एनटीसीले प्याकेजको समयसँगै शुल्क पनि बढायो

काठमाडौं । गत चैत २४ गते सञ्‍चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले निर्देशन दिए- नेपाल टेलिकम (एनटिसी)को प्रिपेड सेवा अन्तर्गतका २८ दिन अवधिका प्याकेजलाई बढाएर ३० दिन बनाउनु । एनटिसीले पनि मन्त्रीको निर्देशन बमोजिम सोही दिनदेखि लागू हुने गरी २८ दिनबाट बढाएर ३० दिन पुर्यायो । मन्त्रीको निर्णयलाई सुरुआती चरणमा उपभोक्तामैत्री कदमका रूपमा हेरियो । किनकि अब महिनामा एकपटक रिचार्ज गर्दा पुग्ने र उही मूल्यमा थप दुई दिन सेवा पाउने अपेक्षा गरिएको थियो । सरकारले यसलाई उपभोक्ताको खर्च व्यवस्थापन सहज बनाउने र डेटा, भ्वाइस तथा एसएमएस सेवामा अतिरिक्त सुविधा दिने कदमका रूपमा व्याख्या गरेको थियो । यस अवधिमा एनटीसीले सबै प्याकेजको अवधि २८ दिनबाट ३० दिन पुर्याएको छ । तर, व्यवहारमा लागू हुँदा केही फरक देखियो । समयावधि बढेसँगै केही प्याकेजको मूल्य पनि बढाइएपछि उपभोक्ताबीच असन्तुष्टि चुलिएको छ । एनटीसीले अवधिसँगै एउटै प्याकेजमा १ सय रुपैयाँसम्म मूल्य वृद्धि गरेपछि ग्राहकहरू असन्तुष्ट बनेका हुन् । एनटिसीका सहायक प्रवक्ता प्रकाश थापा क्षेत्रीका अनुसार एक/दुई वटा प्याकेजमा मात्रै रकम वृद्धि गरिएको हो भने धेरैजसो प्याकेजमा केवल समयावधि बढाइएको छ । उनका अनुसार ७९९ रुपैयाँको प्याकेजलाई ६९९ रुपैयाँबाट १ सय रुपैयाँले बढाइएको हो, जससँगै डेटा सुविधा पनि उल्लेख्य रूपमा विस्तार गरिएको छ । ‘उक्त प्याकेजमा डाटा १५ जीबीबाट बढाएर १५० जीबी पुर्याइएको छ । मूल्यसँगै भ्यालु पनि उच्च बनाइएको हो,’ उनले भने । उनका अनुसार अन्य केही प्याकेजमा पनि सेवा विस्तार गरिएको भए पनि अधिकांशमा केवल म्याद (भ्यालिडिटी) मात्र २८ दिनबाट ३० दिनमा बढाइएको छ । प्रवक्ता क्षेत्रीले कम्पनीले प्याकेज परिमार्जन गर्दा ग्राहकको माग, प्रयोगको प्रवृत्ति र बजार प्रतिस्पर्धालाई आधार बनाएको बताए । ‘ग्राहकको आवश्यकता, प्रतिस्पर्धी बजारको अवस्था र विश्लेषणपछि नै प्याकेज तयार गरिएको हो,’ उनले भने ।  उनका अनुसार कम्पनीको ‘बिजनेस इन्टेलिजेन्स’ प्रणालीमार्फत ग्राहकको प्रयोग विश्लेषण गरेर नयाँ प्याकेज तयार गरिएको हो । ‘थोरै पैसामा धेरै सुविधा दिने उद्देश्यले प्याकेज परिमार्जन गरिएको हो,’ उनले भने । क्षेत्रीले ८० प्रतिशत प्याकेजमा केवल समयावधि मात्र बढाइएको र मूल्यमा कुनै परिवर्तन नगरिएको स्पष्ट पारे । उनका अनुसार मूल्य बढाइएका प्याकेजमा सेवा पनि उल्लेख्य रूपमा विस्तार गरिएको छ, जसले ग्राहकलाई थप फाइदा दिने अपेक्षा गरिएको छ ।

काठमाडौं मोडेल विद्यालय : कलेजले दिन थाल्यो शिक्षक कर्मचारीलाई १५ दिनमै तलब

काठमाडौं । बागबजारमा रहेको काठमाडौं मोडेल विद्यालय /कलेजले आफ्ना शिक्षक तथा कर्मचारीलाई १५/१५ दिनमा तलब दिन सुरु गरेको छ । सरकारले कर्मचारीहरूको तलब १५/१५ दिनमा उपलब्ध गराउने नीति अवलम्बन गर्न थालेपछि विद्यालयले वैशाख महिनाबाटै लागु हुने गरी १५/१५ दिनमा तलब दिन थालेको जनाएको छ । विद्यालयले सरकारको नीति समर्थन र अनुशरण गर्दै दिन थालेको बताएको छ । विद्यालयको यो निर्णयले सबै शिक्षक तथा कर्मचारी खुसी भएका छन् ।  

एनएमए मतगणना अपडेट : ४११७ मत गन्दा अध्यक्षमा डा. रावल र महासचिवमा खत्रिको अग्रता

काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए) को जारी मत गणनामा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ । पछिल्लो मतपरिणाम अनुसार ४ हजार १ सय १७ मत गणना हुँदा अध्यक्ष तर्फ डा. मङ्गल रावल र डा. बद्री रिजालबीच कडा प्रतिस्पर्धा भइरहेको छ । जसमा रावलले १ हजार ८ सय ३६ मत ल्याउँदा उनका प्रतिस्पर्धी डा.बद्री रिजाल १ हजार ७ सय ६० मतकासाथ रावललाई पच्छ्याइरहेका छन् । यस्तै अर्का अध्यक्षका उम्मेद्धार डा. नारायणप्रसाद भुसालले ४ सय ७३ मत ल्याएका छन् ।  वरिष्ठ उपाध्यक्षमा पनि कडा प्रतिस्पर्धा देखिएको छ । जसमा डा. सञ्जीव तिवारीले १ हजार ६ सय ५ मत ल्याउँदा डा. किर्तिपाल सुबेदी १ हजार ३ सय ८३ मतसहित तिवारीलाई पच्छ्याइरहेका छन् भने डा. अजय कुमार मिश्र ९ सय ३९ मत पाएका छन् । महासचिव पदमा डा. कालु सिंह खत्री १ हजार ४ सय ९७ मत ल्याइ अग्रस्थानमा छन् भने डा. विश्वराज दवाडी १ हजार ४ सय ७५  मत सहित डा. खत्रि र दवाडीबिच कडा प्रतिस्पर्धा भइरहँदा डा. अमृत भुसालले ९ सय ६० मत प्राप्त गरेर दवाडीलाई पच्छ्याइरहेका छन् । अन्य पदमा पनि मतगणना जारी रहेको छ ।