सिद्धार्थ बैंकका ५१ कार्यक्रममार्फत २६४९ विद्यार्थी लाभान्वित
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विद्यार्थीहरूलाई वित्तीय रूपमा सक्षम र सचेत बनाउने उद्देश्यले ग्लोबल मनी वीक २०२६ को अवसरमा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले मार्च १६ देखि २२, २०२६ सम्म सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रम आयोजना गरी अभियान सम्पन्न गरेको जनाएको छ । ‘स्मार्ट मनी टक्स’ भन्ने नारासहित मनाइएको यस वर्षको अभियान अन्तर्गत बैंकले सातै प्रदेशका विद्यालय तथा क्याम्पस गरी ३८ स्थानमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रममा बैंकिङ सेवा, डिजिटल कारोबार तथा त्यसमा अपनाउनुपर्ने सावधानीबारे जानकारी प्रदान गरिएको थियो । विद्यार्थीहरूमा वित्तीय ज्ञान, सीप, सकारात्मक मनोवृत्ति तथा व्यवहार विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा २ हजार १७१ जना विद्यार्थी सहभागी भएका थिए । साथै, बैंकिङ प्रणालीको व्यवहारिक ज्ञान प्रदान गर्न ४७८ विद्यार्थीलाई बैंकका विभिन्न शाखाहरूमा भ्रमण गराइएको बैंकले जनाएको छ । ग्लोबल मनी वीक अवधिभर बैंकले कुल ५१ वटा कार्यक्रममार्फत २ हजार ६४९ विद्यार्थीलाई वित्तीय शिक्षा प्रदान गरेको जनाएको छ । सप्ताहभर बैंकले सामाजिक सञ्जालमार्फत दैनिक रूपमा जानकारीमूलक सामग्री प्रकाशन गर्दै वित्तीय सचेतना विस्तार गर्ने प्रयास पनि गरेको थियो । देशका सबै वर्ग, क्षेत्र र समुदायसम्म वित्तीय सेवाको पहुँच विस्तार गर्दै सर्वसाधारणलाई वित्तीय रूपमा सक्षम बनाउने उद्देश्यअनुसार सञ्चालन गरिएका कार्यक्रमहरूले ग्लोबल मनी वीकका मूल उद्देश्य हासिल गर्न सकारात्मक योगदान पुगेको बैंकको विश्वास छ ।
४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर
काठमाडौं । सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र सन २०५० सम्म क्षयरोग मुक्त देश बनाउने लक्ष्य नेपालको छ । यो लक्ष्यका साथ सरकारले देशभरि क्षयरोगी पत्ता लगाउने र उपचार गर्ने काम गरिरहेको पनि धेरै वर्ष भइसकेको छ । तर, नेपाललाई दुवै लक्ष्य पुरा गर्न अहिलेको तथ्यांकले चुनौती देखाएको छ । ४२ प्रतिशत बिरामी अहिले पनि उपचार बाहिर रहेकाले चुनौती थपिएको छ भने अहिले पनि नेपालमा वार्षिक ६७ हजार नयाँ बिरामीहरू फेला पर्ने गरेका छन् । नेपालमा क्षयरोग अझै जनस्वास्थ्यको समस्याको रुपमा रहेकाले लक्ष्य पुरा गर्न चुनौती देखिएको विज्ञहरू बताउँछन् । राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार नेपालमा वर्षमा करिब ६९ हजार नागरिक क्षयरोगबाट प्रभावित हुने गरेका छन् भने करिब १७ हजारको यही रोगका कारण मृत्यु हुने गरेको छ । अहिले पनि दैनिक ४४ जनाको मृत्यु यही रोगका कारण हुने भएकाले चुनौती थपिएको केन्द्रले देखाएको छ । केन्द्रका निर्देशक डा. भुवन पौडेलले यसको न्यूनीकरणका लागि राज्यका तर्फबाट विभिन्न प्रयास भइरहेको बताए । गत आर्थिक वर्ष २०८१/०८२ मा ३९ हजार १ सय ५१ जना क्षयरोगी पत्ता लगाइ उपचारका लागि ल्याइएको थियो । जसमा ३९ प्रतिशत महिला, ६१ प्रतिशत पुरुष र ५.६ प्रतिशत बालबालिका थिए । सरकारले देशभर निःशुल्क परीक्षण तथा उपचार सेवा उपलब्ध गरेको छ । हाल देशका ६ हजार २ सय ४१ वटा स्वास्थ्य संस्थाबाट क्षयरोगको सेवा उपलब्ध छ । राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार ७ सय ८५ संस्थामा माइक्रोस्कोप सेवा, १ सय ४२ वटा संस्थामा द्रुत परीक्षण सेवा नि:शुल्क रूपमा सञ्चालन गरिएको छ भने औषधी प्रतिरोधी क्षयरोग उपचारका लागि ३१ केन्द्र र ९८ उपकेन्द्र सञ्चालनमा रहेको छ । यस्तै, १ सय ४९ स्थानीय तहमा क्षयरोग मुक्त नेपाल अभियान विस्तार भएको छ । फोक्सोका बिरामी धेरै नेपालमा तीन प्रकारका क्षयरोगी भेटिएका छन् । जसमध्ये सबैभन्दा बढी फोक्सो सम्बन्धी क्षयरोग रहेको छ । फोक्सो सम्बन्धी क्षयरोग देखिएको क्षयरोगमा ज्वरो आउने, खोकी लाग्ने, खोकीबाट रगत आउने, तौल घट्ने लक्षण देखिन्छ भने यसले फोक्सोलाई असर गर्छ । फोक्सोभन्दा बाहेक शरीरका अन्य ग्रन्थी, पेट, हड्डी, मस्तिष्कमा पनि क्षयरोग देखिन्छ भने अर्को औषधि प्रतिरोधी क्षयरोग पनि नेपालीमा देखिएको छ । जुन जटिल प्रकारको मानिन्छ । यसमा अन्य क्षयरोग भएका व्यक्तिले खाने औषधिले काम गर्दैन र त्यसको लागि उपचार महँगो र लामो समय लाग्ने हुन्छ । क्षयरोग नियन्त्रणका लागि सरकारले प्रयास गरेपनि नागरिक सम्पर्कमा नआइदिँदा समस्या भएको छ । वर्षेनी करिब ६७ हजार नागरिक क्षयरोगबाट प्रभावित भएपनि धेरै बिरामी सम्पर्कमा नआइदिँदा पनि नियन्त्रणमा समस्या भएको विज्ञहरू बताउँछन्।
एनआईसी एशियाका ग्राहकलाई स्तुपा हस्पिटलमा १५ प्रतिशत छुट
काठमाडौं । एनआईसी एशिया बैंक र स्तुपा स्वास्थ्य सेवा सहकारी संस्था (स्तुपा कम्युनिटी हस्पिटल) बीच ग्राहक तथा सेयरधनीलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने विषयमा समझदारी भएको छ । समझदारीपत्रमा बैंकका तर्फबाट काठमाडौं नर्थ सर्कल हेड सुदिन कुमार लामा तथा हस्पिटलका तर्फबाट निर्देशक डा. पेम्बा लामाले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार एनआईसी एशिया बैंकका ग्राहकहरूले स्तुपा कम्युनिटी हस्पिटलमा उपचार गराउँदा विभिन्न स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । त्यस्तै, स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाका बोर्ड सदस्य, निर्देशक, कर्मचारी तथा अन्य सेयरधनीहरूले बैंकको क्रेडिट कार्डमार्फत उपलब्ध सेवा सुविधाहरू उपयोग गर्न सक्नेछन् । ग्राहकहरूको सहजताका लागि स्तुपा कम्युनिटी हस्पिटल परिसरमा बैंकको एटीएम सेवा सञ्चालन गर्ने सहमति समेत भएको छ । ग्राहकलाई परिष्कृत तथा सुलभ बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यका साथ गरिएको यस सहकार्यबाट बैंकका ग्राहक तथा सहकारी संस्थासँग आबद्ध कर्मचारी र सेयरधनीहरूलाई थप सुविधा प्राप्त हुने विश्वास बैंकले लिएको जनाएको छ ।