७ अर्ब बढीको कारोबार, ५ कम्पनीको सेयरमा सकारात्मक सर्किट
काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७ अंकले बढ्दै २,६९६ बिन्दुमा पुगेको छ । नेप्सेले दिएको जानकारी अनुसार आज १४७ कम्पनीको सेयर मूल्य बढेको छ भने ९७ कम्पनीको घटेको छ । २ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन । आज ३२९ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ७ अर्ब २६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार न्यादी ग्रुप पावरको भएको छ । न्यादीको सेयर ५९ करोड रुपैयाँभन्दा बढीमा किनबेच भएको छ । त्यसपछि राधी विद्युत कम्पनीको ५० करोड, बलेफी हाइड्रोपावरको ४२ करोड, एनआरएन इन्फ्रास्ट्रक्चरको ४० करोड र हिमालयन पावरको ३१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आजको कारोबारमा कर्पोरेट डेभलपमेन्ट बैंक, बलेफी हाइड्रोपावर, नेपाल माइक्रो इन्स्योरेन्स, राधी विद्युत कम्पनी र क्रेस्ट माइक्रो लाइफको सेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । आज हाइड्रोपावर समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । सो समूह सबैभन्दा धेरै १.६३ प्रतिशतले बढेको छ । त्यसैगरी बैंकिङ ०.३९, विकास बैंक १.११, जीवन बीमा ०.०५, निर्जीवन बीमा ०.५५ र व्यापार समूह ०.११ प्रतिशतले वृद्धि भएका छन् । फाइनान्स ०.६७, होटल तथा पर्यटन ०.१६, लगानी ०.३५, उत्पादन ०.१६, माइक्रोफाइनान्स ०.०६ र अन्य समूह १.०७ प्रतिशतले घटेका छन् ।
स्वरोजगार लघुवित्तको साधारण सभा वैशाख २९ गते, १३.५० प्रतिशत बोनस सेयर प्रस्ताव
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न वैशाख २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा दिउँसो ११:३० बजेबाट सुरु हुने लघुवित्तले जनाएको छ । संस्थाले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १३.५० प्रतिशत बोनस सेयर र त्यसबाट लाग्ने कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव सभामा पेश गर्नेछ । त्यस्तै, सभाबाट मर्जर तथा एक्विजिशनसम्बन्धी कार्यको लागि सञ्चालक समितिलाई आवश्यक अधिकार प्रदान गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावहरू पनि पारित गरिनेछ । साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले वैशाख ११ गते बुक क्लोज गर्नेछ । जस अनुसार वैशाख १० गतेसम्म नेप्सेमा कारोबार भई नाम कायम भएका सेयरधनीहरूलाई सभा सहभागी र लाभांश प्राप्त गर्ने छन् ।
नेप्सेमा साढे १४ अर्बको बोनस सेयर सूचीकृत
काठमाडौं । ८ महिनामा साढे १४ अर्ब रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिनामा १४ अर्ब ३९ करोड रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार १३ अर्ब ९२ करोड रुपैयाँ बराबरको साधारण सेयर, ५ अर्ब ६२ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, १ अर्ब २५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ८ करोड ७३ लाख रुपैयाँ बराबरको एफपीओ र ३ अर्ब ९६ करोड रुपैयाँ बराबरको अन्य सेयर गरी कुल ३९ अर्ब २३ करोड रुपैयाँ बराबरको थप सेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा फागुनसम्ममा सूचीकृत ८ अर्ब ७० करोड सेयरको चुक्ता मूल्य ८ खर्ब ५७ अर्ब ५० करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले १० अर्ब २० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ९ अर्ब ३० करोड रुपैयाँ बराबरको हकप्रद सेयर, १ अर्ब ३२ करोड रुपैयाँ बराबरको डिबेन्चर र १ अर्ब २ करोड रुपैयाँ बराबरको साधारण सेयर गरी कुल २१ अर्ब ८३ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।