१० प्रतिशत ब्याज पाइने कुमारी बैंकको ५ अर्बको ऋणपत्र बिक्री खुला

काठमाडौं । कुमारी बैंकले आज कात्तिक २ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले १० वर्ष अवधिको ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ ऋणपत्र बिक्री खुला गरेको हो । बैंकले बिक्री गरेको यस ऋणपत्रको ब्याजदर वार्षिक १० प्रतिशत रहेको छ । बैंकले प्रतिकित्ता १ हजार अंकित मूल्य दरका ५ अर्ब रुपैयाँ बराबरको ६० लाख कित्ता ऋणपत्र बिक्री गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् ३० लाख कित्ता व्यक्तिगत र बाँकी ४० प्रतिशत अर्थात् २० लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ । सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई छुट्याइएको बैंकले जनाएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्ताका लागि आवेदन दिन सक्ने छन् । बैंकको ऋणपत्रमा छिटोमा कात्तिक १२ गते र ढिलोमा कात्तिक १६ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् ऋणपत्रमा आवेदन दिन सक्नेछन् । इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्लस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।

बैंकको ब्याजदर घटेसँगै बजारमा हरियाली, ४३ अंकले उछाल आउँदा २२३ कम्पनीको मूल्य बढ्यो

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटेपछि सेयर बजारमा हरियाली छाएको छ । अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले कात्तिकमा ब्याजदर घटाउने निर्णय गरेका छन् । जसको प्रत्यक्ष प्रभाव पूँजी बजारमा परेको लगानीकर्ताहरु बताउँछन् । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४३.२७ अंकले बढेर १९०७.८९ विन्दुमा बन्द भएको छ । बैंकको ब्याजदरसँगै ब्रोकर कमिशन घटाउने निर्णय भएको सन्देश लगानीकर्ताहरुमाझ पुगेपछि सेयर बजार बढेको अनुमान लगानीकर्ताहरुले गरेका छन् । आज दिनभरिमा २८६ कम्पनीको ३७ लाख ७२ हजार २३ कित्ता सेयर ३१ हजार ७८८ पटक खरिद बिक्री हुँदा ९३ करोड ४८ लाख ९४ हजार २१८ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । साथै, आज दिनभरिमा २२३ कम्पनीको सेयर मूल्य बढेको छ भने १० कम्पनीको मात्रै सेयर मूल्य घटेको छ । बुधबार सानिमा जनरल इन्स्योरेन्सको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । इन्स्योरेन्सको प्रतिकित्ता ४३४ रुपैयाँमा ४ करोड ४६ लाख ४ हजार रुपैयाँ बराबरको कारोबार भएको देखिन्छ । यस्तै, कुमारी बैंकको संस्थापक सेयरको कारोबार पनि धेरै भएको छ । बैंकको ३ करोड १३ लाख ९९ हजार रुपैयाँ बराबरको संस्थापक कारोबार भएको छ । साथै, आज दुई लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आदर्श लघुवित्तको सेयर मूल्य १० प्रतिशत र इन्फिनिटी लघुवित्तको सेयर मूल्यमा ९.९७ प्रतिशतले सकरात्मक सर्किट लागेको हो ।

स्वाबलम्बन लघुवित्तको लाभांश हालसम्मकै कम, ७० प्रतिशतसम्म बाँडेको इतिहास

काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्त सञ्चालक समितिको असोज ३० गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको १२.३५९९ प्रतिशत बोनस सेयर ०.६५०५ प्रतिशत नगद गरी कूल १३.०१०४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तको हाल चुक्ता पूजी १ अर्ब २९ करोड ४ लाख ९५ हजार ५ सय रुपैयाँ रहेको छ । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुले प्राप्त गर्ने छन् । लघुवित्तले घोषणा गरेको उक्त लाभांश हालसम्म कै कम हो । यसअघि लघुवित्तले ७० प्रतिशतसम्म लाभांश वितरण गरेको ईतिहास छ ।  लघुवित्तले आर्थिक वर्ष २०६५/६६ र आर्थिक वर्ष २०६६/६७ मा समान १० प्रतिशत बोनस सेयर र ५.७९ प्रतिशत नगद गरी कूल १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०६७/६८ मा ३१.५८ प्रतिशत, आर्थिक वर्ष २०६८/६९ मा ३१.५८ प्रतिशत, आर्थिक वर्ष २०६९/७० मा २७.३७ प्रतिशत, आर्थिक वर्ष २०७०/७१ मा ७० प्रतिशत, आर्थिक वर्ष २०७१/७२ मा ५२.६३ प्रतिशत र आर्थिक वर्ष २०७२/७३ मा ५३.६८ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७३/७४ मा ३१.५८ प्रतिशत, आर्थिक वर्ष २०७४/७५ मा ३६.८४ प्रतिशत, आर्थिक वर्ष २०७५/७६ मा ४० प्रतिशत, आर्थिक वर्ष २०७६/७७ मा २० प्रतिशत, आर्थिक वर्ष २०७७/७८ मा २५ प्रतिशत र आर्थिक वर्ष २०७८/७९ मा २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।