धनगढीमा २ अर्ब २० करोड लगानीमा पाँचतारे ‘होलिडे इन आईएचजी’ निर्माण हुँदै

काठमाडौं । धनगढीमा पाँचतारे होटल ‘होलिडे इन आईएचजी’ निर्माण हुने भएको छ । मंगलबार उक्त होटलको व्यवस्थापनसम्बन्धी होटल इन आईएजी र क्लब चौलानीबीच सम्झौता भएको छ ।  सम्भौता पत्रमा क्लब चौलानीको तर्फबाट डा. राजेन्द्र केसी र आइएचजीको तर्फबाट दक्षिण एसियाका प्रबन्ध निर्देशक सुदीप जैनले हस्ताक्षर गरेका छन् ।  अध्यक्ष केसीका अनुसार धनगढीमा निर्माण हुन लागेको उक्त होटल सुदूरपश्चिम प्रदेशकै अन्तर्राष्ट्रिय होटल चेन अन्तर्गतको पहिलो पाँचतारे होटल हुने छ । उनका अनुसार होटलमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार ५ प्रिमियम सुइटसहित ११५ वटा आधुनिक अतिथि कक्ष रहनेछन् ।  त्यस्तै, १८ हजार ५ सय वर्गफुट क्षेत्रफलमा फैलिएको अत्याधुनिक क्यासिनो, ७०० जनासम्म अट्ने भव्य ब्यान्क्वेट हल, रुफटप स्विमिङ पुल, बहुपरिकार रेष्टुरेन्ट, पूर्ण रूपमा सुसज्जित आधुनिक फिटनेस सेन्टर, विभिन्न बैठक तथा सम्मेलन कक्षहरू तथा विशेष निजी डाइनिङ सुविधा समावेश रहनेछन् । परियोजनाको कुल लगानी २ अर्ब २० करोड रहेको छ । जसमा ६५ प्रतिशत अर्थात १ अर्ब ४३ करोड रुपैयाँ बैंक ऋण र ३५ प्रतिशत अर्थात ७७ करोड प्रवद्धकहरूको स्व–पूँजीमार्फत व्यवस्थापन गरिने होटलले जनाएको छ । होटल २०८४ को सुरुबाट सञ्चालनमा आउने तयारी छ । आवास, व्यवसायिक पर्यटन र अन्तर्राष्ट्रिय ब्रान्डेड आतिथ्य सेवाको नयाँ युगको सुरुआतका रूपमा लिइएको । यसले स्थानीय रोजगारी सिर्जना गर्दै क्षेत्रीय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्‍याउने क्लब चौलानीका सीए दीपक पाण्डेले बताए । पाण्डेका अनुसार होटल सञ्चालनपछि २ सय जना स्टाफ, ५ सय क्यासिनो कर्मचारी गरी ७ सयले रोजगारी पाउनेछन् । धनगढी प्राकृतिक सौन्दर्य, धार्मिक–सांस्कृतिक सम्पदा, जैविक विविधता र आतिथ्यताले सम्पन्न क्षेत्र हो । भारतको उत्तराखण्ड र उत्तर प्रदेशका प्रमुख सहरहरूसँग नजिक रहेको यो सीमावर्ती सहरले ठूलो संख्यामा भारतीय पर्यटकको आकर्षण गर्ने सम्भावना बोकेको छ ।  धनगढी सुदूरपश्चिमका ७ जिल्लाको प्रमुख जङ्सनको रूपमा विकसित हुँदै गएको छ । महेन्द्रनगर नजिक तथा धनगढी विमानस्थलबाट करिब ८ किलोमिटर दूरीमा अवस्थित छ ।

ट्रेकिङ अनुमति शुल्कमा सरकारको ठूलो सुधार, अब प्रतिदिन ५० डलर मात्र

काठमाडौं । नेपाल सरकारले विदेशी पर्यटकका लागि लाग्दै आएको पदयात्रा (ट्रेकिङ) अनुमति दस्तुरमा महत्त्वपूर्ण परिवर्तन गरेको छ ।  मन्त्रिपरिषद्‌को निर्णयअनुसार अध्यागमन नियमावली, २०५१ संशोधन गर्दै हालसम्म लागू रहेको पहिलो १० दिनका लागि प्रतिव्यक्ति ५०० अमेरिकी डलर र त्यसपछि प्रतिदिन ५० डलर लिने व्यवस्था हटाइएको छ । नयाँ व्यवस्थाअनुसार अब विदेशी पर्यटकले पदयात्रा अनुमति लिन प्रतिदिन प्रतिव्यक्ति ५० अमेरिकी डलर वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रा मात्र तिर्नुपर्नेछ । यो निर्णय नियमावलीको अनुसूची–१२ अन्तर्गत पदयात्रा अनुमति दस्तुरसम्बन्धी व्यवस्था हेरफेर गर्दै कार्यान्वयनमा ल्याइएको हो । सरकारले यस कदमलाई पर्यटनमैत्री सुधारका रूपमा प्रस्तुत गरेको छ । यसले विदेशी पर्यटकलाई राहत दिने अपेक्षा गरिएको छ । पर्यटन व्यवसायीहरूका अनुसार पुरानो संरचनाले छोटो समयका पर्यटकलाई निरुत्साहित गर्दै आएको थियो । अब दैनिक दर प्रणाली लागू भएपछि लचिलो यात्रा योजना, लामो बसाइ र पर्यटक संख्या वृद्धि हुने विश्वास गरिएको छ । सरकारको यो निर्णयले विशेषगरी अन्नपूर्ण, सगरमाथा, लाङटाङलगायत प्रमुख पदयात्रा मार्गमा पर्यटन गतिविधि बढाउने र स्थानीय अर्थतन्त्र चलायमान बनाउने अपेक्षा गरिएको छ।

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु, २८ जिल्ला जोखिममा

काठमाडौं । जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार १७९ जना जनामा जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमण भएको थियो । यस वर्ष जापानिज इन्सेफ्लाइटिस्का एक हजार ७३९ शङ्कास्पद बिरामीको परीक्षण गरिएको उनले बताए ।जापानिज इन्सेफ्लाइटिस् सङ्क्रमण एक पटक भएपछि अर्को पटक नभए पनि शङ्कास्पद बिरामीलाई भने अर्को पटक जापानिज इन्सेफ्लाइटिस् हुन सक्ने उनको भनाई छ । गत वर्ष सन् २०२४ मा २५ जना जापानिज इन्सेफ्लाइटिस्बाट मृत्यु भएका थिए । उनले बर्सेनि जापानिज इन्सेफ्लाइटिस्बाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको बताए। गत वर्ष जापानिज इन्सेफ्लाइटिस् सङ्क्रमण ८६ जना देखिएको थियो । सन् २०१४ मा चार जना, सन् २०१७ मा एक जना र सन् २०२३ मा सात जना जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएका थिए । डा. गौतमका अनुसार यस वर्ष तीन वर्षदेखि ८९ वर्षसम्मका मानिसलाई जापानिज इन्सेफ्लाइटिस् देखिएको थियो । जापानिज इन्सेफ्लाइटिस्बाट २८ जिल्ला उच्च जोखिममा छन् । मृत्यु हुने अधिकांश ४० वर्षमाथिका छन् । उनले मृत्यु भएकामध्ये नौ प्रतिशतले खोप लगाएको तथा अन्यले खोप नलगाएको पाइएको बताए । गौतमले चिसो बढेकोले अब भने जापानिज इन्सेफ्लाइटिस् सङ्क्रमण कम हुने बताए । यो रोग विशेषगरी साउनदेखि कात्तिकसम्म बढी देखिन्छ । नेपालमा ८२ प्रतिशत बालबालिकालाई जापानिज इन्सेफ्लाइटिस्विरुद्धको खोप लगाइएको छ । जापानिज इन्सेफ्लाइटिस् ‘क्युलेक्स’ प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो । यो लामखुट्टे साँझपख तथा झिसमिसे बिहानीको समयमा बढी सक्रिय हुने गर्दछ । धानबाली, दलदल र पानी जम्ने स्थान लामखुट्टेको लागि प्रजनन स्थल बन्ने हुनाले यस्ता क्षेत्रमा सङ्क्रमणको जोखिम बढी हुन्छ । नेपालमा सन् १९७८ मा पहिलोपटक रुपन्देही जिल्लामा जापानिज इन्सेफ्लाइटिस् देखिएको थियो । रासस