नयाँ स्टक एक्सचेञ्ज रोक्न अर्थमन्त्रीलाई नेप्सेको स्मृति पत्र, यस्ता छन् नेप्सेका १५ तर्क

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले नयाँ स्टक एक्सचेञ्ज कम्पनी खोल्ने नेपाल धितोपत्र बोर्डको निर्णय विरुद्ध अर्थमन्त्रीलाई स्मृति पत्र बुझाएको छ । नेप्सेले आफ्नो वर्तमान अवस्था, नेपालको पुँजी बजार र अन्तराष्ट्रिय मान्यताहरुलाई समेत अघि सार्दै नयाँ स्टक एक्सचेञ्ज कम्पनी आवश्यक नरहेको दावी गरेको छ । नेप्सेले आफ्ना २७ जना कर्मचारीलाई अघि सारेर अर्थमन्त्री समक्ष स्मृति पत्र बुझाउन लगाएको हो । भारत, चीन लगायतका ठुला पुँजी बजार भएका मुलुकमा २ वटा मात्रै स्टक कम्पनी रहेको तथा पाकिस्तान, बंगलादेशमा पनि एउटा मात्रै स्टक कम्पनी रहेकाले नेपालमा अर्काे स्टक कम्पनी आवश्यक नरहेको बताएको छ । त्यस्तै, नेप्सेको आधुनिकीकरणको प्रक्रिया समेत द्रुतगतिमा अघि बढिरहेको बताउँदै नयाँ स्टक कम्पनीले नेपालको पुँजी बजारलाई थप समस्यामा पार्ने दावी पनि नेप्सेल गरेको छ । यस्ता छन नयाँ स्टक कम्पनी रोक्ने नेप्सेका तर्क १) दुई वटा स्टक एक्सचेन्ज एउटा बाट दुइटा बनाउने प्रक्रियामा झण्डै १८ अर्ब रुपैयाँ भन्दा बढीको सरकारी सम्पत्ति (नेप्से) जोखिममा पर्ने निश्चित छ । २) नेप्से अन्तर्राष्ट्रिय स्तरको भएन ? नेप्से अन्तर्रािष्ट्रिय स्तरको भएन भन्ने आरोप निराधार हो । ३) सेयर कारोबार र भिडियो गेम सेयर कारोबारलाई भिडियो गेम खेलेजत्तिकै सजिलो बनाउन खोजिएको हो वा नेप्सेले त्यत्तिकै सहजता उपलब्ध गराउनुपर्छ भन्न खोजिएको हो भने त्यो असम्भव कुरा हो । ४) नेप्सेको निजीकरण हालसालै सार्वजनिक भएको वित्तीय क्षेत्र विकास रणनीतिमा पनि नेपाल स्टक एक्सचेन्जको निजीकरण गर्ने विषय उल्लेख छ । नेप्सेको निजीकरण गर्न अर्थ मन्त्रालय, राष्ट्र बैंक र धितोपत्र बोर्डलाई समयसीमा सहित तोकिएको छ । उक्त रणनीति अनुरुप नेप्सेको निजीकरण प्रक्रिया कहाँ पुग्यो भन्ने सार्वजनिक जानकारीमा आएको छैन । ५) छिमेकीको उदाहरण भारतमा दुई वटा र चीनमा चार वटा स्टक एक्सचेन्जहरु छन् नेपालमा किन एउटा मात्रै भन्ने प्रश्न गर्ने गरिन्छ । हाम्रो सन्दर्भमा यो प्रश्न कत्ति पनि मेल खादैन । ६) अर्थतन्त्रको आवश्यकता अर्को स्टक एक्सचेन्ज चाहियो भन्नेहरुले यसलाई अर्थतन्त्रको आवश्यकताको रुपमा प्रस्तुत गर्न खोजेका छन् । यो तथ्यलाई मोड्न खोजिएको दुष्प्रयास मात्र हो । ७) स्टक एक्सचेन्जहरुको एकीकरण लहर स्टक एक्सचेन्जहरुको एकीकरण विश्वव्यापी लहर हो । हामीकहाँ भने उल्टो गंगा बगाउन खोजिएको छ । ८) नेप्से र सेबोनको सम्बन्ध नेप्सेले सेबोनलाई टेरेन भन्ने आधारमा अर्को एक्सचेन्ज ल्याउन खोेजिएको हो भने त्यसले विकृति विसंगतिलाई थप मलजल गर्नेछ । ९) स्टक एक्सचेन्ज विशिष्ट व्यवसाय स्टक एक्सचेन्ज सञ्चालन बैंक, बिमा जस्तै वित्तीय कारोबार गर्ने वा वस्तु वा सेवा प्रदान गर्ने सामान्य व्यवसाय होइन् । १०) प्रतिस्पर्धाका लागि समान धरातल निजी क्षेत्रबाट अर्को स्टक एक्सचेन्ज ल्याएर प्रतिस्पर्धा गराउने सोच हो भने प्रतिस्पर्धाका लागि समान धरातल उपलब्ध हुनुपर्छ । नेप्से सरकारी स्वामित्वमै रहँदा निजी क्षेत्रको कम्पनीसँग समान प्रतिस्पर्धा हुन सक्दैन । ११) नेप्सेको विस्तार सेयर बजारको कारोबार काठमाडौं उपत्यकामात्र सीमित भयो भन्ने आरोप नेप्सेलाई लाग्दै आएको छ । नेप्सेले पूर्व बिर्तामोडदेखि पश्चिम धनगढीसम्म ब्रोकरको कार्यालय पु¥याएको छ । बाग्लुङ र बेशीसहरजस्ता पहाडी बजारमा ब्रोकर पुगेर सेयर किनबेच गर्नसकिने सुविधा प्रदान गरेको छ । १२) नवीनतम सूचना प्रविधिको प्रयोग नेप्सेले निरन्तर नवीनतम प्रविधिको प्रयोगलाई अंगिकार गर्दै आएको छ । वि.सं. २०६४ मा ओपन आउट क्राई सिस्टमबाट सेमिट अटोमेटिड कारोबार प्रणालीमा प्रवेश गरेको नेप्से निकट भविष्यमै पुर्ण अटोमेशन कारोबार प्रणालीमा जाँदैछ । १३) नेप्से पुँजी बजारको बाधक हो ? विषयान्तर गर्ने हेतुले नेपालको समग्र पुँजी बजारको विकासमा नेप्से बाधक रहेको भन्ने विभिन्न मञ्चहरुमा प्रस्तुती हुने गरेको छ । आफु उभिएको समाजसँग कदम मिलाएर नेप्से अगाडि बढ्ने हो । यस अर्थमा नेप्से एक कदम अगाडि नै छ । १४) नेप्से उत्कृष्ट करदाता, असल संस्था नेपाल सरकारले मझौला करदाताको समूहबाट नेप्सेलाई उत्कृष्ट करदाताको पुरस्कारबाट सम्मानित गरेको छ । हाल सञ्चालनमा रहेका ३६ सरकारी संस्थानमध्ये सञ्चालनको चुस्तता, नाफा लगायत वित्तीय अवस्था, जनशक्ति तथा अन्य स्रोत साधन व्यवस्थापनको आधार अग्रणी संस्था मान्न सकिने अवस्था छ । १५) प्रतिस्पर्धाको सैद्धान्तिक पक्ष दुई वा सोभन्दा बढी बिक्रेता वा खरिदकर्ता भए प्रतिस्पर्धा सुनिश्चित हुन्छ भन्ने बुझाई छ । प्रतिस्पर्धाको अर्को पक्ष स्वतन्त्र मूल्य निर्धारण हो । कुनै व्यक्ति, समूह वा निकायबाट मूल्य निर्धारण हुने बजारमा सहभागी संख्या जतिसुकै भए पनि प्रतिस्पर्धाले काम गर्दैन ।

सेञ्चुरी कमर्सियल बैंकले सेती फाइनान्सलाई एक्वाएर गर्ने

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले कैलालीको टिकापुरमा केन्द्रिय कार्यालय रहेको सेती फाइनान्सलाई एक्वाएर(प्राप्ती) गर्ने भएको छ । उक्त एक्वाएर गर्ने सम्बन्धी सम्झौतामा बुधबार दुई संस्थाबीच एमओयूमा हस्ताक्षर भएको छ । सेती फाइनान्सको पूँजी १५ करोड २६ लाख रुपैयाँ रहेको छ । त्यसैगरी सो संस्थाले चैत मसान्तसम्मा एक करोड ५४ लाख रुपैयाँ संचालन मुनाफा आर्जन गर्न सफल भएको बैंकले जनाएको छ । सेञ्चुरी बैंकले इन्नोभेटिभ डेभलपमेन्ट बैंक तथा अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती गरी संयुक्त कारोबार गर्ने तयारी गरेको छ । साथै, सगरमाथा फाइनान्स, अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई प्राप्ती पश्चात करिब १ अर्ब २० करोड रुपैयाँ पूँजी थप हुने बैंकले जनाएको छ । साथै, बैंकका अनुसार इन्नोभेटिभ तथा अरनिको डेभलपमेन्ट बैंकको संयुक्त कारोबार पश्चात् सेञ्चुरी बैंकले ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने सम्झौता गरिसकेकोे छ । त्यसपछि बैंकको नपुग पूँजी चालू आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर जारी गरी ८ अर्ब रुपैयाँ पुर्याउने बैंकको लक्ष्य रहेको छ ।

सेयर बजार दोहोरो अंकले उकालो, पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि

काठमाडौं । बुधबारको सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । केही दिनदेखि निरन्तर ओरालो लागेको बजार बुधबार भने १३ दशमलब ६८ अंकले उकालो लागेको छ । मंगलबार २१ अंकले ओरालो लागेर १५९४ अंकमा झरेको परिसूचकले आज १६०० अंक पार गरेको छ । दोहोरो अंकले बढेको बजारमा पाँच कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । सबैभन्दा बढी ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, हिमालयन डिस्टिलरी लि., कर्नाली डेभलपमेन्ट बैंक र यूनाईटेड मोदी हाइड्रोपावरको सेयर मूल्य क्रमशः ९.९७, ९.९३, ९.९३ र ९.७३ प्रतिशतले बढेको छ । सो दिन कारोबार भएको ७ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने उत्पादनमूलक समूहको परिसूचक सामान्य अंकले राताम्मे भएको छ । सबैभन्दा बढी बीमा समूहको परिसूचक १२१ अंकले बढेको छ । त्यस्तै, विकास बैंक, होटल र हाइड्रोपावर समूहको परिसूचक क्रमशः २०, १९ र १८ अंकले उकालो लागेका छन् । अन्य बाँकी समूहको परिसूचक भने सामान्य अंकले उकालो लागेका छन् । बजारमा ६७ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम मंगलबारको तुलनामा करिब ९ करोड रुपैयाँ घटी हो । बुुधबार १४४ कम्पनीको ११ लाख ५३ हजार कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी स्ट्याण्डार्ड चार्टड बैंकको ५ करोड रुपैयाँ माथीको सेयर किनबेच भएको छ ।