नेपाल–दिल्ली हवाई उडान विस्तार, अब हप्तामा १० उडान

काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–दिल्ली–काठमाडौं हवाई उडान सेवामा थप विस्तार गरेको छ ।  यात्रुको बढ्दो चाप तथा उडानको मागलाई मध्यनजर गर्दै निगमले मंगलबारदेखि काठमाडौं–दिल्ली–काठमाडौं रुटमा आरए २०५/२०६ बाट हप्ताको तीन दिन उडान थप गरेको हो । यसभन्दा पहिला काठमाडौं–दिल्ली–काठमाडौं रुटमा आरए २१७/२१८ बाट दैनिक एउटा उडान हुँदै आएको थियो। अब काठमाडौं–दिल्ली–काठमाडौं हप्ताको १० वटा उडान सञ्चालन हुने भएको हो ।

कर्मचारीका लागि योग तथा तनाव व्यवस्थापन शिविर

दमौली । कर्मचारी मिलन केन्द्र तनहुँ र आधिकारिक ट्रेड युनियनको आयोजनामा आजदेखि दमौलीमा राष्ट्रसेवक कर्मचारीका लागि योग तथा तनाव व्यवस्थापन शिविर सुरु गरिएको छ  ।       पतञ्जलि योग समिति तनहुँको प्राविधिक सहयोग तथा समन्वयमा कर्मचारीलाई लक्षित गरी १० दिवसीय निःशुल्क योग तथा तनाव व्यवस्थापन शिविर सुरु गरिएको हो । जिल्ला न्यायाधीश विष्णुप्रसाद उपाध्यायले योगले मानसिक शान्ति र कार्यक्षमता वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै राष्ट्रसेवक कर्मचारीहरूले यस्तो अभ्यासलाई दैनिक जीवनमा अपनाउनुपर्नेमा जोड दिए ।        प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले कर्मचारीहरूको मानसिक तथा शारीरिक स्वास्थ्य सुदृढ भएमा सार्वजनिक सेवा प्रवाहमा सकारात्मक प्रभाव पर्ने उल्लेख गर्दै यस्ता कार्यक्रमको निरन्तरता आवश्यक रहेको बताए ।       शिविरमा एक सय बढी राष्ट्रसेवक कर्मचारीको सहभागिता रहेको आयोजकले जनाएको छ ।    

बालबालिका र युवालाई ‘स्मार्ट मनी’ सिकाउँदै डिप्रोक्स लघुवित्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको वित्तीय समावेशीता महाशाखाको निर्देशनअनुसार डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ‘ग्लोबल मनी वीक–२०२६’ विभिन्न कार्यक्रममार्फत सम्पन्न गरेको छ । बालबालिका तथा युवामा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र सकारात्मक मनोवृत्तिको विकास गर्ने उद्देश्यले संस्थाले हरेक वर्षझैं यस वर्ष पनि कार्यक्रम आयोजना गरेको हो । ‘स्मार्ट मनी टक्स: बचत गर्ने बानी विकास गरौं’ भन्ने मूल नारासहित मार्च १७ देखि मार्च २३ (चैत ४ देखि चैत १०) गतेसम्म सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिएको संस्थाले जनाएको छ । संस्थाको प्रदेश कार्यालयअन्तर्गत रहेका विभिन्न शाखा कार्यालयमार्फत सञ्चालन गरिएको अभियानमा जम्मा १ हजार ८५८ जना बालबालिका, युवा तथा सदस्यहरूको सहभागिता रहेको थियो । चेतनामूलक कार्यक्रममार्फत सहभागीहरूलाई बचत, वित्तीय योजना, जिम्मेवार वित्तीय व्यवहार तथा आर्थिक सचेतनासम्बन्धी जानकारी प्रदान गरिएको थियो । विद्यार्थी लक्षित उक्त अभियानले बालबालिका, युवा, सदस्य तथा समग्र समाजमा सकारात्मक वित्तीय सन्देश प्रवाह भएको संस्थाले विश्वास लिएको छ ।