लाभांश पारित गर्न चिलिमे जलविद्युतले बोलायो २७औं साधारणसभा, बुक क्लोज कहिले ?

काठमाडौं । लाभांश पारित गर्न चिलिमे जलविद्युत कम्पनीले २७औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको मंसिर २२ गते बसेको बैठकले पुस २० गते राष्ट्रिय सभागृह काठमाडौंमा बिहान ११ बजे साधारणसभा डाकेको हो । कम्पनीको सभाले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पूँजी ७ अर्ब २५ करोड ८१ लाख ७९ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । सञ्चालक समितिका सदस्यहरुको सुविधा बढाउने, दुई जना स्वतन्त्र सञ्चालकको निर्वाचन, सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने एक जना महिलासहित ४ जना सञ्चालकको निर्वाचन गर्नेछ । कम्पनीले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर पुस ८ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंसिर ७ गतेसम्म कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।

कुमारी बैंकको सहायक कम्पनी केबीएल सेक्युरिटिज सञ्चालनमा

काठमाडौं । केबीएल सेक्युरिटिज (सेयर ब्रोकर नं. ९४) ले औपचारिक रुपमा धितोपत्र कारोबार सुरु गरेको छ। आज एक कार्यक्रमको आयोजना गरी कुमारी बैंकको सञ्चालक समितिका अध्यक्ष अमिरप्रताप ज.ब.राणाले कम्पनीको कारोबार शुभारम्भको उद्घाटन गरेका हुन् । कार्यक्रममा केबीएल सेक्युरिटिज, कुमारी बैंक तथा कुमारी क्यापिटल सञ्चालक समितिका पदाधिकारी, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका कर्मचारी तथा लगानीकर्ताको उपस्थिति थियो । कारोबार शुभारम्भ गरेसँगै सेयर बजारका लगानीकर्तालाई उत्कृष्ट र सर्वसुलभ सेवा प्रदान गर्न केबीएल सेक्युरिटिज सदैव प्रयासरत रहने कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय रेग्मीले बताए। केबीएल सेक्युरिटिज कुमारी बैंकको पूर्ण स्वामित्व रहेको नेपाल धितोपत्र बोर्डबाट मान्यता प्राप्त सीमित कारोबार गर्ने धितोपत्र दलाल व्यवसायी हो।

साढे ४४ करोडको आईपीओ ल्याउँदै विकास हाइड्रो

काठमाडौं । विकास हाइड्रोपावर कम्पनीले कुल ४४ करोड ५४ लाख रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) निष्काशन गर्ने भएको छ । सो मात्राको आईपीओ निष्काशन गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डमा ओवदन दिई प्रकृया अघि बढाइसकेको छ । बोर्डको अनुमति पाए पश्चात हाइड्रोले अंकित मूल्य १०० रुपैयाँको दरले ४४ लाख ५४ हजार ५९६ कित्ता आईपीओ सर्वसाधारणमा बिक्री गर्ने छ । कम्पनीले बिक्री प्रबन्धक प्रभु क्यापिटलमार्फत आईपीओ जारी गर्न गत मंसिर १९ गतेनै बोर्डसँग अनुमति मागेको हो ।