दरमखोला हाईड्रोको आईपीओमा स्थानीय र विदेशमा रहेका नेपालीले आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । दरमखोला हाईड्रोपावर इनर्जीको आईपीओमा आवेदन दिने आज असार २३ गते अन्तिम दिन रहेको छ । असार ९ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात् ३९ करोड ५० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३९ लाख ५० हजार कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात १० लाख ३० हजार ५ सय कित्ता सेयरमा आयोजना प्रभावित क्षेत्र गुल्मीको मुसीकोट नगरपालिका, बाग्लुङको गल्कोट नगरपालिका, बडीगाड गाउँपालिकाका स्थायी बसोवासले आवेदन दिन सक्नेछन् । साथै, सर्वसाधारणलाई छुट्याइएको २८.३३ प्रतिशत अर्थात् २९ लाख १९ हजार ५ सय कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् २ लाख ९१ हजार ९५० कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपाली, २ प्रतिशत अर्थात् ५८ हजार ३९० कित्ता कर्मचारी, ५ प्रतिशत अर्थात् १ लाख ४५ हजार ९७५ कित्ता सामूहिक लगानी कोष र बाँकी २४ लाख २३ हजार १८५ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले दरमखोला पावरहाउस मानेबापाटा, ग्लोबल आइएमई बैंकको वामी, लक्ष्मी सनराइज बैंक, प्रभु बैंकको गल्कोट शाखाबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
गर्जाङ उपत्यका हाइड्रोले आईपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
काठमाडौं । गर्जाङ उपत्यका हाइड्रो पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ । सेयर निष्कासनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सम्झौता गरी मुक्तिनाथ क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी दिएको कम्पनीले जनाएको छ । सम्झौतापत्रमा गर्जाङ उपत्यका हाइड्रो पावरका अध्यक्ष अरुणकुमार सुवेदी र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । कम्पनीले ५० करोड रुपैयाँ जारी पूँजीको २० प्रतिशत बराबर १० करोड रुपैयाँ अर्थात १० लाख कित्ता साधारण सेयर प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा सर्वसाधारणमा बिक्री गर्नेछ । आवश्यक नियामक स्वीकृति प्राप्त भएपछि सेयर निष्कासन प्रक्रिया अघि बढाइने बताइएको छ ।
अप्पर स्याङ्गे हाईड्रोपावरको सेयर रजिष्ट्रार सेवा माछापुच्छ्रे क्यापिटलले गर्ने
काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड र अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडबीच सेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्ने सम्झौता भएको छ । आइतबार हस्ताक्षर गरिएको सम्झौताबमोजिम अप्पर स्याङ्गे हाईड्रोपावरका सेयर अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने, लगत अद्यावधिकजस्ता सम्पूर्ण काम माछापुच्छ्रे क्यापिटलले गर्नेछ। सम्झौतापत्रमा माछापुच्छ्रे क्यापिटलका सीईओ उपेन्द्र मालाकार र अप्पर स्याङ्गे हाईड्रोपावरका प्रबन्ध निर्देशक विरबहादुर घलेले हस्ताक्षर गरेका हुन् । अबदेखि सम्पूर्ण सेयर रजिष्ट्रार सेवा माछापुच्छ्रे क्यापिटलको बागदरबारस्थित जेडीए कम्प्लेक्सको तेस्रो तलाबाट सञ्चालन हुनेछ।