एउटै व्यक्तिले ५ प्रतिशत सेयर खरिद गरे लगानीकर्तालाई जानकारी दिनुपर्ने

काठमाडौं । एउटै व्यक्तिले ५ प्रतिशत सेयर खरिद गरेमा लगानीकर्ताहरूलाई जानकारी गराउनुपर्ने भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एउटै व्यक्ति वा संस्थाले संगठित संस्थाको ५ प्रतिशत वा सो भन्दा बढी हुने गरी सेयर लिएमा लगानीकर्ताहरुलाई जानकारी गराउनुपर्ने जनाएको हो  ।  नेप्सेका अनुसार सूचीकृत धितोपत्रको बजार मूल्यमा असर पार्न सक्ने कुनै घटना वा कारोबार भएमा १० करोड रुपैयाँ वा सोभन्दा माथिको सम्पत्ति खरिद वा बिक्री सम्बन्धी निर्णय, १० करोड रुपैयाँ वा सो भन्दा माथिको दायित्व वहन गर्नुपर्ने संभावना भएको मुद्दा अदालतमा दायर भएमा लगानीकर्ताहरूलाई जानकारी गराउनुपर्नेछ ।  यस्तै, प्राकृतिक विपद्, आकस्मिक घटना, तालाबन्दी वा अन्य कुनै कारणले संगठित संस्थाको दैनिक काम कारवाही रोक्नु पर्ने भएमा, वार्षिक शुल्क बुझाउनु पर्ने, सूचीकृत संगठित संस्थाको संचालक समितिले संस्था गाभ्ने गाभिने वा विलय हुने वा खरिद गरी लिने वा टुक्रिने निर्णय गरेमा जानकारी गराउनुपर्ने नेप्सेले जनाएको छ । ​धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ तथा धितोपत्र सूचीकरण सम्झौतामा भएका शर्त बमोजिम विभिन्न सूचना तथा जानकारीहरू तोकिएको ढाँचा र समयमा तोकिएको माध्यम नट्स लगइनबाट नेप्सेमा उपलब्ध गराउनुपर्ने जनाएको छ । 

नेप्सेको अध्यक्षमा हेमन्त बस्याल नियुक्त

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्षमा हेमन्त बस्याल नियुक्त भएका छन् । मन्त्रीस्तरीय निर्णयमार्फत उनलाई ३ वर्षे कार्यकालका लागि नियुक्त गरिएको हो । नेप्से लामो समयदेखि अध्यक्षविहीन अवस्थामा थियो । शोभाकान्त पौडेल सहसचिवबाट सचिवमा बढुवा भएपछि नयाँ अध्यक्ष नियुक्ति नभएको अवस्थामा बस्याललाई जिम्मेवारी दिइएको हो । बस्याल यसअघि एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० थिए । उनले केही दिनअघि व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए । करिब दुई वर्षअघि उनी सो कम्पनीको सीईओ बनेका थिए ।

११.५२ अंकले घट्यो नेप्से परिसूचक, करिब साढे चार अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.५२ अंकले ओरालो लागेको छ । नेप्सेका अनुसार आइतबारको कारोबारमा परिसूचक ०.४२ प्रतिशतले घटेर दुई हजार ७०८.२५ अंकमा कायम भएको हो । आइतबार विभिन्न ३३४ कम्पनीका एक करोड ११ लाख २४ हजार ८४५ कित्ता सेयर ५८ हजार ८७ पटक रु चार अर्ब ४० करोड २७ लाख ६७ हजार २७१ दशमलव ७२ मा कारोबार भएको छ । आज १७३ वटा कम्पनीको सेयर मूल्य घट्दा ७९ वटाको बढेको छ ।       हिम स्टार ऊर्जा कम्पनी लिमिटेडको सेयर मूल्य ९.९७ प्रतिशत, एनआइबिएल समृद्धि फण्ड–२ को ५.८३ प्रतिशत, युनिभर्सल पावर कम्पनीको ५.१२ प्रतिशतले घटेको छ । साथै पञ्चकन्या माइ हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ४.६२ प्रतिशत, विकास हाइड्रोपावर कम्पनी लिमिटेडको ३.९२ प्रतिशतले ओरालो लागेको छ ।