दोहोरो अंकले घट्यो बजार, बढी कारोबार गर्नेको अग्रस्थानमा ४ वाणिज्य बैंक

काठमाडौं । बिहीबारको सेयर बजार दोहोरो अंकले घटेको छ । बुधबार ६० अंकले उकालो लागेको नेप्से परिसूचक बिहीबार १४.७० अंकले घटेर २५५६.९६ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.५७ प्रतिशतले घटी हो । बिहीबारको बजारमा तीव्र उतारचढाव देखिएको थियो । दिनभरको कारोबारमा अधिकतम २५८५ पुगेको परिसूचक घटेर न्यूनतम २५४४ बिन्दुसम्म झरेको थियो । बजारमा परिसूचकसँगै कारोबार रकममा पनि घटेको छ । बुधबार २ अर्ब ६५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बिहीबार जम्मा २ अर्ब ६३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी कारोबार गर्नेको अग्रस्थानमा अधिकांश वाणिज्य बैंक रहेका छन् । बिहीबार सानिमा, माछापुच्छ्रे, नबिल र सिद्धार्थ बैंक बढी कारोबार गर्नेको अग्रस्थानमा रहेका छन् । जसमध्ये सानिमा बैंकको सबैभन्दा बढी अर्थात २७ करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, दोश्रो स्थानमा रहेको माछापुच्छ्रे बैंकको ११ करोड ५६ लाख रुपैयाँ, तेश्रोमा रहेको नबिलको ९ करोड ६४ लाख र सिद्धार्थ बैंकको ८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोहोरो अंकले घटेको बजारमा पनि मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १६९५ रुपैयाँ पुगेको छ । बिहीबार जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य सबैभन्दा बढी अर्थात ५.८७ प्रतिशतले घटेको छ । बुधबारको तुलनामा संस्थाको सेयर मूल्य १७.६० रुपैयाँले घटेर प्रतिकित्ता २८२ रुपैयाँमा झरेको छ । बजारमा म्युचुअल फण्ड र अन्य समूह बाहेक कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् ।

फर्ष्ट माइक्रोफाइनान्सले सार्वजनिक गर्यो तीन महिनाको वित्तीय विवरण, प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ

काठमाडौं । फर्ष्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार संस्थाले गत असोज मसान्तसम्ममा २ करोड ९६ लाख ४८ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा ६८ हजार रुपैयाँले घटी हो । संस्थाले आर्थिक वर्ष २०७७/७८ को असोज मसान्तसम्ममा २ करोड ९७ लाख १६ हजार रुपैयाँ बढी नाफा कमाएको थियो । समिक्षा अवधिमा संस्थाको खुद व्याज आम्दानी पनि घटेर ४ करोड ७९ लाख रुपैयाँमा सीमित भएको छ । गत आवको पहिलो त्रैमाससम्ममा संस्थाको खुद व्याज आम्दानी ५ करोड २७ लाख ५७ हजार रुपैयाँ रहेको थियो । त्यस्तै, सञ्चालन नाफा घटेर ४ करोड ७० लाख रुपैयाँमा झरेको छ । हाल संस्थाको चुक्ता पुँजी ९६ करोड ४४ लाख र जगेडा कोषमा २० करोड ३६ लाख रुपैयाँ सञ्चित रहेको छ । जुन अघिल्लो वर्षको पहिलो त्रैमासको तुलनामा क्रमशः १० र २२ प्रतिशतले बढी हो । समीक्षा अवधिमा संस्थाको प्रतिसेयर आम्दानी १२.३० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२१.११ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७३.६० रुपैयाँ रहेको छ । त्यस्तै, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ११३१.४१ रुपैयाँ रहेको छ ।

ईङवा हाइड्रोले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट

काठमाडौं । ईङवा हाइड्रोपावरले कूल १९ लाख ६० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको सो मात्राको साधारण सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्न लागेको हो । सो प्रयोजनको लागि कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई नियुक्त गरेको छ । उक्त नियुक्ति सम्बन्धी सम्झौतापत्रमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र ईङवा हाइड्रोको तर्फबाट सञ्चालक सतिश न्यौपानेले हस्ताक्षर गरेका हुन् । ईङवा हाइड्रोले ताप्लेजुङ्ग जिल्लामा ९.७ मेगावाट जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।