एन बि इन्सुरेन्स कम्पनीको १२ लाख कित्ता हकप्रद सेयर निष्कासन
काठमाडौं, ९ साउन । एन बि इन्सुरेन्स कम्पनीको १२ लाख कित्ता हकप्रद सेयर निष्कासन भएको छ । कम्पनीले दश बराबर आठ कित्ताको अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो । कम्पनीका लगानीकर्ताले साउन २३ देखि भदौ २६ सम्म आवेदन दिन सक्नेछन् हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई तोकिएको छ ।
ओटिसि बजारको कारोबार शुल्क ९० प्रतिशत कटौती
काठमाडौं, ७ साउन । नेपाल धितोपत्र बोर्डले ओभर द काउन्टर बजार (ओटिसि बजार)को कारोबार शुल्क ९० प्रतिशतसम्म कटौती गरेको छ । ओटीसी बजार संचालन सम्बन्धी विनियमावली, २०६५ बमोजिम सो बजारमा कारोबार हुन नसकिरहेको अवस्थामा बोर्डले २०७२ पुस ६ मा कम्पनी रजिष्ट्रारको कार्यालयलाई पत्र लेखी ओटिसि बजारमा कारोबार हुन सक्ने कम्पनी सम्बन्धी जानकारी गराउँदै सूचीकरण नभएका पब्लिक लिमिटेडका कम्पनीका धितोपत्रहरुको कारोबार हुने व्यवस्थाका लागि पत्राचार गरेको थियो । कम्पनी रजिष्ट्रारको कार्यालय तथा नेपाल स्टक एक्सचेञ्जको सक्रियतामा हाल ओटिसि बजार अगाडि बढिरहेको छ । ओटीसी बजारमा कारोबार शुल्क उच्च भएको गुनासो आएपछि कारोबार शुल्क प्रोत्साहनमुलक कटौती गरी पुनरावलोकनका लागि पेश गर्न नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिइएको थियो । नेप्सेले दिएको प्रतिवेदनका आधारमा धितोपत्र बोर्डले शुल्क घटाउने निर्णय गरेको हो । बोर्डले आफुलाई बुझाउनु पर्ने शुल्क यथावत राख्दै अन्य शुल्क ८५ प्रतिशत देखि ९० प्रतिशतसम्म घटाएको हो ।
नेप्से परिसूचक दोहोरो अंकले बृद्धि, इन्स्योरेन्स समूह १२५ अंकले उकालो
काठमाडौं, ६ साउन । बिहीबार नेप्से परिसूचक ११ दशमलब ९९ अंकले १७९८ अंकमा पुगेको छ । सो दिन १४१ कम्पनीको ३१ लाख ५४ हजार कित्ता सेयर एक अर्ब ४८ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन हाइड्रोपावरको समूह बाहेक अन्य बाँकी समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी इन्स्योरेन्स समूहको परिसूचक १२५ अंकले बढेको छ । उत्पादनमूलक, विकास बैंक, होटल र बैंकिङ समूहको परिसूचक क्रमशः ६९, २१, ११ र ५ अंकले बृद्धि भएका छन् । त्यस्तै हाइड्रोपावर समूहको परिसूचक करिब १० अंकले ओरालो लागेको छ । बिहीबार ७ वटा कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । बोटलर्स नेपाल(तराई), राप्ती भेरी विकास बैंक, किसान माइक्रोफाइनान्स वित्तिय संस्था, नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक, कर्नाली डेभलपमेन्ट बैंक, कैलाश विकास बैंक र कन्काइ विकास बैंकको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशत गुमाएका छन् ।