सोल्टी होटल ५० औं बर्षमा, पोखरा र नेपालगञ्जमा चार तारे होटल बनाउँदै
काठमाडौं, ४ कात्तिक । सोल्टी होटलले पोखरा र नेपालगञ्जमा ४ तारे होटल सञ्चालनमा ल्याउने भएको छ । होटलको ५० औैं बार्षिकोत्सवका अवसरमा आयोजीत पत्रकार सम्मेलनमा सोल्टी होटलका अध्यक्ष प्रभाकर शमसेर राणाले पोखरा र नेपालगञ्जमा चार तारे होटल सञ्चालन गर्न लागेको जानकारी दिएका हुन् । नेपालगञ्जमा आगामी बैशाखबाट सञ्चालन गर्न लागिएको होटलमा ५५ करोड लगानी हुनेछ । ८१ कोठा रहेको होटलले मध्यपश्चिम तथा सुदुरपश्चिमको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको अध्यक्ष राणाले बताए । त्यस्तै, पोखरामा निर्माण गरिने अर्काे ४ तारे होटलमा ६० करोेड लगानी हुनेछ । रिसोर्टका रुपमा निर्माण गरिने पोखराको होटलका लागि जग्गा खरिद भैसकेको पनि उनले जानकारी दिए ।
कसमस डेभलपमेन्ट बैंकले १७ हजार कित्ता हकप्रद सेयर लिलामी गर्दै
काठमाडौं, ४ कात्तिक । कसमश डेभलपमेन्ट बैंकले १७ हजार २५ कित्ता हकप्रद सेयर लिलामी गर्ने भएको छ । बैंकले सार्वजनिक सूचना प्रकाशित गर्दै शिलबन्दी गरेर सो मात्रामा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । गत साउन ११ देखि भदौ २९ गतेसम्म निष्काशन गरिएको हकप्रद सेयर मध्ये बिक्रि नभएका सेयर लिलाम गर्न लागिएको बैंकले जनाएको छ । बैंकले संस्थापक समुहको ४८१९ कित्ता र साधारण समुहको १२०७ कित्ता सेयर बिक्रि खरिदका लागि कात्तिक १७ गतेभित्र सिभिल क्यापिटलमा आवेदन दिन सकिने जनाएको छ । न्युनतम १०० रुपैंयाँ मुल्य राखेर आवेदन दिन सकिने बैंकले जनाएको छ ।
किन खुलाएन गोर्खाज फाइनान्सले सेयर कारोबार, तीन दिन भित्र जबाफ दिन धितोपत्र बोर्डको निर्देशन
काठमाडौं, ३ कात्तिक । काठमाडौं फाइनान्स र गोर्खा विकास बैंकसँग मर्जर पुरा गरी एकीकृत कारोबार सुरु गरेको गोर्खाज फाइनान्सले लामो समय भइसक्दा पनि शेयर कारोबार खुलाएको छैन । कारोबार शुरु गरेको ६ महिना बितिसक्दा पनि सेयर कारोबार नखुलाएको भन्दै नेपाल धितोपत्र बोर्डले बुधबार कम्पनीलाई तीन दिन भित्र जबाफ दिन निर्देशन दिएको छ । गोर्खा डेभलपमेन्ट बैंक र काठमाडौं फाइनान्स लिमिटेड मर्ज भएर बनेको गोर्खाज फाइनान्सले गत चैत २८ गतेदेखि एकीकृत कारोबार शुरु गरेको थियो । बोर्डले मर्जर पुरा गरी एकीकृत कारोबार सुरु गरेका कम्पनीहरुले लामो समयसम्म पनि शेयर कारोबार नखोल्ने कम्पनीहरुलाई कारबाही प्रक्रिया अगाडि बढाउने क्रममा गोर्खाज फाइनान्सलाई पत्र काटेको हो । बोर्डले केही समय अगाडि मात्रै मर्जर प्रक्रिया सकेर एकीकृत कारोबार थालेका कम्पनीले २ साता भित्र अनिवार्य शेयर कारोबार सुचारु गराउनुपर्ने व्यवस्था समेत गरेको छ ।