नेपाल इन्स्योरेन्सको सेयर आजदेखि बिक्री खुला, यसरी दिन सकिन्छ आवेदन

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आज भदौ २७ गतेदेखि अवितरित हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले गत साउन ६ गतेदेखि भदौ २ गतेसम्म १० बराबर ३.४७ अनुपातमा जारी गरेको हकप्रदमा आवेदन नपरेको सेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गरेको हो । कम्पनीले चुक्ता पुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार रुपैयाँको ३४.७८ प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ३.४७ कित्ता सेयर अनुपातमा ६५ करोड ७६ लाख ९६ हजार ७६६ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद सेयर जारी गरेको थियो । उक्त समयमा कम्पनीको संस्थापक सेयरधनी समूहतर्फ ४ हजार ४६८ कित्ता सेयर र सर्वसाधारण सेयरधनी समूहतर्फ १ लाख ९२ हजार ५७४ कित्ता गरी कुल १ लाख ९७ हजार ४२ कित्ता सेयरमा भने आवेदन परेको थिएन । उक्त सेयर लिलाम बढाबढमा बिक्री गरिएको कम्पनीले जनाएको छ । कम्पनीको सेयर मूल्य १ सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । उक्त सेयर खरिदका लागि असोज ५ गतेसम्म बोलपत्र पेश गर्न सकिने कम्पनीले जनाएको छ । बोलपत्र पेश गर्दा संस्थापकतर्फ न्यूनतम १ हजार कित्ता र सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ता सेयर लागि आवेदन दिनु पर्नेछ । इन्स्योरेन्सको सेयर बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ । लगानीकर्ताले एनआईएमबि एस क्यापिटलका केन्द्रीय कार्यालय लाजिम्पाट तथा चिप्लेढुङ्ग (पोखरा), ट्राफिकचोक (बुटवल), आदर्शनगर (वीरगंज) र गोल्छाचोक (विराटनगर) शाखा कार्यालयबाट आवेदन दिन सक्ने जनाएको छ ।

सागर डिष्टिलरीको आईपीओ निष्काशन स्थगित

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले साधारण सेयर (आईपीओ)को सार्वजनिक निष्काशन तथा बिक्री स्थगित गर्ने निर्णय गरेको छ । कम्पनीले भदौ २५ गतेदेखि आईपीओ खुला गर्ने गरी गत भदौ १७ गते आह्वानपत्र प्रकाशित गरेको थियो । तर, मुलुकमा देखिएको विषम परिस्थितिलाई मध्यनजर गर्दै सार्वजनिक निष्काशन प्रक्रिया अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको कम्पनीले जनाएको छ ।

आज र भोली सेयर कारोबार नहुने

काठमाडौं । २ दिन सेयर कारोबार नहुने भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एक सूचना जारी गर्दै आज र भोली सेयर कारोबार नहुने जनाएको छ ।  हालको विषम परिस्थिति एवम् कारोबार सदस्य तथा लगानीकर्ताहरुबाट समेत कारोबार स्थगन गर्न अनुरोध भई आएकोले भदौ २५ र २६ गते दुई दिन सेयर कारोबार स्थगन गरिएको प्रवक्ता मुराहरी पराजुलीले बताए ।  सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) अनुसार दुई दिनको सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको उनको भनाइ छ ।