सेयर निष्कासन गर्ने तयारीमा मुक्तिनाथ फुड बैंक, परामर्शकर्तामा मुक्तिनाथ क्यापिटल

काठमाडौं । मुक्तिनाथ फुड बैंकले प्राथमिक सेयर निष्कासन प्रक्रिया अघि बढाउने तयारीस्वरूप मुक्तिनाथ क्यापिटल लिमिटेडसँग परामर्श सेवा सम्झौता गरेको छ । संस्थागत परामर्श सेवा उपलब्ध गराउँदै आएको मुक्तिनाथ क्यापिटलले कम्पनी स्थापनाकालदेखि सेयर निष्कासनसम्मको समग्र प्रक्रिया सहज बनाउन सहयोग गर्ने मुक्तिनाथ फुड बैंकले जनाएकाे छ । सम्झौतामा मुक्तिनाथ फुड बैंकका तर्फबाट सञ्चालक मोहनकुमार बस्नेत र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कविन्द्रध्वज जोशीले हस्ताक्षर गरे । सम्झौताअनुसार कम्पनीले पूँजी संरचना परिमार्जन, हकप्रद सेयर निष्कासन, पूँजी संकलन लगायतका विषयमा आवश्यक परामर्श प्राप्त गर्नेछ । यस्तै, कम्पनीको प्रबन्धपत्रअनुसार व्यावसायिक विस्तारका लागि आवश्यक सहजीकरण पनि सम्झौतामार्फत गरिनेछ । मुक्तिनाथ फुड बैंकले आउँदो वैशाख १७ गते विशेष साधारण सभा आह्वान गरी हकप्रद सेयर निष्कासन प्रस्ताव पारित गर्ने तयारी गरेको छ । उक्त प्रस्ताव पारित भएपछि चालु आर्थिक वर्ष २०८१/८२ भित्रमा चुक्ता पूँजी ४० करोड पुर्‍याउने र आगामी आर्थिक वर्ष २०८२/८३ भित्र सर्वसाधारणलाई सेयर निष्कासन गर्ने लक्ष्य कम्पनीले लिएको छ ।

सेयर बजारमा दोहोरो अंकको गिरावट, ८ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १६.०८ अंकले घटेर २७०६.०५ बिन्दुमा झरेको हो । बजार खुलेको केही समय सकारात्मक देखिए पनि अन्त्यसम्म आइपुग्दा नेप्से ओरालो लागेको हो । सूचकसँगै कारोबार भएका अधिकांश कम्पनीको मूल्यमा पनि गिरावट देखिएको छ । आज ३२८ वटा कम्पनीको २ करोड कित्ता भन्दा बढी सेयर किनबेच हुँदा ८ अर्ब ४३ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।  आज ५३ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा १९२ कम्पनीको सेयर घटेका छन् । एक कम्पनीको मूल्य भने स्थिर रह्यो ।  सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको भएको छ । राधीको कुल कारोबार रकम ६८ करोड रुपैयाँ नाघेको छ । त्यस्तै, न्यादी ग्रुपको ५७ करोड, बलेफी हाइड्रोपावरको ५६ करोड, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ३८ करोड र सानिमा माइ हाइड्रोपावरको ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल माइक्रो इन्स्योरेन्स र केस्ट माइक्रो लाइफको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको हो । आजको कारोबारमा अधिकांश समूहको उपसूचक घटेको देखिएको छ भने केही समूहमा वृद्धि भएको छ ।उत्पादन तथा प्रशोधन समूह ०.५२ प्रतिशतले र व्यापार समूह १.०२ प्रतिशतले बढेका छन् । तर, बैंकिङ ०.७०, विकास बैंक ०.७९, वित्त १.२७, होटल तथा पर्यटन १.३६, जलविद्युत् १.२२, र लगानी समूह ०.०६ प्रतिशतले घटेका छन् । त्यस्तै, जीवन बिमा ०.८७, लघुवित्त ०.५४, म्युचुअल फन्ड ०.२३, निर्जीवन बिमा ०.२२ र अन्य समूह १.०३ प्रतिशतले घटेकाे नेप्सेले जनाएकाे छ।

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र बिक्री खुला, ७ प्रतिशत ब्याजदर

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आज वैशाख ७ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले ७ वर्ष अवधि रहेको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत आरबीबी डिबेञ्चर २०८८’ बिक्री खुला गरेको हो । बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य दरका २ अर्ब ५० करोड रुपैयाँको २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् १५ लाख कित्ता व्यक्तिगत र ४० प्रतिशत अर्थात् १० लाख कित्ता ऋणपत्र सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गरिने बैंकले जनाएको छ । साथै सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताहरूले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् । बैंकका ऋणपत्रमा बैशाख १० गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिभित्र सम्पूर्ण ऋणपत्र बिक्री नभएको खण्डमा आवेदन दिने समय वैशाख २१ गतेसम्म लम्बिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । लगानीकर्ताहरूले सीआस्बा सेवामा आवद्ध बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग्स नेपालले बैंकलाई केयर एनपी ए प्लस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता तुलनात्मक रुपमा पर्याप्त तथा न्यूनतम् कर्जा जोखिम भएको संस्था रहेको संकेत गर्दछ ।