पूर्वाधारका पर्खाइमा सोवाङधुरी, हिमाल र सूर्याेदय हेर्न आकर्षक स्थल

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ मा रहेको सोवाङधुरी पर्यटक र पूर्वाधारका पर्खाइमा छ । समुन्द्रि सतहदेखि ३ हजार ९४० मिटर उचाइमा रहेको सोवाङ धुरी जोड्ने व्यवस्थित पद मार्गको अभाव छ । प्रशस्त सम्भावना भएपनि पूर्वाधार र प्रचारप्रसारको कमीले सोवाङधुरी ओझेलमा परेको चिम खोलाका बासिन्दा तारा गर्बुजा पुनले बताए । ‘चिमखोलादेखि सोवाङ धुरी जोड्ने दुई वर्षअघि पहिचान भएको पद मार्गमा आधारभूत पूर्वाधार निर्माण हुन नसक्दा पर्यटक भित्र्याउन समस्या भएको छ,’ पोखरामा एक दशकदेखि पर्यटन व्यवसाय गरिरहेका गर्बुजाले भने, ‘समुदाय तहबाट भएको प्रयासमा सरकारी निकायले साथ पाएमा सोवाङ धुरीलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिने थियो ।’ म्याग्दी र मुस्ताङलाई जोड्ने धौलागिरि आइसफल पद मार्गमा समेटिएको सोवाङ धुरीबाट संसारको सातौं ८ हजार १६७ मिटर अग्लो धौलागिरि हिमालको फेददेखि चुचुरो सम्मको दृष्य अवलोकन गर्न पाउनु मुख्य विशेषता हो । सूर्योदयका साथै गुर्जा, धौलागिरि, अन्नपूर्ण, निलगिरि, मानापाथी, टुकुचे, माछापुच्छ्रे र मनास्लु हिमशृङखलाको अवलोकन गर्न सकिन्छ । बाग्लुङ बजार, ढोरपाटन सिकार आरक्ष, पुनहिल, मोहरेडाडा, मुल्डे, खोपारा, टोड्केका साथै म्याग्दी र पर्वत जिल्लाका ग्रामिण वस्ती, पहाडी भूगोलको मनोरम दृष्य देखिने शुक्रबार सोवाङ पुगेर आउनुभएका चिमखोला समाज बेलायतका अध्यक्ष मोती तिलिजाले बताए ।  समाजको अगुवाइमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले २७ जनाको टोली सोवाङ धुरीको पदयात्रा गरी शुक्रबार चिमखोला फर्किएको छ । टोली बिहीबार चिमखोलाबाट सोवाङधुरीतर्फ गएको थियो । सोवाङ धुरीको प्रर्वद्धनका लागि ‘म्युजिक भिडियो’ पनि छायाङ्कन गरिएको छ । हिजोआज सोवाङ धुरी आसपासको क्षेत्र हिउँले सेताम्मे बनेको छ । सोवाङ धुरी जाने पद मार्गमा पर्ने जङ्गल वसन्तयाममा विभिन्न रङका लालीगुराँस फुलेर मनमोहक बनेको छ । घोरल, मृगलगायत जनावर र पाँच औले, सेदक चिनीलगायत जडिबुटी अवलोकन गर्न सकिन्छ । चिम खोलाको मण्डली युवा क्लवले दुई वर्षअघि चिम खोलादेखि पात्लेखेत-जसलाङ-सिजिखोला-सिजिखर्क- थामखर्क-खोलाखर्क-सिसर्का-तल्लोमेला-उपल्लोमेला-आलेखर्क-नेपाने हुँदै सोवाङ धुरी जोड्ने पद मार्ग पहिचान गरेका थिए । सोवाङ धुरीबाट रघुगङ्गा गाउँपालिकाको बेगखोला, अन्नपूर्ण गाउँपालिकाको दोवा, भुरुङ तातोपानी, दाना र मुस्ताङको लेते जान सकिन्छ । चिमखोलादेखि हिड्न सक्ने एक दिन र विस्तारै हिँडेर दुई दिनमा सोवाङ धुरीमा पुग्न सकिन्छ । अघिल्लो पुस्तासम्म चिमखोलाबासी बर्खा याममा गाई भैँसी र भेडा बाख्राको गोठ लिएर सोवाङधुरी पुग्ने र हिउँदमा गाउँ नजिकैको बेशीका फाँटमा झर्ने गर्थे । नयाँ पहिचान भएको पद मार्ग र सोवाङ धुरीको प्रचारप्रसारका लागि ‘दृश्यावलोकन केन्द्र’ स्थापना गरिएको छ । चिम खोलाका तारा गर्बुजा पुन, लोकिन पुन, गोपिन पुन र हिरे पुनले काठ र जस्ता पाटाको प्रयोग गरेर आश्रय स्थल भवन निर्माण गरेका छन् । सोवाङ धुरी घुम्न जाने पर्यटक र पाहुनालाई ओडारमा रात काट्नुपर्ने अवस्थाको अन्त्य गराउनका लागि २० जना क्षमताको आश्रयसस्थल निर्माण गरिएको हो । गर्बुजाको अगुवाइमा यसअघि  सोवाङ धुरीदेखि २०० मिटर तल क्याम्पीङ गर्ने ठाउँ नजिकै ५००/५०० लिटर क्षमताको दुई वटा ड्रम राखिएकाे थियो । वडा कार्यालयले पनि थप दुई वटा ड्रम राखेका छन् । हिउँ पग्लिएर र आकाशको पानी ड्रममा सङ्कलन हुने व्यवस्था मिलाएपछि पर्यटकका साथै गोठालालाई सुविधा पुगेको छ । वडा कार्यालयको प्रस्तावमा रघुगङ्गा गाउँपालिकाले गत वर्ष सोवाङ धुरीमा सार्वजनिक शौचालय निर्माण गरेको थियो । होटल र रेष्टुरेण्ट नभएकाले बन्दोबस्तका सामान सहित जानुपर्छ । टुरिजम एजेन्सी अफ पश्चिमाञ्चल क्षेत्रीय च्याप्टर’ (टान), तत्कालीन जिल्ला विकास समिति म्याग्दीको अगुवाइमा २०६८ सालमा म्याग्दीको गलेश्वर-राखुभगवती हुँदै धौलागिरि आइसफल पद मार्गको अध्ययन गरिएको थियो । यस पद मार्गले म्याग्दीको रघुगङ्गा गाउँपालिकाको पिप्ले, भगवती, बेगखोला, दग्नाम, चिमखोला, कुइनेमङ्गले, अन्नपूर्ण गाउँपालिकाको दोबा, भुरुङ तातोपानी, दानालगायतका ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते जोडिएको छ ।

एआई प्रविधिबाट चितवनमा ७२ जना क्षयरोगी फेला

काठमाडौं । चितवनका विभिन्न पालिकामा गरिएको एआई एक्सरे क्याम्पबाट ७२ जनामा क्षयरोग पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालय चितवनले भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा उक्त उपकरणको सहायताले क्षयरोगको पहिचान गरेको हो । कार्यालयका क्षयकुष्ठ अधिकृत जयराम दुवाडीले साउनयता एआई एक्सरे उपकरणको सहायताले चार हजार ७१ को परीक्षण गर्दा ७२ जनामा क्षयरोग पुष्टि भएको जानकारी दिए ।  ‘परीक्षण गरिएकामध्ये दुई सय नौ जनामा क्षयरोगको लक्ष्यण देखिएको थियो । लक्ष्यण देखिएकाको थप परीक्षण गर्दा ७२ जनामा सङ्क्रमण पुष्टि भएको हो’, उनले भने ।  भरतपुर महानगरपालिकामा १६, कालिका नगरपालिकामा १७, माडी नगरपालिकामा १६ र इच्छाकामना गाउँपालिकामा २३ जनामा यो रोगको सङ्क्रमण पुष्टि भएको क्षयकुष्ठ अधिकृत दुवाडीले जानकारी दिए । उक्त एक्सरे उपकरणमा एआई प्रविधिको जडान गरिनुका साथै उक्त उपकरणले बिरामीको अवस्थासहितको जानकारी दिने बताउँदै उनले उपकरणको सही प्रयोग गर्ने उद्देश्यले विशेषज्ञ चिकित्सकको सहायतामा क्षयरोग पहिचानसम्बन्धी शिविर सञ्चालन गरिएको उल्लेख गरे ।  क्षयकुष्ठ अधिकृत दुवाडीका अनुसार यो रोग माइक्रोब्याक्टेरियम ट्युबरकुलोसिस नामक व्याक्टेरियाको सङ्क्रमणका कारण हुन्छ । ‘रोग लागेको सुरुआती अवस्थामा थोरै काम गर्दा पनि थकान महसुस हुने र कमजोरी महसुस हुन थाल्छ । मानिसले यस्ता लक्ष्यणलाई गम्भीरतापूर्वक लिँदैनन् । विस्तारै क्षयरोगको व्याक्टेरियाले सङ्क्रमणको रूप लिई म्भीर समस्या निम्त्याउने गर्दछ’, उनले भने ।  रुघाखोकी लाग्नु, ज्वरो आउनु क्षयरोगको प्रारम्भिक लक्षण हो । सामान्यतया यस्ता समस्या पाँच दिनभित्रमा ठिक पनि हुन्छन् । तर, लगातार रुघाखोकी लागिरह्यो, ज्वरो कम भएन, दुई हप्तासम्म पनि खोकी रहिरह्यो भने तुरुन्तै चिकित्सककहाँ जानुपर्ने क्षयकुष्ठ अधिकृत दुवाडीले सुझाव दिए ।  यो रोग लागेमा सुर्ती मिसाएर बनेका कुनै पनि पदार्थ सेवन नगर्ने, सुरु गरेको भए तुरुन्तै छोड्नुपर्छ । अधिक मदिरा, लागुपदार्थ वा औषधि सेवन गर्न नहुने क्षयकुष्ठ अधिकृत दुवाडीले बताए । स्वास्थ्यकर्मीको परामर्श लिई नियमित रूपमा पूरा समय (छदेखि आठ महिना)सम्म निःशुल्क प्राप्त हुने औषधि सेवन गर्ने, औषधि सेवन गर्न सुरु गरेपछि स्वास्थ्यकर्मीको सल्लाहअनुसार समयसमयमा परीक्षण गर्नेलगायत कार्य गर्न आवश्यक रहेको उनले सुझाव दिए ।  

नागरिक एपमा अब एनओसी र लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि राखिने

काठमाडौं । सरकारले डिजिटल सुशासनलाई थप सुदृढ गर्ने लक्ष्यसहित नागरिकसँग प्रत्यक्ष रूपमा जोडिएका सेवालाई अनलाइन माध्यमबाट उपलब्ध गराउने अभियानलाई तीव्रता दिएको छ ।  सोही क्रममा अब निजामती कर्मचारीको व्यक्तिगत विवरण, लोकसेवा आयोगका परीक्षार्थीको प्रवेशपत्र तथा वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) नागरिक एपबाट प्राप्त गर्न सकिने व्यवस्था अन्तिम चरणमा पुगेको छ । सूचना प्रविधि विभागका महानिर्देशक चन्द्र साहले हाल उक्त प्रणाली परीक्षणको चरणमा रहेको बताउँदै आगामी एक साताभित्र पूर्ण रूपमा कार्यान्वयनमा आइसक्ने जानकारी दिए ।  उनका अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्ययोजनाअनुसार नागरिक एपमा थप सेवा उपलब्ध गराउने व्यवस्था मिलाउने तथा ४५ दिनभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले तोकिएको अवधिभन्दा अघि यी कामहरू सम्पन्न गर्न विभागलाई निर्देशन दिएका छन् । यस पहललाई अघि बढाउन उनले विशेष चासो देखाउँदै नागरिक एपमा थप सेवा एकीकृत गर्नसमेत निर्देशन दिएका हुन् । सोही निर्देशनअनुसार विभागले विभिन्न निकायसँग समन्वय गर्दै प्रणाली विकास तथा परिमार्जनको काम भइरहेको जनाएको छ ।  नेपाल इन्जिनियरिङ परिषद्सँग सम्झौता गरी परिषदबाट जारी हुने व्यावसायिक इन्जिनियर प्रमाणपत्र पनि नागरिक एपबाटै उपलब्ध हुने प्रक्रियासमेत अघि बढिसकेको विभागका महानिर्देशक साहले जानकारी दिए । नयाँ प्रणाली लागू भएपछि लोकसेवा आयोगका परीक्षार्थीका लागि आवश्यक प्रवेशपत्र, वैदेशिक अध्ययन स्वीकृतिपत्र तथा निजामती कर्मचारीले आफ्नो व्यक्तिगत विवरणहरू नागरिक एपबाटै डाउनलोड गर्न सक्नेछन् । यसका लागि हाल प्रणालीको परीक्षण जारी छ भने नयाँ संस्करण सार्वजनिक भएपछि उक्त सुविधासहितको नागरिक एप डाउनलोड गर्न सकिनेछ । सार्वजनिक सेवामा पारदर्शिता, सहजता र डिजिटल पहुँच विस्तार गर्ने लक्ष्यसहित मन्त्रिपरिषद्को बैठकबाट यही चैत १३ गते स्वीकृत ‘शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची’ को बुँदा नम्बर ३५ मा पनि यो विषय उल्लेख छ। नागरिक एपमार्फत प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस क्लियरेन्स रिपोर्ट) डाउनलोड गर्न सकिने सुविधा भने हाल सञ्चालनमा आइसकेको छ । नयाँ सेवाहरू थपिएसँगै नागरिक एपलाई वन–स्टप डिजिटल सेवा प्लेटफर्म’ बनाउने सरकारको उद्देश्य अझ सशक्त हुने अपेक्षा गरिएको छ । डिजिटल माध्यमबाट सेवा उपलब्ध गराउने यस कदमले सेवाग्राहीलाई समय, लागत र प्रक्रियागत झन्झटबाट राहत दिने विश्वास गरिएको छ भने सरकारी सेवा प्रवाहलाई पनि थप पारदर्शी, प्रभावकारी र आधुनिक बनाउने दिशामा महत्त्वपूर्ण उपलब्धि मानिएको छ ।