कर्फ्यु लागेका क्षेत्रमा बैंक नखुल्ने, आज सेयर कारोबार पनि नहुने
काठमाडौं । काठमाडौंको उपत्यकाका तीन जिल्लाका विभिन्न क्षेत्रमा कर्फ्यु जारी गरेपछि बैंक तथा वित्तीय संस्थाका कार्यालय पनि बन्द हुने भएका छन् । काठमाडौं, ललितपुर, रभक्तपुर जिल्ला प्रशासन कार्यालय कर्फ्यु आदेश जारी गरेका क्षेत्रमा बैंक तथा वित्तीय संस्थाका कार्यालय नखुल्ने भएका हुन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बिहान साढे ८ बजेदेखि लागू हुने गरी चक्रपथ क्षेत्रभित्र कफ्र्यु आदेश जारी गरेको छ । चक्रपथभित्रका बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको चक्रपथभित्रको सम्पूर्ण भूभागमा कर्फ्यु लगाइएको प्रशासनले जनाएको छ । यस्तै, ललितपुर जिल्ला प्रशासन कार्यालयले ललितपुर महानगरपालिकाका वडा नं २, ४, ९, १८ र २५ भित्रका केही क्षेत्रलाई चार किल्ला तोकी सो सीमाभित्र कुनै व्यक्तिले आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउजस्ता गतिविधि गर्न नपाइने व्यवस्था गरिएको छ । यस्तै, जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमी, सूर्यविनायक, भक्तपुर नगरपालिकाभित्र आवत जावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरेको छ । कर्फ्यु क्षेत्रमा बैंक तथा वित्तीय संस्थाका कार्यालय नखुल्ने नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता सुमन न्यौपानले जानकारी दिए । उनका अनुसार कर्फ्यु लागेका क्षेत्रमा बैंकको डिजिटल सिस्टममा काम गर्ने कर्मचारीहरू भने बैंकमा गएर आन्तरिक रुपमा काम गर्न सक्नेछन् । ‘सकेसम्म कर्फ्यु लागेको क्षेत्रमा शाखा, एटीएममा कर्मचारीहरू नजान नै भनिएको छ । कहिलेकाहीँ अत्यावश्यक परेको छ भने स्थानीय प्रशासनको समन्वयमा जान सकिन्छ । सकेमसम्म नजाने नै हो,’ उनले भने । राष्ट्र बैंकको पनि अत्यावश्यक पेमेन्ट सिस्टम राष्ट्रियस्तरमा चल्ने भएकाले आईटी, पेमेन्टको काम भने सुचारु हुने उनले बताए । ‘कफ्र्यु लागेको क्षेत्रमा आवतजावत नै बन्द गरेपछि नखुल्ने हो । तर, बैंक तथा वित्तीय संस्थाको केन्द्रीकरण भएको हुँदा आन्तरिक रुपमा डिजिटलको काम भने चल्छ,’ उनले भने । साथै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेयर कारोबार पनि नहुने भएको छ । नेप्सेका सहायक प्रबन्धक निरन्जय फुयालका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथभित्र कर्फ्यु जारी गरेको तथा धेरै कारोबार सदस्य, लगानीकर्ताहरुले कारोबार स्थगन गर्न अनुरोध भएको हुँदा सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ (१) अनुसार आज भदौ २४ गतेको सम्पूर्ण सेयर कारोबार स्थगन गरिएको छ कर्फ्यु लागू भएपछि तोकिएको सिमानाभित्र आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाइने प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ । प्रशासनका अनुसार कर्फ्यु को आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरु, एम्बुलेन्स, दमकल, शव वहान, स्वास्थ्यकर्मीका सवारी साधनहरु, सञ्चारकर्मीहरू, पर्यटक सवारी साधनहरु, मानव अधिकार तथा कुटनीतिक नियोगका सवारी साधनहरु र हवाई टिकटको आधारमा हवाई यात्रुहरूको आवगमनमा सुरक्षाकर्मीहरुबाट सहजीकरण हुनेछ । नेपाल धितोपत्र बोर्डको कार्यालय भने खुला रहने जनाएको छ ।
सेयर बजारमा ५ अर्बको कारोबार, हिमस्टार ऊर्जामा सकारात्मक सर्किट
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार दोहोराे अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३ अंकले घटेर २६७५ बिन्दुमा झरेको छ । आज २२ कम्पनीको सेयर मूल्य बढ्दा २२९ कम्पनीको सेयर मूल्य घटेको छ । सोमबार ३२० कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्सको भएको छ । नेपाल रिइन्स्योरेन्सको ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, युनियन हाइड्रोको २४ करोड, युनिभर्सल पावर कम्पनीको २३ करोड, हिमालयन रिइन्स्योरेन्सको २१ करोड र युनाइटेड मोदीको १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । हिमस्टार ऊर्जा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
श्रीनगर एग्रीटेकको आईपीओ बाँडफाँड सम्पन्न
काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालयमा बाँडफाँड गरिएको हो । सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशत, अर्थात् ३ लाख ९ हजार ९३८ कित्ता साधारण सेयर (प्रति कित्ता १०० रुपैयाँ अंकित दर) नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा कार्यरत नेपालीहरूका लागि भदौ ११ देखि १६ गतेसम्म निष्काशन गरिएको थियो । यस सेयरमा कुल ६४ हजार ८१२ आवेदकले १० लाख १५ हजार ४७० कित्ता सेयरका लागि आवेदन दिएका थिए । जसमध्ये ६४ हजार ७९ वटा आवेदन स्वीकृत भएका छन् भने १३ वटा आवेदन रद्द भएका थिए । मागभन्दा बढी आवेदन परेकाले बाँडफाँड गोलाप्रथा (लटरी) प्रणालीमार्फत गरिएको हो । सोअनुसार ३० हजार ९९३ जनाले १० कित्ताका दरले कम्पनीको सेयर पाएका छन् । बाँकी रहेका ८ कित्ता सेयर पनि सोही लगानीकर्तामध्ये ८ जनामा बाँडफाँड भई प्रत्येकले १/१ कित्ता अतिरिक्त सेयर प्राप्त गरेका छन् ।