सानिमा मिडिल तमोर हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओमा आवेदन दिने अन्तिम दिन रहेको छ । कम्पनीको आईपीअ‍ोमा सर्वसाधारण लगानीकर्ताले आज फागुन ३० गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले फागुन २६ गतदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५ प्रतिशत अर्थात् ४९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ४ लाख ९९ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली र ५ प्रतिशत अर्थात् २ लाख ४९ हजार ९३६ कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरी बाँडफाँट गरिसकेको छ । बाँकी ४२ लाख ४८ हजार ९८३ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डकाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाटआवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक, वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लिरिङ्गले निर्माण गरेको मेरो सेयर प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

सिभिल लघुवित्तको ११.५८ प्रतिशत लाभांश पारित

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको ११.५८ प्रतिशत लाभांश पारित भएको छ ।लघुवित्तको हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र ०.५८ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश सहित जम्मा ११.५८ प्रतिशत लाभांश पारित भएको हो । संस्थाको सोमबार सम्पन्न एघारौँ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको हो । सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरु पनि पारित गरेको छ । साथै, सभाले वित्तीय संस्थाको नाम हिमालयन लघुवित्त वित्तीय संस्था रहनेलगायतका सम्पूर्ण सामान्य र विशेष प्रस्तावहरु पारित गरेको छ । यस वित्तीय संस्थाले हालसम्म ७५ शाखा कार्यालयहरु मार्फत ७४ हजार भन्दा बढि सदस्यहरुलाई लघुवित्तीय सेवा प्रदान गर्दै एक अर्ब ८ करोड बचत संकलन गरी ४ अर्ब २५ करोड भन्दा बढी लगानी गरेको छ ।

लक्ष्मी लघुवित्तको २० प्रतिशत लाभांश पारित, संचालकमा दुई जना निर्वाचित

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत लाभांश पारित भएको छ । संस्थाको सोमबार सम्पन्न एघारौं वार्षिक साधारण सभाले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश पारित गरेको हो । संस्थाका संचालक समितिका अध्यक्ष जीवन प्रकाश लिम्बुको अध्यक्षतामा सम्पन्न सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत भएको आ.व. २०७८/७९ को वार्षिक प्रतिवेदन पारित गरेको छ । कम्पनीले २०७९ असार मसान्तमा कायम रहेको चुक्ता पूँजी ३८ करोड ४० लाख ५४ हजार रहेको छ । सभाबाट संचालक समितिमा समूह ‘ख’ सर्वसाधारण सेयरवालाको प्रतिनिधित्व गर्ने संचालक पदमा डा.गणेश भट्टराई र सविना उपाध्याय पुनः निर्विरोध निर्वाचित भएका छन् । संस्थाले देशभर ५६ जिल्लाहरुमा ९० वटा शाखा कार्यालयहरु मार्फत १ लाखभन्दा बढी ग्राहक सदस्यहरुलाई सेवा दिइरहेको छ । विभिन्न प्रदेशमा ३ वटा प्रादेशिक कार्यालयहरु समेत स्थापना गरेको यस संस्थाले माघ मसान्तसम्म ६ अर्ब ९२ करोड कर्जा लगानी गरेको छ भने आफ्ना ग्राहक सदस्यहरुबाट २ अर्ब ४७ करोड बचत संकलन गरेको छ ।