अझै दुई वर्ष नाफा कमाउन नसक्ने अवस्थामा अपर तामाकोशी, सेयरधनीले लाभांश नपाउने

काठमाडौं । चालू आर्थिक वर्षको तीन महिनामा माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको नाफा घटेको छ । गत भदौ २५ गतेदेखि विद्युत उत्पादन सुरु गरेको कम्पनीले असोज मसान्तसम्ममा ७९ करोड ७७ लाख २६ हजार रुपैयाँ नाफा कमाएको छ । सञ्चालन लागतमा भएको वृद्धिले कम्पनीको नाफा ७.२४ प्रतिशतले घटेको बुझिएको छ । गत आर्थिक वर्ष सोही अवधिमा कम्पनीले ८६ करोड १९ हजा रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । ४५६ मेगावाट क्षमता रहेको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले वि.सं. २०७८ भाद्र २५ देखि पूर्ण रुपमा विद्युतको व्यापारिक उत्पादन सुरु गरेको थियो । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस, बाढी पहिरो लगायत कारणहरूले आयोजना निर्माण सम्पन्न अवधी बढेको र समग्र आयोजनाको लागत वृद्धि भएकाले आयोजनाको लागत पनि बढेको थियो । बैंकको ब्याज खर्च बढेकोले पनि कम्पनीको नाफामा असर गरेको आयोजनाका उप-निर्देशक (लेखा) सुरेश राज खकुरेलले बताए । कम्पनीको विद्युत बिक्री आम्दानी बढ्न सक्ने अवस्था नरहेकोले आगामी आर्थिक वर्षमा समेत नाफामा असर पर्न सक्ने उनको भनाइ छ । अपर तामाकोसीले सरकार र अन्य संस्थाहरुलाई ठूलो रकम बराबरको ऋण तिर्नुपर्नेछ । हाल विद्युत उत्पादन गरेर आम्दानी गरिरहेको भएपनि कर्जा तिर्नुपर्ने भएकाले नाफामा असर गरिरहेको कम्पनीको भनाइ छ । आयोजनाले नेपाल सरकारलाई ३० वटा किस्ता र अन्य संस्थागत ऋणलाई ६० वटा किस्ता गरी १५ वर्षमा ऋण चुक्ता गरीसक्ने गरी तालिका बनाएको छ । सोही तालिका बमोजिम कम्पनीले आर्थिक वर्ष २०७९/८० असोजसम्म नेपाल सरकारलाई १ तथा अन्य संस्थाहरूलाई ३ किस्ता सावाँ तथा व्याज भुक्तानी गरिसकेको छ । चालू आर्थिक वर्षको तीन महिनामा कम्पनीको विद्युत बिक्री आम्दानी १०६ प्रतिशत बढेर ३ अर्ब ५६ करोड १७ लाख ८२ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले १ अर्ब ७२ करोड ७७ लाख ५१ हजार रुपैयाँ विद्यतु बिक्रीबाट आम्दानी गरेको थियो । कम्पनीको सञ्चालन आम्दानी २ अर्ब ४० करोड ४५ लाख ३४ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको सञ्चालन आम्दानी १ अर्ब ३६ करोड ६३ लाख ६६ हजार रुपैयाँ सञ्चालन आम्दानी रहेको थियो । कम्पनीको वित्तीय आम्दानी १ अर्ब ६१ करोड २ लाख ६२ हजार रुपैयाँ ऋणात्मक रहेको छ । जसले गर्दा नाफामा असर परेको हो । कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष १ अर्ब ९४ करोड ९४ लाख ७८ हजार रुपैयाँ ऋणात्मक रहेको छ । असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ५३ पैसा रहेको छ । कम्पनीकोप्रतिसेयर नेटवर्थ ८१ रुपैयाँ ५९ पैसा रहेको छ । आयोजनाका उप-निर्देशक (लेखा) सुरेश राज खकुरेलकम्पनीको विद्युत उत्पादन क्षमता अनुसार नै विद्युत उत्पादन भइरहेको बताउँछन् । विद्युत उत्पादन सुरु भएको १५/१६ महिनाको अवधिमा विद्युत उत्पादन एकनाश रहेकाले आम्दानी पनि राम्रो भइरहेको उनले उनको दावी छ । ‘तामाकोशीमा जति पानी आउनु पर्ने हो आइरहेको छ, उत्पादन घटेको छैन, जति स्टमेट गरिएको थियो सोही अनुसार विद्युत उत्पादन भइरहेकोछ,’ उनले भने । गत वर्ष भदौमा कम्पनीले विद्युत उत्पादन सुरु गरेको थियो । कम्पनीले गत वर्ष साउन, भदौ र असोज गरी तीन महिना आम्दानी भएको थियो । तर, दुई महिनाको खर्चलाई क्यापिटलाइज गरेर असोजको मात्रै वित्तीय विवरणमा उल्लेख गरेको उनले बताए । चालू आर्थिक वर्षको तीन महिनाको खर्च आएको उनको भनाइ छ । यस वर्ष साउन, भदौ र असोजमा ब्याज खर्च भएकाले गत वर्षको तुलनामा नाफा कम भएको उनले स्पष्ट पारे । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढेका कारण आयोजनाको लागत पनि बढेको उनले बताए । ‘ब्याजदर बढेकाले लागत पनि बढेको छ, कम्पनीले ठूलो रकम कर्जा लिएको छ, कम्पनीको खर्च पनि ठूलो हुन्छ, यसकारण गत असारसम्म कम्पनी घाटामा छ, एक/दुई वर्ष अझै घाटामा रहने देखिन्छ, ब्याज घट्यो भने केही सहज हुन सक्छ तर अहिलेको तुलनामा एक/दुई वर्ष नाफामा आउन गाह्रो हुन्छ’ उनले भने । चालू आर्थिक वर्षमा कम्पनीका सेयरधनीहरुलाई लाभांश वितरण गर्न नसक्ने उनको भनाइ छ । कम्पनी नोक्सानीमा रहेकाले सेयरधनीहरुलाई लाभांश वितरण गर्न असक्षम रहेको उनले बताए । ‘कम्पनीका सेयरधनीहरलाई लाभांश वितरण गर्न नाफामा हुनुपर्याे, गत असार मसान्त सम्ममा २ अर्ब बराबरको नोक्सानीमा छ, नाफा भए मात्रै लाभांश वितरण गर्ने भएकाले यो आर्थिक वर्षमा सम्भव छैन,’ उनले भने । ब्याजदरको लागत सस्तो भयो भने चाँडै लाभांश वितरण गर्न सकिने उनको तर्क छ । कम्पनीले २२ मेगावाटको रोल वालिङमा खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त खोलाको पानीलाई डाइभर्सन गरेर तामाकोशीमा हाल्ने गरी काम भइरहेको उनले बताए । उक्त आयोजना निर्माण गर्नका लागि कम्पनीले सेयधरनीहरुबाट रकम उठाउने भएको छ । जसका लागि १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने तयारी अन्तिम चरणमा रहेको उनले बताए । हकप्रद सेयर निष्कासन पश्चात् कम्पनीको वित्तीय सूचकहरूमा सुधार हुने अपेक्षा गरिएको उनको बुझाइ छ । ‘रोलवालिङ खोला जलविद्युत आयोजना निर्माणसम्पन्न र आयोजना निर्माण सम्बन्धी बाँकी रहेका भुक्तानी गर्न १ः१ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने तयारी छ, हकप्रद सेयर निष्काशनको प्रक्रिया अन्तिम चरणमा छ, कम्पनी रजिष्ट्रारबाट गर्नुपर्ने सबै काम सम्पन्न भइसक्यो, इस्यू म्यानेजर नियुक्त गरिसकेको छ, अब धितोपत्र बोर्डको अनुमतिका लागि निवेदन दिने तयारी छ, चालू आर्थिक वर्ष भित्र हकप्रद सेयर आउँछ,’ उनले भने । रोलवालिङ खोला जलविद्युत आयोजना निर्माणको प्रारम्भिक कार्य सुरु भइसकेको र आयोजनाको बाँकी रहेका अन्य प्रक्रिया टुङ्गो लगाइ यथाशिघ्र निर्माण सम्पन्न गर्ने आयोजनाले बताएको छ । आयोजना निर्माण सम्पन्न भइ सञ्चालनमा प्रवेश गरेको छ । आयोजनाको निर्माण अवधी तथा लागतका कारण ब्याज खर्च, ह्रासकट्टि खर्च र अन्य खर्चहरूको न्यूनिकरण गर्नुपर्ने कम्पनीको मुख्य चुनौति रहेको छ । साथै, विद्युत बिक्री आयको सुनिश्चितता गरीसञ्चालन तथा वित्तीय स्थिति मजबुत गरेर नाफा वृद्धी गर्ने र सेयरधनीहरुलाई उचित लाभाशं दिने प्रमुख लक्ष्यसँगै चुनौति रहेको उनको भनाइ छ ।

हिमालयन डिष्टिलरीले ७० प्रतिशत लाभांश दिने, पुस २७ गते डाक्यो साधारण सभा

काठमाडौं । हिमालयन डिष्टिलरी सेयरधनीलाई ७० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई ६० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । शुक्रबार बसेको कम्पनीको संचालक समिती बैठकले यस्तो प्रस्ताव गरेको हो । कम्पनीले प्रस्तावित लाभांश पारित गर्न पुस २७ गते साधारण सभा बोलाएको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस २० गते बुधबार बुक क्लोज मिति तोकेको छ । त्यसैले पुस १९ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम भएका सेयरधनीले मात्र लाभांश पाउनेछन् । कम्पनीले यस वर्ष दिने भनेर प्रस्ताव गरेको लाभांश गत वर्षको भन्दा कम रहेको छ । कम्पनीले गत वर्ष लगानीकर्ताहरुलाइ चुक्ता पुँजीको ७५ प्रतिशत बोनस सेयर तथा २५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

लाभांश पारित गर्न माउन्टेन इनर्जी नेपालले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । माउन्टेन इनर्जी नेपालले पुस ८ गतेको लागि वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई प्रस्ताव गरेको लाभांश पारित गर्न वार्षिक साधारणसभा बोलाएको हो । कम्पनीको संचालक समितीले गत वर्षको नाफाबाट सेयरधनीलाई १०.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यसको लागि कम्पनीले मंसिर २८ गतेको लागि बुक क्लोज मिति तोकेको छ । त्यसैले २७ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम भएका सेयरधनीले मात्र लाभांश पाउनेछन् ।