मकर जितुमाया सुरी हाइड्रोले चैत १९ गतेदेखि आईपीओ बेच्दै, कति कित्ता खरिद गर्ने ?
काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरले चैत १९ गतेदेखि सर्वसाधारण लगानीकर्तालाई आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले जारी पूँजी ७६ करोड रुपैयाँको १४ करोड ४९ लाख ४० हजार रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १४ लाख ४९ हजार ४ सय कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये ८० हजार ७० कित्ता सामूहिक लगानी कोष, ३२ हजार २८ कित्ता कर्मचारी र १३ लाख ३७ हजार ३०२ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री गरेर बाँडफाँट गरिसकेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ छिटोमा चैत २२ गते र ढिलोमा २०८० वैशाख ३ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलमा रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय र अनलाइनबाट ‘मेरो शेयर’मार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
नेशनल माइक्रोफाइनान्स लघुवित्तको सेयर बिक्रीमा, प्रतिकित्ता १ हजार ११५ रुपैयाँ
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ । लघुवित्तले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको २१ हजार २५५ कित्ता सेयर बिक्री गर्ने भएको हो । लघुवित्तले संस्थापक सेयरधनी नरेश नेपालको नाममा रहेको १३ हजार ४२० कित्ता, शंकर गिरीको ६ हजार ३३५ कित्ता र गंगा लक्ष्मि अवालको १ हजार ५ सय कित्ता गरी कूल २१ हजार २५५ कित्ता सेयर बिक्रीमा राखेको हो । लघुवित्तले बिक्री गर्न लागेको सेयरको मूल्य प्रतिकित्ता न्यूनतम १ हजार ११५ रुपैयाँ तोकिएको छ । लघुवित्तले यसअघि संस्थापक सेयरधनीहरुका लागि ३५ दिनभित्र खरिद गर्न आह्वान गरेको थियो । संस्थापक सेयरधनीहरुले आवेदन नदिएको हुँदा खरिद गर्न इच्छुक सर्वसाधारण लगानीकर्ताहरुलाइ १५ दिन भित्र आवेदन दिन लघुवित्तले आग्रह गरेको छ ।
सिद्धार्थ बैंकको १२.५० प्रतिशत बोनस सेयरधनीको डिम्याट खातामा
काठमाडौं । सिद्धार्थ बैंकले वितरण गरेको लाभांश सेयरधनीहरुको खातामा जम्मा गरेको छ । बैंकको गत पुस २८ गते सम्पन्न २१ औं वार्षिक साधारण सभाले पारित गरेको १२.५० प्रतिशत बोनस सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो । बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएपश्चात् हितग्राही खातामा जम्मा गरेको बैंकले जनाएको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १२.५० प्रतिशत बोनस सेयर र ०.६६ प्रतिशत नगद लाभांश वितरण गरेको हो । बैंकले बुक क्लोज गरेको दिनसम्म कायम सेयरधनीहरुको हितग्राही खातामा बोनस जम्मा गरेको हो । साथै, बैंकले हालसम्म डिम्याट अभौतिकीकरण नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण अद्यावधिक गराउन आग्रह गरेको छ । बैंकको सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल रहेको छ ।