सार्वजनिक बिदाका दिन पनि ओपिडी सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देशभरका सबै सरकारी अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्न निर्देशन दिएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार वैशाख १८, १९ र २० गते लगातार तीन दिन सार्वजनिक बिदा परेकाले ओपिडी सेवा प्रभावित हुनसक्ने र सेवाग्राहीलाई असुविधा हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै यस्तो निर्देशन जारी गरिएको हो। मन्त्रालयले नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आवश्यक व्यवस्थापन मिलाई ओपिडी सेवा नियमित सञ्चालन गर्न सबै सरकारी अस्पताललाई आग्रह गरेको जनाएको छ।

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका-४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई सीप सिकाउने उद्देश्यले कपाल काट्ने तालिम सञ्चालन गरिएको छ । बेनी नगरपालिकाको ‘हामी सक्छौँ, हामी गर्छौं’ कार्यक्रममार्फत सरस्वती माविसँगको सहकार्यमा विद्यार्थीलाई कपाल काट्नेसम्बन्धी आधारभूत सीप सिकाउन तालिम सञ्चालन गरिएको हो ।      यही वैशाख १५ गतेदेखि सुरु भएको तालिम २७ दिनसम्म सञ्चालन हुने प्रधानाध्यापक गुरुदत्त पौडेलले जानकारी दिए । उनका अनुसार तालिममा कक्षा ८, ९ र १० का २१ जना विद्यार्थी सहभागी छन् । उनीहरूलाई सैलुन व्यवसायी सञ्जय ठाकुरले विभिन्न ‘डिजाइन’मा कपाल काट्ने सीप प्रदान गर्नेछन् । पठनपाठन हुनेबाहेकको बिहान र बेलुकीको समयमा सीप सिकाउने व्यवस्था मिलाइएको विद्यालय व्यवस्थापनले जनाएको छ ।  दैनिक जीवनयापनमा आवश्यक पर्ने सीपयुक्त जनशक्ति स्थानीयस्तरमा उत्पादन गर्ने, विद्यार्थीलाई पढाइसँगै सीप हासिल गर्न र व्यावसायिक भावनाको विकास गराउन प्रेरित गर्ने उद्देश्यले तालिम आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताए ।       तालिममा सहभागी विद्यार्थीले कपाल काट्ने सीपले घरपरिवार र टोलछिमेकमा आफन्तलाई आवश्यक पर्दा काम चलाउन सकिनुका साथै भविष्यमा व्यवसाय सञ्चालनमा पनि सहयोग मिल्ने उनको भनाइ छ । बेनी नगरपालिकाले विद्यार्थी र शिक्षालाई सीप र श्रमसँग जोड्न माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीलाई विद्यालयमै सीप सिकाउन ‘हामी सक्छौँ, हामी गर्छौं’ कार्यक्रम सञ्चालन गरी चारदेखि निरन्तरता दिँदै आएको छ ।  ‘हाउस वायरिङ’, ‘प्लम्बिङ,’ कपाल काट्ने, अतिथि सत्कार, खाना पकाउने, प्रेसर कुकर बनाउनेलगायत सीपमूलक तालिम सञ्चालन गर्न नगरपालिकाले १४ वटा विद्यालयलाई चालु आर्थिक वर्षमा रु एक लाखका दरले बजेट उपलब्ध गराइएको नगर प्रमुख सुरत केसीले जानकारी दिए । रासस   

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौंं । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि फिनल्यान्डका महामहिम राजदूत पेट्री पुहाक्काले बिहीबार मन्त्रालयमा गरेको शिष्टाचार भेटवार्ताको क्रममा मन्त्री पोखरेलले फिनल्यान्डसँग शिक्षा क्षेत्रमा सहकार्य गर्ने प्रस्ताव राखेका हुन् । फिनल्यान्डको शिक्षा विश्वकै उच्च गुणस्तरको मानिन्छ । उक्त भेटमा शिक्षामन्त्री पोखरेलले नेपाल र फिनल्यान्ड बीच सदैव सुखद र असल सम्बन्ध भएको उल्लेख गर्दै नेपालको विकासमा फिनल्यान्ड सरकारले गर्दै आएको सहयोगको लागि धन्यवाद दिए । मन्त्री पोखरेलले सरकारको प्राथमिकता र आगामी कार्यक्रमबारे जानकारी गराउदैँ फिनल्यान्ड सरकारकोतर्फबाट शिक्षा क्षेत्रमा गरिआएको सहयोगको सराहना गर्दै आगामी दिनमा पनि नेपालको शिक्षालगायत क्षेत्रमा फिनल्यान्डको निरन्तर सहयोगको अपेक्षा गरे । शिक्षामन्त्री र राजदूत बीच द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन, शिक्षा क्षेत्रमा फराकिलो साझेदारिता अभिवृद्धिलगायत विषयमा छलफल भएको छ । उक्त भेटमा महामहिम राजदूत पुहाक्काले नेपालको शिक्षा क्षेत्रमा फिनल्यान्ड सरकारले गरेको सहयोगलाई आगामी पाँच वर्षसम्म निरन्तर रहने प्रतिबद्धता जनाए । फिनल्यान्डको  सहयोगमा हाल विद्यालय शिक्षा क्षेत्र कार्यक्रम र ‘टिचर्स एजुकेशन’ परियोजना सञ्चालित छन् । नेपाल सरकारले अटिजम विद्यालय स्थापना गर्ने नीति लिएको सन्दर्भमा महामहिम राजदूत पुहाक्काले अटिजम र ‘इन्क्लुसिभ एजुकेशन’मा फिनल्यान्डको विज्ञता रहेकाले आफूहरु पनि यि शैक्षिक कार्यक्रममा सहयोग तथा सहकार्य गर्न इच्छुक रहेको बताए । राजदूत पुहाक्काले वर्तमान सरकारको प्राथमिकतामा रहेको ‘डिजिटल ट्रान्सफरमेसन’ को एजेण्डामा फिनल्यान्ड सरकारको विज्ञताको हिसाबले सो क्षेत्रमा पनि सझेदारीता गर्ने इच्छा व्यक्त गरे ।