सभापोखरी हाईड्रोपावर आइपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट नियुक्त
काठमाडौं । सभापोखरी हाईड्रोपावरले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले यसको लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्गसँग बुधबार सम्झौता गरेको छ । सो सम्झौतापत्रमा सभापोखरी हाईड्रोपावरको तर्फबाट प्रबन्ध निर्देशक श्रीराम देवकोटा र आरविवि मर्चेन्ट बैंकिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् । संखुवासभा जिल्लाको सभापोखरी गाँउपालिकामा लंखुवा खोला साना जलविद्युत आयोजना निर्माण गर्दै छ । ५ मेगा वाट क्षमताको उक्त आयोजनाको निमार्ण कार्य ८० प्रतिशत सम्पन्न भइसकेको छ । आरविवि मर्चेन्ट बैंकिङ्ग राष्ट्रिय वाणिज्य बैंकको पुर्ण स्वामित्वमा संचालित संस्था हो ।
बिहीबार २६ अंकले घट्यो सेयर बजार, हिमालयन डिस्टिलरीको उच्च कारोबार
काठमाडौं । बिहीबार सेयर बजार २६ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार बिहीबार सेयर बजार घटेर १९६९.०१ विन्दुमा पुगको छ । यसरी बजार घट्दा ग्लोबल आइएमई लघुवित्तका सेयरधनीले सबैभन्दा बढी गुमाएको छ । लघुवित्तका सेयरधनीले सेयर ७ प्रतिशतले घट्दा प्रति सेयर ६१ रुपैयाँ गुमाएका छन् । यस्तै, बुद्ध भुमि हाइड्रोपावर कम्पनीका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयरधनीले सेयर मूल्य ४.२९ प्रतिशतले बढ्दा प्रति सेयर १८ रुपैयाँ कमाएका छन् । नेप्सेको अनुसार आज ३६ लाख कित्ता सेयर किनबेच हुँदा एक अर्ब ३३ करोड रुपैयाँको कारोबार भएको छ । सबैभन्दा बढी कारोबार गर्ने कम्पनीमा हिमालयन डिस्टिलरी रहेको छ । कम्पनीको ८ करोड १२ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
सुपर मादी हाइड्राेपावर र शुभम पावरकाे आईपीओ नेप्सेमा सूचीकृत
काठमाडौं । सुपर मादी हाइड्रोपावर र शुभम पावरको आईपीओ नेप्सेमा सूचीकृत भएको छ ।दुवै कम्पनीले सर्वसाधारणको लागि निष्काशनमा ल्याएको सेयर बिहीबार नेप्सेमा सूचीकृत भएको हो । सुपर मादी हाइड्रोपावरको पनि २ करोड १० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।कम्पनीको सेयरलाई नेप्सेले प्रति कित्ता न्युनतम ९९ रुपैयाँ ८० पैसादेखि २९९ रुपैयाँ ४० पैसा सम्मको ओपनिङ्ग रेन्ज दिएको छ । सोहि रेन्जको आधारमा रहेर आइतबारदेखि कम्पनीको सेयर कारोबार हुनेछ । यस्तै, शुभम पावरको दुई करोड १० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको सेयरलाई नेप्सेले प्रति कित्ता न्युनतम ९९.८० रुपैयाँदेखि २९९.४० रुपैयाँ सम्मको ओपनिङ्ग रेन्ज दिएको छ ।