फिनटेकमा बढ्दो लगानी, घट्दो संख्या
काठमाडौं । नेपालको भुक्तानी प्रदायक कम्पनीमा लगानीकर्ताहरूले पौने ५ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेका छन् । २०८२ असोज मसान्तसम्ममा ८ वटा भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) र २१ वटा भुक्तानी सेवा प्रदायक (पीएसपी) कम्पनीमा लगानीकर्ताहरूले ४ अर्ब ७० करोड ८९ लाख ७१ हजार रुपैयाँ, ३७ हजार ८२० अमेरिकी डलर (यूएसडी) र २० लाख युआन लगानी गरेका हुन् । असोजसम्ममा ८ वटा भुक्तानी सेवा प्रदायक कम्पनीमा २ अर्ब ६३ करोड ३२ लाख ७० हजार रुपैयाँ, ३७ हजार ८२० अमेरिकी डलर र २० लाख युआन लगानी भएकाे छ । यस्तै, २१ वटा भुक्तानी सेवा प्रदायक कम्पनीमा २ अर्ब ८ करोड ५७ लाख १ हजार रुपैयाँ लगानी रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार भुक्तानी प्रणाली सञ्चालक कम्पनी नेपाल क्लियरिङ्ग हाउसमा १ अर्ब २६ करोड ८२ लाख ७० हजार रुपैयाँ, स्मार्ट च्वाइस टेक्नोलोजिजको ५० करोड रुपैयाँ, नेपाल पेमेन्ट सोलुसनको २५ करोड रुपैयाँ, फोनपे पेमेन्ट सर्भिसको ५० करोड ५० लाख रुपैयाँ, गेटवे पेमेन्ट सर्भिसको १० करोड रुपैयाँ लगानी रहेको छ । यस्तै, युनियन पे इन्टरनेशनल कम्पनीमा २० लाख युआन, भिजा वर्ल्डवाइडमा ८ हजार ९६८ यूएसडी, मास्टरकार्ड एसिया÷प्यासिफिकमा २८ हजार ८५२ यूएसडी लगानी रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कअनुसार भुक्तानी सेवा प्रदायक कम्पनीमा आईएमई डिजिटल खल्तीको ५४ करोड ५४ लाख ५४ हजार रुपैयाँ रहेको छ । यस्तै, ई-सेवाको ३८ करोड रुपैयाँ, सेलकमको १ करोड ५० लाख रुपैयाँ, सीजी पे नेपालको १ करोड रुपैयाँ, पे नेपको ९ करोड ५० लाख रुपैयाँ, क्यु पे को ५ करोड रुपैयाँ, स्मार्ट कार्ड नेपालको १५ करोड ८७ लाख २२ हजार रुपैयाँ, फोकसवान पेमेन्ट सोलुसन्स्को ११ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । राष्ट्र बैंकका अनुसार कुराकानी पेको १ करोड ४ लाख २५ हजार रुपैयाँ, गोल्डमाइन बिजनेश ग्रुपको २ करोड ४५ लाख रुपैयाँ, वी पेको ६ करोड रुपैयाँ, फिनटेक इन्टरनेशनलको ५ करोड रुपैयाँ, लेनदेन सेवाको ४ करोड रुपैयाँ, डिजी पेको १ करोड रुपैयाँ पुँजी रहेको छ । यस्तै, नेपाल इ बिज म्यानेजमेन्टको ३ करोड रुपैयाँ, आई पेको १ करोड रुपैयाँ, आई क्यासको १ करोड रुपैयाँ, नेपाल डिजिटल पेमेन्ट्सको ४० करोड रुपैयाँ, सुलभ पेको १ करोड रुपैयाँ, छिटो पैसाको १ करोड ६६ लाख रुपैयाँ, सिटी वालेटको ५ करोड रुपैयाँ पुँजी रहेको राष्ट्र बैंकले जनाएको छ । पछिल्लो तीन वर्षको अवधिमा भुक्तानी प्रदायक कम्पनीहरूमा लगानीकर्ताहरूले लगानी बढाए पनि कम्पनीको संख्या भने घटेको देखिन्छ । राष्ट्र बैंकका अनुसार २०८० वैशाख मसान्तसम्ममा १० वटा भुक्तानी प्रणाली सञ्चालक र २७ वटा भुक्तानी सेवा प्रदायक कम्पनीमा लगानीकर्ताहरूले ४ अर्ब ७ करोड १४ लाख २२ हजार रुपैयाँ लगानी गरेका थिए । विसं २०८० वैशाख मसान्तसम्ममा भुक्तानी सेवा प्रदायक कम्पनीमा २ अर्ब ४१ करोड ४३ लाख ७६ हजार रुपैयाँ, ३७ हजार ८२० अमेरिकी डलर र २० लाख युआन र भुक्तानी सेवा प्रदायक कम्पनीमा १ अर्ब ६५ करोड ७० लाख ४६ हजार रुपैयाँ लगानी थियो । राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार भुक्तानी प्रणाली सञ्चालक कम्पनी ८ वटा र भुक्तानी सेवा प्रदायक २१ वटामा सीमित छन् । तर, ३ वर्ष अगाडिको तुलनामा १५.६५ प्रतिशत अर्थात् ६३ करोड ७५ लाख ४९ हजार रुपैयाँ लगानी बढेको तथ्याङ्कले देखाएको छ । पछिल्लो २ वर्षको अवधिमा २ वटा पीएसओ र ६ वटा पीएसपी कम्पनीको अनुमतिपत्र (लाइसेन्स) रद्द गरिएको राष्ट्र बैंकले जनाएको छ । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेड (नेप्स), फस्ट पे टेक्नोलोजी, खल्ती, नेपाल पेटाइम, मोहर डिजिटल, प्रभु टेक्नोलोजी, इ-नेट पेमेन्ट, पेवेल नेपाल र सजिलो पे पेमेन्ट सर्भिसेजको लाइसेन्स रद्द गरिएको राष्ट्र बैंकले जनाएको छ । भुक्तानी सेवा प्रदायक संघका महासचिव विनय रेग्मी फिनटेक सेक्टरमा आजलाई भन्दा पनि भविष्य हेरेर लगानी गर्ने बताउँछन् । कुनै न कुनै नियामकीय प्रावधानले नयाँ व्यवसाय बनाउन अवसर दिन्छ भन्ने सोचले नयाँ घरानाहरू भित्रिरहेको उनको भनाइ छ । ‘जसरी प्रविधिको विकास भइरहेको छ सोहीअनुसार नियमन पनि बढ्दै जान्छ । र यसले नयाँ ढोका खोल्छ । यो विषय व्यावसायिक घराना र भुक्तानी सेवा प्रदायक, सञ्चालकहरूले बुझेर नै लगानी गर्नु भएको हो,’ उनले भने । भुक्तानी सेवा प्रदायक संघका अध्यक्ष विनय खड्का फिनटेक क्षेत्रमा ठूलो लगानी आवश्यक पर्ने बताउँछन् । यदि लगानी नथप्ने हो भने थप समस्या श्रृजना हुन सक्ने र व्यवसाय नै छोड्नु पर्ने अवस्था आउन सक्ने उनको भनाइ छ। ‘यो क्षेत्रमा ठूलो लगानी चाहिन्छ । कुनैले स्टार्टअप सुरु गर्यो तर लगानी थप्दै गएन भने समस्या नै सिर्जना हुन्छ । पछि व्यवसाय नै छोड्नु पर्ने अवस्था आउँछ । यो ठूलो लगानी चाहिने क्षेत्र भएकोले ठूला कर्पोरेट हाउसहरु यो क्षेत्रमा प्रवेश गर्न आवश्यक छ,’ उनले भने, ‘यो उहाँहरूको लगानी विविधीकरण पनि हो । अहिले विश्वको टप टेन कम्पनी हेर्ने हो भने सातवटा टप कम्पनी टेकमा इनेवल छ । त्यसैले पनि ठूला लगानीकर्ता यो क्षेत्रमा आउनु समग्र यो क्षेत्रका लागि राम्रो हो ।’
बलबहादुरले सुरु गरे प्यारामिड होटल, सिलाङ र स्विजरल्याण्डका घरको डिजाइन
काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ शिख स्वाँतका ६८ वर्षीय बलबहादुर तिलिजा पुनलाई पोखरा बसाइमा नपुग्दो केही थिएन । भारतीय सेनाबाट सेवा निवृत्त क्याप्टेन तिलिजाका एक छोरा बेलायती गोर्खा सैनिक हुन् । ३ जना छोरीहरू हङकङ, अमेरिका र पोर्चुगलमा छन् । पोखराको राम बजारमा बस्दै आएका तिलिजा स्थायी रूपमा बसोबास गर्ने गरी जन्मथलो स्वाँतमा फर्किएका छन् । तिलिजाले पोखराको घर आफन्तको जिम्मा लगाएर श्रीमती ज्यानमाया, जेठा छेरा नारायण र बुहारी कृष्णालाई लिएर २४ वर्षपछि जन्मथलो फर्किएका हुन् । ‘छोरा, छोरी, बुहारी सबै विदेशमा भएका स्वाँतमै बस्ने एक जना आफन्तले वृद्ध अवस्थामा स्याहार, सुसारको अभावमा दुःख पाएको देखेर पैसाले मात्र केही हुने रहेनछ भन्ने सोच पलायो,’ बलबहादुरले भने, ‘बजारमा एउटै घरको ओल्लोपल्लो कोठामा बस्नेको चिनजान र वास्ता हुँदैन । गाउँमा स्वच्छ हावापानी, खानपान मात्र छैन सहयोगी भावना पनि जिवितै छ । छोरा बुहारीलाई विदेश जान रोकेर गाउँ ल्याएर होटल व्यवसायमा लगाएको छु ।’ बलबहादुरले स्वाँतमा प्यारामिड होटल सुरु गरेका छन् । उनले होटल सञ्चालन गर्नुको प्रमुख उद्देश्य छोराबुहारीलाई गाउँमै भुलाउनु हो । दुई रोपनी पाखो सम्याएर होटलका संरचना तयार पार्न १ करोड ८० लाख रुपैयाँ खर्चेको बलबहादुरले बताए । ‘छोराबुहारीलाई गाउँमा ल्याएर त्यतिकै राख्न भएन । होटलले उनीहरूलाई यहाँ बस्ने आधार र बाध्यता दुवै भयो,’ उनले भने । गत हप्तादेखि सञ्चालन भएको प्यारामिड होटलको संरचना म्याग्दीका अन्य होटलहरूको भन्दा भिन्न छ । पाहुना सुत्ने प्यारामिड शैलीका १३ वटा भवन छन् । एट्याच बाथरुम भएको एक तले भवनका दुई वटा बाहेक कोठामा दुई वटा बेड छन् । चिसो हुने र हिउँदमा पर्ने हिउँ जस्तापाताको छानोमा नथुप्रियोस् भनेर प्यारामिड शैलीको भवन बनाएको सञ्चालक तिलिजाको भनाई छ । होटलको डिजाइन भारतको सिलाङ र स्विजरल्याण्डका घरहरूको जस्तो छ । चुच्चो चुच्चो घरको कोठालाई हिउँदमा न्यानो र बर्खामा सितल बनाउन भित्र फर्म राखिएको छ । काठको प्रयोग गरेर बनाइएको होटलका कोठाहरूलाई जस्तापाटाले छाइएको छ । तिलिजा परिवारका चार जना बाहेक थप एक जनालाई होटलमा रोजगारी दिएका छन् । पाहुनाको स्वागत सत्कार, सरसफाई, व्यवस्थापन देखि भान्छाकोठाको काममा परिवारकै सदस्य खटिन्छन् । सिस्नोको मुना, रातो च्याउ, दौडे, लोकल कुखुरा र खसीबोकाको मासु, कोदो, मकैको ढिडो होटलका परिकार हुन् । अन्नपूर्ण चक्रीय पदमार्गको तातोपानी-घोडेपानी अन्तर्गत शिख देखि एक घण्टाको पैदलयात्रामा पुगिने स्वाँतको पृष्ठभूमिमा धौलागिरि हिमाल देखिन्छ । स्वाँतदेखि २० मिनेट पैदलयात्रा गरेपछि पुगिने छहरे झरना मनमोहक र आकर्षक छ । खोपारा, घोडेपानी, शिख, मोहरेडाडा, घान्द्रुक र बयलीको बाटो भएर समुन्द्रि सतह देखि दुई हजार तीन सय मिटर उचाइमा रहेको स्वाँतमा पुगिन्छ । होटलमा इन्टरनेट र चिसो याममा तातोपानीले स्नान गर्ने सुविधा छ । स्वाँतका करिब आधा घरपरिवारको बसोबास पोखरा, काठमाडौ, चितवन, बुटवल र बेलायतमा छ । ७० घर भए पनि हाल करिब २५ देखि ३० परिवार मात्र गाउँमा नियमित बस्ने गरेको स्वाँतको शिखर आधारभूत विद्यालयका प्रअ रामचन्द्र पाइजा पुनले बताए । स्थानीयबासी मनबहादुर पुनका अनुसार कच्चि सडक, घरघरमा खानेपानी, विद्युत, इन्टरनेट, मोवाइल सुविधा पुगेको छ । व्यवसायिक आलु खेती गर्न सकिने प्रशस्त उर्वर जमिन छ । रायो सागको विउ उत्पादनको स्रोत केन्द्र पनि हो स्वाँत । ‘रित्तिँदै गएको गाउँमा सम्भावना देखाउन बजारको सुविधा छाडेर फर्किएको हो । अरूलाई गाउँ फर्कने सन्देश दिनु पनि मेरो उद्देश्य हो,’ बलबहादुरले भने ।
मापदण्ड विपरीत बिक्री वितरण गरेको औषधि बरामद
काठमाडौं । प्रहरी वृत्त महाराजगन्जको टोलीले मापदण्ड विपरीत बिक्री वितरण गर्ने गरेको औषधि बरामद गरेको छ । काठमाडौं टोखा नगरपालिका-५ वसुन्धरामा रहेको तक्षक फार्मेसीले बिक्री गरिरहेको औषधि मापदण्ड विपरित भएकाले बरामद गरेको हो । तक्षक फार्मेसीमा चिकित्सकको अनुमतिले बिक्री वितरण गर्नुपर्ने औषधि मापदण्ड विपरीत बिक्री वितरण गरेको भन्ने सूचनाका आधारमा स्पेन लेखिएको ३८५ ट्याबलेट, एन्टिकोफ लेखिएको ७५० ट्याबलेट, प्रिगेबलिन लेखिएको १०० ट्याबलेट प्रिगेबलिन क्याप्सुल एलपी लेखिएको २०० क्याप्सुल र प्रिगेमर ७५ लेखिएको १०० क्याप्सुल बरामद समेत बरामद गरिएको वृत्त महाराजगञ्जका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले जानकारी दिए । उनका अनुसार उक्त फार्मेसी सङ्खुवासभा खादवारी नगरपालिका-८ का ४० वर्षीय प्रकाश गौतम समेतले सञ्चालन गरेको पाइएको र औषधि व्यवस्था विभागसँग समन्वय गर्दा मापदण्ड विपरीत बिक्री गरिएको पाइएको छ ।