सानिमा लाइफको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको बोनस सेयर नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ । कम्पनीको ८ लाख ४० हजार कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ४।२० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर मंगलबार नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत उक्त बोनस सेयर, सम्बन्धीत सेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

राष्ट्र बैंकले घटाइदियो मेगा बैंकको लाभांश, अब सेयरधनीले कति पाउँछन् ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मेगा बैंकको प्रस्तावित लाभांश घटाइदिएको छ । राष्ट्र बैंकले मेगा बैंकको प्रस्तावित नगद लाभांश ०.०४ प्रतिशतले घटाइदिएको हो । यस अघि प्रस्तावित बैंकको नगद लाभांश ३.८३ बाट ०.०४ घटेर ३.७९ प्रतिशत भएको छ । यद्यपी बैंकको बोनस लाभांश भने यथावत रहेको छ । यसअघि मेगा बैंकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र ३.८३ प्रतिशत नगद लाभांश गरी कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो जनु घटेर ७.७९ भएको छ ।

नेपाल एसबिआई बैंकले डबल डिजिटमा घोषणा गर्याे लाभांश

काठमाडौं । नेपाल एसबिआई बैंकले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद गरी कूल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ । बैंकको हाल चुक्ता पूँजी ९ अर्ब ८२ करोड ५८ लाख रुपैयाँ रहेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ मा सेयरधनीहरुलाई ६ प्रतिशत बोनस सेयर र ३.४७ प्रतिशत नगद गरी कूल ९.४७ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७७/७८ मा ३.५ प्रतिशत बोनस सेयर र १.८१ प्रतिशत नगद गरी कूल ५.३१ प्रतिशत लाभांश वितरण गरेको थियो ।