हिमालयनबाट बाहिरियो हबिब बैंक, अब नेशनल लाइफ सबैभन्दा ठूलो सेयरधनी
काठमाडौं । बिहीबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४.२२ अंक बढेर २ हजार ६००३८ विन्दुमा पुग्यो । दिनभरिको उतारचढाव पछि सेयर कारोबार ७ अर्ब ५१ करोड ३९ लाख ३८ हजार रुपैयाँ बराबर भयो । आज दिनभर ३१९ कम्पनीको २ करोड ६० लाख १० हजार कित्ता सेयर किनबेच हुँदा हिमालयन बैंकको संस्थापक सेयर सबैभन्दा धेरै कारोबार भएको नेप्सेले जनाएको छ । आज हिमालयन बैंकको १ करोड ४० लाख ६ हजार २३० कित्ता सेयर खरिदबिक्री भएको छ । नेप्सेका अनुसार बैंकको उक्त सेयर ब्रोकर नम्बर ४८ अर्थात् त्रिशक्ति सेक्युरिटिज पब्लिकबाट बिक्री भएको छ भने ब्रोकर नम्बर ३४ अर्थात् भिजन सेक्युरिटिजबाट खरिद गरिएको छ । उक्त सेयर हिमालयन बैंकका सबैभन्दा ठूलो संस्थापक सेयरधनी पाकिस्तानको हबिब बैंक लिमिटेडले बिक्री गरेको हो । हबिबले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गरेर हिमालयन बैंकबाट बाहिरिन लागेको हो । हबिब बैंकले हिमालयन बैंकमा रहेको १२.९३ प्रतिशत अर्थात् २ करोड ८० लाख १२ हजार ४४७ कित्ता सेयर बिक्रीमा राखेको थियो । बैंकको उक्त सम्पूर्ण संस्थापक सेयर नेशनल लाइफ इन्स्योरेन्सले प्रतिकित्ता ११८.८८ रुपैयाँमा खरिद गरेको हो । यस मूल्यका आधारमा नेशनल लाइफले उक्त सेयर ३ अर्ब ३३ करोड १ लाख १९ हजार ६९९ रुपैयाँमा खरिद गरेको हो । तर, नेप्सेमा भने बैंकको संस्थापक सेयर प्रतिकित्ता १३१ रुपैयाँमा कारोबार भएको देखिन्छ । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार होम पेज (गृहपृष्ठ)मा देखिएको सेयर मूल्य १३१ रुपैयाँ रेगुलर ट्रेड भएपनि वास्तविक मूल्य भने फ्लोरसिटमा देखिन्छ । ‘होमपेजमा देखिएको १३१ रुपैयाँ रेगुलेर ट्रेड हो । हिमालयन बैंकको सेयर खरिद बिक्री नेगोसिएट विण्डोबाट भएको हो । फ्लोरसिटमा भने खरिदबिक्री प्रतिकित्ता ११८.८८ रुपैयाँमै भएको छ,’ उनले भने, ‘यस्तो सेयर खरिद बिक्रीलाई नेगोसिएट भनिन्छ । किनभने बाहिर नै सेयर मूल्य तय भएर नेप्सेमा कारोबार देखाएको मात्रै हो । यसले दुविधा भएपनि आगामी दिनमा यस्तो सुधार गरिनेछ ।’ साथै हबिबले बिक्रीमा राखेको सेयरमध्ये बिहीबार ५० प्रतिशत मात्रै कारोबारमा आएको छ । बाँकी रहेको ५० प्रतिशत सेयर आइतबार मात्रै कारोबारमा आउने नेशनल लाइफ स्रोतले जनाएको छ । ‘आज ५० प्रतिशत मात्रै सेयर कारोबार भयो । कारोबारको डिजिजका कारण बाँकी रहेको ५० प्रतिशत अर्थात् १ करोड ४० लाख ६ हजार २२३ कित्ता सेयर आइतबार मात्रै कारोबारमा आउनेछ,’ कम्पनी स्रोतले भन्यो । हबिबले तिर्याे १३ करोड २२ लाख रुपैयाँ कर हबिबले हिमालयन बैंकको संस्थापक सेयर नेशनल लाइफलाई बिक्री गर्दा १३ करोड २२ लाख १८ हजार रुपैयाँ कर सरकारलाई तिर्नु परेको छ । हबिबले पुँजीगत लाभकर २५ प्रतिशतका दरले उक्त कर सरकारलाई बुझाउनु परेको हो । बैंकले बिक्रीमा राखेको २ करोड ८० लाख १२ हजार ४४७ कित्ता सेयरको मूल्य अंकित मूल्य १ सय रुपैयाँ कायम हुनेछ । तर, बैंकले अंकित मूल्य १ सय रुपैयाँमा १८.८८ रुपैयाँ थप गरेर बिक्री गरेको हुँदा सो आम्दानीमा २५ प्रतिशत पुँजीगत लाभ कर तिर्नु पर्ने हुन्छ । ‘बिक्री गर्ने संस्थाले २५ प्रतिशत कर तिर्नुपर्छ । नेप्सेमा कारोबार भएपछि सिस्टमबाट टीडीएस बापत १० प्रतिशत काट्छ भने १५ प्रतिशत रकम कर कार्यालयमा बिक्री गर्ने ब्रोकर कम्पनीले संस्था (हबिब) को नाममा जम्मा गर्नुपर्छ,’ एक ब्रोकर व्यवसायीले भने, ‘११८.८८ रुपैयाँमा खरिद बिक्री भएपनि १८.८८ रुपैयाँमा मात्रै २५ प्रतिशतका दरले कर तिर्नुपर्ने हुन्छ ।’
नेप्से परिसूचक २६०० बिन्दुमा पुग्यो, २१६ कम्पनीको मूल्य बढ्दा ७ अर्बको कारोबार
काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३४ अंकले बढेर २६०० बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार २१६ कम्पनीको सेयर मूल्य बढ्दा २८ कम्पनीको मूल्य घटेको छ । ५ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बिहीबार ३१९ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन बैंकको भएको छ । हिमालयन बैंकको १ अर्ब ६६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, राधी विद्युतको ३७ करोड, नेपाल रिइन्स्योरेन्सको ३४ करोड, साहस ऊर्जाको २० करोड ६० लाख र बुटवल पावरको २० अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबर भएको छ । आज २ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गुरास लघुवित्त र उन्नती सामुदायिक लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ । बिहीबार म्युचल फण्ड बाहेक सबै समूहका सूचक बढेका छन् । बैकिङ सूचक ०.३३, डेभलपमेन्ट बैंक १.२३, फाइनान्स १.६०, होटल तथा पर्यटन ०.७५, हाइड्रोपावर २.६७, इनभेन्टमेन्ट १.३५, लाइफ इन्स्योरेन्स १ं.८०, प्रशोधन तथा उत्पादन १.७४, माइक्रोफाइनान्स १.६०, नन लाइफ इन्स्योरेन्स १.७५, अन्य १.०६ र व्यापार समूह ०.८८ प्रतिशतले बढेका छन् ।
सेयर बजार चलाउन नियम र स्वतन्त्रता दुवै आवश्यक छ : नेप्से सीईओ चापागाईं
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले बजार चलाउनका लागि नियम र स्वतन्त्रता दुवै आवश्यक रहेको बताएका छन् । नेपाल सेयर बजार लगानीकर्ता संघको प्रथम वार्षिक साधारण सभालाई बिहीबार सम्बोधन गर्दै उनले सेयर बजारमा नियम धेरै भयो भने बजारमा उत्साह घट्ने र स्वतन्त्रता पनि बढी भयो भने बजारमा अराजकता आउने बताएका हुन् । बुद्धिमानी पूर्वक नियमन अपनाउनुपर्ने आजको आवश्यकता रहेको बताउँदै उनले लगानीकर्ताको हित र बजारको उर्जा पनि कायम राख्नेगरी नेप्सेले आफ्नो काम कारबाही अघि बढाउने प्रतिवद्धता जाहेर गरे । नेपाल स्टक एक्सचेन्ज सीईओ चापागाईंले पुँजीबजार केबल सेयर किनबेच गर्ने थलो मात्र नभएको बताउँदै यो देशको आर्थिक समृद्धिको आधार भएको पनि बताए । राष्ट्रको विकास, श्रम रोजगारी, उद्योग र लगानी यी सबै कुरा पुँजीबजारसँग जोडिएको उनको भनाइ छ । सीईओ चापागाईंले भने–‘आजको संसारमा पुँजीबजार केबल सेयर किनबेच गर्ने थलो मात्र होइन । यो देशको आर्थिक समृद्धिको आधार हो । राष्ट्रको विकास श्रम रोजगारी, उद्योग र लगानी यी सबै कुरा पुँजीबजारसँग जोडिएका छन् । बजार भाग्यले होइन, बजारले चल्छ । दीर्घकालिन सोच र ज्ञान र संयम सफल लगानीका आधार हुन् । नेपालमा कतिपयले बजारलाई छोटो अवधिको कारोबारका रुपमा हेर्छन् तर वास्तमा पुँजीबजार जनताको वचतलाई उत्पादनशील लगानीमा रुपान्तरण गर्ने माध्यम हो ।’ उनले बजारमा धेरै लगानीकर्ता आइरहेको बताउँदै सेयर बजारको बारेमा साक्षरताको कमी देखिएको समेत बताए । नेपाल सेयर बजार लगानीकर्ता संघले साक्षरताका लागि नेतृत्व लिन समेत उनले सुझाव दिए । कार्यक्रममा सेयर बजार लगानीकर्ता संघका अध्यक्ष डा. केशव श्रेष्ठले नेपालमा सेयर लगानीकर्ताहरु संगठित हुन जरुरी रहेकाले संघ स्थापना गरीएको बताए । उनका अनुसार लगानीकर्ताको आवाजलाई नीतिगत तहसम्मै पुर्याउन संघले महत्वपूर्ण भुमिका खेलेको छ । अध्यक्ष श्रेष्ठले भने–‘एउटा ठूलो तप्का ७० लाख सेयरका डिमाण्ट एकाउण्टवाला छन् । यो संख्या उल्लेख्य हो । नेपालको पुँजीबजारलाई चलायमान बनाउने कुरामा उनीको भूमिका असाध्यै महत्वपूर्ण हुन्छ । तर सेयर बजारका लगानीकर्ताहरु जति छरिएर रहेका छौं । यसले हाम्रो आवाज नीतिगत तहसम्म पुग्न सही तवरले पुर्याउन सकेका छौ की छैनौँ भनेर विश्लेषण गरेपछि यो संस्था खोलिएको हो ।’ कार्यक्रममा साधारण लगानीकर्ता संघका अध्यक्ष रितुजंग जिसीले राज्यले राम्रो प्लेटफर्म बनाइदिएर संसारभर सेयर बजारको कारोबार हुने गरेको बताउँदै नेपालमा लगानीकर्ताको हितका लागि राज्यले राम्रो काम नगरिदिदाँ आफूहरु संघ, संगठन बनाएर हिँड्नुपर्ने अवस्था आएको बताए । उनले सेयर बजारका एजेण्डाहरु बोकेर नियमक निकायमा जाँदा बेवास्ता गरिने गरिएको गुनासो समेत गरे ।