नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
जानकी । नेपालगन्ज विमानस्थलमा आजदेखि यात्रुहरूका लागि निःशुल्क ट्रलीबस सेवा सञ्चालनमा ल्याइएको छ । नागरिक उड्डयन प्राधिकरणद्वारा उक्त सेवा सञ्चालनमा ल्याइएको हो । विमानस्थलदेखि राँझा चोकसम्म करिब दुई किलोमिटर दूरीमा यात्रुलाई आवतजावत सहज बनाउने उद्देश्यले ट्रलीबस सेवा सञ्चालन गरिएको नेपालगन्ज विमानस्थल कार्यालयले जनाएको छ । विशेषगरी वृद्धवृद्धा, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा धेरै सामान बोकेर यात्रा गर्ने यात्रुलाई लक्षित गर्दै यो सेवा सुरु गरिएको हो । उक्त सेवा लिएकी यात्री सरिता शर्माले निःशुल्क ट्रलीबस सेवाले विशेष राहत मिलेको बताइन् । 'म आज काठमाडौंबाट नेपालगन्ज आएकी हुँ । यहाँ झर्दा अटोले लिने चर्को शुल्क र अटोवालासँग ‘बार्गेनिङ’ गर्दा खेप्नुपर्ने गर्मी यी दुवैबाट छुटकारा पाएको अनुभूति भएको छ', उनले भनिन् । नेपालगन्ज विमानस्थल प्रमुख सन्तोषकुमार पोखरेलले यात्रुहरूको सुविधालाई प्राथमिकतामा राखेर सेवा विस्तार गरिएको बताए । उनले भने, 'करिब २५ सिट क्षमता रहेको यो बस पूर्ण रूपमा अपाङ्गमैत्री छ । शारीरिक रूपमा असहजता भएका यात्रुहरूलाई समेत सहज पहुँच होस् भन्ने सोचका साथ यसको सञ्चालन गरिएको हो ।' नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलको सेवा प्रवाहलाई थप व्यवस्थित, आधुनिक र यात्रुमैत्री बनाउन विभिन्न सुधार भइरहेका छन् ।
पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या, दैनिक हजारौँ पर्यटक प्रभावित
काठमाडौं । सार्वजनिक सवारीसाधन सञ्चालनका लागि गोँगबुस्थित नयाँबसपार्क सञ्चालनमा रहे पनि पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा समस्या भएको छ । सरकारले मुलुकको आर्थिक मेरुदण्डका रूपमा पर्यटन क्षेत्रलाई लिए पनि सङ्घीय राजधानीबाट मुलुकका विभिन्न पर्यटकीयस्थलका लागि छुट्ने सवारीसाधनका लागि छुट्टै बसपार्क नहुँदा पर्यटकले सास्ती व्यहोर्दै आएका छन् । काठमाडौंमा व्यवस्थित बसपार्क नहुँदा दैनिक हजारौँ आन्तरिक तथा बाह्य पर्यटक सोह्रखुट्टे सडकबाट ओहोरदोहोर गर्न बाध्य भएका छन् । करिब तीन दशकदेखि कान्तिपथ सडकबाट गुड्दै आएका पर्यटक बस २०७५ सालदेखि सोह्रखुट्टे सडकमै पार्किङ गरी सञ्चालन हुँदै आएका छन् । टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टिवान)का भीष्म न्यौपाने पर्यटक बस पार्किङ तथा सञ्चालनका लागि टिवानले लामो समयदेखि आवाज उठाउँदै आए पनि अहिलेसम्म सुनुवाइ हुन नसकेको बताउँछन् । 'पर्यटक बसपार्क निर्माणका लागि विभिन्न सरोकारवाला निकायलाई सम्भावित स्थानबारे जानकारी गराइसकेका छौँ तर उहाँहरुले चासो नदिँदा पर्यटक बसपार्कले मूर्तरुप पाउन सकेको छैन', उनी भन्छन् । पर्यटकका लागि प्रभावकारी बस टर्मिनल अभावकै कारण पर्यटक सवारीसाधनलाई सहरका विभिन्न स्थानमा जथाभावी पार्किङ र रोकिनुपर्ने परिस्थितिले पर्यटकले समेत नकारात्मक अनुभव बटुल्न बाध्य भएका छन् । त्यसैगरी पोखरामा सञ्चालित पर्यटक बसपार्कसमेत अव्यवस्थित हुँदा पर्यटकलाई समस्या परेको अध्यक्ष न्यौपाने बताउँछन् । पर्यटक सवारीसाधनको स्पष्ट पहिचान र कार्य वर्गीकरण नहुँदा थप चुनौती थपिएको उनको भनाइ छ । हाल प्रचलित यातायात ऐन तथा पर्यटनसम्बन्धी ऐनबीच आवश्यक समन्वय र स्पष्टता नहुँदा पर्यटक सवारीसाधन सञ्चालनमा नीतिगत अन्योलता देखिएको छ । नेपालको पर्यटन उद्योगलाई टिकाउ, व्यवस्थित र प्रतिस्पर्धी बनाउन सक्षम, सुरक्षित, सुविधासम्पन्न र पहिचानयुक्त पर्यटन यातायात पूर्वाधार आवश्यक रहेको टिवानले जनाएको छ । काठमाडौं महानगरपालिकाले पछिल्लो समय काठमाडौंभित्र अव्यवस्थित रूपमा पार्किङ भई सञ्चालन हुँदै आएका सार्वजनिक सवारीसाधनलाई नयाँबसपार्कभित्रबाट सञ्चालन गर्ने निर्णय गरेको छ । महानगरको निर्णयसँगै गत हप्तादेखि माछापोखरी, बालाजु क्षेत्रबाट अवैध रूपमा सञ्चालन हुँदै नुवाकोट, रसुवा र धादिङ चल्ने सवारीसाधन नयाँबसपार्कभित्रबाट सञ्चालन हुन थालेका छन् । टिवानका अध्यक्ष न्यौपाने पर्यटक बसपार्क निर्माणका लागि राज्यले कुनै चासो नदिएको बताउँछिन् । पर्यटक बसपार्क लागि छुट्टै ‘पिक एन्ड ड्रप’ नहुँदा पर्यटकले सास्ती खेप्नुपरेको उनको भनाइ छ । सरकारले पर्यटनमार्फत अर्थतन्त्रलाई सबल बनाउन खोजे पनि यसका लागि पूर्वाधार निर्माणमा ध्यान नदिएको अध्यक्ष न्यौपाने बताउँछिन् । नेपाल एसोसिएसन टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)का अध्यक्ष कुमारमणि थपलियाले नाट्टाले लामो समयदेखि आधुनिक र सुविधासम्पन्न पर्यटक बसपार्कको आवाज उठाउँदै आए पनि उक्त कुराको सुनुवाइ हुन नसकेको बताए । हाल काठमाडौंबाट पोखरा र चितवनको सौराह, लुम्बिनी र जनकपुरका लागि मात्रै दैनिक झन्डै एक सय पर्यटकीय बस आवतजावत गर्दै आएका छन् भने दैनिक तीन हजारदेखि चार हजारको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकले पर्यटक बसमा यात्रा गर्ने गरेका छन् । व्यवसायीले हाल बिहान ५ः०० देखि ७ः०० बजेसम्म सोह्रखुट्टेको सडकमा पर्यटकीय बस पार्किङ गरेर यात्रु बोक्दै आएका छन् भने रातको समयमा विभिन्न ग्यारेजमा शुल्क तिरेर पार्किङ गर्दै आएका छन् ।
हिमाल आरोहण अनुभवको लागि ‘जुगल एभरेष्ट भ्यु प्वाइन्ट’, ४० हजारमै पुग्न सकिने
काठमाडौं । नेपालको पर्यटन क्षेत्रमा रहेका थुप्रै आकर्षक गन्तव्यहरूको बीचमा भर्खरै उदाएको नयाँ नाम हो, ‘जुगल एभरेष्ट भ्यु प्वाइन्ट’ । राजधानी काठमाडौंबाट सबैभन्दा नजिकको दूरीमा रहेको जुगल हिमशृङ्खला उत्कृष्ट पर्यटकीय सम्भावना बोकेको क्षेत्र भए पनि पर्याप्त प्रचारप्रसारको अभावमा अहिलेसम्म ओझेलमा पर्दै आएको छ । हालै जुगल गाउँपालिकाले यस गन्तव्यलाई आन्तरिक तथा विदेशी पर्यटकमाझ परिचित गराउन पहल थालेको छ। गाउँपालिकाको विशेष आयोजनामा जुगल गाउँपालिका पर्यटन विकास समितिको अगुवाइमा सञ्चालित अध्ययन तथा अन्वेषण परियोजनाअन्तर्गत वैशाख ३ गते जुगल हिमशृङ्खलाभित्रका विभिन्न चुचुरामध्ये ५ हजार ५७० मिटर उचाइको नयाँ ट्रेकिङ पिकको सफल आरोहण सम्पन्न गरिएको हो । गाउँपालिकाले उक्त पिकलाई ‘जुगल एभरेष्ट भ्यु प्वाइन्ट’ नामाकरणसमेत गरेको छ । पर्यटकीय सम्भावना बोकेको भएपनि लामो समयदेखि ओझेलमा रहेको जुगल क्षेत्रलाई विश्वव्यापी पर्यटन मानचित्रमा स्थापित गर्ने उद्देश्यका साथ सञ्चालित यस अभियानले नेपालको साहसिक पर्यटनमा नयाँ आयाम थप्ने विश्वास गाउँपालिकाले लिएको छ । पालिकाका अनुसार स्थानीय समुदायको आर्थिक विकासमा समेत कोशेढुङ्गा सावित हुनेछ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरवराज केसीले जुगल गाउँपालिका एक प्रशासनिक भूगोल मात्र नभई यो पर्यटकको सम्भावनाको खानी भएको उल्लेख गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत केसीले जुगल हिमाल र यस वरपर रहेको पर्यटकीय स्थलहरूलाई नेपाल साथै विश्व माझ चिनाउनु पालिको प्रमुख उद्देश्य र दायित्व रहेको औंल्याए । ‘जुगल हिमाललाई प्रवर्द्धन गर्ने सिलसिलमा हामीले अध्ययन तथा अन्वेषणबाट एउटा विन्दुको पहिचान गरेका छौं,’ केसीले भने, ‘जहाँबाट विश्वको सर्वोच्च शिखरसहित ८ हजारमाथिका अन्य दर्जनौं हिमशृंखलाहरूको निकै नजिक र स्पष्ट रुपबाट अवलोकन गर्न सकिन्छ ।’ उनका अनुसार जुगल एभरेष्ट भ्यु प्वाइन्टबाट सगरमाथा, चोयु, मकालु, लोत्सेसहितका दर्जनौैं हिम शृंखलाहरूको निकै नजिक र स्पष्ट रूपबाट अवलोकन गर्न सकिन्छ । हिमाल चढ्न चाहने तर महँगो खर्चका कारण त्यो सपना पूरा गर्न नसकेका नेपालीहरूका लागि यो पिक उत्कृष्ट गन्तव्य बन्न सक्ने उनले बताए । न्यून लागत र समयको बचत हिमाल आरोहण सामान्यतया : महँगो हुने भएकाले धेरै जना नेपालीले चाहँदा चाहँदै पनि अवसर पाउन सकेका छैनन् । यही कारण विदेशीको तुलनामा नेपाली आरोहीको संख्या कम छ । तर, गाउँपालिकाको पर्यटन समितिका संयोजक तथा अभियानकर्ता मिलन तामाङका अनुसार ‘जुगल एभरेष्ट भ्यु प्वाइन्ट’ पिक न्यून बजेटमै आरोहण गर्न सकिने भएकाले यो नेपालीहरूका लागि सहज विकल्प बन्न सक्छ । जुगल पिक आरोहणका लागि गाउँपालिकाले पर्यटन व्यवसायीहरूसँगको छलफलपछि न्यूनतम लागत निर्धारण गरेको उनले बताए । उनका अनुसार विदेशी पर्यटकका लागि करिब एक हजार अमेरिकी डलर र नेपालीका लागि झन्डै ४० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । यसका साथै पर्यटन विभागसँग समन्वय गरेर परमिट उपलब्ध गराउने तथा सफल आरोहीहरूलाई प्रमाणपत्र प्रदान गर्ने योजना पनि अघि सारिएको तामाङले जानकारी दिए । अर्को विशेषता भनेको यसको छोटो समयमै सम्पन्न गर्न सकिने रहेको छ । विशेषगरी सीमित समयका लागि नेपाल आउने विदेशी पर्यटकहरू विशेषगरी कोरियन पर्यटकका लागि यो पिक आकर्षक विकल्प बन्न सक्छ । उनका अनुसार ‘जुगल एभरेष्ट भ्यु प्वाइन्ट’ आन्तरिक तथा विदेशी दुवै पर्यटकका लागि ‘गेम चेञ्जर’ सावित हुन सक्ने सम्भावना छ । राजधानी काठमाडौँ बाट सहज पहुँच भएकाले यहाँ पुगेर ५ देखि ७ दिनभित्रै हिमाल आरोहण गरी फर्कन सकिने उनले बताए । तालिम नलिई पनि आरोहण गर्न सकिने सहज र सुरक्षित आरोहण यो पिकको सबैभन्दा ठुलो विशेषता हो । कुनै विशेष प्राविधिक कठिनाइ र जटिल उपकरणको आवश्यकता नपर्ने भएकाले सामान्य शारीरिक तन्दुरुस्ती भएका जो–कोही पर्यटक वा पदयात्रीले पनि यसको सहजै र सुरक्षित आरोहण गर्न सक्ने पर्यटन समितिका संयोजक तामाङले बताए । ‘आरोहण गर्दा कतै पनि डोरीमा झुण्डिनु वा विशेष प्राविधिक उपकरण खासै प्रयोग गर्नुपर्दैन,’ तामाङले भने, ‘सामान्य जुत्ता र लौरोको भरमा शिखरमा पुग्न सकिन्छ ।’ वैशाख ३ गते नयाँ ट्रेकिङ पिक जुगल एभरेष्ट भ्यु प्वाइन्टको सफल आरोहण गर्ने टोलीमध्येमा तामाङ पनि एक हुन् । उनका अनुसार आरोही टोलीमा फरक–फरक अनुभव भएका उनीसहित चारजना व्यक्तिहरू सहभागी थिए । आरोही टोलीमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड होल्डर लाक्पा डेनी शेर्पा थिए । उनीसँग धेरैपटक ८ हजार भन्दा माथिका थुप्रै हिमाल चढिसकेको अनुभव छ । त्यस्तै, निङ्मा वाङचु शेर्पा, उनी १५ वर्षका विद्यार्थी हुन् । जसले जसले यसअघि कुनै हिमाल चढेका वा तालिम लिएका थिएनन् । त्यस्तै, जुगल हिमालकै काखमा जन्मिएका ५० वर्षीय स्थानीय प्रेम शेर्पाले पनि औपचारिक तालिम अहिलेसम्म नलिएको तामाङले बताए । विद्यमान चुनौतीहरू जुगल एभरेष्ट भ्यु प्वाइन्ट काठमाडौंबाट नजिक र हिमाल आरोहण गर्न चाहने पर्यटकको रोजाइमा पर्न सक्ने उच्च सम्भावना भए पनि यससँग केही चुनौतीहरू पनि जोडिएका छन् । गाउँपालिकाका अनुसार गन्तव्यको प्रवर्द्धनसँगै सुरक्षाका पक्षमा ध्यान दिनु आवश्यक छ । गाउँपालिकाको पर्यटन समितिका संयोजक तामाङका अनुसार पेमछालबाट बेसक्याम्प जाने बाटो केही प्राविधिक प्रकृतिको छ, जहाँ कतिपय स्थानमा डोरीको प्रयोग आवश्यक पर्न सक्छ । त्यस्तै, मौसम खराब हुँदा मार्गमा खाल्डाखुल्डी बढ्ने भएकाले यात्रा केही जोखिमपूर्ण बन्ने सम्भावना पनि रहेको उनले बताए । अर्को चुनौती त्यहाँ सञ्चार सम्पर्क छैन । मोबाइल नेटवर्क नचल्ने भएकाले बाहिरी संसारसँग सम्पर्क विच्छेद हुन्छ । यसलाई एकातिर सकारात्मक रूपमा लिन सकिने भएपनि अर्कोतर्फ कुनै आकस्मिक घटना घटेको खण्डमा सञ्चार गर्न समस्या हुन सक्छ । दक्ष जनशक्तिको अभाव यहाँको अर्को प्रमुख समस्या भनेको दक्ष जनशक्तिको रहेको गाउँपालिकाको धारणा छ । गाउँपालिकाले पछिल्लो पटक चौतारा नगरपालिका र पाँचपोखरीसँग मिलेर संयुक्त पदमार्गहरू बनाउने विषयमा पनि छलफल भएको बताए । साथै दक्ष जनशक्तिका लागि ट्रेकिङ गाइड तालिमहरू पनि सञ्चालन गर्ने तयारी गरिरहेको तामाङले जानकारी दिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केसीले ‘जुगल एभरेष्ट भ्यु प्वाइन्ट’को महत्व केवल दृश्य अवलोकनमा सीमित नभई जुगल क्षेत्रको आर्थिक समृद्धिसँग जोडिएको बताए । उनका अनुसार यो गन्तव्य युवाहरूका लागि रोजगारी सिर्जना गर्ने केन्द्र, पदयात्रा सौखिनहरूका लागि नयाँ आकर्षण तथा सरकारको पर्यटन दशक अभियानमा महत्त्वपूर्ण योगदान पुर्याउने आधार बन्न सक्छ । जुगल हिमालको प्रवर्द्धनका लागि नेपाल सरकार, प्रदेश सरकार, जुगल गाउँपालिका तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा विगतदेखि नै विभिन्न पूर्वाधार विकासका काम हुँदै आएका छन् र आगामी दिनमा थप पूर्वाधार विस्तारका लागि समेत सहयोगको अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ ।