचनाका कारण देउराली जनता फर्मास्युटिकल्स नेपाली औषधि बजारमा विश्वासिलो ब्रान्डको रूपमा स्थापित हुँदै आएको छ । कम्पनीले देशभर २०० भन्दा बढी वितरकहरूसँग समन्वय गरेर व्यापार विस्तार गर्दै आएको छ ।  ‘मानव जीवनका लागि स्वास्थ्यभन्दा बहुमूल्य अरू केही छैन’ भन्ने मूल दृष्टिकोणका साथ देउराली-जन्ता फर्मास्युटिकल्सको स्थापना गरिएको हो । दीर्घकालीन रूपमा नेपाललाई स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर बनाउने दृष्टिकोणसहित कम्पनीले मानव जीवनजस्तो संवेदनशील र अमूल्य सम्पत्तिको संरक्षण तथा सम्वर्द्धनलाई आफ्नो प्रमुख मिसन बनाएको कार्यकारी सञ्चालक हरिभक्त शर्माले बताए । गुणस्तरीय औषधि उत्पादनप्रतिको गहिरो प्रतिबद्धता कम्पनीको डीएनएमै रहेको र घरेलु तथा क्षेत्रीय औषधि उद्योगको अग्रपङ्क्तिमा पुर्‍याएको उनको भनाइ छ । सन् १९९१ मा ज्वरो घटाउने औषधि एन्टिबायोटिक्स र भिटामिनजस्ता उत्पादनबाट यात्रा सुरु गरेको देउराली जनताले समयक्रमसँगै आफ्नो उत्पादन दायरा निरन्तर विस्तार गर्दै आएको शर्माले बताए । हाल कम्पनीले ट्याब्लेट, क्याप्सुल, मलहम, ड्राइ पाउडर तथा तरल डोज फर्मसहितका औषधि उत्पादन गरिरहेको उनले जनाए ।  नेपालमा औषधि कम्पनीहरूको संख्या बढेसँगै प्रतिस्पर्धा पनि वृद्धि भएपनि रणनीतिक सुधार, अत्याधुनिक उत्पादन प्रविधिको प्रयोग र गुणस्तरीय मानव संसाधन विकासमार्फत कम्पनीले आफ्नो अग्रणी स्थान जोगाउँदै आएको उनको भनाइ छ । उद्योगले बैंकको ऋण पनि घटाउँदै लगेको देखिन्छ । हाल उद्योगले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ६ करोड १० लाख रुपैयाँ लिएको छ । जबकि सन् २०२४ मा १ अर्ब ११ करोड ६० लाख रुपैयाँ ऋण थियो । त्यसअघि सन् २०२३ मा उद्योगले १ अर्ब १७ करोड ५६ लाख रुपैयाँ ऋण लिएको थियो । 

गतवर्ष ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए, पर्यटनमा क्रमिक सुधार

काठमाडौं । सन् २०२५ मा ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२५ मा विभिन्न मुलुक हुँदै उक्त सङ्ख्यामा पर्यटक नेपाल आएका हुन् । सन् २०२४ मा ११ लाख ४७ हजार ५४८ पर्यटक नेपाल भित्रिएकामा सन् २०२५ केही सङ्ख्या बढेको हो । गत डिसेम्बरको एक महिनामा मात्र ९८ हजार १९० पर्यटक नेपाल आएका छन् । जसमा छिमेकी मुलुक भारतबाट ३० हजार ९३, चीनबाट आठ हजार ६८०, अमेरिकाबाट छ हजार ६०५, बङ्गलादेशबाट चार हजार ९८०, अष्ट्रेलियाबाट चार हजार ४१९, थाइल्याण्डबाट चार हजार २३४, बेलायतबाट तीन हजार ७९३, म्यानमारबाट दुई हजार ७५८ र मलेसियाबाट दुई हजार ४२९ पर्यटक भित्रिएका छन् । यस्तै, छिमेकी मुलुक भारतबाट दुई लाख ९२ हजार ४३८, अमेरिकाबाट एक लाख १२ हजार ३१६, चीनबाट ५८ हजार ६८४, बेलायतबाट ५७ हजार ५४५, बंगलादेशबाट ४९ हजार ३५७, अष्ट्रेलियाबाट ३७ हजार ५५०, श्रीलंकाबाट ३० हजार २४३, थाइल्याण्डबाट ३० हजार २२७ र जर्मनीबाट २४ हजार ७६३ पर्यटक नेपाल घुम्न आएको नेपाल पर्यटन बोर्डले जनाएको छ । यसअघि सबैभन्दा बढी सन् २०१९ मा ११ लाख ९७ हजार १९१ पर्यटक नेपाल भित्रिएका थिए ।