नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती

काठमाडौं । नेपाल वायु सेवा निगमले काममा सक्रिय नभएका करार तथा मासिक ज्यालादारीका कर्मचारी कटौती गर्न सुरु गरेको छ । निगमले सञ्चालन गर्दै आएका आन्तरिक स्टेसनहरूमध्ये हाल उडान सञ्चालनमा नरहेका आन्तरिक स्टेसन तथा उडान सञ्चालन रहेका आन्तरिक स्टेसनबाट हुने उडान सङ्ख्यालाई मध्यनजर गरी कर्मचारी कटौती गर्दै लाने नीति अनुरूप करार तथा मासिक ज्यालादारीका कर्मचारी कटौती गर्न सुरु गरेको जनाएको छ । सोही अनुरूप हाल करार सेवा तथा मासिक ज्यालादारीमा कार्यरत छ जना कर्मचारीको करार सेवा तथा मासिक ज्यालादारी अवधि मंगलबारको मितिदेखि नै लागू हुने गरी अन्त्य गरिएको निगमका प्रवक्ता अनिल घिमिरेले जानकारी दिए । निगमलाई चुस्त दुरुस्त रूपमा सञ्चालन गर्दै हालको बदलिँदो परिस्थितिलाई समेत सम्बोधन गर्दै निगमको आर्थिक दायित्वसमेत कम गर्ने उद्देश्यसहित सुधारात्मक कदमको थालनी स्वरूप व्यवस्थापनले उक्त निर्णय गरेको उनले बताए । 

हिउँद भरि सुनसान हुन्छ बुकी पाटन

काठमाडौं । बर्खामा आन्तरिक पर्यटकले गुल्जार बनेको बुकी पाटन चिसो बढेपछि सुनसान भएको छ । सयौं गोठाला र हजारौं वस्तुभाउसँगै पर्यटकले चहलपहल हुने बुकी पाटन कात्तिक पहिलो सातादेखि सुनसान बनेको हो । अग्ला पहाड पनि हरियो घाँस सुक्दै गएपछि उराठिला बनेका छन् । पहिले गोठालाले चरन क्षेत्रका रुपमा प्रयोग गर्दै आएको बुकी पाटन पछिल्लो २ वर्षदेखि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ । असारदेखि असोजसम्म बुकी पाटनमा पर्ने गर्पाछेडा, दहखर्क, टीकाधारा, राजवन, स्याचुन, फुर्से देउराली, फागुने देउरालीलगायतका क्षेत्रमा गोठलाको बाक्लो बसाइँ हुने गर्छ । गोठालाले गोठ बेसी झारेपछि बुकी पाटन सुनसान छ । चिसो बढेका कारण पर्यटकसमेत पुग्न सकेका छैनन् । समुद्री सतहदेखि करिब ४ हजार ५०० मिटरको उचाइमा पर्ने बुकी पाटन पदयात्राका लागि उत्कृष्ट गन्तव्य बनेको छ । बर्खा याममा बेसी क्षेत्रमा गर्मी हुने हुँदा शीतलता खोज्दै बुकी पाटन बढी चढ्ने तर अहिले चिसो बढेपछि बुकी पाटन जाने पर्यटक कम भएको ढोरपाटनका होटल व्यवसायी सन्देश थापाले बताए । असोजसम्म बुकी पाटन पुग्ने पर्यटकको सङ्ख्या धेरै भए पनि अहिले फाट्टफुट्ट मात्रै जाने गरेको उनको भनाइ छ । बुकी पाटन पुग्ने पर्यटकले हरियाली उच्च पहाड, पाटन, खर्क, दर्जनौं हिमशृङखलाको दृश्यावलोकन गर्न सक्ने हुँदा बर्खाको समयमा बढी पर्यटक बुकी पाटन उक्लने थापा बताउँछन् । गोठाला वस्तुभाउ लिएर असोजमै बेसी झरेको उनको भनाइ छ ।  उनले भने, ‘२ वर्षदेखि त बुकी पाटनमा पर्यटकको आगमन व्यापक हुँदै गएको छ, पहिले गोठाला मात्रै बस्ने ठाउँमा अहिले टाढाटाढाबाट पर्यटक आउन थालेका छन् ।’ नेपालको एक मात्र सिकार आरक्ष क्षेत्रमा पर्ने बुकी पाटन बागलुङसहित रोल्पा, रुकुम, म्याग्दी र डोल्पाका पशुपालक किसानले बर्खाको समय चरन क्षेत्रका रुपमा प्रयोग गर्दै आएका छन् । ढोरपाटन नगरपालिका-८ का तुलबहादुर सुनारले आफू सबैभन्दा अन्तिममा बेसी झरेको सुनाए । धेरै गोठालाहरूले भदौ अन्तिम सातादेखि नै गोठ झार्न सुरु गरेको भन्दै आफू असोज दोस्रो सातामा त्रै झरेको उनको भनाइ छ । आफूले गोठ झार्ने बेला नै बुकी पाटन सुनसान भएको भन्दै अहिले चिसोका कारण कोही पनि पुग्न नसक्ने सुनार बताउँछन् । ‘यतिबेला त बुकी पाटनमा पानी जम्छ, धेरै चिसो हुन्छ, त्यहाँ गएर बस्न सकिदैन, गोठाला झरेपछि त्यो ठाउँ सुनसान भयो, अहिले कोही पनि छैनन् बुकीमा, बर्खामा पहिले-पहिले गोठाला मात्रै हुन्थ्यौँ, अहिले त देश विदेशबाट घुम्न आउनेको भीड लाग्छ,’ सुनारले भने, ‘अब गोठाला जेठ असार महिनामा मात्रै बुकी उक्लन्छन्, त्यस बेलासम्म त्यो ठाउँ सुनसान हुन्छ ।’ चिसो बढेपछि ढोरपाटन उपत्यकामा पनि पर्यटकको आगमन कम भएको छ । अब हिउँ परेपछि हिउँ खेल्न आउनेको सङ्ख्या बढी हुने स्थानीय पवन घर्तीमगरले बताए । ढोरपाटनमा चिसो बढ्दै गएपछि स्थानीय पनि बोबाङ, अधिकारीचौर लगायतका ठाउँमा झर्ने उनको भनाइ छ । पहिले अधिकांश ढोरपाटन उपत्यकावासी घुम्ती बसाइँ गर्थे । हिउँदमा बेसी र बर्खामा ढोरपाटनमा बस्ने गर्थे । तर अहिले ढोरपाटनमै बस्नेको सङ्ख्या बढेको छ । सडकले जोडिएपछि विस्तारै विकासले गति लिँदा धेरै स्थानीयको रोजाइमा ढोरपाटन परेको घर्तीमगर बताउँछन् । 

मनास्लु आरोहणको वैकल्पिक मार्ग खोजी, पद मार्गमा करिब ३० वटा होटल

काठमाडौं । हिमाली जिल्ला मनाङको नासोँ गाउँपालिकाले मनास्लु हिमाल आरोहणको नयाँ पद मार्गको प्रारम्भिक अध्ययन सुरु गरेको छ । मनास्लु आरोहणका लागि सहज बाटो पहिचान गर्ने उद्देश्यले गाउँपालिकाको समन्वय र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को प्रायोजनमा पद मार्ग सर्वेक्षण सुरु गरिएको छ । हाल मनास्लु आरोही काठमाडौंबाट गोरखाको आरुघाट, सामागाउँ हुँदै यात्रा गर्छन् । पूर्वतर्फबाट मनास्लु आरोहण सुरु गर्छन् । तर, मनाङको नासोँ गाउँपालिकाले काठमाडौंबाट लमजुङको बेंसीशहर हुँदै धारापानी, तिल्चे, गुवा, सुती खोला, याकखर्क हुँदै भीमथाङमा बास बसेर पश्चिमतर्फबाट आरोहणको सम्भावनाबारे अध्ययन सुरु गरेको छ । सामागाउँ र भीमथाङ दुवैतर्फको आरोहण मार्ग ६ हजार मिटर उचाइ क्याम्प थ्रीमा पुगेर मिसिन्छ । गोरखामा पर्ने यस हिमाल ८ हजार १६३ मिटर अग्लो छ । सन् १९५६ मे ९ मा जापानका टी इमानिस र नेपालका ग्याल्सेन नोर्बुले यस हिमालको पहिलो पटक आरोहण गरेका थिए । त्यतिबेला भीमथाङबाटै आरोहण भएको र पछि पदमार्गमा क्षति पुगेपछि सामागाउँतर्फबाट आरोहण थालिएको नासोँ गाउँपालिका अध्यक्ष गुरुङले बताए । पुनःभीमथाङबाट आरोहणको सम्भावनाबारे प्रारम्भिक अध्ययनमा संलग्न कर्मा शेर्पाले थप अध्ययन आवश्यक रहेको बताए । ‘हामी जाँदा हिउँ थियो, त्यसैले थप अध्ययन आवश्यक छ । भीमथाङतर्फको मार्गमा पहिरोको जोखिम कति छ । सहज हुन्छ कि हुँदैन भन्ने जस्ता विभिन्न प्राविधिक विषयको अध्ययन गर्नुपर्ने देखिन्छ,’ उनले भने । शेर्पाले पहिलो चरणमा फोटो/भिडियो खिचेर ल्याएको र अनुभवी आरोहीबाट त्यसको विश्लेषण गरेर निष्कर्ष निकाल्न बाँकी रहेको बताए । गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले अनुभवी माउण्टेन गाइडको सहभागितामा प्रारम्भिक सम्भाव्यता अध्ययन सुरु गरेको तर निष्कर्ष आउन बाँकी रहेको बताए ।  यदि भीमथाङतर्फको मार्गबाट आरोहण गर्न सम्भाव्यता पुष्टि भएमा सबैभन्दा सजिलो र छोटो मार्ग यही हुने उनको भनाइ छ ।  ‘हामीले भीमथाङबाट मनास्लु आरोहणको सपना देखेका छौँ । यदि यो सफल भएमा नेपालको आठ हजार मिटरभन्दा माथि बेस क्याम्पसम्म पुग्ने छोटो दुरीको पद मार्ग भनेको नै यही हुनेछ,’ अध्यक्ष गुरुङले भने । काठमाडौंबाट लमजुङको बेंसीसहर हुँदै मनाङको तिल्चे गाउँसम्म बस वा गाडीमा यात्रा गर्न सकिन्छ । त्यसपछि तिल्चेबाट पैदल हिँडेर गुवा, सुती खोला, याकखर्क हुँदै भीमथाङमा बास बस्न सकिन्छ । त्यहाँबाट सिधैँ मनास्लुको बेस क्याम्पमा साढे २ दिनमै पुग्न सकिन्छ । यस मार्ग मनास्लु आरोहणको सबैभन्दा छोटो दुरी रहेको गाउँपालिका अध्यक्ष गुरुङले बताए । यस पद मार्गमा करिब ३० वटा होटल रहेका छन् । ३ हजार ७०० मिटरको उचाइमा रहेको भिमथाङमा मात्रै ११ वटा होटल रहेका छन् । यहाँ मात्रै ५०० जना अट्न सक्ने क्षमता रहेको छ । उनले भने, ‘हिमाल आरोहणका लागि सकारात्मक आउने विश्वास छ र आगामी दिनमा यही छोटो रुटबाट मनास्लु आरोहण गर्न पाइनेछ । मितव्ययिताको साथ छोटो दुरीको पदयात्रामार्फत आठ हजार मिटर माथिको हिमाल आरोहण गर्न सकिन्छ कि भनेर सर्वेक्षण गरिरहेका छौँ । यस सर्वेक्षणले सफलता पाउने अपेक्षा गरेका छौँ ।’ अहिले धारापानीबाट पदयात्रामार्फत तिल्चे, गुवा, सुती खोला, याकखर्क, भीमथाङ हुँदै मनास्लु आरोहणका लागि जाने गर्दछन् । छोटो समयमा पुग्ने भएकाले यस मार्गलाई केही आरोहीले मनाङको पदमार्ग हुँदै यस हिमाल आरोहण गर्ने गरेका छन् । आरोही तथा पथ प्रदर्शकले मनास्लु आरोहणमा जाँदा यस मार्ग छोटो पर्ने गरेका बताउँछन् । यस सर्वेक्षणले मार्ग पहिचान तथा अनुमति पाएमा आरोही तथा पथ प्रदर्शकलाई सहज हुनेछ ।