वीर अस्पतालमा १० वटा भाइरसको परीक्षण एकै पटक, समय र खर्च दुवै बचत

काठमाडौं । वीर अस्पतालमा श्वासप्रश्वास सम्बन्धी १० वटा विभिन्न रोगका भाइरसको एकै पटक परीक्षण सुरु गरिएको छ ।      अस्पतालको मेडिकल जेनेटिक्स (अनुवाङ्शिक) प्रयोगशालामा  श्वासप्रश्वास सम्बन्धी १० प्रकारका रोगको भाइरसको एकै पटक एकै समयमा परीक्षण सुरु गरिएको अस्पतालका मेडिकल अनुवाङ्शिक विभागका प्रमुख डा. निलम ठाकुरले जानकारी दिइन्।      उनले बिरामीको एउटा रोगको भाइरसको फरक–फरक परीक्षण गर्दा रोग पत्ता लगाउन समस्या भएकाले एकै पटक १० वटा रोगका भाइरसको परीक्षण गर्न थालिएको बताइन् । 'पहिले ति १० वटा रोगका भाइरसको फरक–फरक समयमा परीक्षण गर्ने गरेका थियौं, तर अहिले एकै पटक एकै समयमा परीक्षण गर्दा खर्च पनि कम लाग्दछ', उनले भनिन्, 'कुन भाइरसका कारणले कुन रोग लागेको हो भन्ने कुरा पनि पत्ता लाग्दछ, धेरै पटक परीक्षण आवश्यक पर्दैन ।'      उनले भाइरसले रोग पत्ता लगाएपछि अस्पतालमा नै उपचार गरिने बताइन् । यस्तै प्रयोगशालामा मस्तिष्क सङ्क्रमण सम्बन्धी छ वटा भाइरसको पनि एकै पटक परीक्षण सुरु गरिएको विभागका प्रमुख डा. ठाकुरले जानकारी दिइन् । प्रयोगशालामा फोक्सोबाहेक अन्य भागमा लाग्ने क्षयरोगको पनि परीक्षण गरिन्छ ।       विसं २०७३ मा अनुवाङ्शिक (जेनेटिक) रोगको पहिचान र उपचार गर्न स्थापना गरिएको प्रयोगशालामा जनशक्ति तथा उपकरण अभावले रोगको परीक्षण नियमित हुन सकेको छैन । जिन (वङ्श)मा भएको अवस्थाले जन्मिने रोगलाई अनुवांशिक रोग भनिन्छ ।      'सरकारी रुपमा अनुवाङ्शिक रोगको पत्ता लगाउने यही नै प्रयोगशाला रहेको छ', उनले भनिन्, 'तर, हामीसँग तीन जना मात्र जनशक्ति भएको र उपकरण पनि प्रयाप्त मात्रामा नभएका कारणले दैनिक रोगको परीक्षण गर्न सकिरहेका छैनौं ।'      उनका अनुसार एक दिन बिराएर पालोअनुसार रोगहरुको परीक्षण गर्ने गरिएको छ । अहिले प्रयोगशालामा २५ वटा अनुवाङ्शिक रोगका भाइरसको नियमति परीक्षण गर्ने गरिएको छ । रासस

संकटको बेला मानवता बिर्सँदै होटल, निर्मम बनेर कर्मचारी बर्खास्त

काठमाडौं । हायात रिजेन्सीले मंगलबार एक विज्ञप्ति सार्वजनिक गर्दै होटलमा कार्यरत १३३ जना कर्मचारी हटायो । होटलले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको आगजनी तथा तोडफोडले ठूलो आर्थिक क्षति भएको र तत्काल सञ्चालनमा आउन नसक्ने भन्दै कर्मचारी कटौती गरेको जानकारी गराएको छ । यसले लामो समय होटलमा काम गरेर जीविकोपार्जन गर्दै आएका १३३ जना कर्मचारीले एकाएक घर फर्किनुपर्‍यो ।  यसअघि कोभिडको समयमा पनि होटल अन्नपूर्णलगायत केही नाम चलेका तारे होटलहरूले होटल संकटमा परेको भन्दै कर्मचारीहरूलाई घर फर्काएका थिए । कोभिडको समयमा अन्नपूर्ण होटलले पनि आर्थिक समस्यामा परेको भन्दै ५५० जना कर्मचारीलाई बिदा गरेको थियो । त्यतिबेला पनि होटल व्यवस्थापन र कर्मचारीबीच विवाद उत्पन्न भएको थियो । अहिले सो होटल पुन:निर्माण हुँदैछ । सो होटलमा अहिले नयाँ लगानीकर्ता पनि भित्रिएका छन् ।  नाफामा सारथि बनेर थप नाफा गर्न सहयोग पुर्याउने कर्मचारीहरूलाई संकटकै बेला कुनै सहमतिबिना हटाएर होटलहरूले पछिल्लो समय मानवता गुमाउँदै गएका छन् । जसले तारे होटलको ब्राण्ड अन्तर्राष्ट्रियस्तरमा पनि धुमिल बनिरहेको छ भने समग्र होटल क्षेत्रको प्रतिष्ठामा आँच पुग्दैछ ।  संकटको बेला कर्मचारीलाई हटाउनु कर्मचारीमाथिको अन्याय र उनीहरूले लामो समयदेखि गर्दै आएको मिहिनेतको अवमूल्यन रहेको तर्क अधिकांशको छ ।  बारही होटलका एक कर्मचारी संकटको समयमा कर्मचारीलाई कटौती गर्नु गलत भएको औंल्याउँछन् । उनले निजी क्षेत्रमा यस्तो यस्तो प्रवृत्ति धेरै नै हुने गरेको बताए । मानवीय रूपमा संकटको समयमा कर्मचारी कटौती गलत भएपनि निजीमा काम गरेपछि दुःखी हुनुभन्दा आफै सक्षम हुनुपर्ने उनको विचार छ । सरकारीमा जागिरको निश्चितता हुन्छ, त्यही अनुसारको तलबदेखि विभिन्न सुविधाहरू हुन्छन् । तर, निजीमा तलब सुविधाहरू भएपनि सबैको जागिर स्थायी नहुने उनको तर्क छ । त्यसमा पनि विशेषगरी कर्मचारी कसरी नियुक्त भएको छ, त्यहीअनुसार भर पर्ने उनको भनाइ छ । उनका अनुसार निजी कम्पनीमा ठूलो तहका कर्मचारीभन्दा तल्लो तहका कर्मचारीहरू बढी समस्यामा पर्ने गरेका छन् ।  होटललाई समस्या पर्‍यो भन्दैमा कर्मचारी हटाउनु मानवीय रूपमा नमिले पनि राख्नैपर्छ भनेर अडान गर्न पनि नसकिने उनको तर्क छ । त्यस्तै, उनले काम गरेपछि काम गरुञ्जेलसम्म मात्रै नभएर काम छोडेपछि पनि केही सुविधा कम्पनीले दिनुपर्ने धारणा राखे ।  ‘जागिर गुम्दा विशेषगरी तल्लो तहका कर्मचारीलाई समस्या हुन्छ,’ उनले भने, ‘कि त दुई-चार महिनाको लागि आफैले जोहो गर्नुपर्छ कि त परिवारले सपोर्ट गर्नुपर्ने हुन्छ, यस्तो बेला कम्पनीले कर्मचारी बिदा गर्दा कम्तीमा २ चार महिनाको लागि केही व्यवस्था गरिदियो भने सहज हुन्छ ।’ उनले कम्पनीले कर्मचारी कटौती गर्दा रित्तो हात पठाउनुभन्दा केही सुविधा दिएर गर्नुपर्ने बताए ।  उनले कम्पनीमा कार्यरत कर्मचारी युनियनमा आवद्ध छैन भने यस्तो बेलामा अझ बढी पीडित हुने विचार राखे । ‘युनियनमा आबद्ध नभएका कर्मचारी अझ बढी घाटामा हुन्छन्,’ उनी भन्छन् ‘युनियनमा आवद्ध छ भने कमसेकम युनियनले त्यतिकै निकाल्न पाइँदैन भनेर व्यवस्थापनसँग कुराकानी गर्न सक्छ, केही नयाँ स्कीम निकाल्नुपर्छ भनेर भन्न सक्छ ।’ एक होटल व्यवसायीका अनुसार संकटको बेलामा कम्पनीले कर्मचारी कटौती गर्छु भन्नु व्यवस्थापनको निकै नै गैरजिम्मेवार निर्णय हो । ‘यस्तो बेलामा कर्मचारीलाई सान्त्वना दिनु, उत्साह दिनुको साटोमा निरुत्साहित बनाएर निकाल्छु भन्नु राम्रो होइन,’ उनले भने । उनले यदि कर्मचारी कटौती नै गर्ने हो भने एकतर्फी निर्णयले मात्रै हुँदैन, आपसी सहमति हुनुपर्ने बताए । अन्तर्राष्ट्रिय चेन होटलले सञ्चालनमा आउन नसक्ने या आउन समय लाग्ने कारण देखाउँदै कर्मचारी कटौती गर्दा विश्वमा समेत राम्रो सन्देश नजाने उनको भनाइ छ । ‘एक ठाउँको चेन होटल बन्द नै भएपनि कर्मचारीको लागि अर्को विकल्प हुन्छ,’ उनी भन्छन्, ‘हायात बन्द हुनु, कर्मचारी कटौती गर्नु एकपक्षीय कारण नहुनु सक्छ ।’ त्यस्तै, अर्का होटल व्यवसायी संकटको बेलामा कर्मचारीलाई  बिदा गर्नु मानवीय रूपमा गलत भएको औंल्याउँछन् । हायातलाई नजिकैबाटै नियालिरहेका ती व्यवसायीले कर्मचारी कटौतीको सवालमा होटलले जुन निर्णय लियो त्यो दु:खद भएको बताउँछन् ।  ती व्यवसायीले भने, ‘जेनजी आन्दोलनमा होटलको पहिल्लो तला जलेर पुरै क्षति पुगेको छ, बीमाको विषय पनि गोलमाल छ, होटलमा संकटमा परेको अवश्य हो, कर्मचारीलाई तलब खुवाएर राख्न सक्ने स्थिति नदेखिएपछि सही विकल्प छनोट गर्नुपर्थ्योऊ, सुविधाबिना कर्मचारी हटाउँदा ब्राण्डमा नराम्रो धक्का लाग्छ ।’ पछिल्लो समय होटल व्यवसाय संकटमा पर्दै गएको र यस्तो समस्या हायातमा मात्रै नभएर अन्य धेरै होटलमा रहेको उनको भनाइ छ । ‘बिजनेस क्यान्सिलेसन बढिरहेको छ, कर्मचारीलाई तलबलगायत सुविधा समयमा दिन सकेको छैन, अहिले यो समस्या धेरै होटलहरूमा छ,’ उनले भने । उनले कर्मचारी कटौती हुनुमा त्यो मात्रै कारण नभएको औंल्याए । उनका अनुसार हायात रिजेन्सीमा लामो समयदेखि युनियन सक्रिय छ । युनियन र व्यवस्थापनबीच विवाद रहँदै आएको छ ।  त्यस्तै अहिले सञ्चालन भइरहेको हायात रिजेन्सी सरकारी जग्गा हो, जग्गाकै विषयमा लामो समयदेखि विवादित रहँदै आएको उनले बताए ।  कर्मचारीलाई बिदा गर्ने नै निर्णय भने एक पक्षले मात्रै गरेर नहुने उनको तर्क छ । ‘कर्मचारी कटौती गर्छु भन्नेबित्तिकै निकाल्न पाउँदैन, केही कानुन र नियमहरू छन्, ती पालना गर्नैपर्छ,’ ती व्यवसायीले भने, ‘हायातले धारा १४५ अनुसार कर्मचारी कटौती गर्छु भनेको छ, त्यही अनुसार जाने हो भने कर्मचारीले कति समयसम्म काम गरेको हो, त्यही अनुसार एकमुष्ठ रकम दिएर मात्रै विदा गर्नुपर्छ, नभए यो विषय यतिकै समाधान हुनेवाला छैन ।’ होटलको व्यवस्थापनले कर्मचारीसँग कुनै सहमति नै नगरी यस्तो निर्णय लिएको छ भने यो विषय अदालतसम्म पुग्न सक्ने उनले बताए ।  श्रम ऐनले पनि कर्मचारीको हकहितको लागि बोलेको हुँदा त्यहीअनुसार जति वर्ष काम गरेको हो, त्यहीअनुसार रकम पाउनुपर्ने र दिनैपर्ने उनको तर्क छ । उनले भने, ‘यो विषय आजको भोलि टुंगिनेवाला छैन, कर्मचारी खाली हात बिदा गर्न मिल्दैन, दुई पक्षको सहमति हुनुपर्यो, नियम कानुनअनुसार हुनुपर्छ ।’ हायात रिजेन्सीले श्रमिकको व्यवस्थापन सम्बन्धी विकल्पमा प्रतिष्ठानमा क्रियाशील ट्रेड युनियनसँग छलफल गर्दा कुनै निष्कर्ष नआएकाले सम्पूर्ण श्रमिकलाई कटौती गर्नुपर्ने जनाएको छ । होटलले मंसिर २२ गतेदेखि लागू हुने गरी श्रम ऐन, २०७४ को दफा १४५ बमोजिम सम्पूर्ण श्रमिक कटौती गरिएको बताएको छ ।  पत्रमा अहिले होटल बन्द भएको, मर्मतसम्भारका लागि ऋण खोज्नु परेको, कर्मचारी राख्न नसक्ने अवस्था भएको उल्लेख छ ।  ऐनमा के छ व्यवस्था ? श्रम ऐन २०७४ को दफा १४५ श्रमिक कटौती गर्न सक्ने व्यवस्था गरिएको छ । उक्त दफाअनुसार प्रतिष्ठान सञ्चालनमा आर्थिक समस्या उत्पन्न भएमा, एकभन्दा बढी प्रतिष्ठानहरू गाभिएको कारण श्रमिक सङ्ख्या बढी भएमा वा अन्य कुनै कारणले प्रतिष्ठान आशिक वा पूर्णरुपमा बन्द गर्नु पर्ने भएमा रोजगारदाताले श्रमिकको संख्या कटौती गर्न सक्नेछ । श्रमिकको संख्या कटौती गर्दा त्यसरी कटौती गर्ने मितिभन्दा कम्तीमा ३० दिन अगावै कटौती गर्नु पर्ने कारण, कटौती हुने सम्भावित मिति र कटौतीमा पर्ने सम्भावित श्रमिकको संख्या खुलाई रोजगारदाताले कार्यालय र प्रतिष्ठानस्तरको आधिकारिक ट्रेड युनियन भएमा त्यस्तो युनियन र नभएमा प्रतिष्ठानमा क्रियाशील ट्रेड युनियन वा सम्बन्ध समितिलाई सूचना दिनु पर्ने हुन्छ । उक्त ऐनअनुसार सूचना दिएपछि रोजगारदाताले सम्बन्धित युनियन वा श्रम सम्बन्ध समितिसँग श्रमिक कटौतीको विकल्प र कटौती गरिने श्रमिक छनौट गर्ने आधार तथा सर्तका विषयमा छलफल गर्नु पर्नेछ र छलफलमा सहमति भए बमोजिम श्रमिक कटौती गर्न सकिने व्यवस्था छ । यस दफा बमोजिम कर्मचारी कटौती गर्दा रोजगारदाताले कम्तीमा एक वर्ष सेवा अवधि पूरा गर्ने श्रमिकलाई सेवा गरेको प्रत्येक वर्षको निमित्त एक महिनाको आधारभूत पारिश्रमिकका दरले हिसाब गर्दा हुन आउने एकमुष्ठ रकम क्षतिपूर्ति स्वरूप श्रमिकलाई दिनु पर्ने हुन्छ । तर, सेवा अवधि एक वर्षभन्दा कम भएमा दामासाहीले क्षतिपूर्ति पाउने व्यवस्था गरिएको छ ।

अल्टिच्यूड एयरले एक वर्षमा गर्याे ५६ करोड रुपैयाँको व्यापार

काठमाडौं । अल्टिच्यूड एयर प्रालिले एक वर्षमा ५६ करोड रुपैयाँ बराबरको कारोबार गरेको छ । हेलिकप्टर सेवा प्रदान गर्दै आएको कम्पनीले सन् २०२५ मा ५६ करोड रुपैयाँ बराबरको कारोबार गरेको जनाएको छ ।  कम्पनीले यसअघि सन् २०२४ मा ५० करोड २० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । सन् २०१५ अगस्टमा स्थापित अल्टिट्यूड एयरले अक्टोबर २०१६ बाट व्यावसायिक रुपमा उडान सुरु गरेको थियो ।  कम्पनीका अनुसार सन् २०२३ मा ४७ करोड ८० लाख रुपैयाँ र सन् २०२२ मा ३० करोड ९० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ ।  एयरबस हेलिकप्टमार्फत कम्पनीले चार्टर उडान, पर्वतीय उडान, उद्धार उडान, मेडेभ्याक उडान, तीर्थयात्रा उडान, फिल्मांकन उडान, चेसिङ उडान जस्ता विभिन्न हेलिकप्टर सेवा दिइरहेको छ ।  कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ८५ करोड ७ लाख रुपैयाँ ऋण लिएको छ । कम्पनीका अनुसार ६३ करोड १ लाख रुपैयाँ अल्पकालीन ऋण लिएको छ । कम्पनीले यसअघि ५१ करोड ५१ लाख रुपैयाँ अल्पकालीन ऋण लिएको थियो ।  तर, कम्पनीले दीर्घकालिन ऋण भने घटाएको छ । यसअघि ३३ करोड ५५ लाख रुपैयाँ दीर्घकालीन ऋण लिएको कम्पनीले घटाएर २२ करोड ५ लाख रुपैयाँमा झारेको छ ।  केयर रेटिङ नेपालले कम्पनीलाई अल्पकालीन ऋणका लागि डबल बि प्लस र दीर्घकालीन ऋणका लागि एफोर प्लस रेटिङ प्रदान गरेको छ ।  गत कात्तिक १२ गते कम्पनीको हेलिकप्टर सोलुखुम्बुको लुबुचेमा दुर्घटनामा परेको थियो । हेलिकप्टर ल्याण्ड हुने बेला चिप्लिएर दुर्घटना भएको कम्पनीले जनाएको थियो ।  कम्पनीको कार्यकारी अध्यक्ष निमा नुरु शेर्पा रहेकी छिन् । शेर्पासँग पर्यटन/साहसिक पर्यटन व्यवसायमा तीन दशक भन्दा बढीको अनुभव छ । उनले नेपाल पर्वतारोहण संघ र ट्रेकिङ एजेन्ट्स एसोसिएसन अफ नेपालको वरिष्ठ उपाध्यक्षको रूपमा पनि काम गरेको अनुभव छ ।