महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
पोखरा । शिरानमा चाँदी जस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल फेवा, बेगनास, रुपा, मैदीदेखि दिपागं र गुँदे, खास्टे, न्यरेनीसम्मका तालले शृङ्गारिएको पोखरा । यो सुन्दरतालाई आकाशबाट हेर्न चाहनेका लागि लोकप्रिय ‘अल्ट्रालाइट उडान’ अहिले सुस्ताएको छ । अल्ट्रालाइटको उडानमार्फत हावाको बेगसँग रमाउने पर्यटकको अहिले अभाव हुन थालेको छ । दुई जना मात्र बस्न मिल्ने, हेर्दा सानो र आकाशमा उड्दा रङ्गीचङ्गी पुतली जस्तै देखिने भएकाले यसलाई स्थानीयहरु पुतली जहाज पनि भन्छन्। कुनै समय पर्यटकीय नगरी पोखरामा साहसिक पर्यटकलाई अल्ट्रालाइट अर्थात ‘पुतली जहाज’ ले लोभ्याइरहेको थियो । खुला आकाशमा हावाको वेगसँगै कावा खाँदै ३६० डिग्रीमा प्रकृतिको मनोरम दृश्यवलोकन गर्न पाइने यो साहसिक गतिविधिमा रुची राख्नेहरुको रोजाइमा पर्ने यो जहाजमा अहिले पर्यटकको कमी हुन थालेको छ । शुल्क महँगो भएकाले आन्तरिक तथा बाह्य पर्यटकहरु यो गतिविधिबाट टाढिन थालेको एभिया क्लबकी प्रबन्ध निर्देशक नतासा श्रेष्ठको बुझाइ छ। 'पहिले धेरै राम्रो थियो तर अहिले शुल्क महँगो भयो, नागरिक उड्डयन प्राधिकरणले ‘टेक अफ’ र ‘ल्याण्डिङ’ को शुल्क बढाएपछि उडान शुल्क महँगो हुन गर्यो, यसले व्यवसायमा ठूलो मार परेको छ ।' केही वर्षअघिसम्म आठ हजार पाँच सयमा पर्यटकले आकाशमा उडेर आनन्द लिन पाउँथे भने अहिले यो शुल्क बढेर १७ हजार ५०० पुगेको छ। शुल्क दोब्बर हुँदा अल्ट्रालाइट गर्ने पर्यटक सङ्ख्या घटेको उनको भनाइ छ । ‘एड्भेञ्चरको माता’ को उपनाम पाएकी श्रेष्ठ नेपालमा साहसिक हवाई पर्यटनको परिकल्पनाकार मानिन्छिन् । ‘एभिया क्लब नेपाल’ ले विसं २०५३ मा प्रबन्ध निर्देशक नताशा श्रेष्ठ र उनका रुसी साझेदारहरुले यसलाई नेपाल भित्र्याएकी थिइन् । पोखराको भूगोल अल्ट्रालाइटका अनुकूल मानिन्छ । पोखरामा अल्ट्रालाइट दक्षिण एसियामै पहिलो पटक सञ्चालनमा आएको हो । श्रेष्ठले नेपालमा यसको सम्भावना राम्रो रहेको उल्लेख गर्दै यसमार्फत विश्व बजारमा नेपाल चिनाउन र पर्यटन भित्र्याउन सकिने धारणा राखिन् । दक्ष जनशक्ति र राज्यको पर्यटनमैत्री नीतिको अभावले निजी क्षेत्रका व्यवसाय धरासायी हुँदै जानु र नयाँ लगानीमा सम्भावना कम हुँदै जाँदा पर्यटन क्षेत्रलाई असर गरेको उनको भनाइ छ । 'सुरुमा पोखरामा यस्तो साहसिक खेल भित्र्याउँदा धेरैलाई अनौठो लागेको थियो, तर आज यो पोखराको पहिचान बनेको छ', श्रेष्ठ भनिन्, 'हामीले पोखराको पर्यटनलाई केवल ताल र गुफामा सीमित नराखी आकाशको उचाइसम्म पु¥याउन सफल भएका छौँ यसको प्रवर्द्धन विस्तार जरुरी छ ।' उनका अनुसार सुरुवाती दिनहरूमा अल्ट्रालाइट उडाउन पूर्णरूपमा रुसी पाइलटहरूमा भर पर्नुपर्ने अवस्था थियो । एभिया क्लबले नै अनुभवी रुसी पाइलट ल्याएर यसको उडान सुरु गरेको हो । तर, अहिले नेपाली युवा पाइलटले नै उडान गर्न थालेका छन् । हाल पोखरा एभिया क्लब र पोखरा अल्ट्रालाइट प्रालिले मात्र यो सेवा प्रदान गरेको पोखरा अल्ट्रालाइटका प्रबन्ध निर्देशक पोमनारायण श्रेष्ठले जानकारी दिए। उनका अनुसार कुनै समय दिनको ४० उडान गर्दै आएका कम्पनिले अहिले दिनको चार वटा उडानमा सीमित हुनुपर्ने अवस्था आएको छ । पर्यटकलाई आकर्षित गर्ने गतिविधिमा राज्यले पर्यटनमैत्री नीति बनाएर सहजको वातावरण गराउन सके नीति क्षेत्रलाई राहत मिल्ने र पर्यटन प्रवर्द्धन हुने उनको भनाइ छ । कुनै समय साहासिक गतिविधिमा रुची राख्ने पर्यटकले रुचाएको अल्ट्रालाइट अहिले पर्यटकको अभाव र चर्को शुल्कले सुस्ताउनु दुर्भाग्य भएको उनको बुझाइ छ । केही वर्षअघि विदेशी साथिसँगै अल्ट्रालाइटको उडान भरेका पोखराका रामबजारका विकास गुरुगंले अहिले शुल्क बढी भएको गुनासो गरे । 'अहिले शुल्क महँगो भयो, शुल्क घटाउने हो भने आन्तरिक पर्यटक आकर्षित गर्न सकिन्छ', उनले भने । उनले साहसिक खेलमा प्याराग्लाइडिङ अल्टालाइट आआफ्नै विशेषता रहेको सुनाए । गुरुङले भने 'विदेशी पर्यटकहरू त झन् पोखराको यो उडानलाई विश्वकै उत्कृष्टमध्ये एक मान्छन्, धेरै देशमा उडान भरेका मेरा एक जर्मनी साथिले पोखराको आकाश उडेपछि यहाँको सुन्दरताको निकै तारिफ गरेका थिए ।' रासस
सामाजिक विषयका पाठ्यपुस्तक परिमार्जन हुँदै
काठमाडौं । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले कक्षा ५, ८ र १० को सामाजिक विषयको पाठ्यपुस्तक परिमार्जन गर्ने काम सुरु भइसकेको जानकारी दिएका छन् । सेभ द चिल्ड्रेन र शिक्षा पत्रकार समूहले राजधानीमा आयोजना गरेको बालबालिका, पाठ्यक्रम र पाठ्यपुस्तकबीचको तादात्म्य विषयक अन्तरक्रियामा बोल्दै उनले परिमार्जन भएका यी पाठ्यपुस्तकहरू २०८४ सालदेखि कार्यान्वयनमा ल्याइने जानकारी दिए । उनका अनुसार पाठ्यपुस्तक लेखनका क्रममा सरोकारवालासँग छलफल गरिनुका साथै लेखकहरूलाई अभिमुखीकरण गरिने गरिएको छ र विविधताभित्र एकता खोज्ने प्रयास गरिन्छ । पाठ्यपुस्तक लेख्दा राष्ट्रियताको भावनाको अभिवृद्धि, नागरिकको भूमिका तथा असल समाज निर्माणजस्ता विषयमा विशेष ध्यान दिइने उनले बताए । कार्यक्रममा शिक्षा पत्रकार समूहका तर्फबाट हाल विद्यार्थीले अध्ययन गरिरहेका पाठ्यपुस्तकहरूको अध्ययन गरी ती बालबालिकामैत्री छन् कि छैनन्, पाठ्यपुस्तकमा समावेश विषयवस्तुहरू लैङ्गिकमैत्री छन् कि छैनन्, अपाङ्गता भएका व्यक्ति तथा यौनिक अल्पसंख्यक समुदायलाई कसरी सम्बोधन गरिएको छ, साथै भाषाको प्रयोग कस्तो छ भन्ने विषयमा सूक्ष्म अध्ययन गरी प्रस्तुतीकरण गरिएको थियो । कार्यक्रममा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक हरि निरौलाले नेपाली समाज बहुलवादी भएकाले समाजको प्रतिनिधित्व कक्षा–कोठामार्फत हुने गरेको बताए । उनले पाठ्यसामग्री दक्षता र विज्ञता भएका व्यक्तिबाट विभिन्न चरण पार गर्दै निर्माण गरिने जानकारी दिँदै पाठ्यपुस्तकका हरेक पाठलाई समावेशी बनाउने प्रयास गरिएको धारणा व्यक्त गरे । सेभ द चिल्ड्रेनका सिनियर प्रोग्राम डेभलपमेन्ट एन्ड क्वालिटी एडभाइजर डा. लक्ष्मी पौडेलले पाठ्यक्रम र पाठ्यपुस्तकबीच रहेको खाडलको चर्चा गर्दै कार्यान्वयन तहमा पनि समस्या रहेको बताइन् । साथै पाठ्यपुस्तकले विद्यालय र घरलाई जोड्न नसकेको तर्क गर्दै पाठ्यपुस्तकका कमजोरी पूर्ति गर्न परिपूरक पाठ्यसामग्री निर्माण गर्न सकिने धारणा राखिन्। शिक्षाविद् डा. विद्यानाथ कोइरालाले पाठ्यक्रम र पाठ्यपुस्तक दुवै परिवर्तन गर्न सकिने भएकाले पाठ्यपुस्तक निर्माण गर्नुअघि समाजमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तिहरूको सूची तयार पार्नुपर्ने बताए । शिक्षा पत्रकार समूहकी अध्यक्ष निर्जला कक्षपतिले समूहगत छलफलबाट प्राप्त सुझावहरू पाठ्यसामग्री निर्माणमा उपयोगी हुने उल्लेख गर्दै सहभागीहरूको सुझावसहितको प्रतिवेदन पाठ्यक्रम विकास केन्द्र तथा शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा बुझाइने प्रतिबद्धता व्यक्त गरिन् ।
पुस १० गते त्रिविको ५१औँ दीक्षान्त, करिब ४२ हजारको सहभागिता हुने
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी पुस १० गते ५१औँ दीक्षान्त समारोह आयोजना गर्ने भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत त्रिविले गत शैक्षिक सत्रमा स्नातक, अधिस्नातक, स्नातकोत्तर, दर्शनाचार्य तथा विद्यावारिधि (पीएचडी) तह उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि दीक्षान्त समारोह आयोजना गर्न लागिएको जानकारी दिएको हो । त्रिविका अनुसार २०८१ असार १ गतेदेखि २०८२ जेठ ३१ गतेसम्मको एक शैक्षिक सत्रमा विभिन्न तह उत्तीर्ण गर्ने विद्यार्थीको संख्या ८९ हजार १९९ रहेको छ । तीमध्ये १६ हजार ३८० जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागी हुन औपचारिक रूपमा आवेदन दिएका छन् । आवेदक विद्यार्थीमध्ये स्नातक तहमा ११ हजार २३४ जना, अधिस्नातक तहमा १४ जना, स्नातकोत्तर तहमा ४ हजार ८६० जना, दर्शनाचार्य तहमा १२० जना तथा विद्यावारिधि (पीएचडी) तहमा १५२ जना रहेका छन् । यसैगरी, २३ हजार ९८० जना अभिभावक तथा संरक्षकले पनि सहभागिताका लागि आवेदन दिएका छन् । आमन्त्रित अतिथि तथा अन्य सहभागीहरू समेत गरी करिब ४२ हजार जनाको उपस्थिति रहने अनुमान गरिएको त्रिविका रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले जानकारी दिए । रजिस्ट्रार रिजालका अनुसार त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले आयोजना गर्न लागेको यो दीक्षान्त समारोह अनुमानित संख्यामा सम्पन्न भए त्रिविको इतिहासकै सबैभन्दा ठूलो दीक्षान्त समारोह हुनेछ । दीक्षान्त समारोहका अवसरमा करिब २५ प्रकारका दीक्षान्त पदक तथा पुरस्कारहरू वितरण गर्ने तालिका रहेको पनि उनले बताए । समारोहमा ५२ जना सिनेट सदस्यहरू गाउनसहित औपचारिक पोशाकमा सहभागी हुनेछन् ।