लाखौं खर्च, १२ घण्टा ड्युटी, १५ हजार तलब
काठमाडौं । मनाङकी रीता थापा (परिवर्तित नाम) पोखराको मणिपाल अस्पतालमा काम गर्न थालेको चार वर्ष भयो । तीन वर्षे पिसिएल नर्सिङ सकेकी उनलाई एक वर्ष काम गरेर बिएस्सी नर्सिङ गर्ने चाहना थियो । पोखरामा रहेको मणिपाल अस्पतालले नर्सको आवश्यकता भन्दै दरखास्त मागेको देखेपछि उनले आवेदन दिइन् । अस्पतालले तोकेको मापदण्ड अनुसार लिएको उनको नाम निस्कियो । तर, सेवा सुविधा भने निकै कम थियो । उनले काममा प्रवेश गर्दा ९ हजार पारिश्रमिक दिने सम्झौता भयो । पारिश्रमिक चित्त नबुझे पनि उनले काम सुरु गरिन् । अस्पतालले अनुभव र कामका आधारमा तलब बढाउँदै जाने भनेपछि तलब बढ्ने उनको आशा थियो । एक वर्षपछि उनको तलब बढ्यो तर २ हजार रुपैयाँ । ९ हजारबाट सुरु गरेको तलब एक वर्षपछि ११ हजार भयो । त्यसपछि पनि पटक पटक तलब बढ्दा चार वर्षमा तलब १५ हजार पुगेको छ । रीतालाई यति पैसामा काम गर्ने मन छैन । ‘छोडेर जाँदा पनि काम पाउनै गाह्रो काम पाउँदा तलब पाउनै गाह्रो नर्सिङ पढेर पनि नामको मात्र भयो न पैसा, नत काम सहज,’ उनले गुनासो गर्दै भनिन् । उनी अब नर्सहरूको पारिश्रमिकका विषयमा सरकार र अस्पताल सञ्चालक दुवैले गम्भीर रुपमा लिनुपर्ने बताउँछिन् । लाखाैं पैसा खर्च गरेर पढेका नर्सलाई १०÷१५ हजारमा काम गर्न सकिने अवस्था नरहेको धारणा उनको छ । मणिपाल अस्पतालमै काम गर्ने अर्की नर्सको पीडा पनि उस्तै छ । एक वर्ष सरकारी अस्पतालमा करारमा काम गरेकी उनी अहिले मणिपाल अस्पतालमा काम गरिरहेकी छन् । जनकपुरको कलेजबाट पिसिएल नर्सिङ गरेकी उनले सरकारी अस्पतालको करारमा नाम निकालिन् । तर, त्यो समय एक वर्षका लागि मात्र थियो । उनी एक वर्ष काम गरेर बिएस्सी नर्सिङ पढिन् । बिएस्सी नर्सिङ सकेपछि उनले पोखराको मणिपाल अस्पतालमा काम सुरु गरिन् । पिसिएल सकेर सरकारी अस्पतालमा ३५ हजार तलब खाइरहेकी उनलाई बिएस्सी सकेपछि तलब अझ बढी होला भन्ने अपेक्षा थियो । तर, उनले मणिपालमा प्रवेश गर्दा १४ हजारबाट सुरु गर्नुपर्यो । ‘पढाइ र अनुभवको आधारमा पारिश्रमिकको अपेक्षा गरेकी थिएँ, यहाँ त १४ हजार पारिश्रमिकले काम गर्नुपर्यो,’ उनी भन्छिन्, ‘अहिले तीन वर्ष भइसक्यो तलब बढेर १६ हजार भएको छ, यो पैसाले के खाने, कसरी कोठा भाडा तिर्नु ? यो पारिश्रमिकले नेपालमा काम गर्न गाह्रो छ ।’ उनले पिसिएल र बिएस्सी नर्सिङ पढ्दा २२ लाख भन्दा बढी खर्च लागेको थियो । २२ लाख खर्च गरेर पढेको शिक्षाबाट १५ हजारको काम नभेट्नुले नर्सहरूको मनोबल घट्दै गएको उनको भनाइ छ । ‘तीन वर्षे पिसिएल गरें, एक वर्ष करारमा काम गरें, फेरि बिएस्सी नर्सिङ गरेर १४÷१५ हजारमा काम गरेर बस्नुपर्ने भनेको अति नै अन्याय हो, कामको पनि ओभरलोड हुन्छ, यो बापतको कुनै सुविधा छैन,’ उनले भनिन् । मणिपालमात्र होइन देशभरका निजी अस्पतालमा काम गर्ने नर्सहरूको पीडा यस्तै हो । पढाइमा लाखाैं पैसा खर्च गरेर बनेका नर्सहरूले १४÷१५ हजारमा दिनको १२ घण्टासम्म काम गर्नुपरिरहेको छ । जबकी सरकारले श्रमिकहरूको मासिक पारिश्रमिक १९ हजार ७ सय अनिवार्य गरेको छ । एउटै नर्सले धेरै जना बिरामी हेर्नुपर्ने, आठ घण्टाभन्दा बढी काम गर्नुपर्ने समस्याका बावजुत उचित पारिश्रमिक नपाउँदा काम गर्न निकै समस्या भएको उनीहरूको भनाई छ । कास्कीको मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेज अस्पतालमा कार्यरत नर्सहरूले सुरु गरेको आन्दोलन देशभर फैलिएको छ । मोरङको बिराट मेडिकल कलेजदेखि धनगढी र अत्तरियाका निजी अस्पतालका नर्सहरू पनि आन्दोलनमा छन् । उनीहरूले तिहारमा पनि आफ्नो आन्दोलन जारी राखेका छन् । नर्सहरूले श्रम गरे अनुसारको उचित ज्याला पाउनुपर्ने माग गरेका छन् । असोज ३१ गतेबाट सुरु भएको आन्दोलन अहिले पनि जारी छ । यो आन्दोलन बिस्तारै देशभर फैलिरहेको छ । पिरैपिरमा नर्सहरू नर्सहरूको श्रमको कुरालाई लिएर आन्दोलन हुन थालेको धेरै समय भइसक्यो । बेला–बेला नर्सहरू धर्नामा बस्ने, आन्दोलन गर्ने काम पनि भइरहेका छन् तर उनीहरूको माग अहिलेसम्म पुरा हुन सकेको छैन । काठमाडौं उपत्यकामै पनि नाम चलेको ठूला र निजी अस्पतालले पनि नर्सहरूको श्रम शोषण गरिरहेको बुझिएको छ । दिनरात नभनी बिरामीको सेवा गर्दै आएका नर्सहरूले आफ्नो पारिश्रमिकको कुरा उठाउँदा पनि जागिर धरापमा पर्ने डर रहेको सुनाउँछन् । नाम नबताउने सर्तमा निजी अस्पतालमा कार्यरत एक नर्स भन्छिन्, ‘काम नगरौं यत्रो पैसा खर्च ऋण लिएर पढिएको छ, गरौं धेरै पैसा पाइँदैन, पैसा कम भयो भन्ने आवाज उठाउने बित्तिकै अस्पताल सञ्चालक र प्रशासनको नजरमा परिन्छ ।’ उनी अब भने जागिर धरामा परे पनि माग पूरा गराएरै छोड्ने बताउँछिन् । नर्सहरूका अनुसार आन्दोलन गर्दा उनीहरूमाथि नै धम्की आइरहेको छ । अर्की एक नर्स भन्छिन्, ‘तपाईंहरूको अनुभव पत्रमा चरित्र खुलाएर सार्वजनिक गरिदिन्छु, अस्पताललाई जति घाटा भएको छ यो सबै तपाईंहरूले नै बेहोर्नुपर्छ भन्ने धम्की आएको छ, हामीले यति गरिसकेपछि अब लड्नै पर्छ भन्ने भएर आन्दोलन पनि जारी राखेका छौं ।’ उनी यस्तो थ्रेटले मानसिक रुपमा असर परिरहेको बताउँछिन् । ‘कसैलाई व्यक्तिगत रुपमा धम्की आइरहेको छ, कसैलाई समूहमा धम्की दिइरहेको छ, यस्तो पाराले सिधै हाम्रो मानसिक रुपमा असरी गरिरहेको छ, उनी भन्छिन्, ‘यो कुरा नउठाऔं भने कसरी नउठाउनु हामीमाथि श्रम शोषण भइरहेको छ, चुप लागेर बसौं भने यत्रो काम गरेर पेट पाल्न सकिने अवस्था छैन, अब आफ्नो लागि भए पनि बोल्नुपर्छ भन्ने लागेर आन्दोलनमा लागेका हौं ।’ नर्सहरूले आफूहरु खुसी हुनुपर्ने कुनै कारण नरहेको बताउँदै कुनै पनि कुराबाट सन्तुष्ट हुनुपर्ने अवस्था आवाज उठाउन बाध्य भएको बताएका छन् । उनी नेपाली नर्स सेवा सुविधाकै कारण देश छोडिरहेको बताउँदै रहरले भन्दा बाध्यताले नै विदेश जानुपरिरहेको बताउँछिन् । नर्सिङ संघको पनि ऐक्यबद्धता नर्सहरूको आन्दोलनमा नेपाल नर्सिङ संघले पनि ऐक्यबद्धता जनाउँदै आन्दोलन सुरु गरेको छ । संघले पटक–पटक निजी मेडिकल तथा अस्पताल सञ्चालकदेखि सरकारलाई समेत ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको भन्दै आन्दोलन घोषणा गरेको हो । नर्सिङ पेशाकर्मीहरूकाे हक र अधिकार सुनिश्चित गर्दै आम नागरिकको सुरक्षित र स्तरीय स्वास्थ्यसेवा उपभोग गर्न पाउने मौलिक अधिकार प्राप्त वातावरण सिर्जना गर्दै आइरहेको संघले नर्सहरूको मागमा सहमति जनाउँदै आन्दोलन घोषणा गरेको संघले जनाएको छ । संघका अध्यक्ष चन्द्रकला शर्माले कयौँ पटक यो विषयमा आवाज उठाउँदा पनि सुनुवाइ नभएको भन्दै आन्दोलन गर्नुपरेको बताएकी छन् । उनले यो विषयमा निरन्तर प्रयास गर्दा पनि लागु नभएको भन्दै आन्दोलन सुरु गरेको बताइन् । आन्दोलन अन्तर्गत पहिलो चरणको कार्यक्रम जारी छ । संघले असोज ४ गतेदेखि ११ गतेसम्म देशभरका अस्पताल तथा स्वास्थ्य शैक्षिक संस्थाहरूमा कालोपट्टि बाँधेर काम गरिरहेको जनाएको छ । संघले १२ गतेदेखि दिनको दुई घण्टा अत्यावश्यक बाहेकका नर्सिङ सेवा बन्द गर्ने बताएको छ । संघका महासचिव देवका आचार्य नेपाली नर्सहरू पहिलेदेखि नै श्रम शोषणमा परिरहेको बताउँदै उनीहरूको हितका दागि पनि लड्न आवश्यक भएको बताउँछिन् । नेपालमा नर्सहरूलाई काम गर्ने राम्रो वातावरण नै नभएको भन्दै नेपालको समग्र स्वास्थ्य क्षेत्र सुधारका लागि पनि नर्सहरूको उचित सम्मान आवश्यक रहने बताउँछिन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नर्सहरूको पारिश्रमिकका विषयमा आवाज उठाइरहेको बताएको छ । नर्सहरूले श्रमअनुसारको मुल्य नपाएको गुनासो बढेपछि मन्त्रालयले निजी अस्पताल तथा सञ्चालकहरूलाई सरकारी अस्पताल सरह भत्ता उपलब्ध गराउन निर्देशन दिएको थियो । यो भन्दा अगाडि दिएको निर्देशन कार्यान्वन नगरेको भन्दै मन्त्रालयले गत असोज २४ गते फेरि सरकारी सेवा सरह पारिुश्रमिक दिन आग्रह गरेको थियो । तर निजी अस्पताल र मेडिकल सञ्चालकहरूले भने मन्त्रालयले दिएको निर्देशन अनुसार नर्सहरूलाएई सेवा दिन नसक्ने प्रतिक्रिया दिएको थियो । निजी अस्पताल मेडिकलको आफ्नै सीमित स्रोत साधन भएकाले सरकारले दिएको निर्देशन अनुसार तत्काल सबै नर्सलाई २४ हजार भत्ता उपलब्ध गराउन सक्ने अवस्था नरहेको बताएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको निर्देशनमा ध्यानाकर्षण गर्दै सञ्चालकहरूले पारिश्रमिक बढाउन नसक्ने बताए पनि मन्त्रालयले निजी अस्पतालका सञ्चालकहरूलाई छलफलमा बोलाएको थियो । असोज २ गते दिनभर मन्त्रालयमा भएको छलफलमा कुनै निश्कर्ष ननिस्केपछि सरकारले ७ वटै प्रदेशमा छलफलका लागि समिति गठन गर्ने निर्णय गरेको थियो । यो समितिले अब काम सुरु गर्ने मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री शुसीला कार्कीले पनि नर्सहरूको उचित पारिश्रमिक बढाउन निर्देशन दिएकी थिइन् । नर्सहरूले पारिश्रमिक माग गरिरहने, मन्त्रालयले पटक पटक निर्देशन दिइरहने तर सञ्चालकहरूले कार्यान्वन गर्न नसकिने प्रक्रिया चलेको लामो समय भइसक्यो । यही समस्याले नेपाली नर्सहरू विदेश रोजिरहेका छन् । स्वदेशमा १० हजार कमाइरहेका नर्सहरू विदेश गएर लाख बढी कमाइरहेका छन् । यसले एकातिर स्वदेशमा बस्ने नर्सहरूको मनोबल कमजोर पारिरहेको छ भने नर्सहरूलाई बढी विदेशको बाटो देखाइरहेको छ । नर्सिङ संघका अध्यक्ष प्रोफेसर चन्दकला शर्मा अब नेपाली नर्सहरूको कुन्ठा विष्फोट हुने खतरा बढेको बताउँछिन् । आन्दोलनमा उत्रेका नर्सहरूलाई पूर्णरुपमा समर्थन रहेको भन्दै उनीे अब नेपाली नर्सहरू विष्फोटको रुपमा बाहिर आउने खतरा बढेको बताउँछिन् । उनी भन्छिन्, ‘नर्सहरूको श्रम शोषण धेरै भयो , हामीले पटक-पटक ध्यानाकर्षण गरायौं तर सुनुवाइ भएन अब उहाँहरू विष्फोटको रुपमा बाहिर आउनुहुन्छ, जुन निजी अस्पताल र नागरिक सबैका लागि राम्रो हुँदैन ।’ गत वर्षको मंसिरमा पनि नर्सहरूको पारिश्रमिकका विषयमा मन्त्रीस्तरीय परिपत्र भएको थियो । तर, कार्यान्वन भएन । त्यसपछि नर्सिङ संघले पनि पटक/पटक ध्यानाकर्षण गराउँदै आएको थियो । तर, सुनुवाइ अहिलेसम्म नभएको शर्मा बताउँछिन् । ‘हामीले स्वास्थ्य सचिवलाई भेट्यौ, मन्त्रालयमै छलफल गर्यौं, यही विषय प्रधानमन्त्रीलाई भेट्न गयौं तर भेट्न सकेनौं माग पत्र दर्ता गरायौं शर्मा भन्छिन्, ‘प्रधानमन्त्रीज्युले पनि निर्देशन दिनुभएको छ । तर कार्यान्वन भएन । निजी मेडिकल सञ्चालकहरू यसमा अटेरी भए । जुन रामे होइन ।’ एउटै नर्सले जनरल वार्डमा २० देखि २५ जनासम्म बिरामी हेर्नुपर्ने बाध्यता छ आईसीयूमा एउटा नर्सले एक जना बिरामीलाई हेर्नुपर्ने हुन्छ तर नेपालमा ४/५ जना हेर्नुपर्ने बाध्यता छ ।
पदयात्राका लागि युवापुस्ताको पहिलो रोजाइमा अन्नपूर्ण आधार शिविर
म्याग्दी । अन्नपूर्ण हिमालको आधार शिविर नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकसित भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आरोहण सुरु हुने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ । समुद्री सतहदेखि चार हजार १५० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा छोटो दूरीमा सहजै पदयात्रामा पुगिने भएकाले पर्यटकको रोजाइमा परेको हो । पदमार्ग, पूर्वाधार निर्माण, खानेबस्ने सुविधा र प्रवर्द्धनात्मक कार्यक्रमपछि आधार शिविरमा चालु शरदयाममा नसोचेको सङ्ख्यामा पर्यटक आएका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए । 'अन्नपूर्ण हिमाल र आधार शिविरको भूगोल म्याग्दीमा पर्ने तथ्य स्थापित भएर त्यहाँसम्म पुग्ने पदमार्ग तयार र प्रवर्द्धनका कार्यक्रमपछि यो याममा अपेक्षा गरेभन्दा धेरै पर्यटक आउनुभयो', उनले भने, 'युवापुस्ताको रोजाइमा अन्नपूर्ण आधार शिविर परेको छ ।' दसैँलगत्तै आधार शिविरमा दैनिक दुई सयदेखि पाँच सय जनासम्म पर्यटक आइरहेका अध्यक्ष पुनले बताए । आधार शिविरमा दुई वर्षअघिसम्म वसन्त याममा हेलिकप्टरमार्फत आरोहीहरू मात्र पुग्ने गर्दथे । पदमार्गमा रहेका होटलको क्षमताभन्दा बढी सङ्ख्यामा पाहुना आएकाले व्यवस्थापनमा समस्या भएको व्यवसायीले बताएका छन् । नारच्याङदेखि हुमखोलासम्म २० किलोमिटर सडक र हुमखोलादेखि आधार शिविरसम्म आधारभूतस्तरको २२ किलोमिटर पदमार्ग तयार भएको छ । दुई दिनको पैदलयात्रामा पुगिने अन्नपूूर्ण आधार शिविर पर्यटकका लागि ‘भर्जिन’ गन्तव्य भएको शेर्पा अल्पाइन ट्रेकिङका पथप्रर्दशक लाक्पा आङवु शेर्पाले बताए । अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारैकिनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ । नारच्याङका तेज गुरुङको अगुवाइमा २०६८ सालमा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो । सो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले २०७७ सालमा नक्साङ्कन र ‘मौरिस हर्जोग’ नामकरण गरेको थियो । सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस र लुइस लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि सगरमाथाको सफल आरोहण भएको थियो । आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । विसं २०७७ मा भएको अन्नपूर्ण महोत्सव र गत जेठमा अन्नपूर्ण आरोहणको हीरक जयन्तीले पदमार्ग, हिमाल र आधार शिविरको प्रचार गर्न सहयोग पुगेको छ । सञ्चारमाध्यम र सामाजिक सञ्जालका सामग्री देखेर आधार शिविर घुम्न आएको काठमाडौंका सुदीप भट्टले बताए । पदमार्गको प्रवेशविन्दुमा पर्ने नारच्याङमा सन् २०१२ आएका हर्जोगले आरोहणका समयमा प्रयोग गरेको बाटो र आधार शिविरका बारेमा जानकारी गराएपछि स्थानीयवासीको टोलीले पदमार्गको खोज अनुसन्धान गरेको अगुवा गुरुङले बताए । कास्की र म्याग्दीका दुईवटा स्थानीय तहको नामकरण अन्नपूर्ण हिमालबाट गरिएको छ । पर्यटन विभागका अनुसार हालसम्म पाँच सय ३६ जनाले अन्नपूर्ण हिमालको आरोहण गरेका छन् । नीलगिरि र अन्नपूर्ण हिमालको फेदीमा रहेको आधार शिविर समथर फाँटमा छ । आधार शिविरमुनि समुद्री सतहदेखि चार हजार ५० मिटर उचाइमा पञ्चकुण्ड ताल छ । आधार शिविरको डाँडामा बसेर ताल र हिमाल अवलोकन गर्न सकिन्छ । पदयात्रीहरूले ताल र हिमाललाई पृष्ठभूमिमा पारेर डाँडैडाडाँ हिँडेको तस्बिर खिच्न र भिडियो बनाउँछन् । एक लाख सात हजार ६८४ वर्गमिटर क्षेत्रफलमा फैलिएको ताल अन्नपूर्ण हिमालको हिउँ पग्लिएर आउने पानी सङ्कलन भएर बनेको प्राकृतिक हिमताल हो । अन्नपूर्ण हिमाल र पञ्चकुण्ड ताललाई एकैपटक अवलोकन गर्न पाउनु अन्नपूर्ण आधार शिविरको प्रमुख विशेषता भएको बेनीकी सुष्मा खत्रीले बताइन् । 'वरपरका हिमाल र फेदीमा रहेको तालले मलाई मोहित र प्रफुल्लित बनायो', उनले भनिन्, 'यहाँको अलौकिक सौन्दर्यमा रमाउन पाउँदा सबै, दुःखकष्ट र तनाव भुलेर मनमा उमङ्ग छाएको छ ।' आधार शिविरमा प्रथम ओहरण टोलीको अगुुवा फ्रान्सका मौरिज हर्जोग, लुइस लचेनल र सोनाम वालुङ शेर्पाको सालिक स्थापना र हालसम्म अन्नपूूर्ण हिमाल आरोहण गरेका पाँच सय ३६ जनाको नामावली उल्लेख गरिएको ताम्रपत्र भएको खुला सङ्ग्रहालय पनि रहेको छ । अन्नपूर्ण गाउँपालिकाले गत आर्थिक वर्षमा फुतफुते झरनामा चिया, खाजा पसल सञ्चालनका लागि आश्रयस्थल भवन, शौचालय निर्माण र खानेपानी व्यवस्थापन गरेको थियो । हुमखोलामा खानेपानी र शौचालय निर्माण भएको छ । गुफाफाँट र आधार शिविरमा एक–एकवटा शौचालय निर्माण भएको छ । हुमखोलादेखि साधीखर्कसम्मको पदमार्गमा ढुङ्गा बिछ्याउने, अप्ठ्यारो ठाउँको पदमार्गको डिलमा रेलिङ राखिएको छ । नारच्याङका बासिन्दाले गत वसन्तयामदेखि हुमखोला, फुतफुते, साधीखर्क, गुफाँफाँट, भुसकेत र पञ्चकुण्डमा अस्थायी संरचना बनाएर होटल सञ्चालन गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)मा पर्ने भएकाले यहाँ स्थायी भौतिक संरचना बनाउन प्रक्रिया पूरा गरेर सरकारबाट अनुमति लिनुपर्छ । एक्यापले ५० जना पाहुना राख्न सक्ने अस्थायी संरचना बनाउन अनुमति दिएको तर चार, पाँच गुणा बढी पाहुना आएकाले टेन्ट र पालमुनि बसोबासको व्यवस्था मिलाउनुपरेको भुसकेतका होटल ब्यवसायी माइकल पुनले बताए । होटलहरु नहुँदा पदयात्री आफैँले बन्दोबस्तीका सामान बोकेर जानुपर्ने समस्या थियो । हुमखोलादेखि माथि सञ्चार र विद्युत् सुविधाको अभाव छ । सञ्चार सुविधाको अभावमा लेक लागेर बिरामी भएका पर्यटकको उद्धार गर्न र पाहुनाको व्यवस्थापनमा समस्या भएको छ । बढ्दो पाहुनाको आगमनसँगै फोहर व्यवस्थापन पनि यहाँको अर्को चुनौती बनेको छ । पदमार्ग निर्माणलाई पूर्णता दिन र झोलुङ्गे पुलको स्तरोन्नति गर्नेुपर्ने आवश्यकता छ । गत हप्ता अन्नपूर्ण आधार शिविर पुगेर फर्किएका म्याग्दी क्षेत्र नं १ (क) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले पूर्वाधार निर्माणका साथै प्रवर्द्धनमा स्थानीय तह, एक्याप, प्रदेश र सङ्घीय सरकारसँग समन्वय गर्ने बताए । 'छोटो दूरीमा र छिटो पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर, पञ्चकुण्ड तालको पर्यटनका हिसाबले प्रशस्त सम्भावना छ', उनले भने, 'सञ्चार र विद्युत् सुविधाको विस्तार, पदमार्गको स्तरोन्नति, फोहर व्यवस्थापन, झोलुङ्गे पुललगायत पूर्वाधार निर्माणमा सरकारको ध्यानाकर्षण र बजेट भित्र्याउन पहल गर्नेछु ।' रासस
पर्यटकीयस्थल दुधकुण्ड जाँदा बाटो हराएपछि १० घण्टा बेपत्ता
सुवास दर्नाल काठमाडौं । ‘पानी र हिमालको छायाँसँगै बाटो हरायो, मोबाइलमा सिग्नल थिएन, वरिपरि कुहिरोमात्र थियो । हामीले हेर्ने आकाश पनि हरायो,’ ओखलढुङ्गाका डेनिस मगरले यसरी यर्थाथ सुनाए । सोलुखुम्बुको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल दुधकुण्ड पुग्ने क्रममा मगरसहितको टोली करिब १० घण्टा बेपत्ता भएका थिए । गत सोमबार सल्लेरीबाट हिँडेको मगरसहितको एक टोली सोलुदुधकुण्ड नगरपालिका-१ कै कामोडाँडा क्षेत्र पार गर्दै दुधकुण्डतर्फ लाग्दै थियो । बिहानै उकालो लागेका उनीहरू पदमार्गको दोबाटोमा पुगेपछि गलत दिशातर्फ हिँडे । केही समयपछि बाटो भिरको टुप्पोमै हरायो । मोबाइल सिग्नल समेत हराएसँगै टोली नै कामोडाँडाभन्दा माथिल्लो क्षेत्रमा बेपत्ता भयो । स्थानीय होटल व्यवसायी मिलन कार्की भन्छन्, ‘साङ्केतिक बोर्ड र दिशानिर्देश नभएपछि पर्यटकले गलत बाटो समात्ने समस्या बढ्दै गएको छ ।’ भौगोलिक कठिनाइ र कमजोर सञ्जालका कारण खोज तथा उद्धारमा स्थानीयलाई निकै कठिनाइ भएको थियो । स्थानीय पर्यटन व्यवसायी र युवाहरूको सहयोगमा मगर र उहाँका साथीहरूको करिब १० घण्टापछि उद्धार गर्न सफल भयो । दुधकुण्ड क्षेत्रमा पर्यटकहरू हराउने गरेको घटना सामान्य बन्दै गएको छ । पछिल्ला वर्षहरूमा दुधकुण्ड क्षेत्रमा बाटो भुल्ने, हराउने र उद्धारमा ढिलाइ हुने घटना बारम्बार भइरहेको स्थानीय बताउँछन् । दुधकुण्ड पुग्ने मुख्य पदमार्गमा पर्ने ३ हजार ८६० मिटर उचाइमा अवस्थित कामोडाँडा यस्ता घटनाको केन्द्रविन्दु बनेको छ । यहीँबाट बायाँतर्फ मोडिनुपर्ने बाटो नै दुधकुण्ड पुग्ने मुख्य मार्ग हो । तर कतिपय स्वदेशी तथा विदेशी पर्यटक सो मोड थाहा नपाएर लुक्ला जाने बाटोतर्फ उकालो लाग्ने गर्छन् । त्यसपछि उनीहरू घण्टौँसम्म जङ्गल र भिरालो भूभागमा भौतारिन्छन् । ‘पदमार्गमा स्पष्ट देखिने कुनै सङ्केत छैन । कुन बाटो कुन ठाउँ जान्छ भन्ने थाहा नहुने भएकाले धेरैजसो भ्रमणकर्ता बाटो भुल्छन्,’ स्थानीय पर्यटन व्यवसायी फुर्वा शेर्पाले भने । कमजोर नेटवर्क दुधकुण्ड क्षेत्र हिमालको फेदमा पर्ने भिरालो भूगोलमा पर्छ । यहाँ टेलिफोन सञ्जाल अत्यन्त कमजोर छ । भिरालो बाटो, हिउँले ढाकिएको पदमार्ग, कुहिरो र हावाका कारण दृश्य कम हुने भएकाले पर्यटकहरूलाई दिशा पत्ता लगाउन गाह्रो हुन्छ । स्थानीय मिङ्मार शेर्पा भन्छन्, ‘कसैले हरायो भने तुरुन्त खोजी सुरु गर्न सकिँदैन । नेटवर्क नै नचल्ने ठाउँ छ । उद्धारका लागि मानिस पैदलै हिँड्नुपर्छ ।’ भौगोलिक कारणले सञ्चार सम्पर्क कमजोर हुँदा उद्धारमा कठिनाइ हुने गरेको स्थानीय जानकारहरू बताउँछन् । ‘दुधकुण्ड पुग्ने बाटो अत्यन्त कठिन छ । हिँड्दा लाग्छ हिमाल बोल्दैछ, तर बाटो देखिँदैन । बाटोमा कुनै जानकारीमूलक बोर्ड छैन,’ सुनसरीको धरानबाट दुधकुण्ड पुगेका भक्तजन भविस्वर साम्पाङले भने । नेपाल पत्रकार महासङ्घ तेह्रथुमका अध्यक्ष टिआर सेनेहाङले भने, ‘दुधकुण्ड धार्मिकमात्र होइन, अन्तर्राष्ट्रियस्तरको ट्रेकिङ र आध्यात्मिक केन्द्र बन्न सक्ने सम्भावना बोकेको गन्तव्य हो । तर सम्बन्धित निकायले अझै प्राथमिकता दिएको छैन ।’ धनकुटाका अमृत पौडेलले भने, ‘हामी दुधकुण्ड पुगेका थियौँ, तर बाटोमा बोर्ड नभएका कारण करिब छ घण्टा जङ्गलतिर भुल्यौँ । अहिले पनि यस्तो अवस्थामा पर्यटक हिँड्नुपर्ने ?’ दुधकुण्डः दूधजस्तो सेतो ताल र आस्थाको केन्द्र समुद्री सतहबाट ४ हजार ७०० मिटर उचाइमा अवस्थित दुधकुण्ड सोलुदुधकुण्ड नगरपालिका–१ मा पर्दछ । यो ताल नुम्बुर हिमाल (६,९५८ मिटर) को फेदमा रहेको छ । जसलाई स्थानीयले ‘नुम्बुर हिमाल माताको काख’ भन्छन् । यहाँको कुण्डमा दूधजस्तो सेतो पानी भएकाले यसलाई ‘दुधकुण्ड’ नाम दिइएको हो । प्रत्येक वर्ष जनैपूर्णिमा पर्वका समयमा हजारौँ भक्तजन यहाँ पुग्छन् । धार्मिक विश्वासअनुसार यो तालमा स्नान गर्दा पाप नाश हुने, मनोकामना पूरा हुने र आत्मा शुद्ध हुने जनविश्वास छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बी सबैका लागि यो स्थान पवित्र मानिन्छ । दुधकुण्ड केवल प्राकृतिक दृश्य होइन, यो आस्थाको प्रतीक, श्रद्धा र प्रकृतिको मिलनस्थल हो । नुम्बुर हिमाल हाल खुला आरोहणका लागि अनुमति दिइएका हिमालहरूमध्ये एक प्रसिद्ध हिमाल हो । यस हिमालमा गत कात्तिक ५ गते तीन विदेशी आरोहीले पहिलोपटक सफलतापूर्वक आरोहण गरेका छन् । सेभेन समिट ट्रेकका इटालियन नागरिक हर्भ, जर्मन फेलिक्स र पोल्याण्डका आडमले १५ घण्टाको आरोहणपछि सफलतापूर्वक शिखर चुमेका हुन् । नेपाल पर्यटन बोर्डका अनुसार यो आरोहणले दुधकुण्ड क्षेत्रलाई अन्तरराष्ट्रिय ट्रेकिङ गन्तव्यका रूपमा चिनाउने नयाँ ढोका खोलिदिएको छ । स्थानीय पर्यटन व्यवसायी फुर्वा शेर्पा भन्छन्, ‘नुम्बुर हिमाल, दुधकुण्ड र वरिपरिको ग्रामीण जीवनशैली एकसाथ अनुभव गर्न सकिने गन्तव्य विश्वमै दुर्लभ छ । यसलाई व्यवस्थित गर्नसके सोलुखुम्बु अर्को ‘पवित्र ट्रेकिङ सर्किट’ बन्न सक्छ ।’ सोलुदुधकुण्ड नगरपालिकाले केही वर्षअघि दुधकुण्ड पुग्ने पदमार्गमा लगानी गरेको थियो । तर त्यसपछि सूचना–साङ्केतिक प्रणाली, उचाइ जानकारी, सुरक्षा चेकपोस्टजस्ता आवश्यक पूर्वाधार निर्माण हुनसकेको छैन । नगर उपप्रमुख गान्धिमाया तामाङ भन्छन्, ‘नगरपालिकाले पदमार्ग स्तरोन्नति र प्रचारमा ध्यान दिइरहेको छ । तर विस्तृत पर्यटन नक्सा र सङ्केत प्रणाली बनाउनतर्फ भने ध्यान जानसकेको छैन ।’ उनका अनुसार यसै आर्थिक वर्षभित्र ‘दुधकुण्ड पर्यटन प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत सङ्केत बोर्ड र पर्यटन सूचना केन्द्र स्थापना गर्ने योजना अघि बढाइएको छ । तर स्थानीय पर्यटन उद्यमीहरूका अनुसार योजनााई कार्यान्वयनमा ढिलाइ हुँदा परिणाम देखिँदैन । दुधकुण्ड क्षेत्रले स्थानीय अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने क्षमता बोकेको छ । यहाँको पर्यटनले स्थानीय होटल, ढाबा, यातायात र हस्तकला उद्योगलाई प्रत्यक्ष फाइदा पुर्याउन सक्छ । तर असुरक्षित पदमार्ग र सूचना अभावका कारण कतिपय पर्यटक बीचैबाट फर्किन्छन् । यदि स्थानीय सरकार र निजी क्षेत्रले संयुक्त रूपमा लगानी गरे यस क्षेत्रले धार्मिक–पदयात्रा पर्यटन र हिमाली ट्रेकिङ दुवैलाई जोड्ने राष्ट्रिय गन्तव्य बन्न सक्ने पर्यटन व्यवसायी बल दर्नालको भनाइ छ । ३ तहको सरकार, एउटै दृष्टिकोण आवश्यक ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पा भन्छन्, ‘दुधकुण्ड सर्किट ट्रेक हिमाल, ताल र संस्कृति । यी तीनै तत्वलाई एकसाथ देखाउने दुर्लभ गन्तव्य हो । यसको प्रवर्द्धनका लागि सङ्घ, प्रदेश र स्थानीय सरकार एउटै दृष्टिकोणमा उभिनुपर्छ ।’ यस क्षेत्रलाई व्यवस्थित गर्नका लागि स्थायी सङ्केत बोर्ड, आपत्कालीन उद्धार केन्द्र र नियमित गाइड तालिम अपरिहार्य छन् । दुधकुण्ड केवल एउटा ताल होइन । यो नेपाली पहिचान र आस्थाको हिमाली प्रतीक हो । यसको संरक्षण र व्यवस्थापन हाम्रो सामूहिक जिम्मेवारी हो । यदि समयमै सङ्केत बोर्ड, सुरक्षा पूर्वाधार र सञ्चार सञ्जालमा सुधार गरिए यो हिमाली भूभाग केवल पर्यटकको चुनौती होइन आस्थाको यात्राको गौरवशाली गन्तव्य बन्न सक्छ । यसको विकासमा सबै तहको सरकार र निजी क्षेत्रको समेत चासो हुने हो भने जिल्लाको मात्र नभई देशकै अर्थतन्त्रमा सकरात्मक प्रभाव पर्ने निश्चित रहेको पर्यटन व्यवसायी आङ फुर्वा शेर्पाले बताए । धकुण्डको विकासका लागि विशेष खाका तयार गरेर अघि बढ्न सक्ने हो भने स्वदेशी तथा विदेशी धार्मिक तथा दृश्यावलोकन गर्ने पर्यटकलाई एकै स्थानमा उतार्न सकिने स्थानीय जानकारहरूको तर्क छ । रासस