एनआईसी एशिया बैंकले बेच्न थाल्यो सीआईटीको सेयर, प्रतिकित्ता ७१७ रुपैयाँ

काठमाडौं । एनआईसी एशिया बैंकले नागरिक लगानी कोष (सीआईटी)मा रहेको सेयर बिक्री गर्ने भएको छ । बैंकको स्वामित्वमा भएको नागरिक लगानी कोषको २५ हजार कित्ता सेयर बिक्री गर्ने भएको हो । बैंकले बिक्री गर्न लागेको संस्थापक सेयरमा चैत १३ गतेदेखि चैत २० गतेसम्म आवेदन दिन सकिनेछ । बैंकले सो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७१७ रुपैयाँ तोकेको छ । सेयरको खरिद गर्न जोकोही इच्छुक लगानीकर्ताले आवेदन दिन पाउनेछन् । संस्थापक सेयर बिक्रीमा एनआईसी एशिया क्यापिटल रहेको छ । एनआईसी एशिया बैंकको कर्पाेरेट कार्यालय काठमाडौं, शाखा कार्यालय मोरङ्गको विराटनगर, वीरगंजको आदर्शनगर, पोखराको महेन्द्रपुल, बुटवलको श्रवणपथ, धनगढीको हस्पिटललाइन र सुर्खेतको विरेन्द्रनगरबाट आवेदन दिन सकिनेछ । नागरिक लगानी कोषमा एनआईसी एशिया बैंकको कूल ३ लाख ८२ हजार ५९० कित्ता सेयर लगानी रहेको छ ।

नयाँ सारथी लघुवित्तको सेयर खरिद गरे २० प्रतिशत लाभांश पाइने

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत लाभांश सुरक्षित गर्ने आज चैत १४ गते अन्तिम दिन रहेको छ । लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि चैत १५ गतेदेखि चैत २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न लघुवित्तले चैत २८ गते धुलिखेल काभ्रेपलाञ्चोकमा दिउँसो १ बजे १४औं वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्तको सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असारसम्मको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरण र आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ । यस्तै, सर्वसाधारणको लागि छुट्याएको साधारण सेयर सम्बन्धीत निकायबाट स्वीकृति लिई थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन गर्नेछ । यस्थै, एफपीओ र बोनस सेयर वितरणपश्चात् पूँजी वृद्धि हुने भएकाले प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्नेछ । नयाँ सारथी र विजय लघुवित्तबीच हुने मर्जर प्रक्रियालाई पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । यी दुवै लघुवित्त गत मंसिर २६ गते १ः१ स्वाप रेसियो अनुपातमा मर्जर सम्झौता भएको हो ।

पौने १४ करोडको आईपीओ जारी गर्दै नेपाल वेयरहाउजिङ्ग, पुग्यो धितोपत्र बोर्ड

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनीले पौने १४ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) जारी गर्ने प्रकृया अघि बढाएको छ । सो मात्राको आईपीओ निष्काशन गर्ने अनुमति माग्दै कम्पनी सोमबार नेपाल धितोपत्र बोर्ड (सेबोन) पुगेको हो । बोर्डले अनुमति दिएमा कम्पनीले एक सय अंकित मूल्यमा १३ लाख ७५ हजार कित्ता सेयर निष्काशन गर्ने छ । उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । कम्पनी नेपालमै पहिलो पटक आधुनिक कृषि उत्पादनलाई सहज र सुरक्षित तवरले दिर्घकालिन रुपमा भण्डारण सेवा प्रदान गर्ने, कृषिजन्य उत्पादनहरुको लिलाम बढाबढ तथा वेयरहाउस रिसिप्ट फाईनान्सीङ्गमा समन्वय गर्ने उद्देश्यले स्थापित भएकाे संस्था हाे ।