सेयर बजारमा ९० करोड माथिको सेयर कारोबार, सबैभन्दा बढी सनराइज बैंकको

काठमाडौं । साताको अन्तिम दिन कारोबार हुने बिहीबारको बजारमा ९० करोड ३८ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो कारोबारको तुलनामा २९ करोड रुपैयाँ बढी हो । यस अघि मंगलबारको बजारमा ६१ करोड रुपैयाँको सेयर कारोबार भएको छ । बिहीबार सबैभन्दा बढी सनराइज बैंकको सेयर कारोबार भएको छ । बैंकको ७ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ , जसको सेयर मूल्य प्रतिकित्ता ५२९ रुपैयाँ रहेको छ । त्यस्तै, वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लि. प्रमोटर सेयरको ५ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सो दिन १४७ कम्पनीको २० लाख कित्ता सेयर किनबेच भएको छ । बजारमा कारोबार भएका सबै समूहका परिसूचक हरिया भएका छन् । बीमा, हाइड्रोपावर र अन्य समूहको परिसूचक दोहोरो अंक अर्थात क्रमशः ४५, १९ र १८ अंकले उकालो लागेका छन् । त्यस्तै, बाँकी ६ समूहको परिसूचक सामान्य अंकले बढेका छन् । समग्रमा बिहीबार नेप्से परिसूचक ७ दशमलब ७७ अंकले उकालो लागेर १६५८ दशमलब ५८ अंकलमा पुगेको छ । केही दिन यता सेयर बजार निरन्तर उकालो लागिरहेको छ ।

फरवार्ड कम्युनिटीको सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिंग नियुक्त

काठमाडौं । फरवार्ड कम्युनिटी माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिंग नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौंको नक्सालमा रहेको नबिल इन्भेष्टमेन्टलाई सेयर रजिष्टारमा नियुक्त गरेको हो ।

बैंक अफ काठमाण्डूले ६१ लाख कित्ता एफपीओ निष्कासन गर्ने, प्रतिकित्ता मूल्य ३१० रुपैयाँ

काठमाडौं । बैंक अफ काठमाण्डू (बिओके)ले ६१ लाख ५८ हजार ०६७ कित्ता थप साधारण सेयर (फरदर पब्लिक इस्यु (एफपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको सेयरमा २१० रुपैयाँ प्रिमियम मूल्य थपेर प्रतिकित्ता ३१० रुपैयाँमा एफपिओ निष्कासन गर्ने भएको छ । बैंकले कुल एक अर्ब ९० करोड ९० लाख ७७० रुपैयाँको एफपीओ निष्कासन गर्न लागेको हो ।