हकप्रद जारी गर्न शिखर इन्स्योरेन्स र एक्सेल डेभलपमेन्ट बैंकले अघि बढाए प्रकृया, पुगे धितोपत्र बोर्ड
काठमाडौं । शिखर इन्स्योरेन्स र एक्सेल डेभलमेन्ट बैंकले हकप्रद सेयर जारी गर्न प्रकृया अघि बढाएका छन् । उनीहरु दुबैले ३०/३० प्रतिशत हकप्रद जारी गर्ने प्रकृया अघि बढाउँदै नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेका हुन् । जसमध्ये शिखर इन्स्योरेन्स कम्पनीले ३० प्रतिशत अर्थात ५२ करोड ७५ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीले एक सय रुपैयाँ अंकित दरको ५२ लाख ७५ हजार ५७२ कित्ता सेयर निष्काशन गर्न गत जेठ २५ गते बोर्डसँग अनुमति मागेको हो । बोर्डले अनुमति दिएपश्चात इन्स्योरेन्सले सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल मार्फत सो मात्राको हकप्रद सेयर निष्काशन गर्ने छ । त्यस्तै, विकास बैंक अन्तर्गतको एक्सेल डेभलपमेन्ट बैंकले पनि ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रकृया अघि बढाएको छ । संस्थाले एक सय अंकित दरको २४ लाख ३३ हजार ३६३ कित्ता अर्थात २४ करोड ३३ लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो । संस्थाले गत जेठ २७ गते बोर्डमा फाइल पठाएको हो । यससँगै बोर्डले स्वीकृति दिएपश्चात संस्थाले सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल मार्फत सेयरधनीहरुमा हकप्रद सेयर जारी गर्ने छ ।
साताको शेयर बजार: ८३ अर्बको कारोबार
काठमाडाैं । धितोपत्र बजारमा यस साता ८३ अर्ब बढीको कारोबार भएको छ । लगातार उकालो लागेर नयाँ–नयाँ कीर्तिमान कायम गरेको नेप्सेले झण्डै तीन हजार बिन्दुको यात्रासमेत तय गरेको थियो । निषेधाज्ञाका कारण आम मानिस घरभित्रै बसेका तथा कारोबारसमेत प्रविधिमैत्री भएका कारण पनि कारोबार रकमका साथसाथै नेप्सेमा समेत उच्च अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जले शेयर कारोबार नियमित राख्दा त्यसको सकारात्मक प्रभाव बजारमा देखिएको छ । लगानीका अन्य स्रोतमा समस्या आएको तथा कोरोनाले बजार तथा व्यवसायसमेत बन्द भएकाले शेयर बजार नयाँ उचाइमा पुगेको जानकारहरूको टिप्पणी छ । नेप्सेका अनुसार कारोबार भएका साताका पाँच दिन नै औषतमा रु १६ अर्बको कारोवार भएको छ । नेप्सेका अनुसार कूल २२१ कम्पनीका १७ करोड पाँच लाख ९० हजार ६४३ कित्ता शेयर ८३ अर्ब १३ करोड ९२ लाख ५० हजार ७६७ मा कारोबार भए । कारोबारका आधारमा पनि पछिल्ला दिनमा यो सबैभन्दा बढीको कारोबार हो । साताको पहिलो दिन नै नेप्सेले कीर्तिमान कायम गरेको थियो । कोरोनाको नियन्त्रणका लागि सरकारले निषेधाज्ञा लगाइरहेका बेला नै नेप्से परिसूचक दुई हजार ९०० को बिन्दुमा पुग्यो । आइतबार नेप्से ५०.१३ बिन्दुले बढेर दुई हजार ९०६.८९ मा पुग्यो । त्यस दिन ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ७.८८ ले सुधार भई ५२०.९९ मा पुग्यो । कूल २१७ कम्पनीको तीन करोड ७४ लाख ५५ हजार १८९ कित्ता शेयर १७ अर्ब २७ करोड १७ लाख ८७ हजार ५२५ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये सात उपसमूहको शेयर उकालो लाग्दा छ उपसमूहको शेयर भने ओरालो लाग्यो । साताको पहिलो दिन रेकर्ड बनाएको नेप्से सोमबार भने झिनो अङ्कले ओरालो लाग्यो । त्यसदिन ०.२१ अङ्कले घटेर नेप्से दुई हजार ९०६.७० मा सीमित भयो । कूल १२१ कम्पनीका तीन करोड ५४ लाख ७४ हजार ४१४ कित्ता शेयर १५ अर्ब ८१ करोड ८६ लाख ५९ हजार ६३ मा कारोबार भयो । कारोबार हुने साताको तेस्रो दिन नेप्सेले नयाँ रेकर्ड बनायो । बजार पूँजीकरण पनि त्यस दिन ४१ खर्ब नाघ्यो भने सात कम्पनीको शेयरमा सर्किट लाग्यो । त्यस दिन मुलुकको कूल गार्हस्थ्य उत्पादनलाई शेयर बजारले पछाडि पार्दै कूल बजार पूँजीकरण ४१ खर्ब नौ अर्ब ५७ करोड २५ लाख ८८ हजार ८५८ बराबर पुग्यो । यो हालसम्मकै सबैभन्दा धेरै हो । सोही दिन नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले अन्य क्षेत्रमा लगानीको अवसर कोरोनाका कारण सङ्कटमा परेकाले नेपालको धितोपत्र बजार विस्तारित भएको बताएका थिए । सोमबारको तुलनामा मङ्गलबार बजार पूँजीकरण मात्रै ७४ अर्ब १९ करोड बढीले वृद्धि भएको थियो । मुलुकको कूल गार्हस्थ्य उत्पादन ४० खर्बको हाराहारीमा रहेको छ । त्यस दिन नेप्से परिसूचक ५३.४४ बिन्दुले वृद्धि भई दुई हजार ९६०.१४ मा पुग्यो । नेप्सेले कीर्तिमान कायम गर्दा ठूला कम्पनीको शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ७.४७ बिन्दुले उकालो लागेर ५२८.१० मा पुग्यो । कूल २१८ कम्पनीको तीन करोड ५७ लाख ३७४ कित्ता शेयर १६ अर्ब ९५ करोड १२ लाख ९९ हजार ४० मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये त्यस दिन तीन उपसमूहको शेयर ओरालो लाग्दा १० उपसमूहको शेयर भने उकालो लाग्यो । कारोबार हुने साताको चौथो दिन नेप्से तीन हजार बिन्दुमा पुगेर १३.५६ बिन्दुले घटी दुई हजार ९४६.५८ मा ओर्लियो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८३ बिन्दुले घटेर ५२५.२८ मा झ¥यो । कूल २२१ कम्पनीका तीन करोड १३ लाख ५४ हजार २२ कित्ता शेयर १६ अर्ब ९९ करोड ७० लाख ९२ हजार ७०३ मूल्यमा खरिद बिक्री भए । शेयर कारोबार हुने साताको अन्तिम दिन नेप्से परिसूचक झिनो अङ्कले ओरालो लाग्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.८० अङ्कले घटेर दुई हजार ९४४.७८ मा ओर्लेको थियो । कारोबार भएका कूल २२० कम्पनीका तीन करोड छ लाख छ हजार ६४४ कित्ता शेयर १६ अर्ब १० करोड चार लाख १२ हजार ४३६ मूल्यमा खरिद बिक्री भए । बिहीबारको कारोबारपछि बजार पूँजीकरण ३९ खर्ब ३६ अर्ब ७४ करोड ३४ लाख २८ हजार ९९५ बराबर रहेको छ । अघिल्ला दिनको तुलनामा बजार पूँजीकरण घट्यो । यस साता पनि बजार पूँजीकरणका आधारमा नेपाल दूरसञ्चार कम्पनी नै शीर्षस्थानमा रहेको छ । सो कम्पनीको कूल बजार पूँजीकरण रु एक खर्ब ९२ अर्ब १५ करोड बराबर पुगेको छ । नेपाल पुनर्बीमा कम्पनीको एक खर्ब ८८ अर्ब ८० करोड बराबर रहेको छ । नबिल बैंकको एक खर्ब ७५ अर्ब ७८ करोड १२ लाख ६५ हजार ५३६ बराबर बजार पूँजीकरण रहेको छ । नेपाल पूर्वाधार बैंकको एक खर्ब आठ अर्ब २० करोड बराबर रहेको छ । माथिल्लो तामाकोशीको भने ८१ अर्ब ६४ करोड ८९ लाख बराबरको बजार पूँजीकरण रहेको छ । नेपाल लाइफ इन्स्योरेन्सको एक खर्ब ५२ अर्ब २० करोड ७३ लाख ७४ हजार २५६, नागरिक लगानी कोषको एक खर्ब २२ अर्ब ८५ करोड १२ हजार २८५ बराबरको बजार पूँजीकरण रहेको छ ।
नेत्रहीनले सेयर काराेबार कसरी गर्ने ? यस्ता छन् समस्या
काठमाडौं । दोश्रो बजारमा सेयर कारोबार गर्ने नेत्रहीन लगानीकर्तामध्ये एक लगानीकर्ता हुन् कृष्ण आचार्य । उनी जन्मदेखि नै नेत्रहीन हुन् । उनले सेयर बजारमा प्रवेश गरेको करिब एक वर्ष हुन लागेको छ । यो अवधिमा सेयर कारोबार गर्दा विभिन्न समस्याहरु भाेग्नुपरेकाे उनी बताउँछन् । नेत्रहीनहरुले नदेख्ने भएको हुनाले उनीहरुले चलाउने कम्प्युटरमा बोल्ने अर्थात स्क्रिन रिडर सफ्टवेयर राखिएको हुन्छ । त्यसपछि मात्र उनीहरुले अन्यले जस्तै गरि सजिलै कम्युटर चलाउन सक्ने उनी बताउँछन् । टीएमएस कसरी लगइन गर्छन् ? सेयर काराेबार गर्नकाे लागि पहिले टीएमएस लगइन गर्नु पर्ने हुन्छ । नेत्रहीन लगानीकर्ताहरू स्क्रीन रिडरको सहायताले टीएमएसको वेवसाइटमा जान्छन् । लगइन गर्छन् । त्यहाँ नेपाल स्टक एक्स्चेञ्ज भनेर देखाइएको हुन्छ । जहाँ क्लाइन्ट कोड/युजरनेम भनेपछि उनीहरुले त्यसमा क्लाइन्ट कोड हाल्छन् । त्यसैगरी पासवर्ड पनि राख्छन् । र, क्याप्चा पछि हाल्नुपर्छ, जुन सफ्टवेयरले बोलिदिन्छ । जसमा हाल समस्या नभएको उनीहरु बताउँछन् । सेयर कारोबार गर्दा समस्या नेत्रहीन लगानीकर्ता आचार्यका अनुसार अन्य लगानीकर्ता भन्दा नेत्रहीन लगानीकर्ताले सेयर कारोबार गर्दा विभिन्न समस्याहरु भोग्नुपरेको छ । कोल्याटरल लोड गर्न, कनेक्ट आईपीएसबाट रकम लोड गर्न, बाईसेल र अर्डरलाई इडिट गर्न लगायतका समस्याहरु नेत्रहिनहरुले भोगिरहेका छन् । जुन अन्यलाई सामान्य लागेपनि नेत्रहीनहरुलाई भने ठूलै समस्या देखिएकाे छ । कोल्याटरल लोड गर्न सेयर कारोबार गर्दा फण्ड म्यानेजमेन्टबाट कोल्याटरल लोड गरिन्छ । जहाँ क्याप्चा रिड गरेर हाल्नु पर्ने हुन्छ । तर कोलाटरल लोड गर्ने समयमा भने स्क्रीन रिडरले क्याप्चा नपढ्ने उनीहरुको गुनासो रहेको छ । रकम लोड गर्न कनेक्ट आईपीएसबाट रकम लोड गर्दाको सम्बन्धमा पनि समस्या रहेको उनीहरु बताउँछन् । रकम लोड गरिसकेपछि सब्मीट र कन्फर्म सब्मीट भन्ने आउँछ र सब्मीट गरिसकेपछि कनेक्ट आईपीएसको वेवसाइट खुल्छ र लगइन इन्फरमेसन माग्छ । जहाँ टाइप द क्यारेक्टर इन इमेज भन्ने आउँछ जुन स्क्रीन रिडरले पढ्न नसक्ने उनीहरु बताउँछन् । कनेक्ट आईपीएसबाट पैसा लोड गर्न नसकिएको अवस्था समाधान गर्न यसको क्याप्चालाई व्यवस्थापन गरिदिन नेत्रहीन लगानीकर्ता कृष्ण आर्चाय आग्रह गरेका छन् । बाईसेल गर्न उनका अनुसार टीएमएसबाट बाईसेल गर्न पनि मिलिरहेको छैन । अन्यलाई समस्या नभएपछि नेत्रहीनहरुलाई समस्या देखिएको छ । जुन स्क्रीन रिडरले नपढेको उनी बताउँछन् । नेत्रहीनहरुलाई वेव एसेसिबिलिटी गाइडलाइनको अभावले गर्दा लगइन गर्दा, प्लेस अडर गरिसकेपछि बाई गर्ने हो या सेल गर्न नसकिएको अवस्था रहेको आर्चाय बताउँछन् । जुन स्क्रीन रिडरसँग तालमेल नमिलेर क्लिकएबल बटनमा क्लिक नभएको उनी बताउँछन् । यस्तो अवस्थामा मार्केट डेप्थबाट किनबेच गर्ने गरिएको उनको भनाई छ । तर अडर म्यानेजमेन्टबाट बाईसेल गर्न समस्या भएको छ । अर्डरलाई इडिट गर्न समस्या साथै, अर्डर हिष्ट्रीमा गएर अर्डरलाई इडिट गर्न नमिलेको लगानीकर्ता आर्चाय बताउँछन् । अन्ततः यस्ता समस्यालाई मनन् गरी सम्बोधन भइदिए आर्चाय लगायत सम्पूर्ण नेत्रहीन लगानीकर्ताहरुले सजिलै सेयर काराेबार गर्ने पाउने उनकाे विश्वास छ । त्यसैले यी समस्या यथासिघ्र छिटाे समाधान हुने पर्ने उनकाे माग छ । (नेत्रहीन संघको सहयोगमा नाफिजले आयोजना गरेको कार्यक्रममा नेत्रहीन लगानीकर्ता आचार्यले राखेका विचारको सम्पादित अंश)