अन्तर्राष्ट्रिय आरोग्य दिवसको तयारी तीव्र, देशभर ७५३ स्थानीय तहमा एकैसाथ मनाइने

काठमाडौं । आगामी अप्रिल १५ मा पहिलोपटक मनाइने अन्तर्राष्ट्रिय आरोग्य (वेलनेस) दिवसको तयारीलाई तीव्र बनाइएको छ । जस अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बिहीबार बसेको उच्चस्तरीय आरोग्य दिवस आयोजक समिति बैठकले अप्रिल १५ (२०८३ वैशाख २ गते) देशभरका ७५३ वटै स्थानीय तह र सातै वटै प्रदेशमा प्रभावकारी, सहभागितामुलक र दीर्घकालीन प्रभाव पार्ने गरी मनाउने निर्णय गरेको छ । बैठकमा सहभागीहरूले आरोग्य दिवसलाई औपचारिक कार्यक्रममा सीमित नगरी राष्ट्रिय अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् । उनले आरोग्यलाई राष्ट्रिय गौरव, जनजीवनका र दीर्घकालीन विकाससँग जोड्नुपर्नेमा जोड दिए । मन्त्री पौडेलले योग र ध्यानका गुरु भगवान शिव भएको उल्लेख गर्दै योग परम्परासँग जोडिएको पवित्र स्थल पशुपतिनाथको सन्दर्भ उठाउँदै वेलनेसलाई केवल प्रचारमा सीमित नराखी जनजीविकासँग जोड्नुपर्नेमा जोड दिए । उनले भने, ‘नागरिकमा बढ्दो निराशा अन्त्य गर्न र राष्ट्रिय गौरव जोगाउन वेलनेस आवश्यक छ । हामीले वेलनेस पर्यटन अरूलाई बेच्नुअघि आफ्नै मूल्य चिन्नुपर्छ । यो सुरुवात मात्र हो, लामो यात्रा बाँकी छ– तर आधारभूत संरचना, मौलिकता र हाम्रो पहिचान जोगाउँदै अघि बढ्न सके वेलनेस नेपालको समृद्धिको नयाँ आधार बन्नेछ ।’ प्रतिनिधिसभा सदस्य प्रशान्त उप्रेतीले वेलनेसलाई नेपालको आध्यात्मिक परम्परा र सांस्कृतिक मौलिकतासँग जोडेर अघि बढाउनुपर्ने सुझाव दिएका छन् । उनले कार्यक्रमलाई प्रभावकारी बनाउन परम्परागत सोचभन्दा फरक र परिणाममुखी दृष्टिकोण आवश्यक रहेको उल्लेख गरे । निरोगी जीवन र स्वस्थ समाज निर्माणमा टेवा पु¥याउने वेलनेसलाई दीर्घकालीन रूपमा मुलुकको आर्थिक तथा सामाजिक रूपान्तरणसँग जोड्नुपर्ने उनको धारणा थियो । उनले थपे, ‘वेलनेसलाई व्यवहारमा उतार्न हामीले क्षेत्रगत ढाँचामा काम गर्नुपर्छ । विद्यालयमा ध्यान अभ्यास, होटल क्षेत्रमा स्वस्थ खानपान, र हिमाली क्षेत्रमा माइन्डफुलनेससँग जोडिएका गतिविधिले छोटो समयमा नै व्यापक सन्देश दिन सक्छन् ।’ त्यसैगरी मन्त्रालय सचिव मुकुन्द प्रसाद निरौलाले आरोग्यलाई नेपालको ‘सफ्ट पावर’ का रूपमा प्रयोग गर्न सकिने उल्लेख गर्दै भने, 'यो केवल एक दिवस होइन, नेपालको मौलिक ज्ञान, संस्कृति र जीवनशैलीलाई विश्वभर फैलाउने ऐतिहासिक अवसर हो । आजको बैठकमार्फत जिम्मेवारी बाँडफाँट गर्दै कार्यान्वयनलाई स्पष्ट बनाइएको छ ।' नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले वेलनेस पर्यटन नेपालको प्रमुख सम्भावना भएको उल्लेख गर्दै भने, “नेपालको प्राकृतिक र सांस्कृतिक सम्पदाले हामीलाई विश्वस्तरमा प्रतिस्पर्धी बनाएको छ । अब वेलनेस पर्यटन उत्पादन विकास, प्याकेजिङ र प्रवद्र्धनलाई सशक्त बनाउँदै नेपालको आम्दानीको मुख्य धारा बनाउने समय आएको छ । त्यसका लागि हामीले देशभित्र र बाहिर यस दिवसलाई भव्यताका साथ मनाउनुपर्ने आजको आवश्यकता हो ।” वेलनेस पर्यटनका सम्भावना र अवसरबारे प्रस्तुति दिँदै सुदिप बैजुले नेपाललाई विश्वकै प्रमुख वेलनेस गन्तव्यका रूपमा विकास गर्न सकिने उल्लेख गरे । उनले योग, आयुर्वेद, ध्यान र आध्यात्मिक अभ्यासजस्ता मौलिकतालाई प्रभावकारी रूपमा प्रवर्द्धन गर्न सके उच्च खर्च गर्ने पर्यटक आकर्षित गर्न सकिने बताए ।  जीवन विज्ञानका संस्थापक सदस्य एलपी भानुले वेलनेस जीवन जिउने कला भएको उल्लेख गर्दै विश्वले खोजेको र नेपालले दिन सक्ने मुख्य विषय भएको उल्लेख गरे ।  नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा घोषणा गरेको थियो । जुन नेपालका लागि एक महत्वपूर्ण कूटनीतिक उपलब्धि मानिएको छ । यस निर्णयले स्वास्थ्यलाई केवल रोगको अनुपस्थिति मात्र नभई शारीरिक, मानसिक, सामाजिक तथा वातावरणीय सन्तुलनका रूपमा परिभाषित गर्दै ‘समग्र आरोग्य’ को अवधारणालाई विश्वस्तरमा सुदृढ बनाउने टेवा पु¥याउनेछ । नेपालको पर्यटन आम्दानी ६१२ मिलियन अमेरिकी डलर रहेकोमा वेलनेस पर्यटनको हिस्सा २५ मिलियन (करिब ४ प्रतिशत) रहेको छ ।

हवाई इन्धनको मूल्यवृद्धिसँगै उडान भाडा आकासियो, धनगढी पुग्नै २३ हजार

काठमाडौं । मध्यपूर्वमा द्वन्द्व चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा भारी वृद्धि भएपछि नेपाल आयल निगमले हवाई इन्धनको मूल्य दोब्बरले बढाएको छ ।  नेपाल आयल निगमले बुधबारदेखि लागू हुनेगरी हवाई इन्धनको मूल्यमा प्रतिलिटर १२४ रुपैयाँ वृद्धि गरेको छ । यो वृद्धिसँगै अब हवाई इन्धनको मूल्य प्रतिलिटर २५१ रुपैयाँ पुगेको छ । हवाई इन्धनको मूल्य बढेसँगै वायुसेवा कम्पनीहरूले आफ्नो उडान खर्च धान्नका लागि ‘फ्युल चार्ज’ बढाएका छन । वायुसेवा सञ्चालक संघले प्रेस विज्ञप्ति जारी गरेर ‘फ्युल चार्ज’ बढाएको जानकारी गराएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले बुधबारदेखि नै लागू हुनेगरी नयाँ ‘फ्युल सर्चेच’ जारी गरेको छ ।  कहाँ जान कति भाडा ?  इन्धनको मूल्यवृद्धिसँगै काठमाडौं-धनगढी रुटका भाडामा इन्धनको मूल्य ११ हजार ९० रुपैयाँ पुगेको छ । अब काठमाडौंबाट धनगढी जान अधिकतम भाडा २३ हजार ५९ रुपैयाँ खर्चिनु पर्ने भएको छ ।  धनगढी रुटको न्यूनतम भाडादर १४ हजार ४ सय ५७  कायम भएको छ । क्यानका अनुसार काठमाडौं-माउन्टेनको अधिकतम भाडा १८ हजार २६ पुगेको छ । काठमाडौं–माउन्टेनको न्यूनतम भाडा ११ हजार ३४२ कायम भएको छ । यसअघि काठमाडौं–माउन्टेनको लागि इन्धनको भाडा ४ हजार ३६० तोकिएको थियो । मूल्य बढेसँगै उक्त रुटको भाडामा इन्धनको मूल्य ८ हजार ६१५  पुगेको छ । काठमाडौं–भद्रपुरका न्युनतम भाडा ९ हजार ९८९ रुपैयाँ र अधिकतम १५ हजार ८ सय ३७ पुगेको छ । उक्त रुटमा इन्धनको मूल्य ३ हजार ७२५ रुपैयाँले वृद्धि भएको छ । यसअघि भद्रपुर रुटको लागि इन्धनको मूल्य ३ हजार ८१५ रुपैयाँ रहेकोमा वृद्धि भएर ७ हजार ५४० रुपैयाँ पुगेको छ । त्यस्तै, काठमाडौं–विराटनगरको न्यूनतम भाडा ८ हजार ८८ रुपैयाँ र अधिकतम १२ हजार ७ सय ६५ रुपैयाँ पुगेको छ । काठमाडौं–जनकपुरको न्यूनतम भाडादर ५ हजार ५ सय ६५ र अधिकतम ७ हजार ७० कायम भएको छ । काठमाडौं–भरतपुरको न्यूनतम भाडा ३ हजार ८८५ रुपैयाँ र अधिकतम ५ हजार ९७३ रुपैयाँ तोकिएको छ । त्यसैगरी, काठमाडौं–पोखरा रुटको न्यूनतम ५ हजार ५१५ र अधिकतम ८ हजार ६ सय ५ कायम भएको छ । काठमाडौं–भैरहवा रुटको न्यूनतम ७ हजार ६ रुपैयाँ र अधिकतम ११ हजार १६ रुपैयाँ पुगेको छ । काठमाडौं–नेपालगन्ज भाडा न्यूनतम १० हजार ८ सय र अधिकतम १७ हजार १ सय ४८ कायम भएको छ । काठमाडौं–तुम्लिङटार न्यूनतम भाडा ६ हजार ३ सय २७ र अधिकतम ९ हजार ९ सय २० कायम भएको तोकिएको छ । त्यसैगरी, काठमाडौं–सिमरा रुटको न्यूनतम भाडा ३ हजार ३४४ रुपैयाँ र अधिकतम ५ हजार ९८ रुपैयाँ कायम भएको छ । काठमाडौं–राजविराजको भाडा अधिकतम १० हजार ७५० र न्यूनतम ८ हजार ५१२ रुपैयाँ पुगेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण का सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार यात्रुले तिर्ने हवाई भाडा चार प्रमुख आधारमा निर्धारण हुन्छ ।  ‘हाम्रो प्यासेन्जरले तिर्ने हवाई भाडामा चार वटा कुरा सहभागी हुन्छ, लागतदर, फ्युल सर्चार्ज, एयरपोर्ट ट्याक्स र १३ प्रतिशत भ्याट,’ उनले भने । उनका अनुसार लागतदर नेपाल सरकारले स्वीकृत गरेको संरचनाअनुसार निर्धारण हुने गर्दछ, जुन २०७३ सालदेखि लागू भए पनि समयमै पुनरावलोकन हुन सकेको छैन । ‘यो प्रत्येक दुई–दुई वर्षमा समीक्षा हुनुपर्नेमा अहिलेसम्म हुन सकेको छैन,’ भुलले बताए । हवाई भाडामा सबैभन्दा ठूलो प्रभाव इन्धनको मूल्यले पार्ने उनले स्पष्ट पारे । टोटल म्याक्सिमम फेयरमा करिब ४० प्रतिशत हिस्सा हवाई इन्धनकै हुन्छ ।    नेपाल सरकारको २०७५ सालको व्यवस्थाअनुसार हवाई इन्धनको मूल्य जति बढ्छ, सोही आधारमा भाडा समायोजन गर्ने प्रावधान रहेको छ । सोही व्यवस्था अनुसार प्राधिकरणले नयाँ भाडादर लागू गरेको भुलको भनाइ छ ।  भुलले अहिलेको अवस्था असामान्य रहेको उल्लेख गर्दै यात्रुलाई केही समयका लागि समायोजन भाडामै कम्प्रोमाइज आग्रह गरे ।  ‘यो हवाई भाडा यात्रुका लागि महँगो हो, तर असामान्य परिस्थितिका कारण यस्तो अवस्था आएको हो,’ उनले भने, ‘अहिले सबैले केही न केही कम्प्रोमाइज गर्नुपर्ने अवस्था छ ।’

आजदेखि एसइई सुरू, जापानसहित देशभर ५ लाख १२ हजार विद्यार्थी परीक्षा दिँदै

काठमाडौं । आजदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा यस वर्ष थप पारदर्शी र व्यवस्थित बनाइने भएको छ । परीक्षालाई व्यवस्थित र उत्तरपुस्तिका परीक्षणलाई छिटोछरितो बनाई शीघ्र नतिजा प्रकाशन गर्न नयाँ निर्देशिका जारी भएपछि परीक्षामा हुन सक्ने अनियमितता न्यून हुने अपेक्षा गरिएको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले विगतमा झैँ देशभर एकैपटक परीक्षा सञ्चालन गर्न लागेको हो । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार देशभरका तोकिएका परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकै समयमा एसइई परीक्षा सुरु हुनेछ । चैत २९ गते सम्पन्न हुने एसइई परीक्षामा यस वर्ष ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुनेछन् । तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिने भएका छन् । परीक्षा दिनेमा छात्राको सङ्ख्या बढी छ । यस वर्ष २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना परीक्षामा सहभागी हुनेछन् । जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिँदै छन् । परीक्षाका लागि देशभर १ हजार ९६६ परीक्षा केन्द्र निर्धारण गरेको छ भने माध्यमिक तह अध्यापन हुने देशभरका ११ हजार ३७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । परीक्षा नियन्त्रण कार्यालयले सातै प्रदेशका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा प्रश्नपत्र सम्बन्धित केन्द्रमा पठाइसकिएको छ । परीक्षाको सुरक्षाका लागि प्रत्येक केन्द्रमा १५ जना प्रहरी, एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, २० जना परीक्षार्थी बराबर एक निरीक्षक, १०० परीक्षार्थी बराबर एक कार्यालय सहयोगी र अन्य दुई कर्मचारीको व्यवस्था गरिएको बोर्डले जनाएको छ । तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गराइने यस वर्ष परीक्षा सम्पन्न भएको बढीमा तीन दिनभित्र परीक्षण सम्पन्न गरिसक्ने योजना छ । यसैगरी ‘मार्कस्लिप प्रिन्ट’ गरी ‘ट्याब’मा चढाई खाममा ‘सिलबन्दी’ गरी गोप्य र सुरक्षित रूपमा शिक्षा विकास तथा समन्वय एकाइमा तीन दिनभित्र बुझाउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । केन्द्रले प्राप्त हुने उत्तरपुस्तिकामा ‘प्याकेट’ तोकिएको ढाँचामा लगत खडा गरी राख्नेछ । तत्पश्चात् सिलबन्दी खाममा परीक्षा केन्द्र र विषय उल्लेख गरेर परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) मा पठाउनुपर्नेछ । माध्यमिक शिक्षा परीक्षा (एसइई) व्यवस्थापन तथा उत्तरपुस्तिका परीक्षण निर्देशिका, २०८२ मा परीक्षा समाप्त हुने समयमा तोकिएका परीक्षकहरू परीक्षण केन्द्रमा पुगि सक्नुपर्ने प्रबन्ध गरिएको छ । सम्बन्धित विद्यालयको उत्तरपुस्तिका नपर्ने गरी परीक्षक र संपरीक्षक व्यवस्था गर्नुपर्नेछ । नतिजा प्रकाशनलाई प्रदेशगत रूपमा पनि प्रकाशन गर्न सकिने व्यवस्था गरिएको छ । उत्तरपुस्तिका परीक्षक र संपरीक्षकलाई परीक्षण केन्द्रमा नै रहेर परीक्षण गर्न भनिएको छ । परीक्षण केन्द्र रहेको विद्यालय भवनको सम्भव भएसम्म सिसिटिभी जडान भएको सुरक्षित कक्षमा परीक्षण र संपरीक्षण गराउने व्यवस्था गरिएको छ भने परीक्षण केन्द्रबाट उत्तरपुस्तिका बाहिर लैजाने, तोकिएका परीक्षकको सट्टामा अन्यले परीक्षण गर्ने, तोकिएको योग्यता नपुगेका शिक्षकले परीक्षण गर्ने, उत्तरपुस्तिकाको पोका हराउन वा मिसिन सक्ने जस्ता अनियमितता रोक्ने प्रबन्ध गरिएको छ । परीक्षक र संपरीक्षकले परीक्षण कक्षमा मोबाइललगायतका विद्युतीय उपकरण ल्याउन नहुने निर्देशिकामा उल्लेख छ । परीक्षा भएकै दिन परीक्षक र संपरीक्षकलाई बुझाइने, परीक्षणमा लापरबाही गरेको पाइएमा लापरबाहीको मात्रा हेरी पुनः परीक्षण गराउने, पारिश्रमिक कट्टा गर्ने वा परीक्षकको सूचीबाट नाम हटाउने, अन्य अमर्यादित कार्य गरेमा प्रचलित कानुनबमोजिम विभागीय कारबाहीसमेत गर्ने निर्देशिकामा उल्लेख गरिएको छ । सामूहिक अनुगमन निषेध यस वर्ष एसइई परीक्षाको सामूहिक अनुगमनमा रोक लगाएको छ । परीक्षा केन्द्र अनुगमनका नाममा विभिन्न सङ्घ सङ्गठनका प्रतिनिधि हलमा प्रवेश गर्दा परीक्षा दिइरहेका परीक्षार्थीको लेखन कार्यमा अवरोध पुगेको गुनासो आएपछि सामूहिक अनुगमनमा रोक लगाइएको हो । अनुगमनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ  । परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ । यस्तै, चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय, २६ गते ऐच्छिक द्वितीय खण्डका सबै विषय र चैत २७, २८ र २९ गते प्राविधिक धारका बाँकी विषयहरूको परीक्षा सञ्चालन हुनेछ ।