पहुँचका आधारमा सुगम बसेका १४ विशेषज्ञ चिकित्सकलाई कार्यक्षेत्रमा फर्काइयो
काठमाडौं । आफ्नो कार्यक्षेत्र छोडी व्यक्तिगत सहजताका आधारमा कार्यक्षेत्र रोजेका १४ जना विशेषज्ञ चिकित्सकहरूलाई आफ्नो कार्यक्षेत्रमा फर्काइएको छ । पहुँचको आधारमा सुगमका अस्पतालमा ‘काज’ मिलाएर बसेका चिकित्सकहरू अब आफ्नै दरबन्दी भएको कार्यक्षेत्रमा फर्किने भएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले पहिलो चरणमा नवौं र दशौं तहका विशेषज्ञ चिकित्सकलाई दरबन्दी रहेको अस्पतालमा फिर्ता पठाइएको जनाइएको छ । मेहताले डडेल्धुरा, वीरगन्ज र सप्तरीका अस्पतालहरूलाई प्राथमिकतामा राखेर काज फिर्ता सुरु गरेपछि डडेल्धुरा अस्पतालमा ४ जना र नारायणी अस्पताल वीरगञ्जमा ५ जना र गजेन्द्रनारायण सिंह अस्पताल सप्तरीमा ५ जना विशेषज्ञ चिकित्सक फिर्ता भएका हुन् । दुर्गम जिल्लाका अस्पतालमा विशेषज्ञ सेवाको उपलब्धता सुनिश्चित गर्न र लामो समयदेखि शक्तिको आडमा सुगम रोज्ने प्रवृत्तिलाई अन्त्य गर्न मन्त्रीले यो कदम चालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । काज फिर्ता भएका चिकित्सकमा वरिष्ठ कन्सल्टेन्ट ई.एन.टी. सर्जन डा. रोहिता बज्राचार्य, कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट डा. जोसनलाल बज्राचार्य, कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट डा. विशाल कुमार देव, कन्सल्टेन्ट रेडियोलोजिस्ट डा. प्रकाश ढकाल, कन्सल्टेण्ट साइक्याट्रिष्ट डा. सुशील समदर्शी रहेका छन् । उनीहरू आफ्नो कार्यक्षेत्र गजेन्द्र नारायण सिंह अस्पताल छोडेर आफूलाई सजिलो हुने क्षेत्रमा काम गर्दै आएका थिए । यस्तै, मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोषकुमार गुप्ता, कन्सल्टेन्ट डर्माटोलोजिस्ट डा. मिसन्ता शर्मा, कन्सल्टेन्ट सर्जन डा. नवीन चन्द्र भट्ट, वरिष्ठ कन्सल्टेण्ट रेडियोलोजिस्ट डा. सुयोग्य वाग्लेलाई आफ्नो कार्यक्षेत्र डडेल्धुरा अस्पतालमा फर्काइएको छ । नारायणी अस्पताल पर्सामा कार्यक्षेत्र भएका पाँच जना चिकित्सकलाई पनि कार्यक्षेत्र फर्काइएको छ, जसमा वरिष्ठ कन्सल्टेन्ट ई.एन.टी. सर्जन डा. सोनीका धरी श्रेष्ठ, मेडिकल ल्याब टेक्नोलजिस्ट सञ्जोग तिमिल्सिना, कन्सल्टेन्ट ग्यास्ट्रोइन्टरोलोजिस्ट डा. अरुण ज्ञवाली, वरिष्ठ कन्सल्टेन्ट ट्रोपिकल मेडिसिन/फिजिसियन डा. मुकेश पौडेल र कन्सल्टेन्ट साइक्याट्रिष्ट डा. दिपेश भट्टराई रहेका छन् ।
विदेश जाने विद्यार्थीबाट दोब्बर शुल्क असुल्छन् कन्सल्टेन्सी, कारवाहीबाट बच्न नगदमा कारोबार
काठमाडौं । काठमाडौंकी सीमा लामा (परिवर्तित नाम) कोरिया पढ्न गएको ६ महिना भयो । अहिले उनले एउटा सेमेस्टर सकेर दोस्रो समेस्टर सुरु गरिन् । स्तानक तहमा ग्लोबल बिजनेस लिएर अध्ययन गरिरहेकी उनी नेपाली कन्सल्टेन्सीले विद्यार्थीबाट चाहिनेभन्दा बढी रकम असुलिरहेको तबमात्रै थाहा पाइन्, जब उनी कोरिया पुगिन् । नेपाल हुँदा आफू ठगिएको थाहा नभएकी उनी कोरीया पुगेपछिमात्र यो महसुस भएको बताउँछिन् । सीमाले काठमाडौंको चावहिलमा रहेको रिलायन्स इनटरनेश्नल एकेडेमीमा प्लस टु गरिन् । स्नातक तहमा अध्ययनका लागि बाहिर जाने भन्ने योजना उनको अगाडि नै थियो । तर, कुन देश जाने भन्ने एकिन थिएन । उनी कुन देश जाँदा कति राम्रो भन्ने विषयमा साथीभाइसँग बुझिरहेकी थिइन् । केही साथीहरू दक्षिण कोरियामा अध्ययन गरिरहेका थिए । उनले त्यहाँको बारेमा बुझिन् । अन्य देशभन्दा कम पैसा लाग्ने र पढ्दै काम गर्न पनि सकिने थाह हुँदा उनी कोरिया जाने सोचमा पुगिन् । यसका लागि उनलाई गाइड गर्ने राम्रो कन्सल्टेन्सी आवश्यक पर्यो । उनले वेस्ट कन्सल्टेन्सी फर कोरिया भन्दै इन्टरनेटमा सर्च गरिन् । दुई÷तीन वटा कन्सलल्टेन्सीको नाम आयो । ती मध्ये दुईवटा कन्सल्टेन्सीमा बुझन् गइन् । सीमालाई काठमाडौंको बागबजारमा रहेको केटीएम एजुकेसन कन्सल्टेन्सी राम्रो लाग्यो । ‘त्यहाँको काउन्सिलिङ गर्ने तरिका निकै मन पर्यो, राम्रो गाइड गर्ने कन्सल्टेन्सी जस्तै लाग्यो र मैले त्यही रोजें,’ उनले भनिन् । त्यो कन्सल्टेन्सीले सीमाको जिपिए हेरेर डि २ कोड भिसामा जान मिल्छ भन्ने सल्लाह दियो । त्यसका लागि १० देखि १२ लाखसम्म पैसा लाग्ने कन्सल्टेन्सीले बतायो । उनले यो विषयमा घरमा अभिभावकसँग पनि सल्लाह लिइन् । यो खर्चमा कोरिया पठाउन परिवार पनि तयार भयो । उनले त्यही कन्सल्टेन्सीबाट प्रक्रिया सुरु गरिन् । सुरुमा १० देखि बढीमा १२ लाखसम्म पैसा लाग्ने बताएको कन्सल्टेन्सीले कोरिया पुगुन्जेलसम्म सीमाले करिब २० लाख रुपैयाँ तिर्नुप¥यो । ‘सुरुमा हामीलाई जति भनिएको थियो त्यही पैसाले प्रक्रिया सुरु भइसकेको थियो, आज यति भोलि उति पैसा ल्याउन भन्थे हामी पनि हाम्रै लागि हो भन्दै ल्याउँदै दिँदै गयौं, उनी भन्छिन्, ‘जब सबै प्रक्रिया सकेर भिजा कोड आउने बेलामा दुई हप्ता अगाडि कलेज शुल्क तिर्नुपर्छ भन्दै बिल समेत पठाइदियो त्यसको पनि पैसा दियौं तर पछि एजेन्ट चार्ज र भिसा कोड चार्ज भनेर झण्डै साढे ७ लाख पैसा थप माग्यो कलेज शुल्क भन्दा पनि दुई गुणा नै महँगो हुँदा म छक्क परें ।’ उनलाई यसमा आशंका लाग्यो । जुन शुल्क पहिले न काउन्सिलङको बेला भनियो न अघिपछि । एक्कासि यत्रो पैसा माग्दा किन यति धेरै भन्दा पहिले कलेजको शुल्क, त्यसपछि एजेण्ट र भिसा कोडको पैसा लाग्छ भन्दै कन्सल्टेन्सीले तोडमोड गरि कुरा गर्यो । ‘त्यसपछि यस्तो अवस्था आयो कि थप पैसा दिउँ भने यत्रो धेरै रकम, नदिउँ भने १०÷१२ लाख खर्च अगाडि नै भइसक्यो छ, त्यसपछि बाध्य भएर पनि कन्सल्टेन्सीले भनेजती पैसा बुझाएर म कोरिया पुगें,’ उनले भनिन् । जब उनी कन्सल्टेन्सीले भनेजति पैसा खर्च गरेर कोरिया पुगिन्, कलेजका अरु साथीहरू भेटिन् र उनीहरू आएको शुल्कबारे थाहा पाइन् त्यसपछि उनले आफूलाई कन्सल्टेन्सीले आर्थिक रुपमा ठगी गरेको थाहा पाइन् । उनी भन्छिन्, ‘म मात्र होइन म जस्तै ठगिएका धेरै साथीहरू छौं, जसले २० लाखभन्दा अझ धेरै रकम कन्सल्टेन्सीलाई बुझाएका छन् ।’ उनी नेपाली कन्सल्टेन्सीले नेपाली विद्यार्थीलाई अनावश्यक बाहनामा ठगी गरिरहेको बताउँछिन् । नेपाली विद्यार्थी कोरिया अध्ययनका लागि जान कति रकम लाग्छ ? यसको यकिन जवाफ छैन । विश्वविद्यालय, त्यहाँ शुल्क, उसले अध्ययन गर्ने विषय अनुसार खर्च तलमाथि हुन्छ । तर, स्नाताक र स्नातकोत्तर तहमा अध्ययन गर्न जाने विद्यार्थीले कन्सल्टेन्सीको लागत, विश्वविद्यालयको शुल्क, होस्टेलको शुल्कदेखि सबै कुरा जोड्दा पनि १० लाखभन्दा माथि नलाग्ने विद्यार्थीहरू बताउँछन् । तर, नेपाली विद्यार्थी ३० लाखसम्म कन्सल्टेन्सीलाई बुझाएर आइरहेको कोरियामा अध्ययनरत बझाङका भोजराज भट्ट बताउँछन् । उनी आनावश्यक शीर्षकमा कन्सल्टेन्सीले नेपाली विद्यार्थीलाई आर्थिक रुपमा ठगिरहेको बताउँछन् । उनी भन्छन्, ‘म यहाँ आएर अध्ययन गर्न लागेको तीन वर्ष बढी भयो, धेरै विश्वविद्यालयका भाइबहिनीहरूसँग भेट भइरहन्छ । तर, एउटै विषय, एउटै विश्वविद्यालयमा पढ्ने, एउटै होस्टेलमा बस्ने बिद्यार्थीहरू फरक–फरक शुल्क तिरेका छन् ।’ उनी ७ देखि १० लाखसम्म विद्यार्थी पढ्न आउनसक्ने हुँदा पनि कन्सटेन्सीले झण्डै दोब्बर बढी शुल्क लिइरहेको पाएको बताउँछन् । उनले धेरै विद्यार्थीसँग बुझ्दा फरक/फरक शुल्कमा विद्यार्थीहरू कोरिया पुगिरहेको बताए । राम्रा कन्सल्टेन्सीले विद्यार्थीबाट दुई÷तीन लाख ठगे पनि कुनै कन्सल्टेन्सीले १०/१२ लाख रुपैयाँ बढी ठगेको उनी बताउँछन् । ‘कन्सल्टेन्सी बतिसम्म बाठा भइसके भने बिलमार्फत लिएको पैसामा विद्यार्थी उजुरी दिन सक्ने भन्दै अहिले नगदमा पैसा लिने गरेका रहेछन्,’ उनी भन्छन्, ‘नगदमा पैसा लिएर ठगीमा परेको विद्यार्थी पनि मेरो सम्पर्कमा धेरै छन् ।’ उनी अहिले कोरियामा समस्यामा परेका विद्यार्थीको गुनासो सुन्दै राजदुतावाससम्म पुग्ने गरेका छन् । ‘मैले धेरै विद्यार्थीको गुनासो यहाँस्थित नेपाली राजदुतावाससम्म पनि पुर्याएको छु, तर जति अवाज उठाए पनि सुनुवाइ हुँदैन,’ उनले भने । एजेन्ट शुल्क र भिसा कोडका नाममा ठगी नेपाली विद्यार्थी कुनै पनि देशमा अध्ययनका लागि जाँदा राम्रो विश्वविद्यालय खोज्ने, आवेदन गर्ने आवश्यक कागजात तयार पार्ने भिसा प्रक्रियामा सहयोग गर्ने काम सबै कन्सल्टेन्सीले गर्छन् । यसका लागि कन्सल्टेन्सीले पैसा लिन्छन् । जुन स्वाभाविक हो । तर, चाहिने भन्दा बढी रकम माग्नु, स्पष्ट कागज वा बिल दिइँदैन वा विदेश पुगिसकेपछि पनि पैसा माग्नु कन्सल्टेन्सीको बद्मासी हो । कोरिया अध्ययनका लागि जाने विद्यार्थीलाई भिसा लगाउन कोड आवश्यक पर्छ । कोड नम्बरका आधारमा विद्यार्थीले दूतावासमा भिसा अवेदन दिन सक्छन् । यो काम नेपालमा रहेको कोरिया एम्बीसीले गरिदिँदैन । तर त्यहाँ जान कोड आवश्यक पर्छ । यो काम नेपालका कन्सल्टेन्सीले एजेन्ट मार्फत कोरियाबाट कोड नम्बर उपलब्ध गराइदिन्छन् । यो गरे बापत कन्सल्टेन्सीले मनलाग्दी शुल्क विद्यार्थीबाट लिइरहेको पाइन्छ । नेपालका कन्सल्टेन्सीले यिनै दुई शीर्षकमा मनलाग्दी शुल्क लिने गरेको विद्यार्थीहरूले बताएका छन् । दूतावास मार्फत उजुरी कोरिया पुगेका विद्यार्थीले नेपाली कन्सल्टेन्सी विरुद्ध उजुरी दिएका छन् । कोरियामा अध्ययनरत ८ सय बढी विद्यार्थीले नेपालका करिब डेढ सय कन्सल्टेन्सी विरुद्ध त्यहाँ रहेको नेपाली दूतावास मार्फत उजुरी दिएको हो । दूतावासले परराष्ट्र मन्त्रालयमार्फत शिक्षा मन्त्रालयमा उजुरी पठाइसकेको छ । यो विषयमा शिक्षा मन्त्रालयले छलफल पनि गरिरहेको छ । मन्त्रालयको विद्यालय उच्च शिक्षा शाखाका उपसचिव सेमन्त कोइरालाले यो विषयमा आइतबार छलफल भएको बताउँदै विद्यार्थीले दिएका कन्सटेन्सीसँग सोधपुछ गरिने बताए । कोइरालाका अनुसार शिक्षा मन्त्रालयमा दर्ता भएका १४ वटा कन्सल्टेन्सी र प्रदेश अन्तर्गत दर्ता भएका करिब १ सय ६ कन्सल्टेन्सी विरुद्ध विद्यार्थीले आर्थिक ठगी गरेको उजुरी दिएका छन् । विकासन्युजसँग कुरा गर्दै कोइराला भन्छन्, ‘एउटै कन्सल्टेन्सी विरुद्ध धेरै विद्यार्थीले ठगिएको उजुरी दिएका छन्, उपत्यकामा रहेका कन्सल्टेन्सीलाई छलफलका लागि बोलाइएको र प्रदेशका कन्सल्टेन्सीलाई बोलाउने योजना मन्त्रालयको छ ।’ उनले विद्यार्थीले चाहिनेभन्दा बढी शुल्क कन्सल्टेन्सी विद्यार्थीबाट लिइरहेको भन्दै यसलाई रोक्न र आफ्नो ठगिएको रकम फिर्ता पाउनुपर्ने बताएका छन् । नेपालका कन्सल्टेन्सीहरूले विद्यार्थीलाई पटक–पटक ठगेको गुनासो आए पनि कन्सल्टेन्सीलाई कारवाही गरिएको कुरा भने कहिल्यै बाहिर आउँदैन । यसअगाडि पनि अध्ययनका लागि युएई पुगेका विद्यार्थीले नेपालका कन्सल्टेन्सीले विश्वविद्यालयमा पठाइदिने भन्दै इन्स्टिच्युट पठाएको उजुरी शिक्षा मन्त्रालयमा आएको थियो । एनओसी नै रोक्नुपर्ने अवस्था गत जेठ महिनामा मात्र नेपाली कन्सल्टेन्सीले कोरियामा अध्ययनका लागि पठाएका विद्यार्थीलाई कालोसूचीमा परेका कोरियाली विश्वविद्यालयमा पठाएको खुलेको थियो । यो खबर सार्वजनिक भएपछि शिक्षा मन्त्रलयले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) नै रोक्नुपरेको थियो । कोरियामा डी–२ र डी–४ भिसामा अन्डर ग्राजुएट अध्ययन गर्न जाने विद्यार्थीको (एनओसी) जारी गर्ने कार्य दुई महिनालाई स्थगित गरिएको थियो । डी-४ भिसामा कोरिया गएका विद्यार्थीले भाषा पढिसकेपछि विश्वविद्यालयमा आवेदन दिँदा कोरियाले नै कालोसूचीमा राखेको विश्वविद्यालयमा दिन लगाउने गरेको उजुरी यसअघि कोरियास्थित नेपाली दूतावासमै परेको थियो । दूतावासले यो उजुरी नेपाल पठाउँदा सरकारले एनओसी रोकेको थियो । डी-४ भिसाका नाममा नेपाली कन्सल्टेन्सीले अत्याधिक पैसा असुल गर्नेदेखि लिएर एउटै कामका लागि पटक-पटक पैसा असुल्ने गरेको गुनासो अहिलेको होइन । पटक-पटक विद्यार्थीले गुनासो गर्दा पनि कन्सल्टेन्सीमाथि कारवाही नगरेको भन्दै विद्यार्थीले गुनासो गरेका छन् । नेपाली विद्यार्थी डी-२ र डी-४ भिसामार्फत अध्ययनका लागि कोरिया पुग्छन् । डी-२ भिसा भनेको कोरियाको विश्वविद्यालयमा डिग्री पढ्न जाने विद्यार्थीहरूका लागि दिइने भिसा हो । यसमा स्नातक तह, स्नातोकोत्तर र पीएचडी गर्न जाने विद्यार्थीहरू जान्छन् भने यो भिसामा जान विश्वविद्यालयको एडमिसन लेटर आवश्यक पर्छ । यस्तै, कोरिया भाषा परीक्षा (टोपिक) पास गरेको प्रमाणपत्र चहिन्छ भने यी विद्यार्थी सिधै विश्वविद्यालयमा गएर अध्ययन गर्न सक्छन् । डी-४ भिसा भनेको भाषा सिक्न जाने विद्यार्थीहरूका लागि दिइने भिसा हो । यो भिषामा जाने विद्यार्थीले कोरियन भाषा, अंग्रेजी भाषा ६ महिनादेखि एक वर्षसम्म सिकेर पछि डी-२ भिसाामा परिवर्तन गरी विश्वविद्यालयमा भर्ना हुन सकिन्छ ।
नेपाल–दिल्ली हवाई उडान विस्तार, अब हप्तामा १० उडान
काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–दिल्ली–काठमाडौं हवाई उडान सेवामा थप विस्तार गरेको छ । यात्रुको बढ्दो चाप तथा उडानको मागलाई मध्यनजर गर्दै निगमले मंगलबारदेखि काठमाडौं–दिल्ली–काठमाडौं रुटमा आरए २०५/२०६ बाट हप्ताको तीन दिन उडान थप गरेको हो । यसभन्दा पहिला काठमाडौं–दिल्ली–काठमाडौं रुटमा आरए २१७/२१८ बाट दैनिक एउटा उडान हुँदै आएको थियो। अब काठमाडौं–दिल्ली–काठमाडौं हप्ताको १० वटा उडान सञ्चालन हुने भएको हो ।